site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देशले ओली र कांग्रेसले देउवाको विकल्प खोजेको छ
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला संसद् बाहिर छन् । लामो समय संसद्मा प्रतिनिधित्व गर्ने नेतामध्येका एक थिए पौडेल । तर यसपटक प्रतिनिधिसभा निर्वाचनमा नेकपाका नेतासँग पराजित भए । यद्यपि उनी नेकपाका कारण नभई पार्टीभित्रको गुटको शिकार आफू भएको बताउँछन् । 

कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका पौडेल अर्को महाधिवेशन निर्धारित समयमा हुनुपर्ने र नेतृत्वको विकल्प नखोजिए कांग्रेस झनै समस्यामा पर्ने दाबी गर्छन् । 

उनै पौडेलले शनिबार बिहान बाह्रखरीका बलराम पाण्डे जगन्नाथ दुलालसँग कांग्रेसको आन्तरिक अवस्था, सरकारको कामकारबाही लगायतका विषयमा कुराकानी गरे । प्रस्तुत छ, पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

Agni Group

लामो समय संसद्मा हुनुहुन्थ्यो, अहिले बाहिर हुनुहुन्छ । बाहिर रहँदा केमा व्यस्त हुनुहुन्छ ?

अहिले म पार्टीकै साथीहरुसँग सम्पर्कमा व्यस्त छु । संसद्मा नहुँदा केही राहतको पनि महसुस भइहेको छ । केही फुर्सदको अवस्थामा बुद्धिजीवी साथीहरु, विभिन्न पेशाकर्मी साथीहरु र अरु विभिन्न क्षेत्रका साथीहरुसँग, विज्ञहरुसँग छलफल गर्ने गरिरहेको छु । देशको विकासको मोडेल के हो ? कसरी अगाडि बढिरहेको छ ? त्यसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा अन्तरक्रिया गरिरहेको छु । देशको भविष्यका बारेमा सोच्ने, चिन्तन गर्ने गरिरहेको छु । म निस्क्रिय बस्न नसक्ने मान्छे हो । सक्रियताले नै मानिसमा जवानी ल्याउँछ भन्नेमा विश्वास गर्छु । सक्रियता कायम राखेको छु । 

Global Ime bank

संसद्को चुनावमा जाँदै गर्दा पराजित भइएला भन्ने लागेको थियो ?  

मलाई लागेको थिएन । तनहुँमा चुनाव हारिन्छ भन्ने मलाई थिएन । दुई नम्बर क्षेत्र मेरो पकेट एरिया हो । एक नम्बर मेरो घर हो । त्यहाँ अरु नै लडे यत्रो समयसम्म । अरु नै लड्दा त्यस क्षेत्रलाई धेरै नै बर्बाद गरिएको रहेछ । बानी व्यहोरा बिग्रेको रहेछ । त्यहाँ धेरै ठूलो अन्तर्घात र पैसाको खोलो बग्यो । त्यसपछि नचिताएको परिणाम आयो । 

पार्टीभित्रको अन्तर्घात मुख्य कारण हो कि तत्कालीन एमाले र माओवादी मिल्दा त्यस्तो परिणाम आयो ? 

पार्टीभित्रको अन्तर्घात मुख्य कारण हो । पैसाको प्रभावकारिताले अन्तर्घात गरायो । 

संसद्मा हुँदा तपाईंको सक्रिय भूमिका देखिन्थ्यो । बाहिर बसेर हेर्दा कांग्रेसले संसद्मा भूमिका राम्रै निर्वाह गरेको जस्तो देखिन्छ कि गर्न सकेन भन्ने लाग्छ ?

संसद्मा भएको भए मैले अलिक गर्थेँ कि भन्ने त लाग्छ । भएका साथीहरुले पनि बोल्ने काम त गर्नुभएको छ । तर, संस्थागत रुपमा प्रतिपक्षको जे भूमिका हुनुपर्ने हो राम्रोसँग हुन सकिरहेको छैन । 

त्यस्तो हुनुको कारण नेतृत्व सक्षम नभएर कि कांग्रेसको संख्या नै कम भएर होला ?

राजनीतिमा कुनै पनि भूमिका निर्वाह गर्न, प्रभावकारी बनाउन र सशक्त बन्न पनि तीन वटा कुरा चाहिन्छ भनेर मैले भन्दै आएको छु । ‘ओरल्ली, मोरल्ली र पोलिटिकल्ली’ तीनवटै तहमा सक्षमताको आवश्यकता पर्दछ ।

त्यो क्षमता नेतृत्वकर्तामा हुनुपर्छ । ओरल्ली, मोरल्ली र पोलिटिकल्ली तपाईंले सदनलाई सामना गर्न सक्नुभयो भने सत्तापक्षलाई प्रतिपक्ष भएर पनि डोमिनेट गर्न सक्नुहुन्छ । त्यो नहुँदा प्रभावकारी हुँदैन । अहिले संसदमा बोल्ने साथीहरु त हुनुहुन्छ । तर, पार्टी संस्थागत रुपमा जसरी प्रस्तुत हुनुपर्ने हो त्यो नभएको कारणले खै प्रभावकारी भएन भनिरहेका छन् । 

कांग्रेसको आन्तरिक राजनीति जागरण अभियानले केही चलायमानजस्तो देखिएपनि कांग्रेस निस्क्रिय देखिन्छ । तपाईंको बुझाइमा अहिले कांग्रेस कुन अवस्थामा छ ?

पार्टी अहिले सानो समूहको बन्धक बनेको छ । पार्टीका आम कार्यकर्ताप्रति नेतृत्वको विश्वास हुनुपर्ने हो । उनीहरुमाथि विश्वास र भरोसा गरेर पार्टी सञ्चालन गर्ने, अधिवेशनहरु हुनुपर्ने  हो । तर, त्यो विश्वासमा गतिरोध उत्पन्न भइराखेका छन् । 

पहिले पहिलेका राजा महराजाहरुले चारैतिर अग्ला पर्खालहरु लगाउँथे । त्यसको बाहिर खाल्डो खनेर पोखरी बनाएर जसरी आफूलाई सुरक्षित ठान्थे । त्यही आफूलाई कसरी सुरक्षित राख्ने भन्ने नेतृत्वको मानसिकताले आज सबै कुरामा असहजता, अप्ठ्यारोपन भइराखेको छ ।

म के भन्छु भने राजनीतिको, पार्टीको  प्राकृतिक बहावलाई अवरुद्ध गर्ने कोसिस भयो भने त्यसले कताकता भत्काउँछ । त्यसो भएकाले नेचुरल्ली जान दिऊँ  । साथीहरुको आम भावनालाई समेटेर पार्टी अघि बढोस् । आम कार्यकर्तामाथि विश्वास गरेर नेतृत्व अघि बढोस् भन्ने मेरो भनाइ हो । 

नेतृत्वमा त तपाईं पनि हुनुहुन्छ नि ! पार्टी बिग्रनुमा सभापतिको जति दोष छ तपाईंको पनि त्यति नै हुनुपर्ने होइन र ?

हाम्रो पार्टी एक किसिमको अध्यक्षात्मक चरित्रको छ । किनभने सभापतिले आफूलाई बहुमत बनाउनेगरि मनोनित गर्न पाउँछ । पदाधिकारी, केन्द्रीय सदस्य मनोनित गरिएका छन् । मनोनित गरिएका केही साथीहरुले नेतृत्वको सफलता, असफलतामा आफूलाई गाँस्नुभएको छ । 

त्यो गाँस्नु दुर्भाग्य भएको छ । पार्टीका केन्द्रीय सदस्यहरुमा स्वतन्त्र र निष्पक्ष चिन्तनको कमी छ । त्यसले गर्दा पार्टी धेरै व्यक्तिपरक भयो । त्यसले गर्दा अरु पदाधिकारीहरुको भूमिका कमजोर भयो । 

कि चाहिँ ठूलो बार्गेनिङ्ग गर्नुपर्‍यो, पहिला शेरबहादुर देउवाले सभापति सुशील कोइरालासँग गरेकोजस्तो । तर, त्यतिबेला सुशील कोइरालालाई देउवालाई सहमतिमा नल्याउने हो भने पार्टी फेरि पनि फुट्छ कि भन्ने डर थियो । त्यसपछि हामी झनै कमजोर पो हुन्छौं कि भन्ने उहाँलाई डर थियो । अहिलेको सभापतिलाई त्यस्तो छैन । उहाँलाई डराउनुपर्ने अवस्था नै छैन ।

त्यो भनेको मेरो पार्टीप्रति बढी माया हो । पार्टीलाई जोखिममा राखेर आफूलाई फाइदा हुने कुरा गर्न मैले कहिले पनि चाहिनँ । पार्टीका लागि बरु जहिले पनि आफैँलाई जोखिममा राखेँ । त्यो मानसिकताले गर्दा पनि उहाँलाई दबाब कम पर्‍यो । त्यसले गर्दा पार्टी अहिले अलमलमा अल्झिएको अल्झिएै भयो । 

तर पार्टीमा गुटैगुट त छ नि ! सभापति देउवाले गुट चलाउनुहुन्छ गुट बाहिरै निस्क्नुहुन्न । (तपाईं) रामचन्द्र पौडेलको आफ्नै गुट छ । कृष्ण सिटौलाको आफ्नै गुट छ । प्रकाशमान सिंहको आफ्नै गुट छ, शेखर कोइराला, शशांक कोइरालाको आफ्नै गुट छ । गुटै गुटले नै चल्ने हो पार्टी ?

म गुटबन्दीमा विश्वास गर्ने मान्छे होइन । पहिले पनि मेरो मध्यमार्गी स्वभाव हो, प्रवृत्ति हो । मैले भनिराखेको यति मात्र हो कि पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुनुपर्‍यो । एकताको आधार यसैलाई बनाउँ । अलि पारदर्शी ढँगले चलौं न । यत्रो साथीहरु छन्, योगदान गरेका, क्षमता भएका मानिसहरु छन् । मन परेका मान्छे मात्र प्रोत्साहित हुने यो शैली बदलौंं मात्र भनेको हो मैले । 

मेरो सबै साथीहरु हुनुहुन्छ । स्वतन्त्र सोचाइ राख्नुहुन्छ । रामचन्द्र पौडेलले जिते हुन्छ मलाई जित्नुपर्दैन भन्ने मेरो कोही पनि मान्छे छैन । सभापतिसँग त्यस किसिमका मान्छे बढी छन् । कसरी तयार भए म जान्दिनँ । त्यसैले गुटबन्दी भनेर भन्ने हो भने मबाट भएको छैन उहाँबाटै समाधान हुनुपर्छ गुटबन्दीको । गुटबन्दीको समाधान सभापतिबाटै हुनुपर्छ भन्ने मेरो धारणा हो । तपाईंले पनि सभापतिलाई सहयोग गर्नुभएन रे नि । विभागमा, विभिन्न भ्रातृ संस्थालाई पूर्णता दिऊँ भनेर सभापतिले नाम माग्दा पनि दिनुहुन्न, किन ?

मैले दिन खोजिराखेको छु । एउटा क्राइटेरिया बनाउँ भन्ने मेरो प्रस्ताव हो । त्यसका आधारमा विभागमा मान्छे राखौं भन्ने मेरो बारम्बार अनुरोध छ । पार्टीलाई र सभापतिलाई परेको बेलामा मैले जहिले पनि सहयोग गरेको छु । 

हिजो चुनावमा तेह्रथुमदेखि दार्चुलासम्म जहाँसुकै गएँ म आफ्नो  निर्वाचन क्षेत्र छोडेर भए पनि । अहिले जागरण अभियानमा पनि मैले जनकपुरबाट जागरणको उद्घाटन गरेर २०–२५ वटा जिल्ला पुगेँ । 
यो त मेरो ठूलो सहयोग हो नि । सभापति र पार्टीको कार्यक्रमलाई मैले परिआउँदा जहिले पनि सहयोग गरेको छु । मैले सहयोग गरेन भन्न मिल्छ ? मैले सहयोग गरेन भन्ने बहानामा पार्टीलाई अड्काएर राख्न मिल्छ ? मैले कुन विभागमा को मान्छे उपयुक्त हुन्छ त्योअनुसार गरौं भनेँ । 

एउटा विभाग तपाईं रोज्नोस् अर्को यता छोड्दिनुस् भनेँ । यसरी सन्तुलन मिलाएर जाऔं भनेर मैले भनेँ । काम गर्ने क्षमता भएका यत्रा साथीहरु छन् । उनीहरुलाई पनि जिम्मेवारी त दिनुप¥यो नि । उपयुक्त साथीहरुलाई जिम्मेवारी दिउँ भनेर मैले भनेको हुँ नाम नदिएर रोकेको होइन । के आधारमा विभाग बनाउने हो त्यो तय गरेर जाउँ भन्ने मेरो भनाइलाई उहाँले सहज रुपमा नबुझिदिँदा, नमानिदिँदा यस्तो भएको छ । 

पार्टीलाई अब यसरी लैजाउँ भनेर सभापतिले तपाईंहरुलाई बोलाएर भन्नुहुन्न कहिल्यै ? 

उहाँले बोलाएर त भन्नुहुन्न । बरु म आफैँ जान्छु कहिलेकाहिँ । यी समस्या छन् यसरी समाधान गरौं भनेर लिस्ट नै बोकेर म जान्छु । तर, अहिले हाम्रोबीचमा संवादको कमी छ । सभापतिले संवादमा चासो नदिँदा बाहिरबाट हेर्दा के के न भएको जस्तो भएको छ । 

भनेपछि यो कार्यकाल विभाग र भ्रातृ संस्थाले पूर्णता नपाइकन सकिएला जस्तो देखियो है ?

मैले गएर पनि भनेँ । सार्वजनिक रुपमा पनि भनेँ । यो सबै कुरा यत्तिकै अड्किएर बस्ने हो भने नेविसंघको, दलित संघको, सबै भ्रातृ संस्थाहरुको, जनसम्पर्क समितिहरुको, विभागको अधिवेशन शुरु गरौं । आठ–नौ महिनामात्र बाँकी छ हाम्रो विधानले तोकेको ४ वर्ष पुग्नलाई । अब त्यसको शुरुवात किन भएन ? अधिवेशन शुरु गरौँ । १४ औं महाधिवेशन सम्पन्न गरौं । र, नयाँ शुरुवात गरौं । तब पार्टीले आउँदो चुनाव सामना गर्न सक्छ । नयाँ ढँगबाट अब सबै संस्थाहरु बन्छन् । पार्टी तन्दुरुस्त बन्छ । यो किचलो अन्त्य गरौं, बरु महाधिवेशनमा चाँडै जाउँ भन्ने मेरो भनाइ छ । 

महाधिवेशनको समय आइसक्यो, ढिलो नगरौं भन्दै हुनुहुन्छ तपाईं । सभापति शेरबहादुर देउवाले साढे पाँच वर्ष कार्यकाल छ भन्नुभएको छ । यसरी हेर्दा महाधिवेशन धकेलिने निश्चित भएन त ?

सभापतिले साढे पाँच वर्ष कार्यकाल हो भन्नुभएछ । देशको विधानलाई देखाउनु भएछ । हाम्रो पार्टीको विधान नेपालको संविधानमै आधारित भएर बनेको हो नि त । त्यही भएर यसले केन्द्रीय समितिदेखि तलसम्म ४ वर्ष कार्यकाल तोक्यो । कुनै असाधारण परिस्थिति बन्यो भने केही थप्न सकिन्छ भन्या छ । त्यो विधानलाई आदर गर्ने कि नगर्ने ? असाधारण परिस्थिति भनेको के हो ? अहिले काम नगरिकन बस्ने, ल है शुरु गरौं भन्दा वास्तै नगर्ने । अनि पछि गएर आफैँले असाधारण बनाउने ? यो असाधारण बनाउनेतिर नजाउँ भनेर महासमिति बैठक अगाडिदेखि मैले भन्दै आएको छु ।

अधिवेशनबाट पार्टीलाई नयाँ ढँगले पुनर्ताजगी गर्न जरुरी छ । त्यसकारण अधिवेशनमै जाऔं । अधिवेशन समयमा गरौं । सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं भन्ने मेरो प्रस्ताव नै हो । कार्यसमिति र महासमितिमा मैले यो कुरा राखेको हुँ । तर, त्यसलाई उपेक्षा गरिएको छ । साथीहरुले पनि यसको गम्भीरता बुझिदिनुभएन ।

यसको गम्भीरता बुझेको भए त्यहीबेला वारपार हुन्थ्यो होला । यसलाई थाँती राखियो जसले गर्दा भोलि गएर कांग्रेसलाई भयानक नकारात्मक परिणाम आउनसक्छ । किनभने चुनाव आइसक्या हुन्छ हामी तयार नै भइसकेका हुँदैनौं । त्यसैले मैले समयमै महाधिवेशन गरौं भनेर भनेको हुँ । 

सभापतिले किन लम्ब्याउन चाहनुहुन्छ त महाधिवेशन ? 

स्वाभाविक गतिमा पार्टीलाई जान दिऊँ, पार्टी ठूलो हो नि त । यत्रो लोकतन्त्रको मिसन बोकेको नेपाली कांग्रेस । यत्रो राष्ट्रको भविष्यको मिसन बोकेको नेपाली कांग्रेस । पहिले राजालाई एउटा राष्ट्रिय शक्तिका रुपमा मानिन्थ्यो । आज नेपालमा भरोसायोग्य राष्ट्रिय शक्ति भनेकै नेपाली कांग्रेस हो । आफ्नो निजी कुरालाई भन्दा हामीले त्यसलाई पो महत्व दिनुपर्‍यो । पार्टीलाई प्राथमिकता दिउँ भन्ने मेरो भनाई उहाँले महसुस नगर्दा यो भएकोजस्तो लाग्छ । 

रामचन्द्र पौडेलले प्रशिक्षण दिँदा पार्टी पराजित भयो । अब उपसभापति विमलेन्द्र निधिले पार्टीलाई जिताउने गरी प्रशिक्षण दिनुपर्‍यो भनेर सभापतिले भन्नुभएछ । तपाईंकै कारणले चुनाव हारेको रहेछ नि त कांग्रेस !

अब त मलाई सभापतिजीको स्मृतिमाथि नै शंका लाग्यो । उहाँको सम्झने शक्ति नै हरायो कि भन्ने मलाई लाग्यो । किनभने जब म प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिएँ उपसभापति हुँदा सुशील कोइरालाको पालामा । मैले देशभर जुन प्रशिक्षण अभियान चलाएँ त्यसले गर्दा देशभर नेपाली कांग्रेसमा जागरण आयो । ०६४ को चुनावमा त्यत्रो हारेको पार्टी पहिलो पार्टी बन्न पुग्यो र हामीले संविधान दिन पायौं ।

त्यो इतिहासलाई एकातिर पन्छाएर चुनाव हारेकोसँग मलाई गाँसेर उहाँले के भन्न खोज्नुभएको हो ? उहाँको सम्झना हराएको हो कि के भएको हो ? 

उहाँ सभापति भएपछि चुनाव हारिएको हो । उहाँको पालामा त म  उपसभापति भइनँ । प्रशिक्षण प्रमुख भइनँ । म प्रशिक्षण विभाग प्रमुख हुँदा त देशभर प्रशिक्षण अभियान चलाएर पार्टीलाई जिताएको हो मैले त । जिताएको कुरालाई कसरी हरायो भन्नुभयो ? 

उहाँले त्यति भनिसकेपछि मैले भन्नैपर्ने भयो– म प्रशिक्षण प्रमुख भएर मात्र पार्टीले जितेको हो । उहाँ अहिले संसदीय दलको नेता हुनुहुन्छ । त्यतिबेला म संसदीय दलको नेता भएकाले पनि पार्टी सफल भएको हो । प्रचण्ड बहुमत लिएर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई सदनमा एक–एक प्रश्न उठाएर, कर्नर गरेर राजीनामा दिने अवस्थासम्म कसले पुर्‍यायो ? म संसदीय दलको नेता हुँदा दलको प्रभावकारिता कस्तो थियो । अहिले कस्तो छ ? त्यसैको तुलना गरेर हेरौं न । त्यो पनि बिर्सनुभयो सभापतिले । 

तपाईँहरु एक आपसमा पार्टी कसका कारणले हारेको भनेर विवाद गरिरहँदा कतिपय राजनीतिक विश्लेषकहरुले देउवा प्रधानमन्त्री हुँदा गरेका निर्णयलाई पनि कारण मान्छन् नि ! जस्तो प्रधान न्यायाधीशमाथिको महाअभियोग, प्रहरी प्रमुखको नियुक्ति लगायत...

मैले शेरबहादुरजी र प्रचण्डलाई सँगै राखेर प्रधानन्यायाधीशको विषयमा लोकले के भन्छ ? पुनर्विचार गर्नुस् भनेर भनेकै हो । बालुवाटारको गेटबाट निस्केर राष्ट्र बैंकको गेटमा पुग्दा उहाँले फोन गरेर त्यो नगर्ने भइयो भन्नुभयो । म त्यसैमा ढुक्क परेँ । तर, उहाँले जे नगर्ने भन्नुभयो त्यही गर्नुभएछ । 

मैले त्यो बेलामा हल्ला गरेर जाउँ भनेदेखि रामचन्द्रले पार्टीलाई ड्यामेज गर्‍यो, बबण्डर मच्चाइदियो भन्छन् भनेर पार्टीको हितलाई ध्यानमा राखेर मौन बसेँ । भित्रभित्रै दिने सल्लाह दिएँ । फसिहाल्यौँ यो महाअभियोगको प्रस्ताव फिर्ता गर्ने अवस्थामा जान्छ भनेर भनेँ । त्यसैले त्यो फिर्ता गराएको हो । 

आईजीपी काण्डको बेलामा मैले प्रष्ट कुरा राखेको थिएँ । गृहमन्त्री र प्रधानमन्त्रीको कुरा मिलाउनुस् । किन दुइटाले दुईतिर ? त्यो बेलामा गृहमन्त्रीको वक्तव्य कस्तो आएको थियो ? त्यो बेलामा हामीले रडाको मच्चाएको भन्दा पनि उहाँकै मन्त्रिपरिषद्मा रडाको मच्चिएको हो । त्यसो भएको हुनाले यस्ता काण्डहरुमा हामी जिम्मेवार छैनौं । उहाँहरु आफै जिम्मेवार हुनुहुन्छ । तपाईं अब १४ औं महाधिवेशनका लागि जुट्नुभएको हो ? 

पार्टी १४ औं महाधिवेशनमा जानुपर्छ भनेर मैले प्रष्ट कुरा राखेको छु । महाधिवेशनलाई ढिला गर्नु हुँदैन । ढिलो गर्नु असाधारण परिस्थिति निम्त्याउनु हो र पार्टीलाई फेरि दुर्घटनामा पार्नु हो । त्यसो नगरौं भनेर पार्टीको हितमा म बोलिरहेको छु । 

तपाईं १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुहुन्छ कि कसैलाई समर्थन गर्नुहुन्छ ?

अहिले म सभापति हुनुपर्छ भन्ने धारणा राखेर हिँडेको होइन । पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने मात्रै हो । धेरै ठूलो आशक्ति मसँग छैन । तर, मैले साथीहरुलाई भनेको छु अहिले सभापतिको उमेदवार भनेर नभनौं । पार्टीलाई सुधार गर्नुछ, उद्धार गर्नुछ । साथी हो, पार्टी बचाऔं भनेर मात्रै हिँडौं हामीहरु । जुन बेला अधिवेशनको समय आउला, मिति तोकिएला त्यसबेला कसको आवश्यकता के हो ? कहाँ मिलनविन्दु हुन्छ ? हामी सँगै मिलेर एउटा विकल्प दिन सक्छौं । 

अहिले देशलाई विकल्प चाहिएको कुरा पक्कै हो । राष्ट्रलाई पनि यो कम्युनिष्ट सत्ताको विकल्प जनताले खोज्न थालिसकेका छन् । पार्टीभित्र पनि अहिलेको नेतृत्वको विकल्पको खोजी भइरहेको छ । देशमा केपी ओली र कांग्रेसमा देउवाको विकल्पको खोजी भइरहेको छ । यो लुकाएर लुक्दैन । 

पार्टीमा देउवाको विकल्प खोजिएको छ । त्यो सत्य हो । पार्टीभित्रका बुद्धिजीवी साथीहरुले उहाँको सम्मानजनक बिदाइको कुरा गर्नुभएको त्यही भएर हो । 

१४ औं महाधिवेशनमा तपाईंकै समूहभित्र महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायतका केही नेता सभापतिको आकांक्षीका रुपमा हेरिन्छ । कृष्ण सिटौला समूह पनि छ । उहाँहरु सबैलाई मिलाएर लैजान सक्ने क्षमता तपाईंसँग छ त ?

आफ्नो निहित स्वार्थ नभएपछि मिलाउन सजिलो हुन्छ । मेरो कुनै निहित स्वार्थ छैन । पञ्चायतकालमा १४ वर्ष र ज्ञानेन्द्रको शासनकालमा एक वर्ष गरी १५ वर्ष मैले जेलजीवन बिताएँ । यातना खपेँ । मैले राजनीतिमा जुन जिम्मेवारी पाएको छु, जिम्मेवारीलाई नै महत्व मानेर मैले काम गरेँ । कहिल्यै मैले सत्ताको दुरुपयोग गरिनँ । पार्टीको नाम बद्नाम हुने केही पनि काम मैले आजसम्म गरेको छैन । मैले यसरी आफूलाई बचाएर पार्टी बचाउने काममा लागेको छु । त्यसो भएको हुनाले मेरो उद्देश्य पार्टी जोगाउने, पार्टीलाई बलियो बनाउने हो । यो राष्ट्रको राजनीतिमा प्रजातन्त्रको लागि जन्मेको, त्यसैका लागि लडिरहेको हाम्रो पार्टी सफल होस् भन्ने नै मेरो चाहना हो । 

‘हामी पार्टी र देश जोगाउँछौं रामचन्द्र दाइ ! तपाईं विश्राम लिनुस्’ भनेर कोही भन्न आयो भने तपाईँ सहयोग गर्नुहुन्छ ? 

म त्यसको लागि तयार छु । तर, त्यसमा सबैले विश्वास गर्दिनुपर्‍यो । भारतमा अटलबिहारी बाजपेयीले लौ मोदी भनेर पहिल्यै सुम्पिएको हो र ? मोदी एकाएक आफ्नो पर्फर्मेन्स देखाएर राष्ट्रको राजनीतिमा उदाए । मोदीको प्रभावले भाजपाले बहुमत ल्यायो । त्यसपछि अटलबिहारी बाजपेयीहरुले पार्टीको उद्धार गर्‍यौँ भनेर भने नि  । 

पार्टीमा कोही त्यस्तो निस्क्यो भने म तयार छु । कोही मोदीजस्तो भएर पार्टीमा उदाउँछ भने म त सलाम ठोक्दिन्छु । छेकबार लाउने, सानो गिरोहमा लगेर पार्टीलाई फसाउने, डेडलक गर्ने काम त मैले पार्टीमा आजसम्म गरेको छैन । 

पार्टीभित्र देउवाको विकल्प त यहाँहरुले महाधिवेशनमा टुंगो लगाउनुहोला । प्रधानमन्त्री ओलीको विकल्प अहिले तत्काल सम्भव छ ? 

तातै खाउँ जल्दै मरौं भनेर म भन्दिनँ । अहिले भर्खरै ओलीलाई हटाइहाल्छौं भनेर म भन्दिनँ, भन्ने अवस्था पनि छैन । तपाईंकै सभापतिले त ढाल्दिन्छौं भनिसक्नुभयो नि !

म त्यस्तो हास्यास्पद कुरा गर्दिनँ । मान्छेहरुले नपत्याउने कुरा गरेर हिँड्न मलाई मन लाग्दैन । मेरो सरल कुरा छ । यो सरकार किन विवादास्पद भएर हिँडिरहेको छ ? एकातिर प्रधानमन्त्री फेरि २०१७ साल ल्याउने प्रपञ्च हुँदैछ भनेर बोल्दै हुनुहुन्छ । 

परिवर्तन नै उल्टने, संघीय लोकतान्त्रिक गणतन्त्र नै गुम्ने अवस्था आउन थाल्यो भनेर पनि उहाँ र उहाँका सल्लाहकारहरुले अल्मल्याउने । अनि अर्कातिर विपक्षीलाई असहिष्णु, पक्षपात र चिढ्याउने व्यवहार गरिनै रहने । यस्तो चिढ्याउने व्यवहारले संकटमा राष्ट्रिय एकता हुन्छ ? संकट हो भने त राष्ट्रिय एकताको मानसिकता उहाँमा हुनुपर्‍यो नि । कसरी सबैको साथ लिएर परिवर्तन बचाउँ, व्यवस्था बचाउँ,  स्थायित्वको सिर्जना गरौं भन्ने हुनुपर्‍यो । उहाँको व्यवहारले देशलाई अस्थिरतातिर लैजाने काम भइरहेको छ । सबैलाई चिढ्याउने, प्रशासनदेखि विकासका कामकारबाहीमा हस्तक्षेप गर्न खोज्ने । उहाँकै कामले संकट निम्त्याउँदैछ । 

कम्युनिष्टलाई दोहोर्‍याउनुहुन्न भनेर जनमत बनाउने हो हामीले । अहिले नै सरकार फेर्ने, अस्थिरता ल्याउने खेल कहाँ कहाँबाट आउँछन्, त्यस्ताको पछि लागेर हिरो बन्न खोजेर काम छैन । धेरै हिरोहरुले देशलाई बर्बाद गरिसकेका छन् । 

अर्को प्रसंग–
कांग्रेसले बीपीको विचार छोड्यो भनेर कतिपयले आलोचना गरिरहँदा राप्रपाले बीपीलाई मार्गदर्शक मान्ने निर्णय गरेको छ । यसबारे तपाईंको धारणा के छ ?

यो खुसीको कुरा हो, हाम्रो नेतालाई आदर्श मान्छौं भनेर भन्न उनीहरु आइपुग्नु । हिजो त्यही बीपीको नाममा वृक्षरोपण गर्न जाँदा हाम्रो हातखुट्टा भाँच्ने पनि तिनै अराष्ट्रिय तत्व हुन् । आज आएर बीपीलाई सबैभन्दा ठूलो राष्ट्रवादी देखिरहेका छन् । यस्ता कुरा जनताले बुझ्छन् अब मैले भनिराख्नु पर्दैन । 

बीपीले बसालेकै जगमा कांग्रेस हिँडिरहेको छ । संसदीय प्रणाली उहाँले सात सालमा सोचेको हामीले विधानमा ल्याएका छौं । प्रजातान्त्रिक समाजवाद उहाँले सात सालमा सोचेको त्यसलाई हामीले संविधानकै प्रस्तावनामा लेखेका छौं । 

राजनीतिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालय बीपीको जुन कल्पना थियो, त्यसैले हामीले संविधानमा मूर्त रुप दिएका छौं । हामी त्यसैमा अडिएर राजनीति गरिरहेका छौं । 

अरु के हो बीपीवाद भन्या ? लोकतान्त्रिक समाज, न्यायपूर्ण समाज, समतामूलक नेपाल समाज उहाँले चाहेको त त्यो हो नि । बीपीले एकपल्ट राजासँग घाँटी जोडिएको छ भनेर भन्नुभएको थियो त्यो विशेष परिस्थिति थियो । अब अहिले त्यसैलाई अघि सारेर धमिलो पानीमा माछा मार्ने प्रयास कसैले गर्छ भने त्यो निरर्थक मात्रै हुनेछ ।

तस्बिरहरूः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC