नेपालको राजनीतिमा ‘मियो’ को भूमिकामा रहेको नेपाली कांग्रेस अहिले ‘तमासे’ मात्र बन्न पुगेको छ । निकृष्ट स्वार्थ, अशोभनीय लोभ, अराजनीतिक संस्कार, आफ्नै एजेन्डाप्रति विमोह, राष्ट्रियताको सबालमा अस्पष्ट एवं दम्भले गैरकांग्रेस चरित्रको प्रभुत्व भएकै कारण विश्व राजनीतिबाट पलायन भइसकेको कम्युनिस्ट विचारबाट नेपालमा भने कांग्रेसले नमीठो एवं लज्जाजनक पराजय भोगेको छ ।
नेपाली कांग्रेसलाई यो दुर्दशाबाट मुक्त गराउन नेतृत्व वर्ग, कार्यकर्ता एवं यससँग सम्बन्धित बुद्धिजीवी, पेसागत समूहलगायत शुभचिन्तकहरुले गम्भीर आत्मसमीक्षा गर्दै सुधार अभियान थाल्नुपर्छ ।
वर्तमान कम्युनिस्ट शासनले देश आक्रान्त बनेको छ । सर्वत्र लुट मच्चिएको छ । जनजीवन दिनानुदिन कष्टकर बन्दै गइरहेको छ । नेपालको गौरवशाली पहिचानका क्रममा रहेका धार्मिक एवं सांकृतिक सभ्यतामाथि अनुचित प्रहार भइरहेको छ । राष्ट्रिय स्वाभिमान गिर्दो अवस्थामा छ । देश गम्भीर आर्थिक संकटमा फस्ने दिशातर्फ उन्मुख छ । बेरोजगारी झनै डरलाग्दो ढंगले बढ्दैछ । नेपालको आर्थिक समृद्धिका लागि सबैभन्दा भरपर्दो स्रोत पर्यटन क्षेत्र पनि गम्भीर रुपमा प्रभावित भएको छ । देशमा गैरन्यायिक हत्या एवं अपराध त झनै विकराल बन्दै गएको छ । बलात्कार एवं महिला हिंसा अकल्पनीय ढंगले वृद्धि भएको छ । सरकार एकपछि अर्को झुट पस्किन व्यस्त छ ।
यति ज्यादती हुँदाहुँदै पनि नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी मौन प्रायः छ । सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन । कम्युनिस्ट सरकारसँग आजित जनता कांगे्रसको मुख हेर्दैछन्, काँग्रेसले यो सर्वसत्तावादी सरकारलाई खबरदारी गर्ला कि भन्ने अपेक्षा गरिरहेका छन् । तर कांगे्रस मस्त निद्रामा परिहेको जस्तो देखिन्छ । आफैँभित्र अनावश्यक गुटउपगुट बनाई पद एवं शक्तिको अशोभनीय खेलमा अल्मलिनु विडम्बनापूर्ण छ । कांग्रेसजनले अब मैले के पाउँछु भनेर गुटउपगुटको खिचडी पकाउनुभन्दा पनि मैले देश र जनताका लागि के दिन सक्छु भन्ने सोच राख्नु जरुरी छ । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउनै नसक्ने गरी स्थापित गरेर विकास र समृद्धिको अभिमानमा लाग्नुपर्ने कांग्रेस यसरी निस्क्रिय भएर बस्नु देश र जनताका लागि हानिकारक हो ।
पद र प्रतिष्ठाबाट कहिल्यै तृप्त नहुने नेतृत्वका कारण नयाँ पुस्ताको भविष्य पनि अन्योलमा छ । नेतृत्वमा पुस्तान्तरण हुन सकेन भने लोकतान्त्रिक दल जीवित रहनै सक्दैन । सधै एउटै व्यक्ति नेतृत्वमा रही रहने हो भने कार्यकर्ता र जनतामा वितृष्णा पैदा हँुदै जान्छ । अहिले कांग्रेसको आकार साँगुरिनुमा यही नै मुख्य कारक हो ।
नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दलका नेताहरुले आफूमात्रै नेतृत्वका लागि योग्य छु भन्ने सोच राखेर बाचुन्जेल पदकै लडाइँमा समय खर्च गर्नु दुर्भाग्यपूर्ण हो । नेतृत्व त बग्ने पानीजस्तो हुनुपर्छ तर कांग्रेस वर्षौंदेखि तलाउमा जमेर बसेको पानीजस्तै भइरहेको छ । जमेको पानी सफा हुदैन । अब पानी नफेर्ने हो भने बिस्तारै त्यो तलाउमा जलचरहरु बस्न सक्तैनन् । यो गम्भीर परिस्थिति आउनुभन्दा पहिल्यै कांगे्रस नेतृत्वले सोच्नै पर्छ ।
कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीमा महिलाको स्थान उच्च हुनुपर्छ । राणाकालदेखि नै महिलाहरुले पनि नेपाली कांग्रेसको छहारीमुनि बसेर क्रान्ति गरेका थिए । मंगलादेवी सिंह, शैलजा आचार्य, नोना कोइराला लगायतका नेतृहरुको भूमिका ज्यादै महत्त्वपूर्ण छ । राजनीतिमा महिलाहरुको सहभागिता जति बढाउँदै लग्यो त्यति नै राजनीतिमा सुधार आउँछ, भ्रष्टाचार पनि न्यून हुन्छ । किनभने महिला स्वभावैले संयमी, कर्तव्यपरायण तथा जिम्मेवार हुन्छन् । यो महिलाको प्राकृतिक चरित्र हो । जसरी एउटा सन्तानलाई असल संस्कार दिन महिलाको हात हुन्छ त्यसरी नै समाज एवं राष्ट्रका लागि पनि महिलाको नेतृत्वले असल संस्कार स्थापित गर्न बढी सहज हुन्छ । तर, यसको अर्थ पुरुषहरु अयोग्य हुन्छन् भन्ने होइन । पुरुषहरुको पनि आफ्नै विशेषता छन् । कतिपय विषयमा पुरुष जत्तिको महिला नहुन पनि सक्छन् । त्यसैले त समाज पुरुष र महिलाको सहयात्राबाट मात्र पूर्ण हुन सक्छ । यही कारणले गर्दा महिला सहभागितालाई नेपाली कांग्रेसले बढी जोड दिनुपर्छ ।
नेपालको राजनीतिका लागि नेपाली माटो सुहाउँदो पार्टी नेपाली कांग्रेस नै हो । यो पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता नेपाली नै हुन् । कार्ल माक्र्स, लेनिन, स्टालिन, माओत्सेतुङजस्ता विदेशीको विचार उनीहरुकै देशमा अफाप सिद्ध भइसक्यो भने नेपालमा पनि उपयोगी हुने देखिँदैन । विश्वकै राजनीतिमा पनि ‘कम्युनिज्म’ पटक पटक प्रयोग भएर असफल भइसकेको राजनीतिक चिन्तन हो ।
निदाएको काँग्रेस अब ब्युझिनु पर्छ । नेपाल र नेपालीको भविष्यमाथि भइरहेको डरलाग्दो षड्यन्त्रलाई परास्त गर्नुपर्छ । त्यसका लागि पार्टीभित्र सुदृढ आन्तरिक एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने दृढता कांग्रेसभित्र जागृत हुनुपर्छ ।