site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन बन्दैन भारतीय ज्यादतीविरुद्ध साझा धारणा ?

‘अन्त्यमा, हामी हाम्रा शत्रुका शब्द हैन मित्रको मौनलाई सम्झनेछाैँ’ भन्ने मार्टिन लुथर किङ (जुनियर)का अभिव्यक्ति वर्तमानमा नेपाली जनताको भोगाइमा चरितार्थ हुन्छ । भारतीय पक्षबाट नेपालीमाथि हुँदैआएको ज्यादतीको नियमित आकस्मिकता यसपटक कञ्चनपुरमा भारतको सशस्त्र सीमा बल (एसएसबी) को गोलीका रूपमा प्रकट भयो । भारतीय ज्यादतीको विरोधमा उभिएका एक नेपाली युवा भारतीय सुरक्षाकर्मीले हानेको गोलीबाट नेपाली भूमिभित्रै मारिए ।

नेपालीले आफ्नै भूमिभित्र निर्माण गरेको सामान्य कल्भर्टको विवादलाई बहाना  बनाएर हतियारसहितका सुरक्षाफौज नेपाली भूमिभित्र प्रवेश गर्नु र शान्तिपूर्ण प्रतिकारमा उत्रिएका नेपालीमाथि नै गोली चलाउनु अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, कानुन, प्रचलन र मान्यता सबैको उल्लंघन हो । यस्तो उल्लंघन भारतले विगतदेखि नै गर्दैआएको छ र भविष्यमा पनि रोकिने लक्षण देखिँदैन ।

केही महिनाअगाडि सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा यस्तै प्रकृतिको विवादमा झडप हुँदा नेपालीहरू पिटिए । तिलाठीमा पिटिएका देवनारायण यादवहरूको टाउकाको घाउमा खाटा नबस्दै कञ्चनपुरमा गोविन्द गौतमको छाती ताकेर गोली हानियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय पक्षबाट नेपालीमाथि हुँदैआएको हेपाहा व्यवहारको अन्त्यहीन शृंखलाको पछिल्लो प्रकरणमात्र हो कञ्चनपुर हत्या काण्ड । अर्थात्, न यो पहिलो हो, न त अन्तिम नै हुनेछ । 

अन्तर्राष्ट्रिय स्तरमा मुलकको सार्वभौमिकता सम्मान र रक्षाको निम्ति मोन्टेभिडियो कन्भेन्सन १९३३, लगायत कैयौँ अन्तर्राष्ट्रिय कानुन र प्रावधान प्रयोगमा छन् । नेपाल र भारतबीच भएको असमान भनिदैआएको सन् १९५० को सन्धिको समेत पहिलो बुँदामा नै नेपाल र भारतका दुवै सरकार एकअर्काको पूर्ण सम्प्रभुता, भूअखण्डता र स्वतन्त्रता स्वीकार्छन् र त्यसको सम्मान गर्छन् भन्ने उल्लेख छ । र, पनि भारतले नेपाली सीमादेखि सिंहदरबारसम्म नांगो हस्तक्षेप गर्दैआएको छ । 

Global Ime bank

‘आफ्नो थैलीको मुख बलियो बाँध्नु, साथीलाई चोर नलगाउनु’ भनेझैँ यतिबेला भारतले किन हेप्छभन्दा पनि त्यसको प्रतिकारमा नेपाली राजनीतिक दलहरूको साझाधारणा किन बन्दैन भन्ने प्रश्न पेचिलो बनेको छ ।

कञ्चनपुर हत्याकाण्डपछि केही राजनीतिक दलले विज्ञप्तिको तर्पण दिएर पानी माथिको ओभानो बन्ने प्रयास गरे । केहीले नेपाल बन्दकै घोषणा गरेर उत्ताउलो राष्ट्रवादको नौटंकी प्रस्तुत गरे । नागरिक दबाबपछि सरकारले रुन्चे भाषामा विज्ञप्ति निकाल्यो ।

सहिद घोषणा र १० लाख क्षतिपूर्तिका कर्मकाण्डले  निरन्तरता पायो । संघीय समाजवादी फोरमले घटनालाई रहस्यमय भन्दै लम्पसारवादको उपल्लो नमुना संसद्मै प्रस्तुत गर्यो । प्रधानमन्त्रीले घटनाको विषयमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने हिम्मत जुटाएनन् । आफ्नै पदीय हैसियत होच्याउने गरी भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारसँग कुराकानी भएको समाचार बाहिर आयो ।

सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिभित्र हतियारसहितका विदेशी सुरक्षाकर्मी प्रवेश गरी आफ्ना निशस्त्र नागरिकको हत्या गरेको विषय सामान्य हैन । यो विषय सवै दलको साझा सरोकार बन्नुपथ्र्यो । सरकारले सर्वदलीय बैठकको आह्वान गरी घटनाप्रति साझाधारणा बनाउन सक्नुपथ्र्यो । सर्वदलीय विज्ञप्तिमार्फत् घटनाको भ्रत्सना  र कूटनीतिक माध्यमबाट भारतसमक्ष उठाउनुपर्थ्यो । तर, भारतीय हस्तक्षेप र हेपाहा नीतिविरुद्ध न हिजो साझाधारणा बन्न सक्यो, न आज बन्यो, न भोलि नै बन्ने सम्भावना देखिन्छ ।

ऋतिक रोशनले नेपाली मनपर्दैन भन्यो रे ! भन्ने हल्लाका आधारमा आफ्नै राजधानी जलाउने उत्ताउलो राष्ट्रवादले यसपाली पनि आफ्नै देश बन्द गर्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्ने काम दोहर्यायो । तर, समस्याको दीर्घकालीन कूटनीतिक समाधानका निम्ति दबाब सृजना गर्नेतर्फ ध्यान दिएन । 

घटनाको श्रव्यदृश्यसहितको भिडियो फुटेज नै सार्वजनिक भइरहँदा पनि भारतीय दूतावासले आफ्ना सुरक्षाकर्मीबाट गोली प्रहार नभएको अर्को हेपाहा जिकिरसहित विज्ञप्ति सार्वजनिक गर्यो । र, मधेसलाई आफ्नो आधार इलाका दाबी गर्ने मधेसी मोर्चाले भारतीय पक्षकै दाबीलाई शिरोपर गर्दै घटना रहस्यमय भएको भद्दा तर्क अघिसार्यो । 

मधेसी मोर्चाले वर्तमान संविधानमा भएको संघीयतासम्बन्धी सीमांकनलगायतका विषयलाई लिएर आन्दोलन गर्दैआएको मधेसका २० जिल्लामध्ये कञ्चनपुर पनि एउटा हो । राजनीतिक हिसावले कञ्चनपुरमाथि मधेसी मोर्चा, थारुहट, अखण्ड सुदूरपश्चिम सबैको आआफ्नो हक दाबी छ । तर, भारतीय प्रहरीले नेपाली आगनमा आएर गोली ठोकी निर्दोष नेपालीको हत्या गर्दा त्यो शोकको घडीमा ऐक्यबद्धता जनाउन कञ्चनपुर पुग्ने फुर्सद कुनै राष्ट्रिय स्तरका नेतालाई भएन । 

अखण्ड सुदूरपश्चिमका नाइकेहरू शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट कसैलाई पनि कञ्चनपुर हत्याकाण्ड दुखेन । कैलालीमा पुगेर सोझा नागरिकलाई उत्तेजक भाषण दिएर आफ्नै देशका राष्ट्रसेवक प्रहरीमाथि आक्रमणका लागि उस्काउने राजेन्द्र महतो, अमरेशकुमार सिंह र उपेन्द्र यादवहरूलाई कञ्चनपुरमा गोविन्द गौतम मारिएको घटना सायद सामन्ती बाहुनको सामान्य मृत्युमात्र लाग्यो होला । हैन भने त्यही ठाउँमा आफ्ना देशका पुलिस मार्न उस्काउनेहरू विदेशी फौजले नेपाली नागरिक मार्दा मौन किन ?

पछिल्लो जनगणना २०६८ अनुसार तराईका २० जिल्लामा कुल जनसंख्याको ५०.२७ प्रतिशत बस्छन् । त्यसमध्ये सबैभन्दा धेरै ३९.८६ प्रतिशत पहाडी मूलका मानिस बस्छन् । दोस्रोमा ३८.७१ प्रतिशत मधेसीको जनसंख्या छ । बाँँकी थारु, मुस्लिमलगायत अन्यको छ ।  मधेसी मोर्चाले आफ्ना राजनीतिक माग पूरा गर्न मधेसका सबाल ५२ प्रतिशतको माग भएको हचुवा तथ्यांक प्रस्तुत गरिरहन्छ । जसमा गोविन्द गौतमजस्ता पहाडी बाहुनका टाउका पनि गनिएका हुन्छन् । तर, आफ्नै जुठेल्नामा विदेशीको गोलीले प्राण त्याग्न बाध्य गौतमका व्यथा तिनलाई महत्वका लाग्दैनन् ।

आफ्नो आधार इलाका भनेर दाबी गरिएको मधेसकै भूमिमा विदेशी हतियारधारी सुरक्षाकर्मी बर्दीसहित पसेर नेपाली नागरिक मार्दा धर्तीपुत्र र भूमिपुत्रका नाइके भनिएकाको समवेदनालाई छुँदैन । 
छिमेकी रिझाउने नाममा विवेकलाई बन्धक बनाएका राजनीतिक दलका नेतामात्र हैन आफूलाई नागरिक समाज र अधिकारकर्मी भन्न रुचाउने समुदायकबीच पनि भारतीय ज्यादतीविरुद्ध साझाधारणा बन्नसकेको छैन ।
देश टुक्राउने अभियानमा लागेका सीके रावतको विखण्डनकारी अभिव्यक्तिलाई ‘वाक् स्वतन्त्रता’ भन्दै विज्ञप्ति जारी गर्ने केही थान अलौकिक बुद्धिजीवी भारतीय सीमामा नेपालीमाथि हुँदैआएको अत्याचारविरुद्ध मुख खोल्दैनन् । नेपाल प्रहरीले आन्दोलनका नाममा भएको अराजकताविरुद्ध गरेको बल प्रयोगलाई अन्तर्राष्ट्रिय अदालतमा पुर्याउछुँ भनेर हुँकार गर्नेहरूको चेत भारतीय प्रहरीले नेपालीमाथि गोली ठोकेको सवालमा भने शून्य रहन्छ । काठमाडाैं र खस आर्यलाई सधैँ सराप्नु नै उपल्लो दर्जाको बौद्धिकता हो भन्ने ठान्ने मधेसका एकसे एक बुद्धिजीवी र जानकारलाई त मधेसकै भूमिमा भारतीय प्रहरीको गोलीले नेपाली मारिएको विषय गौण लाग्ने नै भयो ।  

काठमाडांै सामन्ती पहाडी र मधेसी विरोधीहरुको अखडा हो भनेर मधेसका गरीब र अशिक्षितलाई घोकाउनेहरू आफू भने वर्षेनि काठमाडौंमा घरका तला थप्छन् । आन्दोलनका आवरणमा ‘आई एम विथ भारत’ र वेलकम टु इन्डिया’ का प्ले कार्ड छातीमा टाँसेर तराईका सहरमा उफ्रनेहरूले सीमा क्षेत्रका नेपाली बासिन्दालाई भारतीयले गरेको ज्यादती कहिल्यै देख्दैनन् । भारतीय शिक्षाले दीक्षित भएकाहरू भारत एक असल छिमेकी राष्ट्र हो भन्नेबाहेक अरू सिक्दैनन् ।

मधेसका मसिहा ठानिएका एकथरी मठाधीश रोटीबेटी सम्बन्धको भजन अलाप्नमै अभ्यस्त रहन्छन् । भारतले पञ्चेश्वर, गण्डक, कोशी, खुर्दलोटन, मर्चवार, लक्ष्मणपुरजस्ता बाँध र मापदण्डविपरीत दसगजा क्षेत्रमा बनाउँदै गरेको हाइवे ड्याम तिनका चासोको विषय कहिले बनेनन् । सुस्ता, महेशपुर, कालापानी र टनकपुरमा राष्ट्र लुटिँदा तिनलाई कहिल्यै दुखेन । तर, हेक्का रहोस् रोटीबेटीको सम्बन्धलाई स्थायी, समधुर र जीवन्त राख्ने हो भने दुई देशबीच समानान्तर र सम्मानजनक सम्बन्ध आवश्यक छ । मालिक र दास प्रवृत्तिले एक्काइसाँै शताब्दीमा रोटीबेटीको परम्परा धानिरहन सक्दैन ।

मधेस मुद्दाका जानकार भनिएका बुद्धिजिवी भनिनेहरूको बौद्धिक मापदण्डभित्र दसगजामा लुटिएको नेपाली भूमि र कुटिएका मारिएका नेपालीका पीडाहरू किन अटाउँदैनन् ? तिनका बौद्धिकताको उच्चतम विन्दु काठमाडांैलाई धारेहात लगाउनुमात्र हुँदैनथ्यो भने किन मौन रहे त कञ्चनपुर घटनामा ? 

कञ्चनपुर घटनाले एकपटक पुनः सिंहदरबारभित्रका थुप्रै बुख्याँचाहरूको मुखुण्डो उतारेर दसगजा पारी पु¥याइदिएको छ । कथित राष्ट्रवाद र मधेसवादका आवरण उदांगिएका छन् ।

हिजो ‘जनयुद्ध’का नाममा भारतसँग सुरुंग युद्ध लड्ने भन्दै तराईका विभिन्न ठाउँमा खनिएका बंकर अहिले पनि पुरिएका छैनन् । तिनै बंकर खन्न खनाउन फरमान जारी गर्ने व्यक्ति यतिबेला देशका प्रधानमन्त्री छन् । तर, उनी आफ्ना नागरिक मारिएको विषयमा सीधा प्रधानमन्त्री स्तरमा त्यसको जवाफ माग्ने र दोषीलाई कारवाही हुनुपर्ने सबाल उठाउने हिम्मत राख्दैनन ।

हो ,हाम्रो आफ्नो मुलुकभित्र राजनीतिक दलहरूबीच कतिपय आन्तरिक मामलामा फरक धारणा छन् । कतिपय सबालमा विवाद र मतभेद छन् । प्रशस्त असन्तुष्टि पनि होलान् । र, त्यसको समाधान हामीले आन्तरिकरूपमा नै खोज्नुपर्छ । खोज्ने प्रयास भएका पनि छन् । आन्तरिक विवादमा हामी पहाडी, मधेसी, जनजाति र खसक्षेत्री जे भए पनि दोस्रो राष्ट्रबाट हुने हस्तक्षेपविरुद्ध भने नेपालीमात्र हौँ भन्ने देखाउनुपर्छ ।

राष्ट्रियताको सबालमा राजनीतिक दलहरूबीच साझाधारणा बन्नुपर्छ  । विडम्बना, यथार्थ फरक छ । भारतीयले हानेको गोली एक दलले  देख्छ,अर्कोले देख्दैन । सरकार बाहिर रहँदा धुरन्धर भारतविरोधी राष्ट्रवादको राग ओकल्नेहरू सरकारमा रहँदा भारत महान्को मन्त्र जप्नमा व्यस्त रहन्छन् ।

सीमाका समस्या र सवाल एक हैन अनेक छन् । सीमावारीका चेलीबेटी, धनसम्पत्ति, बालीनाली आदि इत्यादि पनि सीमापारीबाट असुरक्षित छन् । सीमाक्षेत्रमा हुने अधिकांश लुटपाट, हत्या, अपहरण र डकैतीका घटना सीमापारीबाटै हुन्छ । र, त्यस्ता घटनामा संलग्नको आश्रयस्थल भारतीय भूमि बन्ने गर्छ ।

नेपालीले आफ्नो भूमिमा सामान्य कल्भर्ट बनाउँदा भारतीयको गोली सहनुपर्छ । तर, भारतले अन्तर्राष्ट्रिय मापदण्डविपरीत नेपालका सयांै हेक्टर जमीन र बस्तीहरू डुबानमा पार्ने गरी बनाएका बाध र सडकका विषयमा नेपाल सरकार उच्चारणसमेत गर्न सक्तैन । 

एउटा सार्वभौम राष्ट्रले छिमेकी राष्ट्रलाई समान स्तरमा आफ्ना कुरा राख्न र समस्याको कूटनीतिक निकास खोज्न हच्कनु पर्ने विषय त हैन । छिमेकीसँगका सम्बन्धका अन्तर्राष्ट्रिय अभ्यास, मापदण्ड र मान्यता छन् । सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका पनि अन्तर्राष्ट्रिय मापदण्ड छन् । त्यस्तो मापदण्ड भारतका हकमा पनि लागु हुन्छ र हुनुपर्छ । 

राष्ट्रियताको सबाल राष्ट्रको भूगोल र जनसंख्याका आधारमा हैन अन्तर्राष्ट्रिय कानुन र मापदण्डका आधारमा निर्धारित हुने विषय हो । राष्ट्र सानो हुँदैमा राष्ट्रियता सानो हुने वा कमजोर हुने हैन । 

अन्त्यमा,
सहिद घोषणा, दस लाखको क्षतिपूर्ति, प्रमुख जिल्ला अधिकारी स्तरको वार्ता आदि समस्या निदानका दीर्घकालीन उपाय हैनन् । न त नागरिक स्तरको आक्रोशले नै समस्या सल्टाउँछ । घटनाको पुनरावृत्ति हुन नदिन केन्द्रीयस्तरको प्रभावकारी कूटनीतिक पहल नै एउटामात्र उपाय हो । त्यसका निम्ति राजनीतिक दलहरूबीच साझा अवधारणा र इच्छाशक्ति आवश्यक छ । अन्यथा, अर्को यस्तै नियमित आकस्मिकताको पर्खाइ नै हाम्रो नियती बनिरहने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७३  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC