नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारका दुई जना मन्त्री ऊर्जा मन्त्री जनार्दन शर्मा र स्वास्थ्य मन्त्री गगन थापाले अपेक्षाकृत राम्रो काम गरेको देखिएको छ । तर, जसले राम्रो काम गरिरहेका छन् तिनैलाई फिर्ता बोलाएर सरकार बचाउने तयारी तीव्ररूपमा अघि बढाइएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेका छन् । ‘गगनको गति रोक्ने तयारी’ शीर्षकमा उनले लेखेको समाचारमा लेखिएको छ – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका स्वास्थ्य क्षेत्रको सुधारको प्रयास बीचैमा टुंगिने खतरा बढेको छ ।
फोरम लोकतान्त्रिकका महासचिव एवम् पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै जाने इच्छा देखाएपछि यस्तो खतरा बढेको हो ।
मन्त्री थापाले नीतिगतसँगै स्वास्थ्य सेवाको बृहत् सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् ।
यो समाचारलाई आजका अन्य पत्रपत्रिकाले भने प्रकाशित गरेका छैनन् । नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई हटाउने वचन भने दिइसकेका छैनन् तर चौधरीले मन्त्रालयका कतिपय निर्देशकलाई फोन गरेर आफू पुनः मन्त्रालयमा आउने तयारी भएको जानकारी गराएका छन् ।
दाहाल–ओली ’वान टु वान’ वार्ता
आजका सबैजसो पत्रिकाले मेची–महाकाली अभियानमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक्कासि काठमाडौं फिर्ता भएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको समाचार प्रकाशित गरेका छन् ।
आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा ‘ओलीलाई दाहालको आग्रह–संशोधनमा सघाउनुस्’ शीर्षकको समाचार प्रकाशित गरेको छ । ओलीले भने संविधान संशोधनमा नभई चुनावमा सघाउने प्रतिबद्धता व्यक्त गरेको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।
नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्ये सीमांकनको विषय छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ । स्थानीय तहको निर्वाचनको वातावरण बनाउन प्रमुख तीन दलका नेताबीच यसबारेमा छलफल भइरहेको छ ।
आजको अन्नपूर्ण पोष्टले पहिलो पृष्ठमा एनसेलसँग कर असुल्न निर्देशन दिएको बारे सुजित महतले लेखेको समाचारलाई मुख्य समाचार बनाएको छ । एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेललाई पुँजीगत लाभकर तिराउन सरकारलाई निर्देशन दिएको छ ।
यो समाचारलाई आजको कान्तिपुर दैनिकले पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ । कृष्ण आचार्यले लेखेको समाचार शीर्षक छ –‘एनसेलको कर किन उठेन ?’
बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित यस समाचारले भने सबैको ध्यानाकर्षण गर्छ । पोखराबाट प्रेम नेपालीले लेखेको समाचारअनुसार पोखरामा परियारका छोरालाई गुरुङले बाजा बजाएर छोरी दिएका छन् । नौ वर्षदेखि प्रेम सम्बन्धमा रहेका तारा गुरुङ र किरण परियारबीच भएको विवाह समारोहको समाचारलाई नयाँ पत्रिका दैनिकले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
खेलकुद समाचारले पायो स्थान
आजका सबैजसो पत्रिकाको पहिलो पृष्ठमा नेपाल र केन्याबीच भएको क्रिकेटको तस्बिर प्रकाशित गरिएको छ भने केही पत्रिकाले पहिलो पृष्ठमै समाचार प्रकाशित गरेका छन् ।
नयाँ पत्रिका दैनिकले ‘सानदार जितसँगै विश्वकप सम्भावना जीवित’ शीर्षकमा पहिलो पृष्ठमा दुईवटा तस्बिरसहितको समाचार प्रकाशित गरेको छ ।
राजधानी दैनिकले ‘केन्यासँग नेपालको बदला’ शीर्षकमा पहिलो पृष्ठमा तस्बिरसहित समाचार प्रकाशित गरेको छ । हिमालय टाइम्सले पनि ‘नेपालको सानदार जित’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
आजको कान्तिपुर दैनिकले त्रिवि मैदानमा खुसीयाली मनाउँदै गरेका नेपाली खेलाडीको तस्बिर पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्टले केन्याविरुद्धको खेलमा अर्धशतक बनाएका ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले खुसी साटासाट गरेको तस्बिर प्रकाशित गरेको छ ।
नागरिक दैनिकले भने यो समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छैन ।
सम्पादकीय
‘कर नतिर्नेको ठूलो स्वर’ शीर्षकको सम्पादकीयमा नागरिक दैनिकले लेखेको छ — ‘नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर विक्रेता युरोपेली कम्पनी टेलियासोनेराले अफसोर कारोबार भनेर नेपालमा कर छल्न खोजेको हो । टेलियाले बारम्बार अफसोर कारोबार भएकाले नेपालले कर उठाउने कुनै कानुनी आधार नरहेको जनाउँदै आएको छ ।’
‘आचारसंहिता’ का विषयमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दै भनेको छ – निर्वाचनमा सहभागी हुने कुनै एक पक्षलाई फाइदा पुग्ने गरी सरकारले आर्थिक रकम वितरण गर्दा स्वस्थ निर्वाचन वातावरण बन्ने छैन ।’
‘कर्मचारी खटाउन अलमल नगर’ कान्तिपुर दैनिकको सम्पादकीय शीर्षक छ । सम्पादकीयमा भनिएको छ – प्राविधिक र राजनीतिक दुवै किसिमको तयारीले नै निर्धारित मितिमा स्थानीय तहको निर्वाचनको ग्यारेन्टी गर्नेछ । त्यसैले पनि निर्वाचन आयोग र सरकार दुवैको ध्यान यसतर्फ जाओस् ।’
‘राप्रपाभित्र असन्तुष्टि’ नयाँ पत्रिका दैनिक, ‘भूकम्पप्रतिरोधी घर निर्माणमा ढिलाइ’ राजधानी दैनिक र ‘अस्पष्ट कार्यविधिको परिणाम’ हिमालय टाइम्सका सम्पादकीय शीर्षक रहेका छन् ।