site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारको अर्को अवतार
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बाधा अड्काउ नफुकाएकै भए पनि अर्को सरकार बन्ने थियो । संसदीय  लोकतन्त्रमा संसद् रहेसम्म सरकार बनाउन र हटाउन खासै अप्ठेरो पर्दैन । प्रतिनिधि सभामा बहुमत भए सरकार बन्छ नभए जान्छ । यसरी सरकार बदलिँदा राजनीतिक अस्थिरता उत्पन्न हुने पनि होइन । यस्तै संसद्मा बहुमत हुनेले सरकार बनाउने मान्यता कुनै नियम वा विधानले बदल्न मिल्ने विषय पनि हैन । बाधा अड्काउ फुकाउको आदेश त नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रकमी नेताहरूको नाक जोगाउनमात्र जारी गराइएको हो । त्यसमा संसद्ले औपचारिकता पूरा पनि गरिसक्यो अब बहस निरर्थक छ । तर, यसबाट राष्ट्रपतिलाई अनावश्यकरूपमा अग्रसर गराउने गलत परम्परा सुरु भएको छ । आयन्दा, राष्ट्रपति स्वयंले पनि यस्ता विषयमा जोगिनुपर्छ । यद्यपि, आलङ्कारिक राष्ट्रपतिले सरकारको संविधानसम्मत सिफारिस आनाकानी नगरी स्वीकार गर्ने पनि संसदीय परम्परा नै हो । 
 
दाहालपछि को ? 
अब ठूलै उथलपुथल नभए केपाली कांग्रेसको काँधमा चडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुनेछन् । अनि नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई उनले सत्ता सुम्पने सहमित भएको प्रचार भएको छ । (देउवा सिन्दाबाद हुन सजिलै सक्छन् कि समुद्री बूढाको आधुनिकअवतार बनेर प्रचण्डले सताउने हुन् पछि नै देखिनेछ । ) संविधानको कुनै धारामा यसरी आलोपालो सरकार चलाउने व्यवस्था लेखिएको छैन । यसैले यस्तो सहमति, समझदारी सबै असंवैधानिक नै हु्न् । यसलाई भद्र, अभद्र जे भने पनि सिद्धान्तहीन गठबन्धन स्वार्थमा मात्र आधारित हुने हो । यसैले अहिले शेरबहादुर देउवा र पुष्पकमल दाहाल जति नै हौसिए पनि सरकार छाड्ने बेलामा दाहाल सजिलै त पक्कै हट्दैनन् । सुशील कोइरालाई हटाउनजस्तै संविधानमै लेख्न पनि अब मिल्दैन । दाहालले कतै बोल्दा 'अहिले जनताले माओवादी नेतृत्व खोजेका छन्' भनेछन् । (जनताले खोजेकै भए त चुनावमै जिताउँथे नि ! ) सरकारबाट हट्नु पर्ने भएपछि उनलाई यस्तै कुनै 'दिव्य ज्ञान' हुनसक्छ । दाहालको आनीबानी अनुसारको अनुमान हो यो । यसैले आधा संभावना त छ ।  
 
मूलतः द्वन्द्वकालीन अपराधमा उन्मुक्ति दिलाउन तथा केही आर्थिक अनियमिततामा नेपाली कांग्रेसलाई साक्षी राख्न (न)पाउनेबित्तिकै माओवादीको सहकार्यको आवश्यकता र औचित्य पनि समाप्त हुनेछ । अर्कातिर कांग्रेसको 'हाइह्यान्डेडनेस' सहन पनि सजिलो यसै हुँदैन । त्यसपछि बिस्तारै पुष्पकमल दाहाल 'प्रचण्ड'मा कम्युनिस्ट मोह जाग्न थाल्नेछ । सत्ताका सुरूका दिनमा प्रयोग गरिएका 'बाह्र बुँदेदेखिका सहयात्री', 'परिवर्तनका पक्षधर', 'शान्ति प्रक्रियाका मुख्य पक्ष' जस्ता थेगो बिस्तारै 'वामपन्थी एकता', 'यथास्थिति विरोधी', 'देशभक्तहरूको एकता आवश्यक' जस्ता लफ्फाजीमा बदलिन थाल्नेछ । यसबीच स्थानीय निकायको निर्वाचनले पनि कांग्रेस र माओवादीबीच कटुता उत्पन्न गरानेछ । चुनाव होस् भन्ने कांग्रेसको चाहना भए पनि माओवादीलाई निर्वाचनको खासै मोह हुनेछैन । कारण, माओवादी एक्लै चुनावमा गए धेरै कमजोर हुनपुग्छ । केन्द्रमा जति नै ठूलो केन्द्र बनाए पनि जनतामा माओवादीप्रतिको विकर्षणमा त्यसले केही अन्तर पारेको छैन । जनताका माझमा माओवादी खहरेजस्तै सुकिसकेको छ ।
 
शान्ति प्रक्रियाका सहकर्मीका नाममा मानवताविरुद्धका जघन्य अपराधलाई दण्डहीन बनाउन खोजे कांग्रेसको स्थानीय संगठनमा पहिरो जानसक्छ भने नगरे माओवादीको अस्तित्व नै संकटमा पर्नेछ । यसैले ६ महिना पुग्दा नपुग्दै एकातिर कांग्रेसको असन्तुष्टि चुलिँदै जानेछ भने अर्कातिर एमालेले पनि यसबीच चलखेल थाल्नेछ ।  अर्को नौ महिना नपुग्दै दाहालले कांग्रेसलाई सरकारबाट निस्केर जाने निहुँ बनाइदिनेछन् । एमालेले केही दिन थप प्रचण्डलाई नै प्रधानमन्त्री बनाई दिनसक्छ । मधेसी दलहरूको पनि प्रतिस्पर्धा त कांग्रेससँगै हुने हो । केन्द्रमा गैरकांग्रेसी सरकार भए स्थानीय निर्वाचनमा लाभ हुने ठानेर उनीहरू पनि  गैरकांग्रेसी सरकारकै पक्षमा हुनेछन् । यसैले अहिले प्रचार गरिएजस्तो सजिलै शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न दाहाल तयार हुनेछैनन् ।
सरकारमा पुगेपछि माओवादी नेता कार्यकर्ताको पुरानो बानी नयाँ संस्करण प्रकट हुनेछ र त्यसको बढी मार कांग्रेस समर्थकले भोग्नुपर्ने छ । प्रस्तावित प्रधानमन्त्री प्रचण्ड नै पनि पुष्पकमलको चोला बिसाएर प्रचण्डावतारमा रूपान्तरित हुनसक्छन् । कांग्रेसले संसदीय संख्याभन्दा कम र माओवादीले अपेक्षाकृत धेरै बढी मन्त्रालय लिने सहमति पनि संयुक्त सरकारको अभ्यासविपरीत हुन्छ । यस्तो प्रयोगले संसदीय प्रणालीलाई मात्र हैन स्वयं सरकारलाई नै पनि कमजोर बनाउँछ । कांग्रेसलाई सुरुमै आफूले पाउनुपर्ने जति नपाएको गुनासो उत्पन्न हुनेछ भने माओवादीमा सहयात्री दलको आकारले कुण्ठा उत्पन्न गराउनेछ । कांग्रेसका मन्त्रीले दाहाललाई पक्कै टेर्नेछैनन् । मन्त्रिपरिषद्मा अर्को मन्त्रालयको कामकाजमा पनि हस्तक्षेप गर्नेछन् । यसैले नयाँ गठबन्धन पनि निर्धारित समयसम्म चल्छ भनेर विश्वास गर्ने आधार देखिँदैन । अपराधमा उन्मुक्तिको प्रयास भयो भने त एमालेले यसै पनि एउटै तिरले दुईतिर निसाना लगाउनेछ ।
 
कांग्रेसको अर्को गल्ती
किसुनजी साँच्चैका योगीजत्तिकै अनिच्छुक थिए । यसैगरी साधनको पवित्रतामा जोड दिन्थे हठकै हदसम्म । बीपी कोइराला पनि जीवनको प्रारम्भ र उत्तरार्धमा साधनको पवित्रतामा विश्वास गर्थे । उनले २०२५ सालदेखि २०३३ सम्म भने गिरिजाबाबुकै बाटो रोजे । उनको भारत निर्वासनले नेपालको लोकतान्त्रिक विकासको गति अलमल्यायो ।      
 
देउवा गिरिजाबाबुलाई गुरु भन्छन् । पहिले किसुनजी निकट रहेकाहरू अहिले देउवासँग छन् तर यथार्थमा भने गिरिजाबाबुका असली अनुयायी देउवा नै हुन् । गिरिजाबाबुजस्तै देउवा पनि साध्यका लागि जस्तोसुकै साधन अपनाउन  हच्कँदैनन् ।  कांग्रेसका यी दुवै नेतामा पाइने अर्को समानता आफ्नो महत्त्वाकांक्षालाई नै उनीहरूले देश र पार्टीको ध्येय ठान्नु हो । र, देउवा पनि गिरिजाबाबुजस्तै उद्दाम महत्वाकांक्षी छन् । यही कारणले हो कि शेरबहादुर देउवा पनि गिरिजाप्रसाद कोइरालाले २०६३ सालमा गरेको एमालेलाई 'साइज'मा राख्न माओवादीको हैसियत बढाइदिने 'भयंकर भुल' २०७३ सालमा पुनः गर्दैछन् । पहिलो भुलले लोकतन्त्र कहिल्यै बलियो हुननसक्ने बनाएको छ भने अर्को भुलले सायद कांग्रेसको अर्को सिद्धान्त राष्ट्रियतालाई कमजोर बनाउनेछ । 
( यसबाट सधैँ सत्तामा रहने कांग्रेसको चाहना भने पुग्न सक्छ । यही अवस्थामा आगामी निर्वाचनहरूमा कांग्रेस तेस्रो पार्टी हुने सम्भावना नै बलियो छ । तेस्रो पार्टी भएपछि कहिले कसैको कहिले अर्कैको दौराको फेर समातेर सत्तामा जान सजिलो हुन्छ । संसद्को पहिले पार्टी हुँदा आफूभन्दा अढाइ गुना सानो दलको नेतृत्वमा सरकारमा जान नहिचकिचाउने कांग्रेसलाई तेस्रोका हैसियतमा सरकारमा सहभागी भइरहन गाह्रो पनि पक्कै लाग्नेछैन ।)
 
राजनीतिका ठूला कुरा
कुरा त ठूला गरिए तर माओवादीसँग ९ बुँदे सहमति गर्दा र सरकारबाट माओवादी हटेपछि ओलीले कांग्रेसका नेताहरूलाई फकाउनेदेखि मधेसीसँग गरेको 'मुलाकात'ले प्रधानमन्त्री केपी शर्मा औलीलाई पिन एउटै ड्याङका सिद्ध गरेको छ । पुनर्निर्माण प्राधिकरणमा खटाइएका इन्जिनियरले काम र तलब पाएका छैनन् तर पीडित पहिचानका नाममा वा इन्जिनियर भर्ना गर्ने ठेक्का पाउने गैरसरकारी संस्थाका हातमा कति परिसक्यो भन्ने कसैलाई थाहा छैन । यस्तै घटनाले व्यक्तिको कसी लाग्ने हो । दुवैका मनमा खोट छ र ग्लानि हुने हुनाले बहुमत र अल्पमत 'जोगीसँग भैँसी र भैँसीसँग जोगी' डराएजस्ता भएका छन् । आफैँभित्रको अपराधबोधले यी दुवैथरीलाई आगामी दिनमा थप आक्रामक बनाए भने आश्चर्य नमाने हुन्छ । राष्ट्रिय सहमतिको व्याख्या 'काले काले मिलेर भाले खाने' अर्थमा गरियो । संविधानलाई समेत त्यही दुराशययुक्त व्याख्याले बिटुलो बनाइयो । अहिले संकटका बेलामा डेढ घडी भद्रा हेरेर बस्नु परेको छ।
 
ओलीले अब्बलै ठहरिने त केही काम गरेका छैनन् । उनका कारणले नाकाबन्दी खोलिएको हो भने पहिले नै नखोलेर किन मानवीय सास्ती लम्याएको त भनेर खोँचे थाप्न सकिन्छ । यसैगरी नाकाबन्दीका कारण कति क्षति भयो र त्यसलाई कम गर्ने प्रयास किन भएन पनि भन्न सकिन्छ । तर, यस्ता प्रश्न अर्थहीन छन् । नाकाबन्दी भारतीय बाबुहरूको अहङ्कारको उपज हो । मलजल हाम्रैहरूले गरेका हुन् । एकथरीले भारतलाई उक्साए भने अर्काथरीले थप चिड्याउने काम गरे । यही मौकामा चीन नेपालको निकट भएको हो । भारतको व्यवहारबाट दिक्क र क्रुद्ध नेपाली जनमानसअनुसार सरकारमा ओली त के उपेन्द्र यादवै भए पनि चीनसँग निकट हुनु स्वाभाविक हो । भारतले आफ्नै गल्ती सच्याउन नाकाबन्दी समाप्त गरेको हो । भारतले यसबीच जे भने पनि नेपाली जनताका बीचमा ठूलो सद्भाव गुमाएको छ । चीनसँगका सम्झौता र विकासका सपना ओलीलाई अर्को १० वर्ष शासन गर्न दिए पनि पूरा हुनेछैन । पुनर्निर्माणमा जस्तै यी विकासका सपनामा पनि केही भए गरिएको छैन । यस्ता काम हावामा हुने हैनन् । यसैले ओलीको गाथा जति नै गाए पनि सार त्यसमा केही छैन । प्रचण्डले आधा दर्जन नबनाए पनि कम्तीमा तीन जना उपप्रधानमन्त्री बनाउने त होलान् । मधेसीले सरकारमा सामेल हुने निहुँ नपाएमात्रै हो नत्र संख्या पनि ओलीको भन्दा कम नहोला। भूकम्पपीडितले त यसै पनि नपाउने उसै पनि नपाउने नै हुन् ।   
 
र अन्त्यमा
सधैँ नै नेपालको राजनीतिमा विपक्षीलाई आक्रमण गर्न विदेशी दलालको आरोप लगाउने गरिएको छ । पछिल्ला दिनमा त आफूलाई अप्ठेरो भयो वा आफूले गरेको भ्रष्टाचारबाट ध्यान हटाउन परेमा विदेशी दलालको आरोप बढी नै लाग्ने गरेको छ । सजिलो पनि छ । तर यसले शासकहरूले खानुपर्ने गाली विदेशीलाई विशेषगरी भारतले पाउँछ र रैथाने बेइमानहरू चोखिन्छन् । यिनले नमाने त भारत वा चीनले सरकार बदल्न सक्तैन नि ! अब अरूतिर हैन अपराधी खोज्न भित्रै आँखा लगाउनुपर्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC