site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कथा सोमदेवको वेचैनी
Sarbottam CementSarbottam Cement

– रामचन्द्र भट्ट


बिहान निद्रा खुलेलगत्तै सोमदेवको आँखा भित्ते क्यालेन्डरमा पर्छ । २१ गतेलाई साइनपेनले रातो गोलाकार घेरा लगाएको ओछ्यानबाटै देखिएको छ । उनी मनमनै दिन गिन्ती गर्छन्, “बल्ल आज १२ गते भयो । २१ गते पार्टी छ । उफ् आज बल्ल बिहान भयो । अझै सिंगै ९ दिन पो बाँकी छ ।”

सोमदेव कुनै बखतका चर्चित सचिव हुन् । देशको अर्थतन्त्र, उद्योग–वाणिज्य, जलस्रोत, कृषि, स्थानीय विकास, श्रम प्रशासनको क्षेत्रमा उनको ज्ञान र अनुभवको दायरा असाध्यै फराकिलो छ । एक हिसाबले भन्नुपर्दा उनी नेपालको प्रशासनिक क्षेत्रमा ‘इन्स्टिच्युसनल मेमोरी’ नै हुन् । विभिन्न कालखण्डमा भएका आर्थिक, व्यापारिक सन्धि–सम्झौताका तिथिमिति, त्यसका बारेमा अक्षरशः व्याख्या, विश्लेषण गर्न सक्ने खुबी छ उनमा ।

Prabhu Bank
Agni Group
NIC Asia

सचिवको पाँच वर्षे कार्यकालका क्रममा उनले तीनवटा मन्त्रालय र अन्तिममा मन्त्रिपरिषद् सचिवालयमा काम गरे । सचिव भएर मन्त्रालयमा हुँदा चर्को शान–शौकत, मान–मनितो थियो । मन्त्रीले भनेको एउटा फाइल रोकिएपछि उनी कोपभाजनमा परे । त्यसको नतिजा— अवकाशको एक वर्षअघि उनलाई मन्त्रिपरिषद्मा लगेर थन्काइयो ।

सहसचिव, सचिव हुँदा हरेक साँझ पार्टी, भोज–भतेर, बैठक नभएका दिन कुनै थिएनन् । कार्यशाला गोष्ठी, उच्चस्तरीय बैठक, समीक्षा, योजना तर्जुमा, रात्रिभोज त नियमित नै थिए । हुँदाहुँदा बिहे, व्रतबन्धका भोजमा समेत ‘हजुर त जसरी पनि पाउकष्ट गरिदिनुपर्‍यो’ भन्दै निमन्त्रणा पत्र टक्र्याउन आउने पनि थोरै हुन्थेनन् ।

Global Ime bank

उनले बिताएको निजामती सेवाका २८ वर्षमा पछिल्ला १० वर्षमा शायद कमै दिन होलान्— साँझको खाना घरमा खाएको । हरेक राति उनको डिनर बाहिरै हुन्थ्यो । कहिले दाताको प्रायोजनमा, कहिले मन्त्रालयमातहतका निकायको आयोजनामा । कहिले व्यवसायीको आतिथ्यतामा त कहिले सहकारी (सचिवले अर्को सचिवलाई सम्बोधन गर्दा सहकारी शब्द प्रयोग हुनेगर्छ)को आग्रहमा त्यस्ता डिनर हुन्थे ।

रिटायर भएपछि उनलाई आउने निम्तो ह्वात्तै घट्यो । पदमा हुँदाको तुलनामा ७५ प्रतिशत निम्तो कम भए । स्वाभाविकै हो । कतिपय निम्ता पदीय आधारमै आउँथे । पदमा नहुँदा पनि घनिष्ठहरू, उनले सरकारी सेवाको क्रममा गुन लगाएकाहरूले भने सम्झिरहन्थे ।

एक वर्षसम्म त्यो क्रम जारी रह्यो । अहिले उनलाई सम्झिने, बोलाउनेहरू असाध्यै कम छन् । उनले सचिव भएर काम गरेको मन्त्रालयअन्तर्गतको एउटा बोर्डले आउँदो २१ गते वार्षिक कार्यक्रम राखेको छ । रात्रिभोजसहितको कार्यक्रम हो त्यो । २१ गते कहिले आउला भनेर उनी दिनको तीन पटक क्यालेन्डरमा आँखा पुर्‍याउँछन् ।

रिटायर्ड जीवन बडो कष्टप्रद हुने उनको अनुभव रह्यो । न कुराकानी गर्ने साथी नै मिल्छन्, न समय बिताउने साधन नै । हिजोआज उनको दिनचर्या फेसबुकमा स्टाटस लेख्दै, अरूका स्टाटसमा कमेन्ट गर्दै बितेको छ । “धन्न यो जुकरबर्गले फेसबुक बनाइदिएछ र समय बिताउन अलि सजिलो भएको छ,” उनी यसै भन्छन् । मनमनै फेसबुकलाई धन्यवाद दिन्छन् ।

उनको मन फेरि क्यालेन्डरको २१ गतेमै पुग्छ । “त्यो दिन त टन्न पिउन पनि पाइन्छ । पुराना कर्मचारी साथीहरूसँग भेट पनि पक्कै हुन्छ,” मनमनै भन्छन्, “बरु टन्न पिएपछि कसलाई घरसम्म ल्याइदेऊ भन्नू ?” उनको चिन्ता थपिन्छ ।

“आ... कोही न कोही त पक्कै निस्किएलान् नि मलाई घरसम्म छाडिदिने । त्यत्रा वर्षसम्म काम गरेको मन्त्रालय अनि दुई वर्षसम्म पदेन अध्यक्ष भएर चलाएको बोर्डको कार्यक्रम हो क्यार । कसै न कसैले त कसो घरसम्म नल्याइदेलान् ?” उनी ढुक्क हुन खोज्छन् ।

सरकारी सेवामा हुँदा प्राप्त हुने ‘हाईहाई’ पदसँगै जाने रहेछ । सोमदेव अहिले छर्लंग भएका छन् । बिहान मर्निङवाक गर्दा पाइने नमस्कार पनि पदको बिदाइसँगै घट्दो रहेछ । शेयर बजारको बियरिस ट्रेन्डको ग्राफजस्तै गरी घट्दो रहेछ नमस्कार पनि । फेरि कसैले बाटोमा भेटेर ‘सचिवज्यू, नमस्कार’ भनिहाले पनि व्यंग्य गरेजस्तो लाग्न थालेको छ ।

मर्निङवाकबाट आइनपुग्दै घरको बैठकमा लाग्ने भीड पनि पदसँगै सरुवा हुने रहेछ । बिहानभरि भान्छे नानीलाई चिया बनाएर बैठकमा खेप्नुपर्ने अवस्था पनि पूरै हटेको छ । लामो समयसम्म बिहान ९ बजे घरबाट निस्किने बानी परेकाले उनी कतिपटक त झुक्किएका पनि छन् । बिहानको खाना खान ढिला भयो भनेर पत्नीसँग कराएका पनि छन् । तर, बिस्तारै बानी पर्दै गयो ।

पुरानो चिनजान र सम्पर्कका मानिसहरूले यदाकदा सम्झिन्छन् । त्यो पनि ज्यादाचाहिँ काम परेको घडीमा मात्र । बहालवाला कर्मचारीसम्म पहुँच पुगेन भने सोमदेवमार्फत गराउन सकिन्छ कि भनेर प्रयास गर्नेहरू अझै बाँकी छन् ।

तेस्रो मुलुकमा निकासीका लागि प्रक्रिया अघि बढाउँदा लामो समयसम्म महाशाखाले फाइल रोकेर राखेपछि एउटा उद्योगीले उनलाई सम्झियो । ठूलै रकमको निकासी थियो त्यो ।

“लौ न सर, हजुरले एकपटक सहसचिवज्यूलाई भनसुन गरिदिनुपर्‍यो । दुई महिना भैसक्यो, अध्ययनकै क्रममा छौं भन्छन् मन्त्रालयका मानिसहरू,” उद्योगीले दुःखेसो पोख्यो । पदमा हुँदा सोमदेवलाई यसो पालनपोषण गर्दै आएको थियो त्यो उद्योगीले । त्यही नाताले उसले त्यति भन्ने आँट राखेको छ ।

“नेपालको कर्मचारीतन्त्र पनि खत्तमै छ भन्या । भनसुन नगरी, यसो तलमाथि नगरी कसैले काम गर्दैनन्,” सोमदेवले भनिहाले ।

उनले आफ्नो पालामा कागजपत्र मिलेन भन्दै फाइल अड्काएर राखेको कुरालाई त्यही उद्योगीको मनमा पनि चसक्क बिझेको हुनुपर्छ । त्यही घटनादेखि नै त्यो उद्योगी र सोमदेवको द्रव्यमित्रता जोडिएको थियो । उद्योगीले कागजपत्र नमिलाई ल्याए पनि सोमदेव काम मिलाइदिन्थे किनकि बीचमा द्रव्य जोडिएको थियो ।

सोमदेवले सहसचिवलाई फोन गरेर उद्योगीलाई हेरिदिन आग्रह गरे । पहिले–पहिले आदेश हुन्थ्यो उनको सहसचिवउपर । आज भने आग्रह थियो । सहसचिवले पनि रिटायर्ड भइसकेका सचिवलाई किन मान्थ्यो र ! सीधै इन्कार गर्न त सकेन सहसचिवले । उसले भूमिका बाँध्दै भन्यो, “सर, पहिलेभन्दा अलिकति नियममा चेन्ज भएको छ । उहाँले त्यो प्रक्रिया पूरा नगरी फाइल पेश गर्नुभएको रहेछ ।”

नियममा कुनै फेरवदल भएको कसैलाई जानकारी छैन । फेरबदल भएको छ त सचिव पदमा मात्र । जिन्दगीमा पहिलोपल्ट आज सोमदेवले भनेको कुनै कर्मचारीले मानेन । पदमा नभएपछि कसैले टेर्दा रहेनछन् । त्यही मन्त्रालयमा उनले राइदाइ गरे । सहसचिवदेखि सुब्बा, खरिदारसम्म थुरथुर हुन्थे उनको अघिल्तिर । तर, आज सहसचिवले उनलाई नियम पढायो, सवक सिकायो । आफूले जे भन्यो, त्यही हुने मन्त्रालय आज आफ्नो केही नचल्ने भइसकेछ । पद नभएकै कारण सहसचिवले हेपेको, नटेरेको महसुस उनलाई भयो ।

“सरजस्तो क्यापेबल मान्छेले यसो राजनीतिक नियुक्तिका लागि च्यानल मिलाउनुपर्‍यो हजुर,” सचिव हुँदा पीए बसेको गुञ्जमानले एकदिन घरमै आएर भन्यो । उसको प्रस्ताव पनि नराम्रो त होइन तर च्यानल मिलाउनु कसरी ? कर्मचारी हुँदा कुनै दलनिकट हुनै सकिएन । सबैसँग प्रोफेसनलभन्दा बाहेक अरूखाले सम्बन्ध स्थापित गर्न सकेनन् उनले । सुब्बादेखि निजामती सेवामा प्रवेश गरेका सोमदेवले सचिवबाट अवकाश लिँदासम्म कुनै पनि राजनीतिक दल, मन्त्रीसँग कहिल्यै निकटतम सम्बन्ध राख्न सकेनन् । जे–जति सम्बन्ध रह्यो, त्यो कर्मचारीको हैसियतमै सीमित भयो । उनलाई कहिलेकाहीँ लाग्छ— मन्त्रीसँग निकट हुन सकेको भए अहिले यस्तो बोरिङ जीवन त हुन्थेन । कहीँ न कहीँ राजनीतिक नियुक्ति त पाइन्थ्यो । सारा सहकारीहरू कुनै न कुनै नियुक्ति थापेर बसेका छन् । आफूमात्र इमान्दार हुँदा हात लाग्यो शून्य भएको छ ।

“सचिवज्यू, यसो बाटो सम्याउँदै गर्नुस् है । दुई वर्ष त बाँकी छ तपाईंको पनि,” मन्त्रालयकै एक सहसचिवले त्यतिखेर भनेका थिए । उनको सल्लाहलाई एक कानले सुनेर अर्को कानले उडाएका थिए सोमदेवले ।

उनलाई लागेको थियो— वर्षमा ६ महिना अमेरिका, ६ महिना अस्ट्रेलिया गएर बसिन्छ मस्तले । यो अभावको, धूवाँधूलोको शहरलाई धेरै समय कुरेर बस्ने मनै छैन । गाउँ फर्किऊँ भने त्यहाँ कसरी टिक्न सकिएला र ?

रिटायर्ड भएको तीन महिनापछि सपत्नी अस्ट्रेलिया गए सोमदेव । त्यहाँ पढ्न भनेर गएको कान्छो छोरो त्यतै सेटल भएर बसेको छ । ६ महिनाअघि सोमदेवको नाति जन्मिएको छ । छोरा–बुहारी नै काम गर्ने भएकाले बच्चा हेर्न भनेर गएका सम्धी–सम्धिनी भर्खरै फर्किएका छन् । हाँस्यकलाकार राजाराम पौडेलको शब्द सापटी लिने हो भने सम्धी–सम्धिनी पनि तेल भिसामा गएका थिए । सोमदेवका दम्पत्ती पनि त्यही रूपमा पुगे ब्रिसबेन शहर ।

छोरा–बुहारी दुबै बिहान ७ बजे अफिसका लागि निस्किन्छन् । त्यसपछि सात महिनाको नातिलाई खुवाउने, पिलाउने, हेरचाह गर्ने काम उनीहरूको जिम्मामा आउँछ । बिहानको पारिलो घाममा नातिलाई स्ट्रोलरमा राखेर पार्कमा डुलाउनु दम्पत्तीको नियमित कार्य बनेको छ । यसले गर्दा उनीहरूलाई पनि मर्निङवाक पनि हुने गरेको छ ।

पार्कमा नेपालबाट आएका अरु वृद्धवृद्धाहरू पनि भेटिन्छन् । कुराकानी हुन्छ । सोमदेव लो–प्रोफाइलमै बस्न रुचाउँछन् । उनी आफूलाई नेपालको रिटायर्ड सचिवका रूपमा चिनाउन खासै रुचाउँदैनन् । वृद्धवृद्धाहरूसँग कुरा गर्दा उनी सामान्य रूपमा प्रस्तुत भइदिन्छन् ।

एक साँझ पार्कमा नातिलाई घुमाउँदै गर्दा एउटा युवकले भेट्यो । पार्कको बेन्चमा बसेर किताब पढिरहेको युवकले निकैबेर हेर्‍यो सोमदेवलाई ।

“ओहो सचिवज्यू, नमस्कार । मलाई चिन्नुभयो ?” युवक अघिल्तिर आएर अभिवादन गर्‍यो । 

“ओहो बाबु, तपाईं पनि यहाँ ?” उनी युवकलाई त्यहाँ देखेर चकित परे ।

युवक नेपालको एउटा टेलिभिजनमा काम गर्ने पत्रकार थियो । पत्नीको डिपेन्डेन्ट भएर ऊ त्यहाँ आएर बसोबास गर्न थालेको पनि तीन वर्ष भइसकेको छ । ऊ पनि त्यही शहरमा बस्छ ।

पत्रकारले पूर्वसचिव सोमदेवलाई कोट गरेर, उनको भनाइ राखेर अस्ट्रेलियामा नेपाली समुदायको विषयमा एउटा समाचार तयार पार्‍यो । नेपालको एउटा अनलाइनमा प्रकाशित भयो त्यो समाचार । स्ट्रोलरमा बच्चा राखेर पार्कमा डुलाइरहेको फोटो पनि सँगै प्रकाशित भयो ।

समाचार प्रकाशित भएको तेस्रो दिन परिचित उपसचिवले नेपालबाट मेसेन्जरमा कल गरे, “सर, तपाईंजस्तो मान्छे कहाँ नाति खेलाएर बस्नुभएको अस्ट्रेलियामा ?” सामान्य भलाकुसारीपछि उपसचिवले भन्यो ।

उसले जतिसक्दो चाँडो नेपाल फर्किन आग्रह गर्‍यो, “एउटा समितिमा तपाईंको कुराकानी अघि बढाएको छु मैले । मन्त्रीको पीए, मन्त्रीको पार्टीका एकजना नेताको च्यानल मिलाएको छु, आइहाल्नुपर्‍यो ।”

सोमदेवलाई पनि आश जाग्यो । आफ्ना सहकारीहरूले अनेक मिलाएर नियुक्ति खाएका छन् । ६५ वर्षसम्म त मज्जाले खट्न सक्छु भन्ने आँट उनलाई छ । जरुरी काम पर्‍यो, नियुक्ति पाइने भइयो भन्दै छोराबुहारीलाई सुनाए ।

उनलाई पदविहीन भएर हात खाली बस्नुपर्दा कसैले नटेरेको पीडा छ । पद नहुनेलाई समाजले नगनेको अनुभव छ । त्यसो हुँदा उनी जसरी भए पनि पद लिने निधोमा पुग्छन् ।

“ड्याडी हजुरले त्यहाँ नियुक्ति हुँदा पाउने तलब सुविधा बराबर मै दिउँदा डलर । यो बुढेसकालमा यहीँ नबसेर के दुःख बेसाउन मन लाग्या हजुरलाई ?” छोराले आग्रह ग¥यो । बाउको मायाले भन्दा पनि उसका लागि समस्या बच्चा हेरिदिने मानिसको थियो । बाउ–आमा फर्किनासाथ बेबीसिटरमा लगेर बच्चालाई राख्नुपथ्र्यो । छोरा–बुहारीको आग्रहको परवाह नराखी उनीहरू नेपाल फर्किए ।

“मैले मन्त्रीज्यूसमक्ष कुरा पुर्‍याइसक्या छु । अबको बल तपाईंको खुट्टामा छ । खेलाडीहरू कोही छैनन् । गोलपोस्टसम्मै खाली छ । जति जोडले तपाईं प्रहार गर्न सक्नुहुन्छ, गोल हुने सम्भावना त्यत्तिकै छ,” उपसचिवले बडो साहित्यिक रूपमा व्याख्या गर्‍यो ।

“मैले के गर्नुपर्‍यो, तपाईं भन्नुस् न !” उनले सोधे ।

“हजुरलाई के भनिरहनुपर्‍यो र ! त्यो समितिको वर्षभरिको बजेट ६५ करोड छ । कार्यक्रम र भत्तामा मात्र ४० करोड छ । अब आफैं हिसाबकिताब गर्नुस् न सचिवज्यू । मन्त्रीज्यू, उहाँको पार्टीले केही अपेक्षा गरेको छ । अब मलाई पनि यसो हेरिदिनुभयो भने पनि म अन्यथा मान्दिनँ । हिहिही...” उपसचिवले पूरै दाँत देखाउँदै हाँस्यो ।

घूस खुवाएर पद लिने चाहना त उनको छँदै छैन । फेरि घूस दिएर पद लिएको थाहा भयो भने छोराहरूले छिःछिः दूरदूर गर्नु त छँदै छ । अख्तियारले थाहा पायो भने ? उनी घूस नखुवाउने अडानमा अडिए ।

सचिव हुँदा बन्द भएको एउटा उद्योगको जग्गा बेच्दा हात परेको रकम पचाउन उनलाई कम्ती सास्ती परेको थिएन । अख्तियारमा परेको मुद्दा गत वर्ष बडो मुस्किलले टुंगिएको थियो । निजामती सेवामा सबैभन्दा शुभलाभ मिलेको अवसर त्यही नै थियो । त्यसभन्दा अघि हात लागेको रकमले नयाँ बानेश्वरमा घर बनाउन सफल भएका थिए । उद्योगको जग्गा बिक्रीबाट हात लागेको रकमबाट भने सालीकी छोरीको नाममा बूढानीलकण्ठमा पाँच रोपनी जग्गा किनेका छन् ।

“हजुरले यो अवसर लिनुभएन भने अर्को तयार छै है सर,” उपसचिवले डर देखायो ।

“कति अपेक्षा राखिबक्सेको छ मन्त्रीज्यूले ?” सोमदेवले खुसुक्क सोधे ।

“चुनाव आउन लागेको छ । त्यही भएर अढाई करोड दिनुभयो भने पद हजुरलाई मिल्छ । बाँकी कुरा म मिलाउँला हजुर ।”

“ओहो ! अढाई करोड ?” सुन्दैमा उनको होश हवास उड्यो । घूसको दर बढेको हो कि मुद्रास्फीति बढेको हो, उनलाई पत्तो भएन । “हाकाहाकी करोड घूस माग्छन् । कतिसम्म डर नभएका ?” मनमनै सोचे ।

एकातिर घूस ख्वाएर पद लिने चाहना छैन भने अर्कातिर पदबिना बस्नुपर्दाको पीडाको भुमरीमा छन् सोमदेव । उनले घूस नखुवाए पनि त्यो पदमा अरू कोही नआउनेवाला त होइन । पाँच वर्ष टिक्न पाइयो भने त ५ करोड निकाल्न सकिने उनको आँट छ । कहाँ–कहाँबाट घूसको सावाँ–ब्याज असुली गर्न सकिन्छ, उनलाई राम्रै ज्ञान छ ।

“आऽऽ बूढानीलकण्ठको दुई रोपनी जग्गा बेच्दा त पुगिहाल्ने रहेछ नि !”

छोराहरूलाई खबरै नगरी जग्गा बेचेर पद लिने विचार गर्छन् उनी ।

“चुनाव आउन चार महिनामात्र बाँकी छ । चुनावपछिको सरकारले मलाई राखिरहला त ?” आफ्नो शंका उनले उपसचिवसँग राखे । पदको मोलतोल २ करोडमा टुंगो लाग्यो ।

एउटा सरकार, एउटा मन्त्रीले गरेका यस्ता नियुक्ति अर्को मन्त्री आउनासाथ पजनी भएका धेरै घटनाका उनी आफैं साक्षी छन् । लगानी त के, ब्याज पनि असुली गर्न नपाई पदबाट हात धुनेहरू धेरैलाई उनले चिनेका छन् । झन् अहिले त के हो के हो ! २ करोडको लगानी डुब्ला भन्ने सोमदेवलाई भयंकर डर छ । ठूलो त्रास छ ।

“ए हजुर, यति कुरा त हजुरले शंका गर्नुपर्ने कुरा हो र ? हजुर आफैं पनि जानिफकार होइसिन्छ नि । कानुनको दफा, उपदफा उल्लेख गरेर पाँच वर्षको लागि भनेर हजुरलाई नियुक्त गरेपछि इन्द्रेको बाउ चन्द्रे आए पनि हजुरलाई हटाउन कसको तागत ?” ऊ विश्वास दिलाउने प्रयास गर्छ, “त्यसमाथि चुनावपछि पनि जितेर मन्त्रीज्यू यही मन्त्रालय, नभए पनि आउँदो सरकारमा फेरि आउनुहुन्छ । लेखेर राख्नुहोला ।”

पदको प्यासमा डुबेका सोमदेवलाई उपसचिवको कुरामा विश्वास लाग्छ ।

“रकम त प्रिपेड हो नि हजुर । चुनाव नआएको भए त किस्ताबन्दी र पोस्टपेडले पनि काम चल्थ्यो,” उपसचिवले सजग गराउँछ ।

पहिले नै २ करोड ? एक मनले त पद नलिऊँ जस्तो पनि लाग्यो सोमदेवलाई । तर, दुई वर्ष पदमा टिक्न पाइयो भने त कसरी ब्याजसहित असुल्नु पर्छ भन्ने उनलाई राम्रैसँग अनुभव छ ।

बिहान १० देखि साँझ ५ बजेसम्मको समयलाई २ करोडमा किने उनले । २ करोडले व्यस्त बनाउन थाल्यो । उनलाई यो रकम कसरी उठाउने भन्नेमै ध्यान छ ।

चुनाव भयो । चुनावमा मन्त्रीको पार्टी नमज्जासँग पराजित भयो । मन्त्री पनि पराजित भए । अब सोमदेवको चैन र निद्रा दुबै हराउन थाल्यो ।

मोलतोल गर्ने उपसचिवलाई फोन गरे उनले । “हजुरको त पक्का छ नि पाँच वर्षलाई । बरु मन्त्रीज्यूको जीवन पो पाँच वर्षका लागि डुब्यो त,” उपसचिवले मन्त्रीको हारलाई आफ्नै पराजयजस्तो ठान्यो ।

तर, उपसचिवले भनेजस्तो के हुन्थ्यो र ! अफिसका सारा अवगत छन्– सोमदेवले २ करोडको थैली बुझाएर नियुक्ति लिएका हुन् भनेर । नयाँ मन्त्री बहाल भएर आएको एक महिनामा उनले पनि हात धुनु प¥यो । उनीजस्तै त्यस मन्त्रालयअन्तर्गतका बोर्ड, समितिका पजनीको पहिरो गयो ।

सोमदेव फेरि बेरोजगार भए । पाँच महिनामै उनको पद चैट भयो । यसबीचमा शुद्ध तलब–भत्ताभन्दा अरू दुई रुपैयाँ पनि पाएनन् । नयाँ कार्यक्रम अघि बढाउन निर्वाचन आचारसंहिताले रोक्यो । चुनावपछि गर्ने भन्दाभन्दै सरकारै गयो । अब कसलाई आफ्नो दुःख, पीडा, व्यथा सुनाउनू ? सबैभन्दा नजिक ठानिएकी पत्नीलाई सुनाए । उनले नै खुच्चिङ भनिन् ।

“मैले अस्ट्रेलियाबाट नफर्किऊँ भनेकी होइन ? अब देख्नुभयो नि ? छोरालाई सुनाइदिन्छु,” उनले सहानुभूतिको बदला उल्टै तर्साइन् ।

२ करोडमध्ये आधाजति फिर्ता हुन्छ कि भन्ने झिनो आशा गर्दै उनले उपसचिवलाई फोन लगाए । “माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर स्विचअफ गरिएको छ,” फोनमा आईभीआर स्वर सुनियो ।

कतिको पैसा यसैगरी मन्त्रीले चप्काएको थियो । कतिसँग विचौलिया भएर उपसचिवले यसैगरी धन्दा चलाएको थियो । उसले नम्बरै स्विचअफ गरेर बसेछ ।

उनलाई मुद्दामामिलामा लाग्ने रहर लागेन । त्यो लामो प्रक्रियामा जाँदा छोराहरूले थाहा पाउने डर थियो उनमा । पद उडेको, पैसा डुबेको पीरबाट मनलाई शान्ति दिन उनी जेठो छोरा भेट्न अमेरिका हानिए ।

अमेरिकामा जेठो छोराका दुई बच्चाहरूसँग खेल्दै, सप्ताहन्तमा समुद्रको छेउछाउ, गगनचुम्बी भवनको आड, पार्कको घुमाइमा बित्न थाल्यो । फुर्सद हुनासाथ त्यही २ करोडमा उनको दिमाग पुुगिहाल्थ्यो । उनले बडो जोखिम मोलेर त्यो जग्गा जोडेका थिए । नभए उनको हविगत पनि चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, जेपी गुप्ताको जस्तो हुन बेर थिएन । कति च्यानल मिलाएर उनले सफाइ पाए भन्ने कुरा त उनलाई मात्र ज्ञान छ ।

“साला, नेपाल यसै खत्तम भएको होइन । मजस्तो इमान्दार मान्छेलाई त सरकारले कदर गर्दैन भने यो देश कसरी उँभो लाग्छ ?” उनी आफूलाई ‘इमान्दार’को कोटिमा राख्न पटक्कै हिच्किचाउँदैनन् । २८ वर्षसम्म निजामती सेवामा रहेर सचिवजस्तो विशिष्ट पदको अनुभव लिइसकेको, मन्त्रालय, समिति, संस्थानका बजेटमा सधैंभरि ¥याल चुहाउने, २ करोड घूस दिएर पद लिने उनले आफूलाई इमान्दारको सूचीमा राख्छन् ।

“धन्न समयमै छोराहरूलाई विदेशमै सेटल गराइएछ र मात्र हो । नत्र जीवन बर्बादै हुने रहेछ नि । घुस्याहा नेताहरूले मेरो मूल्यांकन गर्ने रहेनछन्,” उनी मनमनै भन्छन् ।

मन्दिरमा जान्थे । पण्डितजीहरू भन्थे, “जीवनमा पैसा, सम्पत्ति भनेको साधनमात्र हो । अन्तिम साध्य होइन । पैसाले सुख शान्ति किन्न सकिदैन ।”

तर, सोमदेवको मन त्यही सम्पत्ति र पाँच महिनाको लागि २ करोड खर्चेर लिएको त्यही पदमा पुगेर रोकिन्थ्यो ।

अमेरिकाको सुख, वैभव, भौतिक ऐशले पनि उनको मनभित्रको तापलाई एकरत्ती कम गर्न सकेन । सार्वजनिक पदमा बसेका मानिसहरू किन आर्यघाटमा नपुगेसम्म लिसो जसरी टाँसिएर बस्छन् भन्ने कुरा बल्ल उनलाई महसुस भएको छ । संसारमा पद, पैसा र प्रतिष्ठाकै पूजा हुने रहेछ । उनीसँग पैसा त उतिसारो छैन । पद भयो भने प्रतिष्ठा त उसै पछि लाग्ने रहेछ भन्ने तत्वज्ञान बुझ्न थालेका छन् ।

“ए हजुर, कति कष्ट दिनुभएको ? च्यानल मिलाएको छु । आउनुप¥यो,” उही पुरानै उपसचिवले फोन ग¥यो ।

“मलाई पुग्यो कामदजी । अब यो उमेरमा म खर्च गर्न सक्दिनँ, समय दिन पनि सक्दिनँ । बरु सक्नुहुन्छ भने त्यो पुरानो हिसाबकिताबबाट फिर्ता गरिदिनुस्,” उनले भने ।

“ए हजुर ! पुराना मन्त्री नै हार्टअट्याक भएर दुई महिनादेखि अस्पतालमा छन् । के दिन्थे र ? उही ‘काटे रगत आउँछ, निचोरे आची झर्छ’ भनेजस्तै अवस्था छ तिनको । बरु नयाँ मन्त्रीजीसँग मेरो लय मिल्न थालेको छ । तपाईं आउनुस् । अब त धेरै ठाउँ खाली छन्,” उपसचिव कामदले फेरि हरियो घाँस देखायो ।

उनलाई शुरुमा खासै चासो पनि लागेन । अमेरिका पुगिसकेको मानिस फर्किहाल्छु भन्दा पनि छोराबुहारीले दिने होइनन् । पत्नीसँग सल्लाह गर्दा उल्टो भड्किने डर थियो । त्यसका लागि समय त मिलाउनै प¥यो ।

लामो समय पदासीन भइरहेको मान्छे एक्कासि त्यसबाट विमुख हुनुपर्दा जस्तो पीडा र छटपटाहट अरू कसलाई होला र ! सरकारी गाडी, ड्राइभर, हिँडेपिच्छे किलोमिटरका आधारमा भत्ता, अफिसको नियमित समयमा पनि भएको बैठकबापतको अतिरिक्त भत्ता, आफ्नो भन्नेलाई कहीँ न कहीँ अवसर, हरेक दुई–दुई महिनामा विदेश भ्रमण विशेष आकर्षण हुन् । भर्खर ६० वर्ष पुगेकाले उनलाई अझै पनि आफूमा ऊर्जाशील समय बाँकी नै छ भन्ने आत्मविश्वास छ ।

अधिकांश रिटायर्ड उच्च पदस्थहरूले आप्mनो सक्रियकालमै छोराछोरीलाई युरोप, अमेरिका, अस्ट्रेलिया, जापानमा सेटल गराइसकेका हुन्छन् । सोमदेवका सन्तानमात्र होइनन्, पढ्नका लागि जाने र अध्ययन सकेपछि उतै सेटल हुने धेरै हाइप्रोफाइलका छोराछोरी छन् । सूची नै बनाउने हो भने ९० प्रतिशतका छोराछोरी कि त अमेरिका कि अस्ट्रेलियामा भेटिन्छन् ।

लायन्सको कार्यक्रममा आएर लुक्नेदेखि लिएर डीभीले डो¥याएर ल्याइपु¥याएका थुप्रैसँग भेटेका छन् सोमदेवले । कलाकारको कलेवरमा छिरेकादेखि लिएर मृत्युलाई जित्दै मेक्सिकोबाट पसेका सयौं नेपालीसँग कुराकानी गरेका छन् ।

अमेरिकाको बसाइ एक हिसाबले सुखद र तनावरहित भए पनि सोमदेवको मन भने वेचैन छ । कमसेकम चार–पाँच वर्षका लागि एउटा नियुक्ति पाउन पाए समकालीनहरूमा छुट्टै रवाफ हुने उनको मानसपटलमा गढेको छ । २ करोड डुब्दा पनि उनलाई पदको मोह मर्नुको बदला झनै जागेको छ । उनी हरेक हप्ता मन्त्रिपरिषद् निर्णयका समाचार सुन्छन् । नयाँ सरकारले तीब्र गतिमा नयाँ नियुक्ति गरिरहेको छ ।

मनमा पदको चाह, अरूले प्राप्त गरेको नियुक्तिको आरिस, कुण्ठाले उनको अमेरिका बसाइ सुखदभन्दा पीडादायी हुँदै गयो । तैपनि जसोतसो चार महिना कटाए उनले । अमेरिका बसाइ उनका लागि भुंग्रोमा परेको माछाको छटपटाहटपूर्ण भयो । उनी आँखाको दृष्टि कमजोर भएको र जाँचेर नयाँ चश्मा लिनुपर्ने बहाना बनाउँदै पत्नीलाई समेत छाडेर एक्लै नेपाल फर्किए ।

काठमाडौं उत्रिएसँगै उनको सपना त्यही समितिको कार्यकारी निर्देशकमा पुग्यो, जहाँ मनग्गे बजेट, मेला प्रदर्शनीका नाममा विदेश भ्रमणको मौका, करारमा कर्मचारी नियुक्ति गर्ने सुविधा सबै छन् । काठमाडौं आएको साँझै उपसचिव कामदलाई फोन लगाए तर सम्पर्क भएन ।

भोलिपल्ट उनी सिंहदरबार पसेर कामदको चेम्बरमा पुगे । त्यहाँ सुनसान थियो । अर्को कोठामा पुगेर कामदका बारेमा सोधे । अर्को कोठामा कम्युटरमा फेसबुक चलाइरहेको कर्मचारीले पूर्वसचिव सोमदेवलाई चिनिहाल्यो । उसले नमस्कार ग¥यो ।

“कहाँ जानुभएछ उपसचिव सा’ब ?”

“ए, को उपसचिव ? कामदजी ? ल, थाहा पाउनुभएन र हजुरले ? चार दिनअघि अख्तियारले समात्यो नि त उहाँलाई,” कर्मचारीको भनाइले सोमदेव चकित परे । उनको अनुहार दब्यो । मानौं कामद होइन, उनी आफैंलाई अख्तियारले समातेको जस्तो महसुस उनलाई भयो । कामदको थुनासँगै आफ्नो योजना पनि जेल परेको अनुभूति भयो उनलाई । 

“समितिको कार्यकारी निर्देशकमा नियुक्ति मिलाइदिन्छु भनेर एकजनासँग २० लाख रुपैयाँ घूस लिनुभएछ । त्यही बेलामा अख्तियारको टोलीले चाबहिलको रेस्टुरेन्टबाट पक्राउ गरेछ,” कर्मचारीले सुनायो । सोमदेवमा योभन्दा बढी सुन्ने धैर्य र आँट रहेन ।

अन्तरमनबाटै उनले भगवानलाई धन्यवाद दिए । पदको लालशा भिरेर हतारहतार अमेरिकाबाट फर्किएकोमा उनी पछुताए । भेटी चढाएर राजनीतिक नियुक्ति लिने इच्छा यत्तिकै सकिने भयो भनेर चिन्तित पनि भए ।

“यो देश बन्दैन । मजस्तो योग्य मान्छे हात खाली भएर बस्नुपर्ने देश पनि उँभो लाग्छ कहीँ ? अब अमेरिका नै लाग्छु । बूढी पनि उतै छिन्,” कुन दिनका लागि टिकट लिऊँ सोच्दै उनले भित्ते क्यालेन्डरका पाना पल्टाए ।

त्यत्ति नै खेर मोबाइलमा मेसेज आयो, “सर, साउन २८ गते अन्नपूर्ण होटलमा रात्रिभोजसहित कृषिको व्यावसायीकरणसम्बन्धी कार्यक्रम छ । तपाईंलाई विशेष निम्तो है ।” उनले साउन २८ लाई साइनपेनले रातो घेरा लगाए ।

“यो पार्टी त छाड्नु भएन । अमेरिका भनेको जाँदै गरौंला बरु । अन्नपूर्णमा धेरै पछि पुग्ने मौका मिल्ने रहेछ । त्यस दिन त टन्न पिइन्छ,” हरेक महिना, दुई महिनापछिका भोजका चक्रव्यूहमा यसैगरी अड्किरहेका छन् सोमदेव । मनमा वेचैनी र पदको लालशा अझै मेटिएको छैन । सम्पर्क स्रोत खोजिरहेकै छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC