site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 भिन्न–भिन्न अवतार
Sarbottam CementSarbottam Cement

— नरेश फुयाँल


कहिले सुखको उच्छवास, कहिले दुःखको सगरमाथा । कहिले हिँड्नै सकस पर्ने उकाली त कहिले खुट्टा काम्ने ओराली । कहिले सलल बग्ने समथर त कहिले घुम्ती नै घुम्तीको गोलचक्कर । नारायण ढकालले जीवनमा यी सबै बाटोमा यात्रा गरे । भलै त्यो बाटो उनले रोजेको होओस् या समयले ।

काठमाडौंमा राधाकृष्ण ढकालको ज्योतिषी विद्याको खुब चर्चा हुन्थ्यो । सक्नेहरू उनलाई आफ्नो कुण्डली देखाउन मूलपानी पुग्थे । नसक्नेहरू ‘कुनै दिन हेराउँला’ भनी बस्थे । समाजमा आफ्नो प्रतिष्ठा देखेर राधाकृष्ण पुलकित हुन्थे । त्यसैले आफ्ना सन्तानलाई पनि उनी ज्योतिष नै बनाउन चाहन्थे । तर, उनको चाहना त्यतिबेला अलपत्र पर्‍यो, जतिबेला छोरा नगेन्द्रप्रसाद सरकारी सेवामा छिरे । छोराले ज्योतिषी नसिकी आफ्नै बाटो समातेको देखेर उनको मन पिरोलिन्थ्यो । आफूजस्तै सात गाउँमा छोराको ख्याति होओस् भन्ने चाहन्थे उनी । तर, गृह मन्त्रालयमा ३८ वर्ष काम गरे पनि अंग्रेजी नपढेकै कारण अधिकृतको रवाफ देखाउन नपाएका (नारायणका बुवा) नगेन्द्रलाई जसरी पनि छोरोले अंग्रेजी पढोस् भन्ने धोको थियो । राधाकृष्ण भने नारायणलाई संस्कृत पढाउनुपर्छ भन्थे । जवाफमा नगेन्द्र भन्थे, “संस्कृत पढायो भने त मजस्तै सुब्बामै रिटायर्ड भैहाल्छ नि ! अंग्रेजी पढाउनुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जित बुवाकै भयो । नारायणले अंग्रेजी नै पढ्ने भए । एकैपटक दुई कक्षा, दुईबाट चार हुँदै डबल प्रमोसन पाएका नारायणको पढाइ राम्रो थियो । नगेन्द्रले निर्णय गरे, “छोराको पढाइ राम्रै छ । सेकेन्ड डिभिजनमात्रै ल्यायो भने छात्रवृत्ति पाउँछ, त्यसैले डक्टर पढाउँछु ।”

एसएलसी सकेपछि नगेन्द्रले नारायणलाई आनन्द कुटी साइन्स कलेज भर्ना गरिदिए, आईएसीमा । घोक्नेभन्दा पनि बुझ्नुपर्छ भन्ने नारायणले भौतिक, जीवविज्ञानका सूत्र र सम्बन्ध कण्ठ गर्न अल्छी गरे । फलतः परीक्षा बिग्रियो । कलेजले भन्यो, “एक वर्ष दोहोर्‍याऊ ।” १० कक्षासम्म आफूलाई अब्बल प्रमाणित गरेका नारायणलाई कक्षा दोहोर्‍याउन लाज लाग्यो । मानेनन् । बरु घरमा ढाँटेर प्राइभेटमा आईए पढे । मानविकीमा अगाडि बढे ।

Global Ime bank

फरक अवतार

नगेन्द्रले छोरामाथि देखेको सपना नारायणले धुलीसात पारे । नारायणको जिन्दगीको बाटै बदलियो । साहित्यतर्फ रुचि जाग्यो । तर, साहित्य त्यति सजिलो थिएन, जति बाहिरबाट हेर्दा थियो । साहित्य पिँजडाको चरी फुत्किएर खुला आकासमा विचरण गरेजस्तो स्वतन्त्र त थियो तर त्यसका लागि आवश्यक प्राञ्जल र लालित्यपूर्ण भाषा जन्माउन कक्षाकोठामा पाएको ३२ अथवा ८० नम्बरले थेग्दैनथ्यो । यसका लागि त भाषाको अथाह ज्ञान चाहिन्थ्यो ।

विज्ञानसँगको संगत त छुट्यो छुट्यो, घरसँगको सम्बन्ध पनि टुट्यो । समाजले जे मान्दैनथ्यो, परिवारले जे चाहँदैनथ्यो, त्यही गर्न थाले । ‘हङ्ग्री जेनेरेसन’मा प्रवेश गरे नारायण ।

अमेरिकी कवि एलेन गिन्सबर्ग खानपानमा सीमा नाघ्ने, परिवारको बन्धनमा नबस्ने प्रगतिशील अराजकतावादी थिए । अमेरिकाले भियतनाममाथि गरेको आक्रमणको विरोध गर्थे उनी । ‘हिप्पी मुभमेन्ट’को सूत्रधारमध्येकै एक थिए । नारायण तिनै गिन्सबर्गको विचारवाट प्रभावित भए । परिणाम— झोंसेका गल्लीहरू उनका प्रिय स्थान बन्न थाले । गाँजा, चरेस र चुरोटको साथ लिन थाले । कपाल पालेर फराकिलो पाइन्ट लगाउँदै डुल्ने लत लाग्यो ।

“पुस्तकहरू पढेको थिएँ । पञ्चायती व्यवस्था ठीक होइन रछ भन्ने लागेको थियो । त्यसैले क्रान्ति गर्न सकिन्छ कि भनेर भागेर इन्डिया पनि गएँ । तर, समस्या पेट पाल्नुको पनि थियो । काम पाइएन र फेरि फर्किएँ,” नारायण सम्झनाका बाकसमा हिफाजतसाथ राखेका जिन्दगीका दुर्लभ अनुभव सम्झिन्छन्, “पाँच वर्ष हङ्ग्री जेनेरेसनमा बित्यो । यसले घरसँगको मेरो सम्बन्ध बिग्रियो । यही नै मेरो जिन्दगीको टर्निङ पोइन्ट बन्यो ।”

पञ्चायतकाल थियो । सरकार सञ्चारप्रति अनुदार थियो । आफूअनुकूल भएन भने पत्रपत्रिकाको दर्तै खारेज गरिदिन्थ्यो । ‘सामयिक संकलन’ बन्द गरिदिएको थियो । अन्य पत्रपत्रिका पनि बन्द भइरहेका थिए । लेख, रचना पनि प्रकाशन गर्न नपाइने अवस्था आएपछि त्यसको विरोधमा साहित्यकारहरू उत्रिए । नारायणले पनि कविता लेख्न थालिसकेका थिए ।

‘बुटपालिस मुभमेन्ट’ शुरु भयो । त्यसमा शैलेन्द्र साकार, कविताराम श्रेष्ठ, सन्तोष भट्टराई, भाउपन्थी, नारायण आबद्ध थिए । सडकमा बसेर जुत्ता पालिस गर्ने र त्यसबाट उठेको पैसाले पुस्तक प्रकाशन गर्ने ‘बुटपालिस मुभमेन्ट’को उद्देश्य थियो । किशोर नेपाल यो अभियानका सूत्रधार थिए । भलै कारणवश उनी त्यसमा सशरीर देखिएनन् । जगदीश घिमिरेले भूमिगत भएर सहयोग गरे ।

माक्र्सको प्रभाव

गिन्सबर्गको एउटा कवितामा उल्लेख छ, “म गाँजा पिइरहेको छु, माक्र्स पढिरहेको छु ।”

गिन्सबर्गबाटै प्रभावित भएर ‘हङ्गी जेनेरेसन’मा प्रवेश गरेका नारायणको मनमा कुतूहल भयो— के रहेछ माक्र्स ?

खोजेर पढ्न थाले । नारायणले बुझे के हो माक्र्स र को हुन् लेनिन ।

घरसँगको ‘टसल’ कमजोर हुँदै गयो । कारण आर्थिक पक्ष पनि थियो । त्यसैले उनी घर र आफन्तबाट लामो समय भाग्न सकेनन् । घर फर्किए ।

अर्थशास्त्रमा एमए गरिरहेका नारायण पाठ्यक्रमअनुसार नै १० महिनाका लागि सामाजिक सेवाका लागि रामेछाप पुगे । पहिलोपटक उनी तीन दिन पहाड चढेर अनकन्टार भलुवाजोर पुगे । काठमाडौंका साथी–संगति त्यहाँ थिएनन् । दुर्गम पहाडमा सोझा–सीधा नागरिक थिए, जो दुई छाक खानकै लागि संघर्ष गरिरहेका थिए ।

शायद त्यो गाउँको अबोधपनले उनलाई केही सिकायो । उनको विचार बदलिन थाल्यो । मनमा प्रश्न जन्मियोे— ‘हङ्ग्री जेनेरेसन’ गलत नहोला तर के यसले जिन्दगी परिवर्तन गर्न सक्छ ?

सम्भव देखेनन् । अतीत खोल्छन् नारायण, “मैले त्यहाँ पुस्तकालय खोल्न थालें । समाज परिवर्तनका लागि माक्र्सको विचारबाट प्रभावित भएको मलाई राजनीति गर्नुपर्छ भन्ने विचार आयो । राजनीतितिर पो मेरो झुकाव बढ्यो ।”

भलुवाजोरमा नारायणको भेट पुराना कम्युनिस्ट तर पछि पञ्चमा रुपान्तरण भएका नारायणबाबु श्रेष्ठसँग भयो । उनले मोहनविक्रम सिंहका दस्तावेजहरू पढ्न दिए । त्यो बेला मोहनविक्रम सिंहले ‘गद्धार पुष्पलाल श्रेष्ठ’ भनेर लेखेको नारायणले पढे । पुष्पलाललाई राम्रो मान्ने नारायणलाई एक मन हो कि क्या हो भन्ने लाग्यो ।

पुष्पलाल भारत प्रवासमै रहेका बेला ०३५ साउन ७ गते नयाँदिल्लीस्थित ‘अल इन्डिया मेडिकल इन्स्टिच्युट’मा उपचारकै क्रममा मृत्यु भयो । उनको अस्तु नेपालमा ल्याउने कुरा भयो । उनको अस्तु ल्याउन नदिन पञ्चायतले तयारी गर्‍यो । त्यो थाहा पाएका पुष्पलालका समर्थकहरूले नयाँ उपाय लगाए । दिल्लीबाट रेलमा रक्सौलसम्म आए । त्यहाँबाट वीरगन्ज हुँदै सिमरा आए । सिमराबाट काठमाडौंको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । प्रहरीले दिल्लीबाट आएका विमानमा निगरानी गरिरहेको थियो— अस्तु ल्याउन नदिन अथवा ल्याए तत्काल जफत गर्न । विमानस्थलमा जम्मा भएका पुष्पलालका शुभेच्छुक, शुभचिन्तक, आफन्त तथा कार्यकर्तामा निराशा छाइसकेको थियो । तर, त्यत्ति नै बेला सिमराबाट आएका एक व्यक्ति हातमा घैटो बोकेर निस्किए । दिल्लीबाट आएको विमानमा केन्द्रित प्रहरीले पत्तै पाएन । ती व्यक्तिले ‘पुष्पलालको अस्तु ल्याइयो’ भने । नाराबाजी भयो । जुलुस अस्तु लिएर शोभाभगवती पुथ्यो । नेवारी परम्पराअनुसार उनको अस्तु सेलाइयो । उनको समर्थनमा देखिएको जनउभार तथा देशका लागि प्रवासमै अन्तिम सास फेर्ने पुष्पलालको निर्णय देखेर नारायणलाई लाग्यो— उनी गद्धार हुनै सक्दैनन् । त्यसपछि उनले पुष्पलालनिकटका व्यक्तिहरूसँग सम्पर्क र सम्बन्ध बढाए । तत्कालीन भूमिगत मालेबाट राजनीति शुरु गरे ।

शिक्षणमा प्रवेश

राजनीति गरेर मात्रै पनि हुँदैनथ्यो । परिवारमा जिम्मेवारी थपिँदै गएको थियो । स्नातकोत्तर सकिएको थियो । पढाउने प्रस्ताव आयो । उनी पढाउनकै लागि नुवाकोट दाङमयी पुगे । अस्थायी नियुक्ति थियो । राजनीति गरेको आरोपमा उनको नियुक्ति नवीकरण भएन । ६ महिनामै जागिरबाट निकालिए ।

पढेलेखेका थिए । कम्युनिस्ट विचारबाट प्रभावित थिए । ‘हिप्पी कल्चर’देखि राजनीतिसम्म बुझेका । एक वर्ष भए पनि रामेछाप पुगेर समाजसेवा गरेका, ६ महिना भए पनि गाउँमा बसेर पढाएका, धेरथोर समाज पनि बुझेका, अध्ययन र अनुभवले भाषा पनि राम्रो । त्यसैले पत्रपत्रिकामा लेख लेख्न थाले । अग्रगामी विचारका समर्थक नारायणलाई पञ्चायतनिकट पत्रपत्रिकाका ढोकामा ताला लागेको थियो । तर, प्रगतिशील विचारका समर्थक पत्रिकाले भने उनका लेख छाप्थे । काठमाडौं भएका बेला पत्रिकाकै कार्यालयमा लेख पुर्‍याउन जान्थे । नुवाकोटमा भएका बेला हुलाकबाट पठाउँथे । ‘छलफल’मा लेख छापिन्थ्यो । ‘नव जवान’ पनि मालेनिटकको पत्रिका थियो । ०३६ सालदेखि नारायणले यी पत्रिकामा स्तम्भ नै लेख्न थालेका थिए । स्तम्भमा राजनीतिक टिप्पणी लेख्थे । पैसा आउँदैनथ्यो । पञ्चायविरुद्धको मिसनमात्रै थियो ।

नुवाकोटमा त राजनीति गरेको आरोपमा उनको म्याद थपिएन तर अध्यापनमा उनको ढोका बन्द भइसकेको रहेनछ । थलीका शिक्षक रामप्रसाद कुुइँकेलले उनलाई बोलाए । शुरुमा कम्युनिस्ट भए पनि पञ्चायतको दमनका कारण आफूलाई पञ्चमा रुपान्तरण गरिसकेका रामप्रसादले नारायणलाई पढाउन दिए । ६ वर्ष पढाएपछि उनी प्रधानाध्यापक भए र स्थायी पनि । प्रधानाध्यापक भएपछि एक वर्ष काम गरे र ०४३ मा राजीनामा दिएर राजनीतिमा आए । प्रधानपञ्चमा उठे ।

राजनीतिमा खुला प्रवेश र सम्पादक

मालेको विचारधारका अनुयायी प्रधानपञ्चमा ? ‘जनपक्षीय हस्तक्षेप’ अन्तर्गत पञ्चायतमा बसेर पञ्चायतमाथि नै हस्तक्षेप गर्ने कार्यक्रमअन्तर्गत उनी प्रधानपञ्चमा लडे । त्रिपक्षीय प्रतिस्पर्धा भयो । राजनीतिक तिकडम भयो ।

“मेरो पक्षमा भोट खसेपछि त्यो दिन चुनावै बिथोलियो । अर्को दिन भएको चुनावमा जातीय कारण देखाउँदै मतदाता प्रभावित पारे । फलतः मैले ८१ भोटले हारें,” नारायण जिन्दगीको एउटा कालखण्ड सुनाउँछन् ।

०४३ मा चुनाव हारेपछि उनी खाली थिए । साथीभाइ भेट्ने, राजनीतिक छलफल र बहस गर्नेबाहेक ठोस काम थिएन । यही बेला सरकार निर्मम भइरहेको थियो । पत्रपत्रिका बन्द गर्ने, पत्रकार थुन्ने कार्यले तीव्रता पायो । ‘छलफल’लाई पनि प्रतिबन्ध लगाइयो । सम्पादक रघुजी पन्तलाई जेल चलान गरियो ।

विचार सम्प्रेषण गर्न पत्रिका प्रकाशन गर्नु थियो मालेलाई । जागृतप्रसाद भेटवालको ‘प्रकाश’ नामक पत्रिका थियो । मालेले त्यसलाई प्रकाशन गर्ने निर्णय गर्‍यो ।

“सम्पादकको खोजी भयो तर कोही तयार भएनछन् । जागृतप्रसाद भेटवाल जनपक्षीय हस्तक्षेपमा जितेर राजनीतिमा गइसकेका थिए । भीम रावल त्रिविको सिनासमा थिए । उनले ‘४ हजार दिने भए आउँछु नत्र आउँदिनँ’ भनेछन् । पार्टीले हजार रुपैयाँ दिने भन्दा पनि उनले मानेनछन् । भीम न्यौपानेले ‘भर्खर आरआरमा पढाउन थालेको छु, अस्थायी आउँदिनँ’ भनेछन् । गोपाल गुरागाईंले ‘म फेरि जेल जान्नँ, बरु भूमिगत भएर सहयोग गर्छु’ भनेछन् । भएकामध्ये कसैले पनि नमानेपछि मोदनाथ प्रश्रितजी प्रस्ताव लिएर मसँग आउनुभयो,” नारायण सुनाउँछन्, “म पढाउन बन्दीपुर जानै लागेको थिएँ । त्यति टाढा जान लागेको भनेर परिवारले असन्तुष्टि जनाइरहेका बेला घरमै बसेर काम गर्न प्रस्ताव आएपछि श्रीमतीले पनि यहीँ काम गर्न सुझाव दिइन् । त्यसपछि मैले ‘प्रकाश’को सम्पादक भएर काम शुरु गरें ।” 

पत्रकारितामा नारायणको अनुभव थिएन तर पनि मोदनाथसँगै आएका श्यामलले पनि ‘गर्, म पनि सहयोग गर्छु’ भने । नारायणलाई आँट आयो । ‘प्रकाश’को प्रकाशन आरम्भ भयो । त्यतिबेलासम्म उनलाई समाचार लेख्नु र लेख लेख्नुको फरक थाहा थिएन । समाचार लेख्दा विचारजस्तो हुन्थ्यो । सम्पादकीय र समाचार छुट्याउनै हम्मेहम्मे प¥यो । पहिलो हप्ता नै नारायणलाई लाग्यो— किन मैले यो जिम्मेवारी उठाएँ ? समाचार र विचार त बिल्कुल फरक रहेछन् !

पत्रकारितामा लामै अनुभवका बाबजुद ‘प्रकाश’को सम्पादक हुन इन्कार गरेका गोपाल गुरागाईंले नारायणलाई सहयोग गरे । ‘प्रकाश’को मेरुदण्ड उनै थिए । श्यामलले नारायणलाई स्वयंसेवकका रूपमा सहयोग गरे ।

“काम गर्ने जम्मा तीन जना थियौं । काम धेरै हुन्थ्यो । समाचार, लेख, सम्पादकीयदेखि स्तम्भसम्म आफैं लेख्नुपथ्र्यो । हामी आफैं लेख्थ्यौं तर नाम अरूको राख्थ्यौं,” ०४३ मा जनशक्ति अभावको बाध्यता कहन्छन् नारायण, “रजनी थापाको नाममा महिला स्तम्भ थियो । त्यो म आफैं लेख्थें, श्यामलले पनि लेख्थ्यो । बालकृष्ण थापा मगरका नाममा पनि स्तम्भ आउँथ्यो, त्यो पनि हामी आफैं लेख्थ्यौं । ठूलो मेहनतले त्यो पत्रिकालाई उकास्यौं । दिल्लीमा बस्ने ईश्वर बरालले चिठी लेखेर हाम्रो भाषाको प्रशंसा गर्नुभयो । भाषा बनाउने काम श्यामलको थियो । ऊ प्रुफ हेर्दै भाषा मिलाउँथ्यो ।”

‘प्रकाश’मा छँदा उनको पत्रिकामा एउटा समाचार छापियो । समाचार थियो— कोकाकोलाको बोतलभित्र झिँगा भेटिएको । सरकारले स्पष्टीकरणका लागि पत्र काट्यो । नारायण बयान दिन गए । सहायक अञ्चलाधीश बयान लिन बसेका थिए ।

“यस्तो समाचार पनि छाप्ने ?” सहायक अञ्चलाधीशले प्रश्न गरे ।

०३१ सालदेखि पटक–पटक जेलमा बसेका नारायणलाई केको डर ! भन्दिए, “समाचारको विषय भएकाले छापिएको । राजकाज मुद्दा लगाए पनि लगाउनुस्, लड्न तयार छु ।”

पत्रिका प्रकाशन भएको ६ महिना भएको थियो । एउटा समाचारमा ‘शाही तानाशाही व्यवस्था’ परेछ । नारायणले ‘शाही’ शब्द हटाइदिए । तर, कसैले नियतवश त्यो शब्द राखिदिएछ । राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका प्रकाशक जागृतप्रसाद भेटवाल थुनिए । पत्रिका प्रकाशनमा सरकारले रोक लगायो ।

झलनाथ खनालसँग ‘टसल’

‘प्रकाश’ बन्द भएपछि नारायण ‘दृष्टि’ पुगे । ‘दृष्टि’मा उनको जिम्मेवारी सम्पादकको थियो । बिमल निभा, रवीन साय्मि पनि ‘दृष्टि’मा आइपुगे । 

जनआन्दोलन सफल भयो । पार्टीको सञ्चार इन्चार्ज झलनाथ खनाल थिए । उनलाई नारायणसँग खै के कुरामा चित्त बुझेको रहेनछ । नारायण ‘पैसा कम भयो’ भनेर नआए भीम रावललाई सम्पादक बनाउने झलनाथको चाहना थियो । प्रदीप नेपालले ‘भीम रावललाई ल्यायो भने नारायणले काम गर्दैन’ भनेर रोके ।

झलनाथसँग सवालजवाफ नै भएको नारायण सम्झिन्छन् । त्यतिबेला झलनाथ कृषिमन्त्री थिए । ‘दृष्टि’मा कृषि सामग्री संस्थानका कमजोरीबारे लेखिएको समाचार नारायणले छापेपछि झलनाथ उनीसँग रिसाए । झलनाथले ‘नारायणलाई हटाउँछु’ भने ।

सम्पर्क कार्यालय पुगेर नारायणले झलनाथलाई प्रश्न गरे, “मलाई किन हटाउने ?”

झलनाथः तपाईं साहित्यकारचाहिँ ठूलै मान्छे हो, राजनीतिचाहिँ बुझ्नुहुन्न ।

नारायणः भीम रावलजी चाहिँ राजनीति बुझ्नुहुन्छ ?

झलनाथः अँ । उहाँ त राजनीतिमा प्रखर व्यक्ति हो ।

नारायणः उहाँ र मेरो जाँच लिऊँ । जाँचमा उनको भन्दा मेरो नम्बर तल आएछ भने म छोड्दिन्छु ।

भलै त्योपटक मदन भण्डारी र प्रदीप नेपालले भीमलाई सम्पादक बनाउन दिएनन् । कमल कोइरालालाई ल्याइदिए । नारायण बिरामी परेका थिए । कमललाई ल्याएपछि  कालीमाटीबाट ‘दृष्टि’को कार्यालय सरेर बागबजार पुगेको थियो । बागबजार पुग्दा नारायणले देखे— गुप्तचर विभागमा काम गर्ने व्यक्ति पो समाचार लेखिरहेका छन् ।

नारायणले कमललाई भने, “दाइ, तपाईं सम्पादकीय लेख्नुस् । म व्यवस्थापकीय पक्ष सम्हाल्छु ।”

कमलले भने, “पार्टीमा छलफल गर्नुपर्छ । मिटिङ बोलाउनुपर्छ ।”

नारायणले मिटिङ बोलाउन भने । कमलले झलनाथलाई फोन गरेर भने, “नारायण ढकालजीले आजबाट ‘दृष्टि’ जोइन गर्नुभयो । उहाँ मिटिङ बोलाउन भन्नुहुन्छ ।”

झलनाथले भनेछन्, “को हो त्यो ढकाल भनेको ?”

कमलले नारायणलाई सुनाए । पार्टीको सञ्चार विभाग इन्चार्जले ‘को हो त्यो ढकाल भनेको ?’ भनेपछि नारायण राजीनामा दिएर हिँडे ।

‘दृष्टि’ पछि ‘प्रतिपक्ष’

‘दृष्टि’ छोडेपछि नारायणले ‘प्रतिपक्ष’मा काम गरे । बिमल निभाले काठमाडौंमा घर बनाउन भनेर राखेको १ लाख २५ हजार रुपैयाँ निकालेर ‘प्रतिपक्ष’मा लगानी गरे । यसमा बिमल, गोपाल गुरागाईं, रघु मैनाली, विनोद ढुंगेललगायत यसमा थिए । एक वर्ष काम गरेर नारायण राजनीतिमा फर्किए । जिल्ला विकास हुँदै उनी ०५३ मा सांसदसम्म भए । ०५६ मै उनको राजनीति धरापमा पर्‍यो । एमालेबाट अलग्गिएर वामदेव गौतमले माले गठन गरे । माले गठन गर्दा पजेरोको साँचो फिर्ता गर्ने भनिएको थियो ।

“आमसभामा पजेरोको साँचो फिर्ता गर्ने भनिएको थियो तर गरिएन । मजदुर आन्दोलनका नेता सली मिया अन्सारीले ‘हामी बाहिर निस्कियौं भने हामीलाई गोली हानेर मार्दिन्छन् । त्यसैले हाम्रो सुरक्षाका लागि पनि पजेरो फिर्ता गर्नु हुँदैन’ भने । जो शुरुमा क्रान्ति र मुक्ति नै हाम्रो जिन्दगी हो भन्थे । मलाई पार्टीको नीति चित्त बुझेन । मैले राजीनामा दिएँ,” नारायण निष्ठाको राजनीति गर्न खोज्दा आफू राजनीतिमा अड्न नसकेको सुनाउँछन्, “पजेरो नै हाम्रो सुरक्षाकवच हो भन्ने सली मियाको भनाइमा वामदेवले समर्थन जनाए । तिमीहरूको पोल्टिक्समा मलाई बस्नु छैन भनेर मैले पार्टी नै छोडें ।”

नारायण पार्टी छोडेर बसेका थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । युवा नेता लोकेश ढकाल गिराजाप्रसादले पठाएको भन्दै आएर नारायणलाई भने, “कांग्रेसमा आउनुस् । पार्टीले शुरुमा कुनै ठाउँमा राम्रै नियुक्ति दिन्छ । पछि पार्टी केन्द्रीय समितिमा लैजाने रे !”

नारायणलाई पदको लालसाले छोपेन । उनले आत्मालाई छोपेर आवरणमा काम गर्न चाहेनन् । बहालवाला प्रधानमन्त्रीले पठाएको लाभको पदसहितको केन्द्रीय सदस्यको प्रस्ताव अस्वीकार गरिदिए ।

प्रहरीसँग लुकामारी

पत्रकारितामा नारायणले जिन्दगीको लामो समय बिताएनन् तर त्यस्तो समयमा काम गरे, जुन बेला पञ्चायत फाल्ने मिसन पत्रकारिता थियो । उनले लेख लेख्ने पत्रिका होऊन् वा सम्पादक भएर काम गरेका ‘प्रकाश’, ‘दृष्टि’ र ‘प्रतिपक्ष’— सबैले मिसन पत्रकारिता नै गर्थे ।

‘दृष्टि’मा नारायणले अर्धभूमिगत भएर काम गरेका थिए । सार्वजनिक समारोहमा खासै जाँदैनथे । पत्रपत्रिकामा तस्बिर पनि खासै छापिएका थिएनन् । अत्यधिक दुब्लो हुनुका कारण सम्पादकको व्यक्तित्व छोपिएको थियो ।

एकदिन नारायण ‘दृष्टि’को कार्यालयमै बसिरहेका थिए । प्रहरीहरू आएर सोधे, “यो पत्रिकाको सम्पादक कहाँ छ ?”

नारायणः को सम्पादक ?

पुलिसः नारायण ढकाल । 

नारायणले प्रहरी आफूलाई पक्राउ गर्न आएको थाहा पाइहाले । त्यसैले भने, “ए सम्पादक ? खै मूलपानीतिर गए होलान् ।”

पुलिसः आएपछि भन्दिनू, ठानामा जानू रे !

प्रहरीसँगको अर्को लुकामारीको घटना सुनाए नारायणले । उनी मूलपानीमै थिए । गोपाल पुडासैनी नाम गरेका चिनेकै असई उनलाई पक्राउ गर्न आए ।

असईले भने, “दाइ, पक्रेर ल्याउनू भनेको छ ।”

नारायणले ट्वाइलेटमा पानी लैजाने बोतल बोकेका थिए । भने, “ट्वाइलेट जान लागेको । ट्वाइलेट गइसकेपछि आउँछु ।”

असईः दाइ, अहिले नै ल्याउनू भन्नुभएको छ ।

नारायणः ट्वाइलेटबाट आएपछि लुगा लगाएर आउँछु ।

असई ‘सोध्न जान्छु’ भनेर हिँडे । नारायण झोलामा लुगा हालेर भागे ।

‘गोरखापत्र’ र ‘दृष्टि’

पत्रकारहरूलाई सरकारले पक्राउ गरिरहेको थियो । त्यसैले पार्टीले नारायणलाई सचेत रहन भनेको थियो । पत्रिकाहरू कार्यालयबाटै जफत हुन थालेका थिए ।

‘राष्ट्रपुकार’, ‘समीक्षा’लगायत पत्रिकाहरू सरकारले बन्द गरिसकेको थियो । ‘दृष्टि’ भने प्रकाशन भइरहेको थियो । ०४६ को आन्दोलन चर्किरहेको थियो । एकदिन सहायक अञ्चलाधीशले फोन गरेर भने, “सम्पादकलाई दिनुस् त ।”

नारायणले फोन आफैं उठाएका थिए तर उनले ढाँटे, “म पिउन बोलेको ।”

सहायक अञ्चलाधीशले भने, “भोलि पत्रिका ननिकाल्नू भनेको छ भन्दिनू ।”

भोलिको पत्रिका जफत गर्छ भन्ने थाहा पाएका नारायणसहित ‘दृष्टि’को टिमले ५० हजार पत्रिका छाप्यो । “५० हजारमा ४ हजार पत्रिका अफिसमा धेरै देखाउन छरेर राख्यौं । ४६ हजार पत्रिका गोपाल गुरागाईंको कोठामा लगेर राख्यौं र उतैबाट बिहानै बजारमा वितरण गर्‍यौं । प्रहरीले ४ हजार कपी उठाएर लग्यो र ढुक्क भयो । तर, पत्रिका बिहान बजारमा छ्याप्छ्याप्ती भइसकेको थियो,” नारायण भन्छन्, “शुरुशुरुमा उनीहरू हामीप्रति आक्रामक थिए तर पछि रक्षात्मक हुँदै गए । ‘दृष्टि’को एक अंक पनि बन्द भएन । र, म पक्राउ पनि परिनँ । कामविशेषले अन्त कतै गइसकेका गोपाल गुरागाईंले आन्दोलनका बेला भोलेन्टियर भएर काम गर्नुभएको थियो ।” गोपाललले आफूलाई लगाएको गुन अझै बिर्सिएका छैनन् उनले ।

पत्रिकाको वितरण बढ्नुमा रत्नपार्कका माइला (कृष्णप्रसाद गौतम)को पनि ठूलो योगदान रहेको नारायण बताउँछन् । उनले बिहान सबेरै ‘गोरखापत्र’भित्र ‘दृष्टि’ लुकाएर राखिदिन्थे । ‘गोरखापत्र’ किन्नेहरू यो पत्रिका किन्दा ‘दृष्टि’ पनि पाइन्छ भनेर किन्थे । “दृष्टि बेच्न सरकारले रोक लगाएको थियो, त्यसैले पाठक ‘गोरखापत्र’भित्र हालेर ‘दृष्टि’ लैजान्थे । ‘गोरखापत्र’को सर्कुलेसन बढ्यो भन्थे, वास्तवमा त्यो ‘दृष्टि’ बिकेको थियो,” चलाखीको कथा सुनाउँदा नारायण खित्का छोडेरै हाँस्छन् ।

झन्डा हराएको जस्तो

सरकार आन्दोलन दमन गथ्र्यो । दलहरू शासन व्यवस्थाकै विरोधमा थिए । प्रजातन्त्र पुनःस्थापनाको पक्षमा लेख्ने ‘दृष्टि’ जिल्लामा पठाउन पनि ठूलै सकस थियो । अनेक तिकडम अपनाउनु पथ्र्यो । सरकारले पठाउन दिँदैनथ्यो । त्यसैले कतिपटक लुगाभित्र पत्रिका हालेर पठाएको नारायणको दिमागमा अझै ताजै छ । “एक–दुई दिन ढिलो हुनेबित्तिकै जिल्लाबाट फोन गरेर भन्थे, ‘पत्रिका किन नपठाएको ? हामीलाई त हाम्रो झन्डा हराएको जस्तो भएको छ ।”

पाठकपत्रमा झलनाथको ड्राफ्ट

जनआन्दोलन सकिएको थियो । इतिहासको मूल्यांकन गर्दै नारायणले एउटा सम्पादकीय लेखे, “क. पुष्पलाल श्रेष्ठ संयुक्त जनआन्दोलनका ठूलै मान्छे हुन् र बीपी कोइराला पनि विभिन्न कमीकमजोरीका बाबजुद प्रजातान्त्रिक आन्दोलनलाई योगदान गरेका राजनीतिज्ञ हुन् ।”

त्यो सम्पादकीयका विरुद्धमा पार्टीको पोलिटब्युरोले विद्यार्थी नेता पीएस जोशीका नाममा निकै लामो पाठक प्रतिक्रिया लेख्यो । “सम्पादकीय विचलन भनेर आएको त्यो पाठक प्रतिक्रिया झलनाथ खनालको ड्राफ्ट थियो,” नारायण व्यंग्य कस्छन्, “वास्तवमा तिनै नेताहरू अहिले मैलेभन्दा धेरै बीपीलाई मान्छन् जस्तो लाग्छ ।”

चतुर मदन भण्डारी

पत्रकारिता गर्दा नारायणले सबैभन्दा धेरै औंला पार्टी नेता मदन भण्डारीलाई उठाए । तर, उनी कहिल्यै पनि नरिसाएको नारायणको अनुभव छ । “मनमोहन आफ्नै निर्णय कार्यान्वयन गर्न नसक्ने सोझा । माधव नेपाल केही भन्यो भने जिन्दगीभर त्यसलाई मनमा लिएर रिसाउने । केपी ओली आफ्ना हनुमानहरूको चेन अफ कमान्ड गठन गरेर त्यसमै रमाउने । मदन भण्डारीचाहिँ व्यक्तिको क्षमता मूल्यांकन गरेर भोलि यो मान्छे पार्टीमा यो ठाउँमा काम लाग्छ भन्ने सोचेर पार्टीका लागि शक्ति सञ्चय गर्ने व्यक्ति हो । मेरो सबैभन्दा धेरै टसल परेको मदन भण्डारीसँग नै हो,” नारायण भन्छन्, “पाँचौं महाधिवेशनको फ्लोरले रिजेक्ट गरेको प्रदीप नेपाललाई तीन दिनपछि केन्द्रीय सदस्यमा नियुक्त गरेपछि म, श्यामल, अग्निशिखालगायत १० लेखकले संयुक्त वक्तब्य निकाल्यौं । प्रत्यक्ष भेट्यौं । तर, हाम्रो आलोचना र दबाबलाई मदन भण्डारीले सहज रूपमा लिनुभयो ।”

०४६ को आन्दोलनपछि स्थानीय निर्वाचन हुने भयो । पोखरामा मालेको राष्ट्रिय परिषद् बैठक बस्यो । भेलाले पार्टी संघर्षमा जाने निर्णय गर्‍यो ।

नारायण ‘प्रतिपक्ष’मा काम गर्थे । मदनलाई फोन गरेर सोधे, “कमरेड ! यो कस्तो निर्णय हो ? चुनावमा जाने कि संघर्षमा जाने ? कि चुनाव बहिष्कार गर्छौं भन्नुपर्‍यो, होइन भने चुनावमा जानुपर्‍यो ।”

मदन ‘कन्भिन्स’ भएछन् । भनेछन्, “म रिक्स लिन्छु, लेख्द्निुस्— चुनाव र संघर्षमा सँगसँगै भनेर । पार्टीमा कार्ययोेजना पास गराउने जिम्मा मेरो हो ।”

पत्रकारका सीधा प्रश्न होऊन् या आलोचनात्मक टिप्पणी— मदनले तिनलाई सहजै ग्रहण गर्ने क्षमता राख्ने गरेको नारायण सुनाउँछन् ।

सम्पादकको चक्करमा लाग्दा

०५८ मा ‘अन्नपूर्ण पोस्ट’ दैनिक प्रकाशनको तयारी चल्यो । नारायण राजनीति र पत्रकारिताबाट अलग भएका थिए । घर बन्धकीमा थियो । लिलाम हुन लागेको घर उकास्नु थियो । हरि अधिकारी ‘अन्नपूर्ण पोस्ट’मा आबद्ध भइसकेका थिए । नारायणले हरिलाई भने, “जागिर खान पाइन्छ ?”

हरिले भने, “आउनुस् न, सेकेन्ड म्यान खाली छ ।”

शम्भु श्रेष्ठले भने, “केको सेकेन्ड म्यान ? फस्र्ट म्यान नै खाली छ । म भन्दिन्छु ।”

सम्पादकको चक्करमा लाग्दा सेकेन्ड म्यान पनि उम्कियो । बाँकी रहेछ, थर्ड म्यान अर्थात् विचार पृष्ठको सम्पादक । घर उकास्नु थियो । बैंकको किस्ता तिर्नु थियो । नारायणले काम शुरु गरे । ‘अन्नपूर्ण पोस्ट’मा १० वर्ष काम गरे नारायणले ।

० ० ०

कहिले हिप्पी कल्चरका फलोअर, कहिले शिक्षक, कहिले साहित्यकार, कहिले पत्रकार— नारायणले जिन्दगीमा फरक–फरक जीवन बाँचे र नयाँ–नयाँ अनुभव सँगाले । कहिले स्वतन्त्रताको चरम अनुभव ‘हङ्ग्री जेनेरेसन’मा पसेर गरे । कहिले अभावको खड्गो टार्न शिक्षक र पत्रकार भए भने कुनै समय माक्र्सको विचारधारबाट प्रभावित भएर राजनीति गरे । साहित्य त उनको नसा–नसाको रगतमा बगी नै रह्यो । चाहे अभावमा छट्पटिँदा होस्, चाहे राजनीतिमा शक्तिको अभ्यास गर्ने थलोमा पुग्दा होस् ! अहिले पूर्णकालीन रूपमै लेखनमा व्यस्त छन् नारायण ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC