site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डा. हल्डरको प्रतापले नै यो जगतमा म जिउँदो छु
Sarbottam CementSarbottam Cement

आज पनि वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी (७२) चार व्यक्तित्वप्रति सदैव नतमस्तक हुन्छिन् । उनको जीवनलाई आजसम्म सफलताका साथ डोर्याउनमा चार पुरुषहरूको प्रत्यक्ष प्रभाव रह्यो । 
ती चारै व्यक्तित्वका कारण आफू सुभद्रा अधिकारी भएको उनको तर्क छ । त्यसैले पनि उनका निमित्त यी चारै श्रद्धेय छन् । ती चार व्यक्तित्व हुन्, डा. सुशील हल्डर, उस्ताद बद्रीप्रसाद, ससुरा विष्णुप्रसाद अधिकारी र नाट्यकार बालकृष्ण सम ।

आज सुभद्रा अधिकारी जिवीत रहनुको मुख्य कारण हो, डाक्टर सुशील हल्डरकै सत्प्रयास ।

उनी जन्मिनु पाँच दिनअघि । गाइजात्राको दिन थियो । सुभद्राकी आमा गायिका नूरा देवी असनस्थित घरको बार्दलीमा उभिएर गाइजात्राको रौनक हेर्दै थिइन् । हठात् उनी बेहोस भइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबेला सुभद्रा नुरा देवीको पेटमै थिइन् । गाईजात्राका दिन बेहोस भएकी उनकी आमा चार पाँच दिनसम्म बेहोस नै रहिन् । उनलाई उपचारका लागि अस्पताल लाने वा डाक्टर बोलाउने काम गरिएन ।
पाँचौं दिनको दिन आमाको बेहोसीमै उनको जन्म भयो । उनी आफ्नै बलले जन्मिन् ।

तर आमाको पेटभित्र रहेको शिशु, आफ्नै बलले मात्रै जन्मिँदा शिशुको अवस्था नाजुक भयो । शिशुको शरीर निलो भइसकेको थियो । भर्खरै जन्मिएको शिशु अर्थात् उनलाई देखेर कसैले पनि उनी बाँचेको आशा गरेनन् । 

Global Ime bank

त्यहाँ रहेकाहरूमध्ये कसैले यो बच्ची मरी भनेर एउटा थाङ्नो कपडामा बेरेर छेउमा राखिदिए । र उनकी आमा नूरा देवीको उपचारमा लागे । बंगाली डाक्टर हल्डर महाबौद्धस्थित वीर अस्पताको क्वार्टरमा बस्थे । उनका पिताजीसँग डाक्टर हल्डरको राम्रो सम्बन्ध थियो । उनलाई बोलाइयो । केही बेरपछि डाक्टर हल्डर आए । उनले आएर नूरा देवीलाई जाँचेर औषधी दिए । 

अनि डा. हल्डरले ‘बच्चा खोइ ?’ भनेर सोधे । 

बच्चा त समय मिलेपछि गाड्न लैजाने भनेर छेउमा राखिएको थियो । बच्चालाई ल्याएर डा. हल्डरका अगाडि राखियो । हल्डरले स्टेथेस्कोप लगाएर जाँचे । अनि भने ‘कहाँ मर्नु यो बच्ची ! यिनको सास चलिरहेको छ । बच्ची जिउँदै छिन् ! लौ, तातो पानी ल्याउनुस् ।’ 

त्यसपछि डा. हल्डरले उनलाई मनतातो पानीमा डुबाए । खुट्टामा समाएर झुण्ड्याउँदै पिठ्युँमा थपथपाए । यो क्रम पटकपटक चल्यो रे । त्यसपछि उनी सामान्य अवस्थामा आइन् । उनकी आमा पनि बेहोसीबाट ब्यूँझिन् । अनि आमाको दूध खान थालेपछि उनी तङ्ग्रीदै गइन् । 

मंगलबार दिउँसो वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको डल्लुस्थित निवासमा सहकर्मी सरिता खड्काका साथ पुग्दा उनी हामीलाई नै पर्खिरहेकी थिइन् । 

उनले आफ्नो जन्मकथा सुनाउँदै भनिन्, “म यसरी बाँचेकी मैले मेरो बुवाआमाबाट थाहा पाएकी हुँ । वास्तवमा डा. हल्डरको प्रतापले नै म यो जगतमा जिउँदो रहेकी छु भन्दा फरक पर्दैन । डाक्टर हल्डर ती व्यक्ति हुन् जसको प्रभाव मेरो जीवनमा प्रसाद सरी छ ।”

धेरैपछि एकपटक उनको भेट डाक्टर हल्डरकी छोरी मिली हल्डरसँग भयो । पछि उनकै माध्यमबाट सुभद्राले डा. हल्डरसँग भेट्ने मौका पाइन् । 
सुभद्रा भन्छिन्, “पछि मैले मिली हल्डर दिदीसँग मणिपुरी नृत्य पनि सिकेँ । उहाँ मणिपुरी नृत्य जान्नु हुन्थ्यो । मैले भने नि, मेरा लागि त डा. हल्डर साक्षात जीवनदाता हुन् । मेरा लागि त ती ईश्वर नै भएर घरमा आइपुगेका थिए उनी ।”

सुभद्राका अनुसार असनमा उनको घर वरपर जान्ने वैद्यहरु थिए । उनका पिताजी बलरामले दरबारमा फलफूल पुर्याउन भनेर राखेको रसियन जीप पनि त्यहीँ थियो । उनको पिताजीको बिजनेस थियो, दरबारमा फलफूल पुर्याउनु । तर उनलाई वैद्यलाई देखाउने वा अस्पताल लैजानेतर्फ कसैले सोच्दै सोचेनन् । 

उनी हाँस्दै भन्छिन्, “मलाई बाँच्नु र यति गर्नु लेखेको रहेछ । अनि त के थाङ्नामा बेरिएर मर्थे र म । धन्न कसले बेरेको हो मलाई, अनुहार भने खुल्लै राखेको रहेछ । नभए त ढुकढुकी सास पनि जाने रहेछ ।”
सुभद्रा अधिकारीको जीवनलाई कर्मशील बनाउने अर्का पुरुष हुन्, उस्ताद बद्रीप्रसाद । उनले नै सुभद्रालाई नृत्यका सारा अवयवका विषयमा ज्ञान दिए । अभ्यास गराए । उनले सुभद्रालाई नृत्य मात्रै सिकाएनन्, अभिनय गर्न पनि सिकाए । त्यसो त अलिअलि गीत त उनी गाउँथिन्, तर गीत संगीततर्फ त्यति ध्यान गएन उनको । उनी नृत्य र अभिनयमै जमिन् । 

यसैले पनि उनी उस्ताद बद्रीप्रसादलाई आज पनि उत्तिक्कै श्रद्धा गर्छिन । उनी भन्छिन्, “आज बद्री उस्तादकै देनले मेरो जीवन निर्वाह भएको छ ।” उनको जीवनमा ठूलो प्रभाव पार्ने अर्का व्यक्ति हुन्, सुभद्राका ससुरा विष्णुप्रसाद अधिकारी । नूरदेवीका विष्णुप्रसाद बाजे एकदम कट्टर थिए । तत्कालीन चारबुर्जा दरबारमा उनको आउजाउ थियो । इन्द्रचोक नयाँसडकका साहु–महाजनहरूसँंग उनको सम्बन्ध थियो ।
सुभद्राको कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह भए पनि मागी बिहेजस्तै गरी भयो । कृष्णप्रसाद पनि नृत्य र अभिनय गर्थे । 

कृष्णप्रसादका पिताजी अर्थात् सुभद्राका ससुरा छोरालाई नाटक र नृत्यको क्षेत्रमा नलाग्न कडाई गरिरहेका थिए । उनले यो क्षेत्रबाट छोरालाई कतिपटक छोडाउने प्रयास पनि गरे । तर सकेनन् । 
बरु छोराले बुहारी पनि नाच्ने नै लिएर आए । २०२१ सालमा सुभद्राको बिहे भयो कृष्णप्रसाद अधिकारीसँग ।

अनि उनका ससुराले सुभद्रालाई भनेछन्, “बुहारी जति नाच्यौ, नाच्यौ । अब घर सम्हालेर बस ।” तर त्यसबेला उनको नृत्य र अभिनयको तालिम चलिरहेको थियो, भरखरै स्थापित नेपाल एकेडेमीमा । उनका पतिले आफ्ना दाजुसँंग उनको तालिम पूरा गराउनु पर्ने कुरा उठाए । 

कृष्णप्रसादका दाजुले पिताजीलाई भने । अनि सुभद्राका ससुरा त्यति तालिम सिकाउने विषयमा सकारात्मक भए ।
तालिम सकिएपछिको दुई वर्ष उनी घरमै बसिन् । घर व्यवहारमा नै उनको समय बित्यो । तर केही गर्नुपर्ने, आफ्नै खुट्टामा उभिन सिकेकी सुभद्रालाई यत्तिक्कै घर बस्दा सकस हुन्थ्यो । तर उनले केही भनिनन् । घरव्यवहारमा आफूलाई भुलाउँदै गइन् ।

२०२६ साल, वैशाख–जेठको महिना थियो । एकदिन उनका ससुरा विष्णुप्रसाद अधिकारीले सुभद्रालाई भने, “सुभद्रा, मलाई लागिरहेको छ, मैले तिम्रो प्रतिभालाई मारेँ । तिम्रो प्रतिभालाई मारेकोले मलाई पाप लाग्छ जस्तो अनुभव भइरहेको छ ।”

ससुराको कुरा सुनेर उनी झसङ्ग भइन् । तर मौन बसिरहिन् । अनि फेरि ससुराले सोधेछन्, “तिमी जागिर खान्छ्यौ ?” ससुराले भनेको उनले सुनिन् तर पत्याउन सकिनन् । केही समय मौन रहेपछि उनले भनिन्, “जागिर पाए त खान्छु ।” 

श्वासप्रश्वासको समस्याका कारण बेलाबेलामा अक्सिजन लिइरहेकी सुभद्रा अधिकारीको मुहार यति भन्दाभन्दै उज्यालियो ।  उनले भनिन्, “मेरो ससुराले कहाँ खान मिल्छ बुझेर खबर गर भन्नु भयो । मैले श्रीमान्लाई पनि भने । उहाँले पनि पत्याउनु भएन । त्यसबेला एकेडेमीमा खाली थिएन । गीत खासै नगाउने भएकोले रेडियोमा जान मन लागेन । अनि मैले नाचघरमा पाए जान्छु भनेँ ।” 
यसरी २०२६ सालमा सुभद्रा अधिकारीले नाचघरमा जागिर सुरु गरिन् । यहाँबाट सुभद्राको कलायात्राको दोस्रो इनिङ सुरु भयो ।

सुभद्राका अनुसार त्यसबेला इन्द्रचोकका साहु महाजनले उनकी आमाको गायन र सुभद्राको नृत्यकलाका विषयमा जानकार थिए । तिनीहरूले नै उनका ससुरालाई त्यति प्रतिभाशाली बुहारीलाई पनि यत्तिकै राख्ने हो भनेर सम्झाएछन् । उनका ससुरालाई घच्घच्याएछन् । 

केही समय त उनका ससुराले यस्ता कुरा सुन्दै टारेछन् । पछि उनलाई महसुुस भएछ, “बुहारीको प्रतिभालाई कतै मारिरहेको त छैन” भन्ने । उनलाई आफूले सुभद्रालाई रोक्नु हुन्न भन्ने लागेछ । जबकी ससुराले उनको नृत्य र अभिनय कहिल्यै हेरेका थिएनन् । 

त्यसैले पनि उनी आफ्नो ससुरालाई महान व्यक्ति मान्दछिन् । 
र, उनको जीवनका अर्का महान व्यक्तित्व हुन्, नाट्यकार बालकृष्ण सम । जसले सुभद्रालाई नाट्यकर्म र नवरसका विषयमा धेरै ज्ञान दिए । धेरै कुरा सिकाए । 
सुभद्रा भन्छिन्, “यथार्थमा बालकृष्ण सम मेरा अभिनयका गुरु हुन् । सुभद्रा के हो र सुभद्राले के गर्न सक्छे भनेर आफूले आफंैलाई चिनाउने काम बालकृष्ण समले नै गर्नुभएको हो ।”
यी चार पुरुषको अथाह आशीर्वाद उनको जीवनमा प्राप्त भएको सुभद्रा अधिकारी आज पनि स्वीकार्छिन् ।  
अभिनयले निथु्रक्कै भिजेकी सुभद्रा अधिकारीकी आमा नूरा देवी भजन गाउँथिन् । एकदिन उनकी आमाको भेट उस्ताद बद्रीप्रसादसँंग पशुपतिमा भयो ।
सुभद्राकी आमाले भजन गाएको सुनेका थिए उस्ताद बद्रीले । उनले तपाईँ राम्रो गाउनुहुन्छ भनेर प्रशंसा गरे । उनकी आमाले पनि ‘मैले के राम्रो गाउनु । मलाई त अझै ठुमरी गाउन मन थियो’ भनेर उस्ताद बद्रीप्रसादलाई भनिछन् ।

अनि उस्ताद बद्रीप्रसादले ‘म सिकाइदिन्छु ठूमरी गाउनलाई’ भनेछन् । यसरी नूरा देवी उस्ताद बद्रीप्रसादसँग ठुमरी सिक्न थालिन् । उस्ताद उनकी आमालाई ठूमरी सिकाउँथे । उनी बाहिर बसेर आमाले गाएको सुनिरहन्थिन् । सायद खुट्टो हल्लाउँथिन् । कम्मर मर्काउँथिन् ।

हुने बिरुवाको चिल्लो पात भनेको यही नै हो सायद । उनकी आमाको कलाकर्म सुभद्रामा पनि गाँसिएको थियो । सुभद्रामा रहेको कलाप्रतिको आकर्षण उस्ताद बद्रीले पहिल्याए ।
एक दिन गुरु उस्ताद बद्रीले उनकी आमालाई भने, ‘तपार्इंकी छोरीलाई नृत्य सिकाउन मन लाग्यो । नृत्य सिकाइदिन्छु म ।’ 

बद्री उस्तादले सुभद्रामा के देखे कुन्नी ! यसरी उनकी आमा नूरा देवीसंँग नृत्य सिकाउन अनुमति मागे । सुभद्राका अनुसार उस्ताद बद्रीले ‘ब्याले’ पनि सिकाउँथे । त्यसैले पनि उनले नृत्य सिकाउने कुरा गरेका थिए । उनी गीत गायन र नृत्य विधामा पारङ्गत थिए । तर सुभद्राकी आमाले पत्याइनन् । उनले ‘अल्लारे छे सुभद्रा । त्यसले के गर्छे र ?’ भन्दै वास्ता गरिनन् । 
तर उस्ताद बद्रीले कर गरे । सुभद्रालाई एक पटक सिकाएर हेराँै भने । अनि सुभद्रालाई नृत्य सिकाउन सुरु गरे ।

सुभद्रा भन्छिन्, “केटाकेटी उमेर नै त थियो । उस्तादले जे भन्नु हुन्थ्यो, जे सिकाउनु हुन्थ्यो, म तुरुन्त टिप्थेँ । यहीँबाट बद्री उस्तादले मलाई नृत्यको तालिम दिन थाल्नुभयो । म पनि गुरुको विद्यालय जान थाले । विद्यालय डिल्लीबजारमा थियो ।” 
उस्ताद बद्रीले उनलाई नृत्य सिकाउँदै गए । सुभद्राले उस्तादसँग ‘नागिन नृत्य’ र ‘आरती नृत्य’ सिकिन् । नागिन नृत्य गर्न एकदम कठिन भएको सुभद्राले बताइन् । तर गाह्रो नृत्य भए पनि उनले राम्रो गर्ने प्रयास कहिले छोडिनन् । 
अन्ततः सुभद्रा ‘नागिन नृत्य’ मा पोख्त भइन् । त्यसपछि विभिन्न कार्यक्रमहरुमा उनले ‘नागिन नृत्य’ प्रस्तुत गर्न थालिन् । उनको नृत्य र भावभंगीको प्रशंसा हुन थाल्यो ।
कुराकानीकै क्रममा उनले नाचघरमा कार्यरत रहँदाको एउटा प्रसंग सुनाइन् । नाचघरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा तत्कालीन राजा महेन्द्रसहित राजपरिवारका अन्य सदस्यहरू पनि आएका थिए । 
सुभद्रा अधिकारीले पनि कार्यक्रममा ‘नागिन नृत्य’ प्रस्तुत गरिन् । गणेश रसिक र नविनकिशोर राईहरूले गीत गाए । अरु कलाकारहरू पनि थिए, सांस्कृतिक कार्यक्रममा भाग लिने ।
तत्कालीन राजा महेन्द्रको निधन हुनुभन्दा केही महिना अगाडिको कुरा हो यो । नाचघरमा भएको उक्त कार्यक्रममा त्यसबेलाका युवराज वीरेन्द्र आएका थिएनन् । सायद काठमाडौंमा थिएनन् । त्यसैले केही दिनपछि वीरेन्द्रलाई देखाउने भनेर सुभद्रा अधिकारी र गणेश रसिकको समूहलाई कार्यक्रम प्रस्तुतिका लागि दरबारमा बोलाइयो । र त्यहाँ उनीहरुले फेरि आफ्नो प्रस्तुति देखाए । 

०००
सुभद्रा अधिकारीले नृत्य र अभिनय गर्ने क्रममा कहिलेकाहीँ केटा बनेर पनि ‘ब्याले’ (नृत्य नाटिका) गरिन् । तर उनले गरेको पहिलो नाट्य अभिनय थियो ‘कची मचा’ । नेपाल भाषाको यो नाटकमा उनको बाल भूमिका थियो । ‘कची मचा’ मा अभिनय गर्दा उनको उमेर सानै थियो । 

नाटकमा उनलाई आमाको काखबाट खोसेर लानुपर्ने दृश्य थियो । उनी भने आमाको हात समातेर रुँदै मलाई लैजान नदेउ भनेर अनुनय गर्दै थिइन् । उनको यो अभिनयले सारा दर्शकदीर्घामा रहेकाहरूको आँखा सजल तुल्यायो । उनको अभिनयको तारिफ पनि खुबै भयो । यसरी नाटकमा अभिनय गर्न सुरु गरेकी सुभद्राले दर्जनौँ नाटकहरूमा अभिनय गरिन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात गीति नाटक ‘मुना मदन’ मा मदनको दिदी भएर अभिनय गरिन् ।  

सुभद्रा भन्छिन्, “यो नाटकमा पनि दर्शक खुबै रोए । म पनि स्टेजमा खुबै रोएँ । र यही गीतिनाटक मुनामदनले मलाई नेपाल घुमायो । सबै ठाउँ घुमायो ।” 
०००

उनले केही बेर बालकृष्ण समको चर्चा गरिन् । आज पनि बालकृष्ण समसँग गाँसिएका केही सम्झना उनको मानसपटलमा ताजा छन् । 
प्रशिद्ध नाट्यकार बालकृष्ण समसँंग उनको पहिलो भेट आर्मी हेडक्वार्टरमा भएको थियो । आर्मी हेडक्वार्टरले वर्षको दुई पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दथ्यो । त्यो कार्यक्रममा सुभद्रा अधिकारी पनि सहभागी हुन्थिन् । गायक तथा संगीतकार कृष्णमान डंगोलका कारण उनी आर्मी हेडक्वार्टरमा हुने कार्यक्रममा भाग लिन पुगेकी थिइन् । त्यहाँ जर्नेल मीन शमशेरले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्दै आएका थिए ।

एकपटक कार्यक्रम हेर्न बालकृष्ण सम पनि आएका थिए । अनि सुभद्रा अधिकारीको नृत्य र नाट्य प्रस्तुति देखेर बालकृष्ण समले मीन शमशेरलाई भनेछन्, एकेडेमीमा कला विभाग खोल्ने विषयमा मैले दरबारमा जाहेर गरेको छु । यदि खोलिए मैले यीनलाई एकेडेमी लान्छु ।

यसरी नाट्यकार बालकृष्ण समको संगतमा आइन्, सुभद्रा । पछि उनी एकेडेमीमा पुगिन् । अभिनय र नृत्यसम्बन्धी तालिम पनि लिइन् । र बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’लगायत धेरै नाटकहरुमा अभिनय गरिन् । 
बुहार्तन र नालापानीमा सुभद्राका पति कृष्णप्रसादले पनि अभिनय गरेका थिए ।
अभिनय र नृत्यको उत्कृष्टताका लागि कुनै सम्झौता नगर्ने सुभद्राको काम गराईबाट बालकृष्ण सम खुबै प्रभावित थिए । त्यसैले अरुले ७५ रुपैयाँदेखि १ सय २५ रुपैयाँ पारिश्रमिक पाउँदा सुभद्राले १ सय ५० रुपैयाँ पाउँथिन् । 
सुभद्रा भन्छिन्, “कची मचा”बाट सुरु भएको अभिनय यात्रामा अरु पनि नाटकहरू थपिँदै गए । कति नाटकमा मैले नायिका भएरै अभिनय गरेँ । जगतमर्दन थापाको नाटक ‘पलाँसको फूल’मा पनि मैले नायिका भएर अभिनय गरेकी थिएँ ।” 
त्यसपछि सुभद्रा अधिकारीले आफ्ना अभिनयका खास गुरु बालकृष्ण समको निर्देशनमा कैयन नाटकहरूमा अभिनय गरिन् । उनले नाचघरमा कार्यरत रहँदा हरिप्रसाद रिमालद्वारा निर्देशित दर्जनौँ नाटकमा अभिनय गरिन् । 
सुभद्रा अधिकारी भन्छिन्, “वास्तवमा त्यो समयमा हामीले क्रान्ति नै त गरेका थियौं । मेरो मावलको परिवार कला मर्मज्ञ थिए । मेरा मामाहरु पनि पियानो र तबला बजाउनु हुन्थ्यो । मेरो मामाकी छोरी तारा देवी रेडियोमा गीत नै गाउनु हुन्थ्यो । त्यसैले मामाघरको सपोर्टले पनि मलाई अभिनय र नृत्यलाई अगाडि बढाउँदै लान सजिलो भयो ।”

उनी जागीर खान भनेर नाचघरमा गएकै वर्ष एकेडेमीको काम फेरि सुरु भयो । बालकृष्ण समले सुभद्रालाई फेरि एकेडेमीमा बोलाए । तर खै किन हो, सुभद्रा गइनन् । उनी नाचघरमै रमाइन् । 
सुभद्रा भन्दै थिइन्, “मलाई सम गुरुले एकेडेमीमा काम गर्न आउ भनेर बोलाउनु भएको थियो । तर म गइन । मैले जीवनमा गर्न नहुने गल्ती सायद त्यही नै गरेकी थिएँ । यो विषयमा मैले जीवनभर पछुताएर पनि पुग्दैन भन्ने मलाई लाग्छ । मैले मेरो गुरुको चित्त दुखाएँ । सायद त्यसैको पाप थियो की, नाचघरमा अस्थायी जागीरमै मेरो जीवन बित्यो । २०२६ सालदेखि २०५७ सालसम्म काम गर्दा पनि कहिल्यै स्थायी भइन ।” चलचित्रमा सुभद्राको आगमन नचाहेरै भयो । चलचित्रमा अभिनय गर्ने खासै मन थिएन । 
२०२० सालताका ‘आमा’ निर्माण हुँदै थियो । तर त्यतातिरको खबर नै भएन । थाहा पाएको भए सायद रहरै रहरमा अभिनय गर्थिन् कि । तर थाहा पनि भएन । रहर पनि भएन । 
उनी नाचघरमा कार्यरत थिइन् । उनको मिल्ने साथी मन्जु शर्माले सुभद्रालाई ‘मनको बाँध’को प्रारम्भिक चरणको काम हुँदै गरेको बताइन् । मन्जुले धेरै पटक सुभद्रालाई ‘मनको बाँध’मा खेल्न जाउँ भनेर उकासिन् । तर उनलाई कहिल्यै त्यतातिर मन गएन । 

एकदिन अभिनेता जगन्नाथ तिमिल्सिना नाचघर आइपुगे । मन्जुले जगन्नाथ तिमिल्सिनालाई ‘सुभद्रालाई मनको बाँधमा प्रयास गर भनेको, मान्दिनन्’ भनिन् । 
जगन्नाथ तिमिल्सिनाले पनि सुभद्रालाई हिँड भन्दै आफ्नो मोटरसाइकलमा हालेर महाराजगञ्जस्थित ‘रोयल नेपाल फिल्म कर्पोरेशन’को अफिसमा पुर्याए । त्यो दिन अन्तिम दिन रहेछ मनको बाँधको कलाकार छान्ने ।
निर्देशक थिए, प्रकाश थापा । कडा र हठी स्वभावका लागि उनी प्रख्यात थिए । थापाले सुभद्रालाई केही संवाद दिँदै अभिनय गर्न भने । सुभद्राले पनि आफूले जानेको गरिन् ।

सुभद्रा त्यस दिनको कुरा सम्झेर हाँसिन् । भनिन्, “त्यसपछि प्रकाश थापाले मलाई हप्काउनु भयो । ‘कहाँ गएकी थियौ यतिका दिनसम्म ? किन हराएकी तिमी ? अब मैले तिमीलाई कुन रोल दिने ? ठाउँ नै छैन । सबै रोल सकियो ।’ मैले पनि ‘छैन भने नगर्ने’ भनेँ ।”
तर मनको बाँधका निर्देशक प्रकाश थापाले सुभद्रा अधिकारीका लागि एउटा रोल निकाली छाडे । एउटा ठाउँ खाली थियो । हरिप्रसाद रिमालको पत्नीको भूमिकाको । तर हरिप्रसाद रिमालसँंग सुभद्राको उमेर नमिल्ने भएकोले दोस्री पत्नीको चरित्र सिर्जना गरी उनलाई अभिनय गर्न दिइयो ।
यसरी उनले ‘मनको बाँध’बाट चलचित्रमा अभिनयको थालनी गरिन् । त्यसपछि उनी चलचित्रमा चर्चित हुँदै गइन् । उनले पछाडि फर्केर हेरिनन् । आज पनि सुभद्राले अभिनय गरेको चलचित्रहरू ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’ को चर्चा चल्दै आएको छ । 

प्रकाश थापाको निर्देशनमा बनेको ‘सिन्दुर’ र ‘सन्तान’मा भने उनले अभिनय गरिनन् । ‘कन्यादान’का लागि भने प्रकाश थापाले उनलाई पहिले नै भनेका थिए । ‘सन्तान’सँग जोडिएको एउटा रोचक प्रसंग सुनाइन् सुभद्राले । सन्तानको मुहुर्त भइसकेको थियो । तर कलाकार चयनमा निर्माता भगवानदास श्रेष्ठलाई केही चित्त बुझिरहेको थिएन ।

एकदिन सुभद्रालाई छेत्रपाटीको अफिसमा बोलाएर भगवानदासले शान्ति मास्केको ठाउँमा अभिनय गर्न भने । सुभद्रा अलमलिइन् । उनले नार्इं पनि भन्न सकिनन् । अनि उनले भनिन्, “जोडीदार को हो ?” 
निर्माता भगवानदासले भने “हरिप्रसाद रिमाल ।”
अनि उनले भनिन्, “हरिप्रसाद रिमालको जोडी भएर म खेल्दिन । अरु कोही जोडीदार राख्नुस् । नीर शाह वा रवि शाह ।”
अब अलमलिने पालो भगवानदास श्रेष्ठको थियो । सायद उनी त्यो भूमिका सुभद्रा अधिकारीले गरुन् भन्ने चाहन्थे । तर सुभद्रा आफूभन्दा अग्रज कलाकारको भागमा परिसकेको भूमिका हरण गर्ने पक्षमा थिइनन् । त्यसैले उनले जोडिदार परिवर्तन गर्ने माग गरिन् ।
अन्ततः यसरी उनी सन्तानबाट पन्छिइन् ।
०००
सुभद्रालाई जहिले पनि चलचित्रभन्दा रंगमञ्च नै प्यारो लाग्यो । आज पनि उनी आफूलाई रंगमञ्च नै प्यारो लागेको बताउँछिन् । 
रंगमञ्चकै एउटा मिठो प्रसंग उनले सुनाइन् । सुभद्राको बिहे भइसकेको थियो । बालकृष्ण समको नाटक नालापानी मञ्चन हुँदै थियो । नाटकमा नेपाल आमाको भूमिकामा सुभद्रा थिइन् । उनका पति कृष्णप्रसाद अधिकारी नरे कार्कीको भूमिकामा अभिनय गर्दै थिए । 
सुभद्रा अधिकारीले हाँस्दै भनिन्, “त्यो नाटकमा मेरा पतिले मेरो खुट्टामै ढोग्नु पर्दथ्यो । यो दृश्यमा सबै हाँस्थे । तर स्टेजमा गर्ने अभिनय भनेको लरतरो काम होइन । पूरा भावका साथ हामी आफ्नो चरित्र निर्वाह गर्नमा तल्लीन थियौं ।” 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC