काठमाडौं । भोलि (मंगलबार)देखि हालसम्मको सबैभन्दा ठूलो थप निष्कासन (एफपीओ) आउने भएको छ । बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो ।
बैंकले फेस भ्यालु मूल्यमा १ हजार १९० रुपैयाँ प्रिमियम जोडेर १ हजार २९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ छिटोमा चैत ४ गते र आवश्यकताअनुसार चैत २५ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले क्षमताअनुार न्युनतम १० देखि अधिकतम २५ हजार ५८० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
नेपाल राष्ट्र बैंकले आउँदो असारसम्ममा चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बैंकले एफपीओको बाटो लिएको हो । एफपीओपछि बैंकमा संस्थागत स्वामित्व ७०.२१ र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ । चालु आर्थिक वर्षको पुससम्ममा बैंकले साढे ७४ करोड रुपैयाँ खुद नाफा गरेको छ । हाल बैंकको चुक्तापुँजी ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ छ ।