काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतको सुनुवाई प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा प्रस्तावित राजदूतहरु अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सरकारद्वारा प्रस्तावित चार वटै देशका राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिले प्रस्तावित राजदूतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदूतहरुको सुनुवाई हुनेछ । समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।