site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 रहर गायकको, भए संगीतकार
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल 


कलाधर सापकोटा गीत लेख्थे । छोरा वसन्त सापकोटा त्यसमा भाका हालेर गाउँथे । गाउँले परिवेश, गाउँकै भाका, वसन्तलाई गाउन कठिन लाग्दैन थियो । जहाँ जन्मियो, जस्तो वातावरण पायो व्यक्ति त्यस्तै न हुने हो । कुमालेको काँचो माटो जस्तो । बुवा स्वयम् गीत लेख्ने भएपछि वसन्तलाई गाउन छेकबार थिएन । बुवा हौसला दिन्थे, साथीहरु उकास्थे । बालापनका वसन्तलाई के चाहियो ? गाउँथे । त्यसमाथि विद्यालयमा हुने प्रतियोगितामा जित्ने कलमकापीले उर्जा थप्थ्यो । जोशिन्थे । थुमाकु डाँडामा हुने भजनकिर्तनमा गाउँथे वसन्त । 

‘पानको पात’, ‘बाँबरी फूलको बोट’ गीतका भाका लिन्थे । शब्द आफैं बनाउँथे र गाउँथे । प्रतियोगितामा उनी कहिल्यै दोस्रो हुनु परेन । ०५२ सालमा एसएलसी दिए । नतिजाले उच्च शिक्षाका लागि बाटो खोलिदियो । पीएन क्याम्पसमा शिक्षाशास्त्र संकाय लिएर पढ्न थाले ।  रुची गायनमा थियो । स्थानीय स्तरमा हुने प्रतियोगिता नै किन नहोस् ? उनले बाजी मारेकै थिए । उनकै शब्दमा वसन्तले कहिल्यै दोस्रो हुुनु परेन । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो भए किन पढेनन् संगीत ? र, भर्ना भए शिक्षा संकायमा ?

बिर्सिएका छैनन् वसन्तले । बुवा कलानिधी शिक्षक थिए । उनी छोरालाई पनि शिक्षक नै बनाउन चाहन्थे । गाउँमा शिक्षकको  छुट्टै शान शौकत थियो । आफूले पाएको इज्जत उनी छोरामा सरोस् भन्न चहान्थे । बाउको बिँडो थामोस् भन्ने चहाना थियो । त्यसैले उनलाई बुबाले शिक्षा शास्त्र संकायमा भर्ना गरिदिए । मन त थिएन । तर मान्नै पर्‍यो । 
एक वर्ष पढेपछि मनले मानेन । मुखै फोरे । पढ्दिन शिक्षा । बन्दिन शिक्षक । पढ्छु संगीत । र, बन्छु गायक । छोराको चाहनालाई रोक्नु मनासिव ठानेनन् कलानिधीले । 

Global Ime bank

०५४ सालमा ललितकला पढ्न काठमाडौं आए । आईए पढे । ०५८ मा उनी पोखरा नै फर्किए । काठमाडौंमा उनले त्यो बेला संगीतकर्मीलाई नचिनेका होइनन् । गायक–गायिकासँग चिनजान नभएको पनि होइन । तर भन्ने आँट आउँदैन थियो । “सुरेश अधिकारीसँग पनि चिनजान थियो । महेश खड्कालाई पनि चिन्थेँ । तर उहाँहरु त्योबेलाका चर्चित संगीतकार तथा गायक हुनुहुन्थ्यो । त्यसैले म पनि यस्तो हुँ लौन भन्ने आँट आउँदैन थियो,” सुरेश सम्झनाको पोको खोल्छन् र तत्कालीन बाध्यताको कहर सुनाउँछन्, “बुबाले अब म पैसा पठाउन सक्तिन । केही काम गरेर बस्ने भए बस् हैन भने गाउँ नै फर्कि भन्नुभयो । काठमाडौंमा काम गर्नेखालको वातावरण बनेन र म फर्किएँ ।”  

मध्यम वर्गीय परिवार पुख्र्यौली सम्पत्तिको आडभरोसा थिएन । मनको इच्छा, चाहनालाई थाँती रोखेर जिजिविशा चलाउन काम गर्नैपथ्र्यो । रहरलाई कहरले जित्यो । सुरु गरे इलेक्ट्रिसियनको काम । हाउस वाइरिङको काम सिके । गरे । अहिले पनि उनलाई हाउसवाइरिङ गर्न आउँछ । 
पोखरा बगरमा दाई बस्थे । छुट्टीमा त्यहीँ जाँदा वसन्तले गीत गुनगुनाएको सुनेका रहेछन् माधव पराजुलीले । उनले एक दिन भने, “भाई एउटा फिल्ममा काम गर्नुपर्ने भयो ।”

वसन्तः फिल्ममा मैले के गर्नु ?

माधवः गीतको शब्द, संगीत, गायन सबै गर्नुपर्‍यो । 

०६१ सालमा अनपेक्षित रुपमा आएको अफर सुनाउँदै नोस्टाल्जिक हुन्छन् वसन्त । चलचित्र थियो, ‘दोषी’ । एक हप्ता लगाएर वसन्तले गीत तयार पारे । उनले तयार पारेका चारवटा गीतमा दुइटा वसन्तले नै गाए भने बाँकी दुइटामा एउटा कर्ण दास, माण्डवी त्रिपाठी र अर्को रामचन्द्र काफ्लेले गाए । यो चलचित्रको गीत ‘पानीपानी’ राम्रै चल्यो । जसमा वसन्तकै स्वर थियो । ‘दोषी’ले वसन्तलाई काठमाडौं ल्यायो । यतै बस्न थाले । वसन्त पारिश्रमिक पनि सम्झिन्छन्–२० हजार रुपैयाँ । 

०६३ मा उनले ‘वसन्त’ गीती एल्बम नै निकाले । यो एल्बमको ‘माया अन्त्यै सार’ निकै लोकप्रिय भयो । ‘तहल्का डटकम’ उनको पहिलो फिचर फिल्म थियो । 

०६५ मा चलचित्र ‘सिलसिला’ निर्माण भयो । ‘सिलसिला’मा एउटा गीत छ, ‘सागरसरी’ । राजेश पायल राई र अञ्जु पन्तको स्वरमा रहेको यो गीतमा वसन्तले संगीत भरे । यो गीतले वसन्तको जिन्दगीमा ट्रनिङ प्वाइन्ट ल्यायो । संगीतकारको रुपमा उनलाई चिनाउने गीत नै यही बन्यो । 

चलचित्र लेखक प्रदीप भारद्वाजसँग वसन्तको राम्रो चिनजान थियो । चलचित्र लेखकका हैसियतले प्रदीपले धेरै चलचित्र निर्माताहरुलाई चिनेका थिए । त्यसैले वसन्तलाई लिएर उनले ‘सागरसरी’ गीत लिएर थुप्रै निर्माताको ढोका ढक्ढक्याएको वसन्तले बिर्सिएका छैनन् । “१९ जना प्रोड्युसरसँग प्रदीपजीले मलाई यो गीतका लागि भेटाउनु भयो । ‘कुसुमे रुमाल–२’, ‘राज्य’ फिल्म बन्दैथियो । भेट्यौं । श्याम भट्टराई, ज्ञानेन्द्र देउजा, योगेश भट्टराईलाई भेटेर ‘सागरसरी’ सुनाएको थिएँ ।  १९ जनापछि २० जनामा पुग्दा ‘सिलसिला’ले यो गीत राख्यो,” वसन्त भन्छन्, “सीआरबीटीमा सबैभन्दा धेरै डाउनलोड हुने चलचित्रको गीतमा अहिले पनि यो गीत पर्छ । डान्सिङ नम्बर चलिरहेका बेला मैले मेलोडी गीत बनाएर चलाएको थिएँ ।” 

गायक बन्ने रहर

गीत गाउन वसन्तलाई कठिन थिएन । सक्थे । आफैं संगीतकार भएकाले कतिपय अवस्थामा आफू अनुकुल संगीत भर्न पनि सक्थे । गीत पनि लेख्ने उनलाई शब्द देखि नै त्यसको तारतम्य मिलाउन कठिन थिएन । पोखराबाट काठमाडौं ओर्लिदा उनले देखेको सपना पनि गायक थियो । तर सपनाले सधैँ कहाँ साथ दिन्छ र ? जिन्दगीका उकाली ओरालीमा तरेलीहरु भेटिए । त्यसलाई छिचोल्नु थियो । गन्तव्य लामो थियो । तर, बाटो उकालो थियो । 

गीत लेख्थे । संगीत पनि भर्थे । गाउँथे पनि । तर, लगानी कसले गरिदिन्छ ? वसन्तसँग पैसा थिएन । अभावले बाटो मोडिदियो । गायक होइन संगीतकारको यात्रा सुरु भयो । सुरुसुरुमा उनलाई लाग्थ्यो, मैले नै गाउन पाए ? मन भारी हुन्थ्यो । तर, परिबन्धको घेरा नाघ्न सक्तैन थिए । एकदिन दुईदिन मन अमिलो भयो । तर, दिन बित्दै जाँदा गायक बन्ने चाहना औल्याउँदै गयो । उनले आफूलाई संगीतकारमै ढाले । समयसँगै कति रहरहरु मर्छन्, कति परिवर्तन हुन्छन् । यो अनुभव वसन्तले पनि गरे । तर, कुनै गुनासो छैन अहिले उनलाई । समयले रहर मात्रै बदलेन, चाह पनि परिवर्तन गरिदियो । 

“लगानीकर्ताहरु कोही नयाँ प्रतिभालाई ठाउँ दिउँभन्दा पनि चलेको को छ उसैलाई गाउन लगाउँ भन्थे । त्यसमै म पनि अभ्यस्त हुँदै गएँ । संगीतमै रमाउन थालेँ,” वसन्त सम्झिन्छन् । 

गीतका कथा
वसन्त संगीतमै रमाए । संगीतमै जीवन खोज्न थाले । भेट्टाए पनि । १३ सयभन्दा धेरै गीतमा संगीत भरिसकेका उनले १३० वटा चलचित्रका गीतमा संगीत भरेका छन् । जसमा ४० वटा गीतमा उनको स्वर पनि आफ्नै छ । 

संगीत सिर्जना हो । सिर्जनाको कुनै मूल्य हुँदैन । तर यो दोस्रो वाक्य आदर्श भइसक्यो । किनकी संगीत उद्योगमा परिणत भइसक्यो । कलाको पनि ब्यापार हुन थाल्यो । त्यसैले यहाँ यसको बिक्री हुन्छ । बिक्री त्यही हुन्छ, जुन राम्रो छ । सयौं संगीतकर्मी छन् । फलतः चर्को प्रतिस्पर्धा छ । 

उनले संगीत भरेका १३ सय गीतमा सबै गीत हिट् छन् उनी भन्दैनन् । तर, दर्जनौं गीत भने लोकप्रिय छन् । ‘सागरसरी’, ‘ढल्कियो ढल्कियो’, ‘सिम्पल सिम्पल कान्छीको’, ‘यो आँखामा तिमी छांै’, ‘कम्मरमाथि पटुकी’, ‘गाला रातैै’, ‘स्लोली स्लोली’, ‘फिगर कोकोकोला’, ‘सिरैमा सिरबन्दी’लगायत उनका रुचाइएका गीत हुन् । 

‘सिम्पल सिम्पल कान्छीको’, ‘ढल्कियो ढल्कियो’ जस्ता गीत चलिरहेका थिए । वसन्तलाई नयाँ प्रयोग गर्न मन लाग्यो । अनपल्ग्ड गीत तयार पारे । त्यो पनि बच्चाको स्वरमा गाउने गरी । प्रेम परियारलाई खोजियो । चलचित्र ‘नाईं नभन्नू ल–२’मा गीत राखियो । गीत थियो, ‘यी आँखामा तिमी छौ’ । गीत स्रोता दर्शकले रुचाए । लोकप्रिय भयो । ‘सागरसरी’ जस्तै यो गीतबाट पनि वसन्तले राष्ट्रिय पुरस्कार पाए ।

० ० ०

नयाँ पुस्तालाई लक्षित गरेर राजेन्द्र थापाले ‘गाला रातै’ गीत लेखे । संगीत गर्ने जिम्मा वसन्तको काँधमा थियो । बसन्तले गीतको शब्द थोरै चलाए । राजेन्द्रलाई मन परेन । वसन्तलाई गाली गरे । 

संगीत भरे । वसन्तले सोचेका थिए, यो गीतमा नयाँ गायक–गायिकालाई अवसर दिन्छु । प्रोड्युसरले मानेनन् । प्रोड्युसर राजेशपायल राई र अञ्जु पन्त चाहिन्छ भन्थे । तर वसन्तले भने, “म यो गीतमा मिलन अमात्य र प्रह्लाद तिमलसेनालाई राख्छु मैले उहाँहरुसँग कुरा गरिसकेको छु । उहाँहरु मलाई पैसा फिर्ता दिनुस् भन्ने अवस्थामा पुग्नुभयो । तर मैले नराम्रो भयो भने नराम्रो भन्नुस् हैन भने उनीहरुलाई मैले वचन दिइसकेको छु । राम्रो गीत जसले गाए पनि चल्छ भनेर अड्डी कसेको थिएँ,” वसन्तले ‘गाला रातै गीत रेकर्ड गर्दाको सकस सुनाए, “चन्दु गोर्खालीको भजन थियो । मैले कम्पोज गरेको थिएँ । उहाँले आसामबाट आएकी एउटी बहिनी छिन् राम्रो गाउँछिन् भन्नुभयो । मैले बोलाउनुस् भनेँ । मलाई उनको स्वर राम्रो लाग्यो । गाला मोटोमोटो थियो । मैले उनलाई तिमीलाई गाला रातै भन्ने गीत छ गाउनुपर्छ भनेको थिएँ । त्यही वचन पूरा गर्न पनि मैले उनलाई नै गाउन दिनुपर्छ भनेको थिएँ ।” 

० ० ०

गीत रचना होस् अथवा संगीत । त्यसको रचना कसरी हुन्छ ? अधिकांशको जवाफ हुन्छ, “एकान्त, रुखको शितल, तलाउको छेऊ अर्थात अचानक कुनैबेला फुर्छ त्यसैलाई उतार्ने हो ।” 

तर, वसन्तको हकमा अलि फरक छ । उनलाई संगीत भर्न न शान्त तलाउ चाहिन्छ न वरपिपलको ठूलो छहारी । जति बेला फुर्सद हुन्छन् त्यही बेला गर्छन् । पाँचदेखि १० मिनेट उनका लागि एउटा गीतमा संगीत भर्न पर्याप्त समय हो । डा. कृष्णहरि बरालका अधिकांश गीत वसन्तले उनकै घरमा गएर बरालकै अगाडि बसेर संगीत भरेका हुन्, पाँचदेखि १० मिनेटमा । 
तस्बिर: सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC