site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने ?
Sarbottam CementSarbottam Cement

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता हुन् गगन थापा । संसद्मा आफ्नो भूमिका राम्रोसँग निभाउन सक्ने, जनताका समस्या र हरेक विषयमा अध्ययन अनुसन्धान गरी आफ्नो धारणा राख्न सक्ने क्षमता पनि उनमा छ । पछिल्ला दिनमा उनै थापा सरकारप्रति अत्यन्त आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् । संसद्मा बोल्दा होस् वा सभा समारोहमा सरकारका गतिविधिको खुलेर आलोचना गर्ने नेता हुन् थापा । उनै थापाले अहिलेको सरकार कम्बोडियाको बाटोमा हिँडिरहेको दाबी गरिरहेका छन् । 

सरकारले संसद्मा दर्ता गराएका विधेयक लगातार विवादमा किन तानिएका छन् । कि सरकारले जुन विधेयक ल्याएपछि विरोध गर्नु प्रतिपक्षको धर्म हो ? कांग्रेसको भूमिका, जागरण अभियानपछिको कांग्रेसलगायतका विषयमा उनै थापासँग आइतबार बाह्रखरीका जगन्नाथ दुलाल केशव सावदले गरेको कुराकानीः

विवादित विधेयकबारे
सूचना प्रविधि, मिडिया काउन्सिललगायतमा कांग्रेसले निरन्तर विरोध गरिरहेको छ किन ?

Prabhu Bank
Agni Group
NIC Asia

संविधानले हाम्रा अभिव्यक्ति स्वतन्त्रताको हकलाई सुनिश्चित गरिदिएको छ । यो लोकतान्त्रिक अधिकारको आधारभूत कुरा पनि हो । यो अविभाज्य हुन्छ । तर, राज्यव्यवस्था सञ्चालनका निम्ति कुनै कुनै अवस्थामा जस्तो, अखण्डताको विरुद्धमा, साम्प्रदायिक एकतामा खलल पुर्‍याउने कुरामा र  नियतवश गाली बेइजत गर्‍यो भने यस्तो अवस्थामा मनासिब प्रतिबन्ध लगाउने भनिएको हुन्छ । 

मनासिब प्रतिबन्धको दुरुपयोग नहोस् भन्नका लागि विधायिका, सञ्चार जगत सधैँ सचेत हुनुपर्छ । सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकलाई एकठाउँमा राखेर हेर्‍यो भने त्यो ‘मनासिब प्रतिबन्ध’ भन्ने ठाउँबाट छिरेर सरकारले ‘मनखुसी प्रतिबन्ध’ तर्फ लिएर गयो । मिडिया काउन्सिल विधेयकलाई हामी धेरै प्रेस स्वतन्त्रतासँग जोडिरहेका छौं, त्यो होइन । 

Global Ime bank

यो अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय हो । सरकारले नागरिकलाई आफुले जति बोल भन्छ त्यति मात्र बोल भनेर भन्न खोज्यो । मैले जति सुनाउन चाहन्छु तिमी त्यतिमात्र सुन भन्ने यसको सार हो ।  विधेयकमा हेर्दा सामान्य देखिन्छ । सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, होच्याउने काम ग¥यो भने ५ वर्ष जेल र १५ लाख जरिबाना गर्न सकिने व्यवस्था तोक्यो । 

जिस्क्याउने र होच्याउने कुराको ‘थ्रेस होल्ड’ के हो ? के भनेको जिस्क्याउने, के भनेको होच्याउने ? भन्ने कुराको परिभाषा कसले गर्ने त ? यसले त सरकारको विरुद्धमा आउने मत, अभिव्यक्ति, धारणालाई यही कानुन प्रयोग गरेर ठिक ठाउँमा राख्छु भन्न खोजेजस्तै भयो । 

प्रकारान्तरले यसले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरिदिने भयो । सरकारले चाहेको मत मात्र व्यक्त गर्ने एउटा आधार यसले बनाउने भयो । त्यसैले मेरो नजरबाट हेर्दा सूचना प्रविधि विधेयकमा अहिले गरेको बन्दोबस्ती सबैभन्दा खतरनाक छ । मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सँगै राखेर हेर्नुपर्छ । 

विभिन्न विधेयकहरु संसदमा छलफलकै क्रममा छ ।  छलफलपछि संशोधनको गुञ्जायस बाँकी छँदै तपाईंहरु किन यति धैरै अत्तालिनुभएको ? 

हाम्रो परम्परा के छ भने सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्सँग मलाई यस्तो कानुन बनाउनुपर्‍यो भनेर स्वीकृति लिन्छ । कानुन निर्माणको काम शुरु गर्छ । त्यसपछि खासगरी यसलाई कानुन मन्त्रालयले परीक्षण गर्छ । संविधानअनुसार छ, छैन सबै कुरा हेर्छ ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व पनि विज्ञताका हिसाबले हामी कमसल खालको छौं । त्यसैले कतिपय कुरामा त्रुटि, कमजोरी भयो होला भन्ने हुन्छ । कहिलेकाहीँ त्यहीँ पनि स्वार्थहरु बाझिन्छ । सम्बन्धित मन्त्रालयले बढी कुराहरु खोज्छ । र त्यसलाई विधायिकाले सच्याउने काम गर्छ । यो कानुन निर्माणका क्रममा भइरहने प्रक्रिया हो । 

तर, तपाईंले भनेका सबै विधेयकलाई राखेर हेर्ने हो भने विधेयक बाहिर आएर जब सार्वजनिक बहस भयो, प्रश्नहरु उठ्यो । त्यसलाई सरकारमा बसेको मुख्य नेतृत्व यसमा कमजोरी भयो होला सच्याउँछु भन्ने ढंगले प्रस्तुत भएन । सरकारको मुख्य नेतृत्व यसरी प्रतिरक्षामा उत्रिएको छ कि सैद्धान्तिक हिसाबले नै त्यसको पक्षपोषण गरेको छ । ल्याएकै हो, जानेरै गरेको हो, मैले नै गरेको हो भनेपछि कमजोरी भएको होला भनेर शंकाको सुविधा दिने ठाउँ सरकार स्वयम्ले राखेन । 

सरकारले जानी जानीकन विचार पुर्‍याएर संविधानको आधारभूत मान्यताहरुको खिलाफमा विधेयक ल्यायो भन्ने आधार सरकारले नै दिएको छ । 

अहिले आएका मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, गुठीसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयकलाई हेर्दा शक्ति सन्तुलनका आधारहरु पनि उसले मान्दैन, नागरिक स्वतन्त्रतालाई पनि उसलै मान्दैन, हाम्रा ऐतिहासिक सम्पदा, संस्कृतिलाई पनि उसले मान्दैन । 

अहिले गुठीकै सन्दर्भमा हेर्दा प्राधिकरण भन्दै सार्वजनिक स्वामित्व पनि हरण गरेर सरकारले आफैँमा ल्याउन खोज्यो ।  समुदायको स्वामित्वलाई पनि उसले मान्दैन । नागरिकको अधिकारलाई पनि मान्दैन । संविधानले संवैधानिक आयोगलाई दिएको अधिकारलाई पनि मान्दैन । सरकार कसैसँग भएको अधिकारलाई पनि मान्दैन र अधिकार आफुसँग मात्र रहन्छ भन्छ । आफुलाई सर्वेसर्वा ठान्नु अहिलेको सरकारले ल्याइरहेको विधेयकको निचोड हो । 

विभिन्न विधेयकमा हामीले विरोधको सूचना राख्छौं । संसदमा बोल्छौं यो विधेयक पास नगर्नुस्, छलफल गरौं भन्छौं सुनिँदैन । विदेशमा सरकारले ल्याउन लागेको विधेयकमा जनताले हस्ताक्षर गरेर पुनर्विचार गर भन्छन् भने मानिन्छ । हाम्रोमा त्यस्तो छ ? छैन ।  सरकारप्रति विश्वासको संकट छ । प्रतिपक्षी दल, नागरिक कोही पनि सरकारले भनेको मानेर पत्याउने अवस्थामा नै छैनन् ।
विधेयकमा समस्या छ पछि छलफल गर्छु भनेर सरकारले भन्यो भने कोही विश्वास नै गर्न तयार छैन । त्यो सरकारकै कारणले भएको हो नि । सबैभन्दा टड्कारो उदाहरण चिकित्सा शिक्षा विधेयक छ । सम्झौता भनेको पालना गर्नका लागि होइन, भंग हुन सक्छ भन्यो सरकारले । त्यसा गर्ने सरकारलाई जनताले कसरी विश्वास गर्ने ?

जुन–जुन विधेयकमा विरोध हुन्छ कांग्रेस पनि त्यसैमा लय मिलाउँछ । अहिले गुठीसम्बन्धी विधेयकलाई लिएर कांग्रेस संसददेखि सडकसम्मै आन्दोलनमा छ । जुन–जुन विधेयकमा विरोध भइरहेको छ त्यसमा कांग्रेसको ऐक्यवद्धता हो ? 

कसैले विरोध गर्नुभएको छ त्योप्रतिको ऐक्यवद्धता नै होइन । यो हाम्रो जिम्मेवारी हो । संविधानसँग बाझिने कानुन बनाउन नदिने हाम्रो जिम्मेवारी हो । हाम्रो सभ्यता, संस्कृति मास्ने कानुन बनाउन नदिने हाम्रो जिम्मेवारी हो ।  लोकतन्त्रको आधारभूत मान्यताको विरुद्धमा गएर कानुन बनाउन नदिनु हाम्रो जिम्मेवारी हो । त्यसैले प्रेसले आन्दोलन गरेको छ  प्रेसको आन्दोलनमा ऐक्यवद्धता । काठमाडौंका स्थानीय रैथाने नेताहरुले, गुठीयारले आन्दोलन गर्नुभएको छ त्यसमा हाम्रो ऐक्यवद्धता भन्ने  बुझिएको छ भने त्यो गलत हो । यो त हाम्रो जिम्मेवारी हो । 

संविधान बनेपछि जनताले संविधानको जगमा एक तलाको घर बनाउन सरसामान दिएर नेकपालाई पठाएका छन् । घर बनाउने काम उनीहरुको हो । तिमीहरु त्यहाँ सामान खोस्न नजाउ । थपक्कले ठाउँमा बस । तर, जसरी घर बनाउनुपर्ने हौ त्यसरी बनाएनन् भने त्यो बेलामा तिमीहरु प्रश्न गर, विरोध गर, दबाब देऊ । हामीलाई जनताले दिएको जिम्मेवारी यही हो । अहिले हामीले गरिरहेको काम पनि यही हो । 

कांग्रेसले विधेयकका विरुद्धमा भएका आन्दोलनलाई उचालिरहेको छ भन्ने सत्तारुढ दलका नेता र कतिपय मन्त्रीहरुको आरोप छ नि ? 

त्यसरी नै सोच्ने हो भने हाम्रो व्यवस्थामा प्रतिपक्षको भूमिकालाई नै नबुझेको भन्छु म । यदि यसो हो भने सरकारले र हामीले पनि नबुझेको हो । संविधानसँग बाझिनेगरी र अभिव्यक्ति स्वतन्त्रतालाई मास्नेगरि अहिले दुईवटा विधेयक संसद्मा छ । सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक । संविधानले सनातदेखि चलिआएको संस्कतिको रक्षा गर भनेर राज्यलाई दिएको अधिकारबाट च्यूत भएर हाम्रो आफ्नो गुठी परम्परा मास्ने र आफ्नो नातागोता पोस्नेगरी विधेयक आएको छ । कोही किसानको पक्षमा छैन गुठी विधेयक । यी सबै कुरा हुँदै गर्दा प्रतिपक्ष के गरेर बस्नुपर्ने ? थपडी बजाएर बस्दिनुपर्ने ? हामीले मलजल गर्नुपर्ने र उचाल्नुपर्ने अवस्था नै छैन । जनता आफैँ जागेका छन् ।

कोही नबोले पनि हामीले बोल्ने हो । मानौं पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक मान्छौं भनेर बस्यो भने त्यसपछि हामी पनि मान्ने ? केही गुठीयारहरु गएर सरकारसँग छलफल गर्नुभयो र यही विधेयक मान्नुभयो रे । अनि हामी त्यसलाई मान्छौं ? अरुले नमानेका कारण हामीले बोलेको होइन । यो कुरा गलत नै छ, त्यसैले बोलेको हो । 

त्यो गलत हुन नदिनु हाम्रो कर्तव्य भएकाले हामीले त्यही कर्तव्य पूरा गरिरहेको हो । जनताप्रतिको हाम्रो कर्तव्य यही हो । नेपाली कांग्रेसले आफ्नो कर्तव्य पालना गरिरहेको छ । यसलाई सरकारले पनि त्यही रुपमा बुझोस् । 

यो सरकार अभियनाकवादको बाटोमा जाँदैछ भनेर कांग्रेस नेताहरुले भन्दै आएका छन् । संसद्मा करिब दुई तिहाईको विश्वासमा खडा भएको बलियो यो सरकारलाई त्यसो भन्ने केही आधारहरु छन् ? 

अधिनायकवादी, सर्वसत्तावादी भन्दा पनि मैले यो सरकारलाई अनुदारवादी भनेको छु । आवधिक निर्वाचनबाट आएको सरकारले अर्कोपटक निर्वाचन गरायो भने यो देशको व्यवस्था लोकतान्त्रिक भयो र सरकार प्रजातान्त्रिक सत्ता चलाइरहेको छ भन्ने धारणा छ ।  पछिल्लो समय हेर्दा यो सर्वथा गलत धारणा हो । हामीले संविधानले गरेको प्रबन्धलाई सरकारले ठीक ढंगले पालना गरेको छ कि छैन भनेर हेर्ने हो । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग आ–आफ्नो अधिकार छ भनेर भन्छ । सरकारले मान्छ ? मानेको छैन नि ।

सरकारलले न्यायपालिकालाई आफ्नो छायाजस्तो व्यवहार गरेको छ र, निरन्तर तर्साएर राखेको छ । संविधानले सरकारसँग भएको अधिकार एकठाउँमा मात्रै होइन, स्थानीय, प्रदेश र संघसँग पनि छ भनेर भन्छ तर यो सरकारले त्यो मान्न तयार छैन । सरकारले प्रदेश पनि छ भन्ने मानेकै छैन । स्थानीय तहको अधिकार पनि खर्ल्यामखुर्लुम खाइसक्यो । संविधानले केही आयोगहरु बनाएको छ । सरकार कि त आयोग नै बनाउँदैन, बनायो भने पनि धमाधम कमजोर बनाउँछ । 

संविधानले सेना कसरी चलाउने, अरु व्यवस्था कसरी गर्ने सबै प्रबन्ध गरेको छ । सरकार कुनै संविधानको व्यवस्था मान्दैन । सबैभन्दा महत्वपूर्ण कुरा संविधानले अरुलाई जस्तै नागरिकलाई पनि अधिकार दिएको छ । त्यो भनेको नागरिकको स्वतन्त्रताको अधिकार ।

त्यसलाई कानुन बनाएर विस्तार गर्नुपर्नेमा सरकार त्यसलाई पनि हरण गर्न खोज्दैछ । यौ सबैको सार भनेको सरकार कम्बोडियाकोजस्तो प्रजातन्त्रको बाटोमा जाँदैछ । जहाँ चुनाव पनि हुन्छ । प्रेस पनि छ । दलहरु पनि छन् । तर, यो सबै शरीर मात्र आत्मा केही पनि छैन । त्यो अवस्थातर्फ लैजान प्रयास गरिँदैछ । 

प्रधानमन्त्री ओलीको यो १५ महिने कार्यकालको समीक्षा कांग्रेसले कसरी गरेको छ ?

प्रधानमन्त्रीमा अनुदारवादी चिन्तन बलियोगरी जरा गाढेर बसेको रहेछ कि त्यो मौका नपाएर मात्र ननिस्किएको रहेछ । देश बनाउने यत्रो मौका पाएको प्रधानमन्त्रीले लोकतान्त्रिक सोचका साथ समाधान गर्नुहोला भन्ने अपेक्षा थियो । संविधानको सीमाभित्र बसेर उहाँले शासकीय श्रेष्ठता कायम गर्नुहुन्छ होला, प्रजातान्त्रिक संस्थालाई बलियो बनाउनुहुन्छ होला भन्ने मलाइ लागेको थियो । एउटा व्यक्तिले शक्ति हातमा लिएर सबै कुरा हुन्छ भन्ने चिन्तन उहाँमा रहेछ । 

कांग्रेसको जागरण अभियानबारे
प्रसंग बदलौं–

नेपाली कांग्रेसले भर्खरै पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । यो अभियान केका लागि थियो, अभियानबाट कांग्रेसले के पायो ? 

निर्वाचन पछाडि नै देशैभर पार्टीको एउटा कार्यक्रम हुनुपर्छ भन्ने माग पनि भइरहेको र छलफल पनि भइरहेको थियो, महासमितिको बैठकबाट पनि त्यो कुरा आयो ।  जागरण अभियानको पहिलो चरणमा यसको उद्देश्य पार्टीले अहिले संघीय संसदभित्र लिइरहेको पोजिसन र सरकारले गरिरहेको कामका बारेमा जानकारी गराउने नै थियो । 

समग्रमा भन्नुपर्दा समकालीन राजनीतिक घटनाक्रमका बारेमा पार्टीको दृष्टिकोणबाट साथीहरुलाई जानकारी गराउने र पार्टीका कतिपय पोजिसनहरु के हो त्यसका बारेमा जानकारी दिने नै हो ।  यसको नाम जागरण अभियान आफ्नो ठाउँमा होला तर, मलाई लाग्छ यो यतिबेला पहिलो चराणको एक महिनाको कार्यक्रम भनेको हाम्रा आफ्नै साथीहरुका बीचको अन्तरक्रिया, छलफल, भेटघाट हो । 

यो बीचमा प्रशस्त छलफल भएको छ, अन्तरक्रियाहरु भएका छन् । केही पनि नभइरहेको बेलामा एक खालको हलचल आएको छ ।

केन्द्रबाट साथीहरु जानुभयो, तल साथीहरु मिलेर कार्यक्रमहरु गर्नुभएको छ । यसबाट एकदमै धेरै कायापलट नै गर्छ भन्ने अपेक्षा हो भने त्यसको कसीमा नाप्दै गर्दा कति जागरित भए, कति हलचल ल्यायो भन्ने कुराले कतिपय कयौं साथीहरुलाई निराश बनाउँथ्यो होला ।  तर, मैले भन्नुपर्दा यो आवश्यक कार्यक्रम थियो । सीमित प्रभाव पार्थ्यो । जति पार्नुपर्ने हो पारेको छ । अझ भन्नुपर्दा यसले एक प्रकारको तरंग लिएर आएको छ । 

पार्टी सभापतिले आफूविरुद्ध पार्टीभित्र व्यापक आलोचना भएपछि मत्थर पार्न जागरण अभियान चलाएको भन्ने आरोप पनि लागेको छ, के यो सही हो ? 

कांग्रेसको केन्द्रीय समिति बैठकमै पार्टीले देशैभरी कार्यक्रम लिएर जानु पर्‍यो भन्ने माग त हामीले पनि राख्दै आएको हो । देशव्यापी कार्यक्रम गर्नुपर्‍यो भनेर पार्टीकै कतिपय नेताहरु (रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला) ले लिखित रुपमै यो माग राख्नु पनि भएको हो । 

यसलाई महासमिति बैठकले पनि पारित गरेको छ । हामीले जागरण भन्दैगर्दा नामै ठूलो भयो । नामअनुसारको कार्यक्रम भयो कि भएन, नामअनुसारको जागरण भयो कि भएन भन्ने कुराले सिर्जना गरेको अलमल होला । होइन भने सबैले यस्तो प्रकारको कार्यक्रम पार्टीका लागि चाहिन्छ सबै नेताले भनेकै कार्यक्रम हो । 

तर, सँगै जाडिएर आउने कुरा के हो भने यो कार्यक्रम भव्य भयो त्यसैले दोस्रो चरणको कार्यक्रम गरौं, अब तेस्रो चरणको कार्यक्रम गरौं पार्टीमा एकदमै उत्साह आएको छ साथीहरु सयौंको संख्यामा कांग्रेसमा प्रवेश गरेका छन् अब पार्टीले कार्यक्रम गरेको गर्‍यै गरौं भन्ने यसको सन्देश हो भन्ने रुपमा लिइयो भने योभन्दा दुर्भाग्य अर्को कुनै हुनै सक्दैन । 

किनभने, म पनि अभियानका दौरान १८–२० जिल्लामा गएको छु । मैले त्यहाँ के पाएँ भने पार्टीको संगठनको संरचना छैन । देश संघीयतामा गइसक्यो, हामीहरु साविकको गाविस, साविकको वडा भन्दै पुरानै संरचना बोकेर हिँडिरहेका छौं । अब दोस्रो चरणमा जानुभन्दा पहिले पार्टीको संरचना बनाउनुपर्छ, बरु दोस्रो चरणको अभियान तीन महिनापछि सुरु गरे पनि हुन्छ । 

अधिवेशन चाँडो गरौं भन्ने मेरो कुरा हो तर मैले भनेर मात्रै हुन्न, सभापतिले चाहनुपर्‍यो । सभापतिले यो वर्ष अधिवेशन नगरेर अर्कोवर्ष अधिवेशन गर्न चाहनुभएको भए, मलाइ वा कसैलाई मन परे पनि नपरे पनि उहाँ सुविधाजनक ढंगले आफ्नो चाहनालाई पार्टीको चाहना बनाउने अवस्थामा हुनुहुन्छ । 

महाधिवेशन अर्को वर्ष गर्ने हो भने निर्णय गरौं । त्यो बेलासम्मका लागि अन्तरिम व्यवस्था जुन हाम्रो भर्खरै पारित भएको विधानले हामीलाई बाटो खोलिदिएको छ, त्यो पहिलो बनाऔं । तीन सय ३० वटा प्रदेशको कांग्रेस बनाऔं । गाउँपालिका, नगरपालिका र वडा बनाऔं । सात वटा प्रदेशको कांग्रेस बनाऔं । नेविसंघ, तरुण दल लगायतका सबै भ्रातृ संगठनको संरचना बनाऔं । 

सबै संरचना बनाइसकेपछि बल्ल कार्यक्रम गर्न गाउँ–गाउँ जाऔं ।

एउटा सन्देश यो छ । दोस्रो सन्देश–तपाईंहरु यति धेरै बाझ्नुहुन्छ माथिल्लो कमिटीमा यति धेरै झैझगडा छ यति चर्को गुटबन्दी छ । यो सारा कुरालाई जस्ताको त्यस्तै राखेर तल्लो तह मिलाउनुपर्छ भनेर मात्रै हुँदैन भनेर तलका साथीहरुको सन्देश छ । यसलाई पनि हामीले बुझ्नुपर्छ । 

तेस्रो सन्देश– अब संविधान निर्माण पनि भयो, नेकपाको सरकार छ, हामीले सरकारको विरोध गरेर मात्र हुँदैन । कांग्रेसले नेपाली जनतालाई आफ्नो परिचय सरकारको विरोधी हो भनेर दिने होइन कि कांग्रेस भनेको सरकारको विकल्प हो भन्ने कुरा बुझाउन सक्नुपर्छ । विरोधी र विकल्पका बीचमा फरक छ । कांग्रेस विकल्प हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ भन्ने साथीहरुको जुन सुझाव आएको छ, त्यो मर्मलाई हामीले बुझ्नुप¥यो । यो मर्मलाई बुझ्यो भने कार्यक्रम गजब हुन्छ किनकि यो एक महिनाले सिकाएको कुरा हो । 

अब यो सिकाइतिर नलागेर यो त गजब भयो, भव्य भयो, अद्भूत भयो, चामत्कारिक भयो, यो त कायाकल्पै भयो त्यस कारणले दायाँबायाँ कुरा छैन कोही नबोल्नुस् पार्टीका अरु विषयमा कुरै नउठाउनुस् पार्टीमा यत्रो माहोल बनेको बेलामा सरासर दोस्रो चरणको कार्यक्रम गर्ने हो अरु बाँकी रहेका कमिटी कुनै पनि कुराहरुको अर्थ छैन भन्नेतिर गयौं भने त्यो हाम्रालागि ठूलो दुर्भाग्य र दुर्घटना हुन्छ । 

पार्टीले केही दिनअघि पत्रकार सम्मेलन गरेर गठन हुन बाँकी रहेका विभाग, समिति, सांगठनिक संरचना, भ्रातृ संस्था सबैलाई पूर्णता दिएरमात्रै दोस्रो चरणको अभियान सुरु गर्ने भनेको छ, यसलाई कसरी हेर्नुभएको छ ? 

प्रवक्ताले राख्नुभएको यो कुरालाई सकारात्मक रुपमा लिऔं । किनकि उहाँले पक्कै पनि पार्टी सभापतिसँगको सल्लाहमा ति कुराहरु भन्नुभएको छ । असारको तेस्रो साता पार्टीको बैठक राख्ने र बैठकबाट यि कुराहरु टुंग्याउने भन्नुभएको छ । मेरो अपेक्षा, असारको तेस्रो साता बैठक बस्छ । बैठकले सबैभन्दा पहिले कि महाधिवेशनको निर्णय गर्छ कि अन्तरिम व्यवस्थाअनुसार संरचनाहरु बनाउने निर्णय गर्छ । 

भदौमा दोस्रो चरणको अभियानमा जानुभन्दा अगाडि सबै संरचनाहरु बनिसक्छन् भन्ने कुरा अस्तिको प्रेस कन्फ्रेन्समा यो कुरा भनिएको छ, यो बन्छ भन्ने कुरा सभापतिको पनि चाहना रहेछ भन्ने बुझ्नुपर्छ ।  हामीले त्यसमा मद्दत गर्ने हो । यसलाई बल पुर्‍याउने हो । तर, यो भन्नका लागि मात्रै भनेको विषयमात्रै नबनोस् । यो नगरिकन दोस्रो चरणको कार्यक्रम गर्नुको कुनै पनि अर्थ छैन, तुक छैन, गर्नु हुँदैन । 

कांग्रेसको मूल समस्या चाहिँ के हो ? किन कांग्रेसका नेताहरु कोही दायाँ मुख फर्काएर बस्ने, कोही बायाँ मुख फर्काएर बस्ने ? एक–अर्काको आलोचनामात्रै किन ? 

दुइटा कुरा छ । एउटा कुरा, नेपाली कांग्रेसमा विचारको सन्दर्भमा जुन खालको अलमल छ त्यसले कांग्रेसको स्वास्थ्यलाई मद्दत गरिरहेको छैन । हामी गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया सुरु गरेकोमा गर्व गर्ने, सुशील कोइरालाले संविधान निर्माण गरेको कुरामा गौरव गर्ने, शेरबहादुर देउवाको नेतृत्वमा चुनाव भएको कुरामा गौरव गर्ने, तर यो प्रक्रियाहरु सबै नेपालको आफ्नो मौलिक बाटो होइन । यो कुराहरु पूरा गर्दैगर्दा हामीले बीपीले भनेको बाटो छोड्यौं, सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको अभूतपूर्व भयो तर त्यो संविधानभित्र हामीले नचिताएका कुराहरु परे भन्ने अलमलबाट कांग्रेस बाहिर निस्कनु पर्छ । 

कांग्रेसले आफ्नो घोषणापत्र लेखेको होइन नि ! कांग्रेसले लेखेको विधानमा त अस्ति हामीले फरक मत राख्यौं । एउटा पार्टीको विधान लेख्ने कुरामा त कसै एक जनाले चाहेको जस्तो हुँदो रहेनछ भने देशको संविधान लेख्दै गर्दा थुप्रै नचाहेका कुराहरु परेका होलान । परे पनि, संविधान भनेको त निरन्तरको प्रक्रिया हो । हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानका आधारभूत कुराहरु समानुपातिक समावेशीलगायतका यावत कुराहरुलाई स्वीकार गरेको हो नि त । यसको अनरसिप लिनुपर्‍यो कांग्रेसले, कुनै अलमल राख्नुभएन । पहिलो कुरा । 

दोस्रो कुरा भनेको संगठन हो । कांग्रेस ठूलो पार्टी छ, पुराना मानिसहरु पनि हुनुहुन्छ, मभन्दा पछाडि पनि लाखौंको संख्यामा नयाँ जनेरेशनका साथीहरु आइसक्नुभएको छ । यत्रो ठूलो पार्टीको व्यवस्थापन गर्दा नेताहरुको वयक्तिक सम्बन्धको आधारमा मात्र गरेर हुँदैन । सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ । 

कांग्रेसमा दोस्रो समस्या भनेको विधान पालना नगरिनु र विधानको अनुकुलतामा व्याख्या गरिनु हो । मैले मेरो अनुकलमा केही भयो भने थपडी बजाइहाल्छु, गल्ती मैले पनि गरेको छु । किनकि निर्णय मेरो पक्षमा भएको छ म किन बोल्ने ? तर, मेरो पक्षमा भएको छैन भने म त्यो बेला विधानको फेरो समात्छु । जनु गलत छ ।
विधाननै सर्वोच्च हो, विधाननै सर्वोपरी नै संगठन सञ्चालनको आधार हो । राजनीतिक समझदारी चाहिन्छ पार्टीभित्र तर राजनीतिक समझदारी पनि विधानको सर्वोपरिताभित्र खोजिनुपर्छ भन्ने अभ्यास हामीले नेपाली कांग्रेसमा सुरुवात गर्नुपर्छ । 

नेतृत्वबारे
चुनावलगत्तै तपाईँहरुले नेतृत्वको विषयमा धेरै नै टिकाटिप्पणी गर्नुभयो । अहिले सेलाउनुभएको हो कि नेतृत्व सच्चिएको ? 

निर्वाचन पछाडि कांग्रेसको मुख्य नेतृत्वले एउटा वृहत् छलफल गरेर पार्टीलाई नयाँ ढंगले अगाडि लैजानका निमित्त केही गरिआएका कुराहरु छोड्ने र केही नयाँ कुराहरु गर्ने भन्ने ढंगबाट कहिँकतै संकल्प गरेको अथवा प्रारम्भ गरेको अवस्था होइन । नेतृत्व जस्तो थियो त्यस्तै नै छ ।

हामी पनि कदापि बदलिएका छैनौं । निर्वाचनलगत्तै पछाडि निर्वाचनको पराजयको त्यो चरणमा टिकाटिप्पणीहरु व्यक्ति केन्द्रित हुने भए, आलोचना पनि त्यसरी नै हुने भयो । तर, त्यसपछि हामीहरुको आफ्नै छलफलबाट के कुरा सिकाइ रह्यो भने यो तात्कालिक विषयका रुपमा मात्रै लिएर नजाऔं यसको बृहत्तर चित्र हेरौं ।

पार्टीभित्रको गुट–उपगुटको घात–अन्तरघातको कुरा हो भनेर हामीले भन्यौं भने यो त नयाँ कुरा होइन । यो पार्टी त गणेशमानजी र किशुनजीले छा्ड्नुभएको पार्टी हो, यो पार्टी त आफ्नै बहुमत टिकाउन नसकेर मध्यावधि गराउने पार्टी हो, यो पार्टी त कुनै बेला फुटेको पार्टी हो । यि सबै कुराहरु किन भए, यसलाई हेरौं, यो पटक चुनाव हार्‍यौं भन्ने कुरालाई मात्रै हे¥यौँ । चुनाव त हामी ०५६ सालमै हारिसकेका रहेछौं माले–एमाले एक भएको भए । 

देशमा कांग्रेसका मतदाताको आकार त धेरै पहिलेबाटै खुम्चिन थालिसकेको रहेछ । किन भयो यसलाई हेरौं भनेर हामीले केही विषयको सैद्धान्तिक पक्षहरुमा चर्चा–छलफल गर्न थाल्यौं जुन गरिरहेका छौं । हामी रत्तिभर पनि अलमलिएका छैनौं कि अहिले जुन नेतृत्व छ, व्यक्ति नभएर एउटा समूह, पुस्ता र त्यो तहको नेताहरु हुनुहुन्छ उहाँहरु हाम्रो असाध्यै आदरणीय नेताहरु हुनुहुन्छ । अभिभावकहरु हुनुहुन्छ । उहाँहरुले अब आउने अधिवेशनबाट बिदा लिनुपर्छ, उहाँहरुले विश्राम लिने कुरा हाम्रा लागि सबैभन्दा खुसीको कुरा हुन्छ । मलाइ लाग्छ उहाँहरुले विश्राम लिनुहुनेछ ।

तपाईंले भनेको पुस्ताले आगामी महाधिवेशनबाट विश्राम लिएन भने . . . ?

विश्राम लिनुभएन भने त्यो बेला मौन अथवा चुप बस्ने भूमिकामा हामी रहनुहुन्न । लिने वातावरण बनाउनुपर्छ । विश्राम लिने वातावरण बनाउँदै गर्दा नम्र निवेदनबाट हुन्छ कि जोडदार धक्काबाट हुन्छ समयले यसलाई बताउला । तर, जुनसुकै अवस्थामा पनि उहाँहरुलाई विश्राम लिने बनाउनुपर्छ । 
तपाईंले भनेजसरी अब महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ ? कांग्रेसनिकट विश्लेषकहरुले त नेतृत्व दोहोरिन्छ भन्छन् नि !

पार्टीभित्र वैकल्पिक चिन्तनहरु एकदमै कमजोर भएको छ, पार्टीभित्र विचारको बहस पनि कमजोर भएको छ । पार्टीभित्र जुन स्तरबाट प्रश्नहरु गरिनुपर्थ्यो, छलफल हुनुपर्थ्यो त्यो पनि कमजोर छ । र, पार्टीमा जसलाई हामीले विश्राम लिनुपर्छ भनिरहेका छौं उहाँहरुको मोबिलिटी हेर्दै गर्दा फेरि चरम इच्छा रहेको देखिएको छ । त्यसकारण यो सबै हेरेर बाहिरबाट विश्लेषकहरुले भन्ने असाध्यै गलत विश्लेषण गर्नुभयो भन्ने अवस्था छैन । र, अस्वाभाविक पनि होइन । 

तर, हामी जोभित्र काम गरिरहेका छौं सँगसँगै काम गरिरहेका हुँदा मेरो अब्जरभेसन अलि फरक छ । पार्टीका साथीहरुको ठूलो पंक्ति ठूलो भनेको सानोतिनो होइन साच्चिकै ठूलो पंक्ति नेताहरुको मानमर्दन गरेर होइन कि मानसम्मानसहित उहाँहरुले विश्राम लिनैपर्छ भन्ने छ । जुन मत अधिवेशनमा प्रकट हुन्छ । 

यहाँले भन्नुभएका नेताहरुलाई एग्जिट गराउनलाई तपाईंको भूमिका के हुन्छ ? सभापति या फेरि महामन्त्रीको उमेदवार ? 

हेर्नुस, यो बेलामा नेपाली कांग्रेस पार्टीले आफने कर्तव्य पूरा गर्ने सन्दर्भमा यो तीन साढे तीन वर्ष नेकपाको सरकारलाई असंवैधानिक प्रयोग र अभ्यास गर्न दिने कुराबाट पलपल रोक्नुपर्ने छ, जनताको व्यवस्था प्रणाली, परिवर्तनप्रतिको विश्वासलाई जोगाइराख्नुपर्ने छ र मतदाताकै हिसाबले लाखौं मतदाता थप्नुपर्ने छ कांग्रेसले ।

कांग्रेसलाई यो बाटोमा लैजानका निम्ति जे पर्छ, केन्द्रीय सदस्यमात्रै लड्नुपर्ने अवस्था आउँछ भने त्यत्ति मात्र लड्न तयार । केन्द्रीय सदस्य नलडेर बस्नुपर्छ, पार्टीको एउटा सांसद भएर मात्रै बस्नुपर्छ भने पनि तयार । पार्टीको परिवर्तनका निम्ति कोही साथीले हिम्मत गर्नुभएन भने त्यो बेलामा पार्टीको परिवर्तनको आन्दोलनलाई अगाडि बढाउनका निम्ति पार्टीको जुनसुकै तहमा चुनाव लड्न तयार । 

मैले भन्न खोजेको आशय के हो भने यो अहिले गौण विषय हो । अर्को महाधिवेशनमा के लड्ने भन्ने विषय गौण हो, केही नलड्न पनि सकिन्छ । सांसद भएरमात्रै बस्न तयार, यसरी हेर्छु म यो विषयलाई । 

गुटैगुटको कांग्रेसभित्र समीकरण मिलाउन पनि हम्मेहम्मे परेको होला नि ! आगामी महाधिवेशनमा पुरानै गुट कायम रहन्छ कि नयाँ जन्मिन्छ ? 

पार्टीमा अब विस्तारै ध्रुवीकरण हुँदै जान्छ । पार्टी जसरी चलेको छ एकदमै राम्रोसँग चलेको छ, पार्टीको नेतृत्व, शैली राम्रो छ, पार्टीले कुनै गल्ती–कमजोरी गरेको छैन, यथास्थितिमै एकदमै ठीक छ कुनै कुरा बदल्नु पर्दैन सुधार गर्नुपर्छ भन्ने कुरा गलत हो भन्ने चिन्तन त्यो चिन्तनलाई समात्ने एउटा समूह समूहमा रहने साथीहरुको धार । 

र, नेपाली कांग्रेसले गरेका कामहरुमा गौरव गर्नुपर्छ, आफूले गरेका गल्ती कमजारीको समीक्षा गर्नुपर्छ, पार्टीले वैचारिक आन्दोलन चलाउनुपर्छ, पार्टीभित्र एकदमै सुधारको खाँचो छ, पार्टीलाई सुधार गरेरमात्रै सुदृढ गर्न सकिन्छ नसुधारी सुदृढ बनाउन सकिन्न भन्ने परिवर्तनकामी धार हुन्छ ।  अब को कहाँ रहन्छ मलाई थाहा छैन तर, विस्तारै विस्तारै अधिवेशनमा पुग्ने बेलासम्म नेपाली कांग्रेसमा दुईटा धारमात्रै रहन्छन्–एउटा परिवर्तनकामी धार र अर्को यथास्थितिवादी धार ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC