site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
राजदूतका लागि किन मरिहत्ते हुन्छ ?
Sarbottam CementSarbottam Cement

मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले विभिन्न चार देशका लागि राजदूत सिफारिस गरको छ । यसरी सिफारिस गरिएका राजदूतमा डा. बंशीधर मिश्र–बंगलादेश, डा. नारदनाथ भारद्वाज –कतार, महेशराज दाहाल–अष्ट्रेलिया र दावा फुटी शेर्पा–स्पेन रहेका छन् । राजदूत नियुक्तिको मापदण्ड परराष्ट्र मन्त्रालयले बनाएको भएपनि पछिल्लो निर्णय सो मन्त्रालयको पनि जानकारीबिना नै भयो भन्ने चर्चा भइरहेको छ । पछिल्लो राजदूत सिफारिसलाई लिएर विवाद गर्ने एकथरीले पार्टीका मान्छे पठाउनुपथ्र्यो जथाभावी छानियो भनेको पनि सुनिएको छ । 

खासमा सहसचिवस्तरको कर्मचारी राजदूतको रुपमा खटाउने चलन भएपनि नेपालमा भने राजदूत पदलाई श्रेणीविहीन रुपमा लिने गरिएको छ । पूर्वप्रधानमन्त्री समेत भइसकेका व्यक्ति (मातृकाप्रसाद कोइराला) राजदूत नियुक्त भएको रेकर्ड हामीकहाँ छ । उपप्रधानमन्त्री, मन्त्री, प्रधानसेनापति, मुख्यसचिव रहिसकेका व्यक्तिहरु पनि किन राजदूत हुन दौडधूप गर्छन् र नियुक्तिको विषयमा सधैँ किन विवाद हुन्छ ? यो कुराको वास्तविक जवाफ कोहीसँग पनि पाइँदैन । 

आखिर किन यस्तो गलत संस्कार बसिरहेको छ त ? हामीले यसबारेमा पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईसँग जिज्ञासा राखेका थियौं । जापान र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकालमा परराष्ट्र मामिला सल्लाहकार समेत रहिसकेका डा. भट्टराईले यसबारेमा केही चर्चा गरेका छन् । प्रस्तुत छ, डा. भट्टराईसँग बाह्रखरीले गरेको कुराकानीका मुख्य अंशहरुः

Prabhu Bank
Agni Group
NIC Asia

राजदूत नियुक्तिको विषय किन सधै विवादमा आउने गरेको होला ?

राजदूत नियुक्ति २००७ साल अघि दरबारबाट सोझै हुने गरेकोमा पछि २००८ साल असार १ गते लोकसेवा आयोग खुलेपछि सबै सरकारी नियुक्ति त्यतैबाट गर्ने व्यवस्था भएको थियो । तर, राजदूत लगायतका कतिपय नियुक्ति सरकारले सोझै गर्ने भनेर २००८ साल भदौ १८गते सो सम्बन्धी व्यवस्था संशोधन गरियो । 
त्यसरी संशोधन गर्नु भनेको नै राजनीतिक रुपमा राजदूत नियुक्त गर्नका लागि हो । हामीले अरु देशमा राम्रो भइरहेको देख्छौं तर हाम्रोमा जथाभावी गरेको पाइएकाले  समश्या महसुस भएको  हो । 

Global Ime bank

छिमेकी भारतमा पण्डित जवाहरलाल नेहरुकै पालादेखि आवश्यक सुधार गरेको पाइन्छ तर हाम्रोमा भएन । त्यही भएर बिग्रँदै गएको हो । हामीले अरु देशको राम्रो ‘प्राक्टिस’सँग तुलना गर्छौ तर त्यो यहाँ पाउँदैनौं । तपाईँ पत्रकारहरुले पनि यहाँको बेथिति नहेरी अरु देशको राम्रो कुरासँग  तुलना गर्दा यस्तो  देखिएको हो । 

राजदूत पद प्रधानमन्त्री भइसकेको मान्छेले पनि ताक्ने हामीकहाँ चलन  छ । खास किन यसरी मरिहत्ते गरिन्छ ? के छ त्यस्तो आकर्षण ?

यो चाहिं के हो भने राजदूत पद भनेको आराम गर्न जान दिने जस्तो बनाइयो । काम गर्ने होइन कि आराम गर्ने । कसैलाई पुरस्कार दिने जस्तो भयो । काम गर्नको लागि हो भने त्यस्तो हुँदैनथ्यो । काम नभएको होइन । तर जथाभावी मान्छे पठाएपछि काम हुँदैन । त्यो पहिला देखिकै समस्या रहँदै आएको छ । संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित स्थायी प्रतिनिधि र जेनेभास्थित स्थायी प्रतिनिधि चाहिँ काम नै गर्न सक्ने खालको मान्छे चाहिने भएकोले जथाभावी पठाइँदैन । तर, अन्यत्र भने जथाभावी नै भइरहेको देखिन्छ ।

करियर राजदूत र राजनीतिक नियुक्ति पाएका राजदूत कुन चाहिं ठीक हुन् ? 

अरु देशमा राजनीतिक नियुक्तिका राजदूत बनाएर पठाउने चलन छैन । भारतको अहिलेसम्मको इतिहासमा केही सेनाप्रमुखहरुलाई राजदूत बनाएर पठाइएको छ । अरु केही मात्रै राजनीतिक नियुक्तिबाट पठाइएका छन् ।  त्यसरी सेनाका मान्छे पठाउनुमा सामरिक हिसाबले त्यो राष्ट्रसँगको रणनीतिक मामिला हेरेर पठाइने गरेको छ । 
त्यसरी पठाउँदा पठाउन लागिएको देशसँगको सम्बन्ध र कुन रणनीतिले काम गर्ने भनेर पठाइएको हुन्छ । हाम्रोमा जस्तो  हुँदैन । अमेरिकामा पनि करियरलाई नै पठाइने गरेको छ । त्यहाँ राष्ट्रपति परिवर्तन भएपछि कतिपय फिर्ता गरिने भएपनि आमरुपमा कुटनीतिक सेवाबाट नै जाने हुन् । विश्वका सबैजसो राष्ट्रले कुटनीतिक सेवाबाट नै राजदूत नियुक्त गर्ने हुन् । तर, हाम्रोमा कतिपय करियरले पनि राम्रो काम गर्न नसकेको पनि पाइएको हो । कतिपय राजनीतिक नियुक्त गरिएका जस्तो शैलेन्द्रकुमार उपाध्याय, डा. शंकर शर्मालगायतका केहीले राम्रो काम गरेको   उदाहरण पनि छन् । 

हाम्रो परराष्ट्र मन्त्रालयमा जनशक्ति नभएर पनि बाहिरबाट पठाउनु परेको हो कि ?

त्यो त पहिलादेखि नै त्यहीअनुसारको तालिमको व्यवस्था गर्नुपर्दथ्यो । त्यही अनुसारको अध्ययन चाहिन्छ ।  त्यसरी नै विकास गर्दै लगेको भए नहुने भन्ने हुँदैनथ्यो । त्यसैले मान्छेको अभावले भन्दा पनि पहिलादेखि नै गलत परम्परा बसालियो । 

परराष्ट्र मन्त्रालयले पछिल्लोपटक राजदूतका लागि मापदण्ड बनाएको कुरा आएको थियो ।  फेरि पालना भएन भनिँदैछ, किन यस्तो हुन्छ ?

केही अघिदेखि नै ५० प्रतिशत कुटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिको कुरा गरिदै आएको थियो । पछिल्लो पटक पनि मापदण्ड बनाएको भनियो । तर, लागु भइरहेको पाइँदैन । त्यसैले लागु नै नहुने मापदण्ड भयो भने त्यसको अर्थ हुँदैन । यस्तो विषयमा  छिमेकी भारतकै कुरा गर्दा त्यहाँका विदेश सचिवले नै राजदूत नियुक्तिको सबै प्रक्रिया मिलाउँछन् । केहीका हकमा प्रधानमन्त्री वा विदेशमन्त्रीले ‘फलानोलाई हेर्देउ है’ भन्न सक्छन् । तर, म पनि परराष्ट्र सचिव भइसकेको मान्छे, हाम्रोमा त्यस्तो केही गर्न दिइँदैन । देख्नलाई सबैदेशका विदेश सचिव भनेका समकक्षी हुन् । तर, हाम्रोमा परराष्ट्र सचिवलाई  घुमन्ते, बैठके र पर्यवेक्षक जस्तो मात्रै व्यवहार गरिन्छ । त्यसैले सबै हिसाबले सुधार गर्नु जरुरी  छ ।

तपाईं परराष्ट्र सचिव भएका बेलामा  सुधारका लागि केही गर्नु भएन ?

कतिपय काम गरियो । तर, हामीले गोपनियताको शपथ लिएको हुन्छ । पदबाट हटिसकेपछि पनि सार्वजनिक रुपमा यस्ता कुराहरु भन्न अप्ठेरो हुन्छ ।

राजदूत बनेर जाने देशमा राजनीतिक नियुक्ति पाएको राजदूत र करियर राजदूतलाई गरिने व्यवहारमा कुनै फरक हुन्छ ?

राजदूतको काम कुटनीतिक सेवाको हो । त्यसैले राजनीतिक नियुक्तिबाट गएका भन्दा कुटनीतिक सेवाबाट गएकालाई नै विदेशमा पनि महत्व दिने गरिएको देखिन्छ ।  राजनीतिक नियुक्ति पाएर गएकोले आफ्नो अनुभव कुनै कार्यक्रममा सुनाउनुपर्यो भने घर भत्काएर गएको वा रेलिङ भाँचेर गएको भन्नुपर्ने हुन्छ । वा, सत्तामा रहेको नेताको नजिक भएको भन्ने देखाउनुका साथै फलानो नाता पर्ने भन्नुपर्ने हुन सक्छ । 

कुटनीतिक सेवाको कुनै ज्ञान हुँदैन । त्यसले गर्दा कतिपय समयमा भेट्दा पनि हल्का फुल्का रुपमा लिएर जिस्क्याउने काम गर्छन् । सत्तामा रहेको नेताको नजिक भएकाले ‘यो भत्ता खान मात्रै आएको हो’ भन्न सक्छन् । त्यसपछि उसको प्रस्ताव वा काममा पनि त्यति धेरै महत्व दिँदैनन् । फरक त परिहाल्छ ।

कसरी सुधार्ने त अब ?

जाने बुझेका राम्रा मान्छेलाई राजदूत बनाएर पठाउनुपर्यो । त्यसका लागि अहिलेको सोचमा नै परिवर्तन गर्नुपर्छ । कुटनीतिक सेवालाई बलियो बनाउन त्यही अनुसारको तालिम र पढाइको व्यवस्था गर्नुपर्छ । रसियामा १७१९मा नै कुटनीतिक सेवा सम्बन्धी अध्ययनको कलेज खोलेको पाइन्छ । फ्रान्स, स्पेन लगायतका मुलुकमा पनि धेरै अघि देखि नै त्यसलाई प्राथमिकतामा पारिएको पाइन्छ । हामीलेपनि यो क्षेत्रलाई प्राथमिकतामा पार्नु जरुरी हुन्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC