site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पाँच दशकदेखि उस्तै जोश
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


बुवा सरकारी जागिरे भएकाले सरुवा भइरहन्थे । कहिले गण्डकी अञ्चल, कहिले बाग्मती त कहिले कहाँ–कहाँ, ठेगानै नहुने । ०२७ सालमा सरुवा भएर बन्दीपुर पुगे । हरि (लम्साल)को पढाइ काठमाडौंमै थियो । सँगै गए पढाइ रोकिने, नगए हातमुख जोड्न समस्या ।

काठमाडौंमा एक्लै बस्ने भए काम गर्नु पथ्र्यो । गर्ने के ? साथी को थिए, अहिले हरिलाई त्यति याद छैन तर उनीहरुले ‘निर्मल’ साप्ताहिकका सम्पादक तथा प्रकाशक विश्वनाथ उपाध्यायलाई चिनेका रहेछन् । उनीहरूले भने, “जाऊँ एकपटक विश्वनाथ उपाध्यायलाई भेटौं । काम दिई पो हाल्छन् कि ?”

Prabhu Bank
Agni Group
NIC Asia

विश्वनाथसँग लामै गफ चल्यो । पढेलेखेका र साहित्यमा पनि कलम कुदाउने हरिलाई विश्वनाथले विश्वास गरे । भने, “ल भोलिबाट आउनू । म एउटा टपिक दिन्छु । त्यसमा समाचार लेख्नुस् । अनि कम्पोज गरौंला ।”

भोलिपल्ट ०२७ सालको माघ १ गते थियो । ओमबहालमा ‘निर्मल’ साप्ताहिकको कार्यालय थियो । हरिले जागिर शुरु गरे । पहिलो दिन विश्वनाथले शिक्षासम्बन्धी तीनवटा र एउटा सामाजिक विषय दिए । अहिलेजस्तो टेलिफोन सेवा सहजै उपलब्ध थिएन । भेटेरै सूचना लिनुपथ्र्यो । त्यसै गरे । पहिलो रिपोर्टिङको नै समाचार छापियो ।

Global Ime bank

विश्वनाथसँग उनले दुई वर्ष काम गरे । पत्रकारिताको बाह्रखरी त्यहीँ सिके । ०२७ सालमा उनको तलब एक सय रुपैयाँ थियो । १० रुपैयाँ कोठा भाडा थियो । खान र बस्नको समस्या ट¥यो ।

‘निर्मल’मा काम शुरु गरेको आठ महिनापछि उनले विश्वनाथ लुइँटेलको ‘प्रतिज्ञा’ साप्ताहिकमा पनि काम थाले । पत्रिका प्रकाशनको बार फरक थियो । समय मिलाएर दुबैमा काम गर्थे । एकातिर व्यस्त पनि भइने, समाचार पनि धेरै प्रकाशन हुने । पैसा त आउने नै भयो ।

‘निर्मल’ र ‘प्रतिज्ञा’मा काम गरिरहेका बेला रामचन्द्र न्यौपानेले भने, “मेरो एउटा पत्रिका छ । त्यसमा तपाईंले सम्पादक बनिदिनुपर्यो ।” पत्रिकाको नाम थियो, ‘राष्ट्रध्वनि’ ।

०३० सालको पुसमा हरि ‘राष्ट्रध्वनि’को सम्पादक भए । त्यहाँ आएपछि हरिले ‘निर्मल’ छोडे तर ‘प्रतिज्ञा’मा चार वर्षसम्म स्तम्भ लेखिरहे ।

आफ्नै पत्रिका

०३९ मंसिरमा हरिले ‘शान्तिक्षेत्र’ विशेषांक प्रकाशन गरे । ५ सय पृष्ठको विशेषांकको मूल्य ५० रुपैयाँ राखेका थिए । विशेषांकमा नेपालाई शान्तिक्षेत्र घोषणाबारे ११६ देशले के भने भनेर विस्तृतमा लेखिएको थियो । महत्वपूर्ण व्यक्तिका लेख थिए । बीपी कोइरालाको अन्तर्वार्ता थियो । असोजमा प्रकाशन गरिएको उक्त विशेषांकलाई रामचन्द्र न्यौपानेले एक हजार रुपैयाँमा बेचे । दस्तावेजयोग्य सामग्री भएकाले बिक्री पनि भयो । तर, हरिलाई चित्त बुझेन । ५० रुपैयाँ मूल्य राखेको विशेषांक हजारमा बेचेपछि उनले पहिलोपटक अनुभूत गरे— अर्काकोमा काम गरेपछि आफ्नो चल्दो रहेनछ, प्रकाशककै मनोमानी हुँदो रहेछ । अर्काको पत्रिकामा काम गरेर फलिफाप नहुने रहेछ ।

उनले त्यही वर्षको मंसिरमा ‘राष्ट्रध्वनि’लाई बिदाइको हात हल्लाए र आफ्नै नाममा दर्ता गरे ‘राष्ट्रवाणी’ ।

तीनवटा पत्रिकामा काम गरेको अनुभव थियो । साथीभाइ र चिनजान पर्याप्त भइसकेको थियो । सूचना र जानकारीका लागि टाउको दुखाउनु पर्दैनथ्यो । १४ अञ्चलमा एक–एक प्रतिनिधि राखे ।

संसद् र हरि

हरिको छवि उच्च भइसकेको थियो । ‘राष्ट्रवाणी’को बेग्लै चार्म थियो । सांसद् तथा राष्ट्रियसभा सदस्यहरू ‘मेरो अन्तर्वार्ता लिइदिनुप¥यो’ भन्दै आउँथे । उनी छानी–छानी अन्तर्वार्ता लिन्थे । विषय, व्यक्तित्व र सन्दर्भ हेरेर व्यक्ति चयन गर्थे । ०३९ देखि ०५९ सम्म उनले अविराम संसद् गतिविधि लेखे । त्यसैले उनलाई नचिन्ने सांसद् र उनले नचिन्ने सांसद् कमै छन् । हरिलाई सांसदहरू ‘मैले बोलेको पनि जाओस् है !’ भन्थे । उनले लेखेको संसद् गतिविधि रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रसारण गर्थे ।

पञ्चायतका सांसद् र बहुदलका सांसद्को नाडी उनले राम्ररी छामेका छन् । त्यसैले उनी निर्धक्क भन्छन्, “पञ्चायतका सांसद् संसद्मा बोल्दा विषयमा मेहनत गर्थे । तथ्य, तथ्यांक नोट गर्थे र मात्रै बोल्थे । तर, बहुदलमा त्यो परम्परा हरायो । अहिलेका सांसद् त हावा । बिनातथ्य, तथ्यांक बोल्छन् ।”

हरिले पद्मसुन्दर लावतीलाई सम्झिए, “पद्मसुन्दर शुरुमा बोल्नै नजान्ने । बोल्दा काम ज्वरो आउँथ्यो उनलाई ? पछि उनी यस्तो पर्फेक्ट बोल्ने भए, उनलाई कसैले भेट्दैनथ्यो बोल्न ।” वीरगञ्जका जयप्रकाश प्रसाद गुप्ता पनि मेहनत गरेर संसद्मा बोल्ने गरेको हरि सम्झिन्छन् ।

हेडमास्टर मरिचमान

०३०मा हरि परोपकार हाइस्कुलमा पढाउँथे । एसएलसीमा सुपरिटेन्डेन्ट भएर सल्यानको महेन्द्र हाइस्कुल पुगे । त्यो स्कुलका हेडमास्टर थिए, मरिचमान सिंह श्रेष्ठ । मरिचमानलाई हरिले भने, “तपाईं मेरो असिस्टेन्ट सुपरिटेन्डेन्ट बस्नु पर्‍यो ।”

मरिचमानले भने, “भैहाल्छ नि !”

मरिचमानले इन्सपेक्टरलाई भने, “सुपरिटेन्डेन्ट सरलाई घोडा ठीक पार्नुस् ।”

दुई जना एक–एक वटा घोडा चढेर परीक्षा केन्द्र जान्थे । मरिचमान युवक संगठनमा त थिए तर राजनीतिमा उनी खासै चासो देखाउँदैनथे ।

हरिले भने, “यसरी हुँदैन, तपाईं राजनीतिमा आउनुपर्‍यो । परीक्षा सकिएपछि जागिरबाट राजीनामा दिनुस् र राजनीति थाल्नुस् ।”

परीक्षा सकियो । राप्ती अञ्चलका अञ्चलाधीश थिए, चन्द्रप्रकाश थकाली, जोसँग हरिको निकै राम्रो सम्बन्ध थियो । हरिले मरिचमानलाई चन्द्रप्रकाशको कार्यालय लगेर भने, “राष्ट्रिय पञ्चायतको निर्वाचनमा उहाँ उठ्नुहुन्छ । तपाईंले सहयोग गर्नुपर्‍यो ।”

चन्द्रप्रकाशले भने, “राष्ट्रिय पञ्चायत निर्वाचनको तीन महिनाअगाडि मलाई जागिर छोेडेको जानकारी दिनुस् । निर्वाचनमा मैले सकेको सहयोग गर्छु, वचन भयो ।” 

नभन्दै मरिचमानले त्यसै गरे । राष्ट्रिय पञ्चायतको सदस्यमा उठे । जिते । ६ महिनापछि भूमिसुधार सहायकमन्त्री भए । भाग्यले साथ दिँदै गयो । शिक्षाराज्यमन्त्री भए । त्यसपछि मन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदै ०४३ सालमा प्रधानमन्त्री भए ।

हरिले आफूलाई राजनीतिमा लगाएको गुन मरिचमानले कहिल्यै बिर्सिएनन् । उनी प्रधानमन्त्री हुँदा पनि हरिलाई उस्तै आदर र सम्मान गर्थे । ‘सर’ नै भन्थे ।

“कर्नेललाई पछाडि बस् भनेर मलाई गाडीमा आफूसँगैको सिटमा राखेर घरसम्म पुर्‍याइदिन्थे,” हरि भन्छन्, “मैले उनलाई करप्ट हुने काम नगर्नुस्, जनभावनाअनुसार काम गर्नुस् भन्थें । नभन्दै उनी कहिल्यै करप्ट भएनन् । राष्ट्रवादी नेताको छवि बनाएर बिते । उनलाई पत्रकारहरूमाझ चिनाइदिएकै मैले हो ।”

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा डा. तुलसी गिरी सरकारका उपाध्यक्ष भए । मण्डिखाटारमा बस्ने तुलसी हरिकै छिमेकी थिए । भेट भइरहन्थ्यो । हरिले एकदिन भने, “तपार्ईंलाई पञ्चायतको आमा भनेका छन् । गिरिजाबाबुहरूले तपाईंलाई सहन सकेका छैनन् । तपाईंकै कारणले राजतन्त्र जाने भयो ।”

तुलसीले भने, “हे, केही पनि हुँदैन ।”

हरिले भनेजस्तै राजतन्त्रको अस्तित्व मेटियो ।

अन्तर्वार्ता

हरिले कसको अन्तर्वार्ता लिएनन् ? हाइप्रोफाइलको सूची पल्टाउने हो भने नाम भेट्न कठिन छ । उनले भूतपूर्व प्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, डा. केआई सिंह, टंकप्रसाद आचार्य, बीपी कोइराला, लोकेन्द्रबहादुर चन्द, डा. तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, मरिचमान सिंह, कृष्णप्रसाद भट्राई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड), केपी ओलीलगायत सबैको अन्तर्वार्ता लिए । त्यसो त हरिले प्रधानमन्त्रीमात्रै होइन, तत्कालीन राजाहरूको पनि अन्तर्वार्ता लिए । वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्म । ज्ञानेन्द्र राजा भएपछि अन्तर्वार्ता लिने आफू पहिलो पत्रकार भएको दाबी गर्छन् उनी ।

राजासँगै बीपीको अन्तर्वार्ता पनि उनले आजसम्म बिर्सिएका छैनन् । बीपीसँग हरिको चिनजान थियो । अन्तर्वार्ताका लागि समय लिन बीपी बसेकै घर चाबहिल पुगे । चिट लेखेर पठाए । ‘गाउँ फर्क’ राष्ट्रिय अभियानको अध्यक्षसमेत भइसकेका विश्वबन्धु थापा त्यहीबेला आइपुगे । उनले भने, “दुइटै चिट लानुस् । मेरो त खासै केही छैन, भेटेर फर्किहाल्छु ।”

बीपीले हरिलाई पहिले बोलाए तर उनले जान मानेन् । विश्वबन्धुसँगै गए । बीपीलाई हरिले भने, “म शान्तिक्षेत्र विशेषांक निकाल्दै छु । यही बारेमा हजुरको अन्तर्वार्ता लिन आएको । प्रश्न यस्ता छन् ।” हरिले प्रश्न दिए ।

बीपीले प्रश्न लिएर अर्को दिन आउन भने । बोलाएको दिन जाँदा बीपीले हातले लेखेर जवाफ ठिक्क पारेका थिए । त्यो अन्तर्वार्ता लिएर हरि राजा वीरेन्द्रलाई भेट्न गए । शान्तिक्षेत्रबारे बीपीको सकारात्मक अन्तर्वार्ता थियो त्यो । त्यसअघि बीपीले शान्तिक्षेत्रबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सकारात्मक अन्तर्वार्ता दिएका थिएनन् । हरिले वीरेन्द्रलाई भने, “सरकार ! शान्तिक्षेत्रबारे बीपीजस्तो नेताले सकारात्मक भन्नु ठूलो कुरा हो । उहाँलाई भेटिबक्सियोस् ।”

वीरेन्द्रले भने, “बीपीसँग कुरा भइरहेको छ । उनको उपचार खर्च पनि मैले उपलब्ध गराएको हुँ ।”

०४२ मा ‘राष्ट्रवाणी’का लागि वीरेन्द्रको अन्तर्वार्ता पनि लिए हरिले । क्षेत्रीय भ्रमणमा गएका बेला हरिले राजासँग भेट्ने मौका पाएका थिए । त्यहाँ वीरेन्द्रले हरिलाई सोधेका थिए, “तिमीलाई गलैंचा काण्डमा आएका नाममध्ये को–को संलग्न छैनन् जस्तो लाग्छ ?”

हरिले आफूसँग आएको जानकारीअनुसार राजा वीरेन्द्रलाई भनेका थिए, “मेरो विचारमा डा. हर्क गुरुङ, अर्थसचिव नरकान्त अधिकारी र डा. तुलसी गिरी संलग्न हुनुहुन्न होला ।”

राजासँग अन्तर्वार्ता लिँदाका सकस सुनाए उनले, “अहिलेको जस्तो टेक्नोलोजी थिएन । कपीमा टिप्नुपथ्र्यो । कपीमा टिपेपछि अन्तिममा ‘पढेर सुनाऊ त’ भन्थे । सुनाएर ‘ठीक छ सरकार ?’ भनी सोध्नुपथ्र्यो । ‘ठीक’ भनेपछि मात्रै त्यो अन्तर्वार्ता छाप्नका लागि योग्य हुन्थ्यो ।”

सितिमिती राजा अन्तर्वार्ता दिँदैनथे तर हरिले लिए । त्यसपछि हरि भए सेलिब्रिटी पत्रकार । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मिडियाले उनका अन्तर्वार्ता लिन थाले ।

०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । वीरेन्द्रको वंश नाश भयो । माइला भाइ ज्ञानेन्द्र राजा भए । हरिले ज्ञानेन्द्रलाई शुभकामना कार्ड पठाए । त्यही शुभकामना कार्डमा उनले सानो कागज पनि टाँसेर पठाए । लेखेका थिए, “सरकारसँग कुराकानी गर्न चाहन्छु ।”

एक महिनासम्म जिम्मेवारीकै चटारो होला भनेर हरिले फलो गरेनन् । दुई महिना लागेपछि चिनेकै कर्णेललाई खबर पठाए । कर्णेलले खबर पुर्‍याए तर समय तय भएन । फेरि उनले विन्तीपत्र हाले । त्यही दिन राजाले बोलाए ।

“प्रश्न त तयार थियो तर राजासँग के बोल्ने र कति बोल्ने भन्ने तयारी गरेको थिइनँ । बोल्ने तयारी नै नगरइ गएँ,” हरि तत्कालीन राजा ज्ञानेन्द्रसँगको अन्तर्वार्ता सम्झिन्छन्, “डेढ घण्टा इतिहास, वर्तमान र भविष्यमा कुरा गरेपछि बल्ल अन्तर्वार्तामा प्रवेश गरियो ।”

उनले ६ वटा प्रश्न सोधेका थिए । एउटा प्रश्न थियो, “सरकार ! म क्षमा चाहन्छु यो प्रश्नका लागि । वीरेन्द्र सरकारको वंश विनाशमा ज्ञानेन्द्र सरकार र पारस सरकारको हात छ भनेर व्यापक गाइँगुइँ छ । मलाई विश्वास नभए पनि यसमा सरकारको दृष्टिकोण के छ ?”

ज्ञानेन्द्रले भनेका थिए, “तिमीलाई थाहा छँदै छ । मैले दाजुको हत्या गरेर आफू राजा हुँदा मलाई फाइदा के छ ? म त्यसै पनि अधिराजकुमार थिएँ । मैले त्यसो गरें हुँला भन्ने तिमीलाई लाग्छ ? कपोल्कल्पित र भ्रामक कुरा हो । हामी कसैले पनि यस्तो गरेका छैनौं ।”

ज्ञानेन्द्रको अन्तर्वार्ता लिएपछि फेरि हरिको चर्चा भयो । बीबीसी र स्टार टिभीले उनको अन्तर्वार्ता लिए ।

दरबारपरस्त पत्रकार !

राजाका क्षेत्रीय भ्रमणमा दरबारले हरिलाई डाक्थ्यो । विरलै अन्तर्वार्ता दिने राजाहरू उनलाई अन्तर्वार्ता दिन्थे । त्यसैले उनलाई दरबारनिकट पत्रकार भनिन्छ । हामीले पनि त्यही सोध्यौं, “तपाईंलाई दरबारपरस्त पत्रकार भन्छन् नि ! हो ?”

उनले भने, “दरबारको भत्ता खाएर भजन गाउने पत्रकार म हैन । तत्कालीन अवस्थामा हुने राजाका क्षेत्रीय भ्रमणमा भने मलाई डाक्थे । न उनीहरूले मलाई पैसा दिन्थे न भत्ता नै हुन्थ्यो । पत्रकारका हैसियतले बोलाउँथे । त्यतिमात्रै हो । म दरबारपरस्त पत्रकार होइन ।”

अरूलाई छोडेर हरिलाई नै दरबारले किन माया गर्‍यो ?

“त्यो त मलाई पनि थाहा छैन तर अनुमान लगाउन सक्छु— मैले कहिल्यै लोभ गरिनँ । यस्तो र त्यस्तो चाहिएको छ भनेर दरबारमा गएर बिन्ती बिसाइनँ । अरूले दरबारसँग लाखौं पर्ने प्रेस मागे । पाए पनि । तर, मैले त्यसो गरिनँ । त्यो नै कारण हो जस्तो लाग्छ,” जवाफमा हरि भन्छन्, “मैले चाहेको भए र लोभी भएको भए टोयोटाको कार चढेर हिँड्थें तर मैले लोभ गरिनँ ।”

भविष्यवाणीको तनाव

०५७ जेठमा हरिले एउटा लेख छापे । अन्तिम पेजको दुई कोलममा ज्योतिषको लेख छापिएको थियो । त्यसमा लेखिएको थियो, “युवराज दीपेन्द्र ०५८ सालको जेठ १८ देखि २२ गतेभित्र राजा हुन्छन् ।”

हरि संसद्मा थिए । घरमा दरबारबाट तारन्तार फोन आएछ । साँझ घर पुग्दा अबेर भइसकेको थियो । त्यसैले उनले दरबारमा फोन गरेनन् । अर्को दिन बिहानै दरबारका संवादसचिव मोहनराज पाण्डेलाई फोन गरे ।

मोहनराजले भने, “के लेखेको त्यस्तो ? बडामहारानी सरकार रिसले आगो भइबक्सकेको छ  ।”

हरिले भने, “भेटाउने प्रबन्ध मिलाउनुस्, म आउँछु ।”

मोहनराजले भने, “आज ३ बजे आउनू, म चिट पठाएर राख्छु ।”

हरि दरबार गए । रानी ऐश्वर्य रिसले आगो भएकी रहिछन् । उनले भनिन्, “पिताश्रीको निधन नभई छोराहरू कसरी राजा हुन्छन् ? त्यत्ति पनि याद भएन ?” पाँच मिनेट गाली गरिन् ।

हरिले त्यो लेख पूरै याद गरेका थिएनन् । त्यसैले भने, “सरकार ! मैले यसलाई फेरि अध्ययन गर्नुपर्छ । अध्ययन गरेर भोलि विस्तृत जानकारी टक्र्याउँछु । भोलि कति बजे आऊँ सरकार ?”

ऐश्वर्यले भनिन्, “३ बजे आउनू ।”

हरि ज्योतिष मंगलराज जोशी र मणिप्रसादलाई भेट्न गएर भने, “युवराज दीपेन्द्र ०५८ साल जेठ १८ देखि २२ गतेभित्र राजा हुन्छन् भन्ने आधारसहितका १० वटा बुँदा मलाई चाहियो ।”

मंगलराजले ७ वटा बुँदा दिए, मणिप्रसादले ३ वटा । ज्योतिष विज्ञानले ०५८ जेठ १८ देखि २२ गतेभित्र दीपेन्द्र राजा हुन्छन् भन्ने आधार उल्लेख गरेका १० वटा बुँदा तयार पारेर हरि दरबार जान तयार थिए । तर, दरबारले मंगलराजलगायत ७ ज्योतिषलाई बोलाएर भनेछ, “यसबारे छलफल गरेर जाहेर गर्नू ।”

ज्योतिषको समूहले ‘९० प्रतिशत सम्भावना देखाउँछ’ भनेपछि ऐश्वर्यले ‘हरिलाई खबर गरिदिनू, आउनु पर्दैन’ भनिन् ।

साँझ हरिले मोहनबहादुरलाई फोन गरे । उनले रानी कन्भिन्स भएको बताए ।

सेनाले घर घरेको दिन

०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा सरकारलाई हटाएर राज्यसत्ताको साँचो हातमा लिए । साँझ ५ बजे नै पत्रिका फाइनल गरेर हरि घर पुगिसकेका थिए । हप्ताभरिको चटारो बिसाएको साँझ उनी दुई पेग लगाएर बसिरहेका थिए । छोरा विकासले भने, “बुवा, हाम्रो घर त सेनाले घेरेको छ त ।”

हरिलाई अचम्म लाग्यो । ओर्लिएर बाहिर निस्किए । हातमा राइफल बोकेर आर्मी उभिएका थिए । छेउमा गाडी थियो ।

हरिले सोधे, “के गरेको यो ?”

एक सैनिकले सोधे, “यो हरि लम्सालको घर होइन ?”

हरिले भने, “हो । किन ?” 

सैनिकले भने, “तपाईंले प्रेस देखाइदिनु पर्‍यो । अरूले देखेको भए उनीहरूलाई सँगै पठाइदिनु पर्‍यो ।”

सेनाले लगेपछि छोड्लान् त ? हरिको मनमा चिसो पस्यो । हतारमा आत्तिएर सेनाको अघि लाग्नुभन्दा कसैलाई सोध्छु भन्ने लाग्यो । गृहसचिव र दरबारका संवादसचिवलाई फोन गरेर सोधे, “म के गरूँ ?”

उनीहरूले भने, “तपार्ईं डराउनु पर्दैन । आफैं गएर प्रेस देखाइदिनुस् । तपाईंलाई त्यही गाडीले घर लगेर छोडिदिन्छ ।”

हरिले पछि थाहा पाए— त्यो दिन सबै सञ्चारमाध्यममा सेना त्यसैगरी गएका रहेछन् ।

बाउको बिँडो

हरिले पत्रकारिता गरेको ४९ वर्ष भयो । अहिले पनि उनी ‘राष्ट्रवाणी’ साप्ताहिक प्रकाशन गरिरहेका छन् । ३७ वर्ष भयो उनले ‘राष्ट्रवाणी’ प्रकाशन थालेको । तर, अझै उनमा पत्रकारिताको भोक मेटिएको छैन । समाचार लेखिरहेकै छन् । छापिरहेकै छन् ।

तर, उनलाई ऊबेलाको पत्रकारिता रसिलो र झरिलो लाग्थ्यो । अहिलेको फोस्रो लाग्छ । ऊबेला खोजी पत्रकारिता हुन्थ्यो । अहिलेका समाचार पढ्दा उनको आँत भरिँदैन । तर, पनि उनका छोरा विकास अहिले यही पेशामा छन् । बाउको बिँडो थामिरहेका छन् ।

“एसएलसी दिएर बसेको थियो । प्रेस इन्स्टिच्युटका गोकुल दाइ र ध्रुव थापाले ‘छोरालाई पठाइदिनुस्, १० महिना तालिम गर्छ, एउटा पत्रिकामा काम गर्छ’ भने । मैले पनि पठाइदिएँ । तालिम सकेर इन्टर्नसिपका लागि ‘स्पेसटाइम’ पठाइदिएँ । त्यहाँ मन बसेन । पुष्करलाल मेरै साथी थियो । उसलाई भनेर ‘नेपाल समाचारपत्र’मा पठाएँ । ६ वर्ष ‘नेपाल समाचारपत्र’मा काम गरेर एभिन्युज टेलिभिजनमा गयो । अहिले पनि विकास पत्रकारिता नै गरिरहेको छ ।”

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC