site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
गुठी विधेयक परिमार्जन गरौँ, काठमाडौं उपत्यकाको संस्कृति–सभ्यता मासिन्छ
Sarbottam CementSarbottam Cement

पार्टी एकतापछि झलनाथ खनाल मुख्य भूमिकामा छैनन् । एमालेको विधानअनुसार उनी वरिष्ठ नेता थिए । एकीकरण हुँदा घटुवा भएर चौथो वरीयतामा छन् । यद्यपि यो विषयमा उनको फरक मत छ । सचिवालयको बैठकमै लिखित दर्ज गराएका छन् । कार्यविभाजन नहुँदा जिम्मेवारीविहीन छन् । पार्टीभित्र फरकविचारका नाममा गुट हुर्काउन नचाहने नेताका रूपमा चिनिएका सचिवालय सदस्य खनाल एकीकरण नटुंगिएकाले नेतृत्वप्रति रुष्ट छन् । 

प्रधानमन्त्री केपी ओलीप्रति पनि शैलीगत गुनासो छँदैछन् । सरकारले पर्याप्त गृहकार्य नगरी कर्मचारीको भरमामात्रै विधेयक ल्याएकाले विरोधको सामना गर्नुपरेको खनालको तर्क छ । यिनै विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालसँग अक्षर काकाले गरेको कुराकानीको सारसंक्षेप ः

केहीदिन पहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका बेलाको सहमति देखाउँदै १५ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने कुरा बताउनुभयो, १५ महिनापछिको प्रधानमन्त्री प्रचण्ड नै हो त ?
यसप्रकारको सहमतिका बारेमा विभिन्न समयमा चर्चा हुँदै आएका छन् । पटक–पटक उठ्दै सेलाउँदै पनि आएका छन् । केही दिनअघिमात्रै होइन एकतालगत्तै पनि यसखालको चर्चा भएकै हो । एकताका बेला दुई अध्यक्षबीच समझदारी मात्र होइन, सहमति पत्र तयार पारेर चारजना नेताले हस्ताक्षर गरेको कुरा बाहिर आएको थियो ।
एकताका बेला दुई पार्टीबीच विभिन्न विषयमा सहमति हुनु अत्यावश्यक थियो । एकताको आधार त्यसले नै तयार पार्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एकताका बेला भएका विभिन्न सहमतिको आ–आफ्नै मूल्य र मान्यता छन् । ती सहमतिले आ–आफ्ना ठाउँमा दायित्वसमेत सिर्जना गर्छन् । ती मूल्य, मान्यता र दायित्वबाट पार्टी तलमाथि जान मिल्दैन । जे सहमति (समान अवधि सरकारको नेतृत्व गर्ने) भएको छ, ग्रहण गरेर जानुपर्छ ।

१५ महिनापछि केपी ओलीले प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्छ ?
सहमतिमा जे भनिएको छ, त्यसबारेमा पार्टीमा पनि छलफल हुन्छ । यो विषयमा हामी प्रविष्ट भएका छैनौँ । एकतापूर्व जे सहमति भएको छ, दस्तावेज अगाडि राखेर छलफल गर्ने र कार्यान्वयन गर्ने दिशामा नै हामी अगाडि बढ्छौँ । यद्यपि यो सबै निर्भर गर्ने समझदारीमा हो । एकीकृत पार्टीले व्यक्तिलाई परिवर्तन नगरौँ, निरन्तरता दिऔँ भन्यो भने केपी ओली नै प्रधानमन्त्री हुन सक्नुहुन्छ, होइन भने सहमतिअनुरूप सरकारको नेतृत्व हेरफेर हुन्छ ।

Global Ime bank

सहमति दुईजना अध्यक्षका बीचमा भएको हो । पार्टीका जिम्मेवार नेताले हामीलाई थाहा छैन भन्दै हुनुहुन्छ, पार्टीका कुनै पनि निकायमा छलफल पनि भएको रहेनछ, पार्टीले अपनत्वचाहिँ किन लिने ?

पार्टी एकतापूर्व दुवै पार्टीका शीर्षस्थ नेता सम्मिलित पार्टी एकता संयोजन समितिमा पनि छलफल भएन । स्थायी कमिटीमा पनि छलफल भएन । एकता भएपछि सचिवालयमा पनि छलफल भएन । केन्द्रीय कमिटीमा छलफल भएन । दुईजना अध्यक्षबीचमा मात्रै सहमति भएको विषय हो त्यो । तर, एकीकरणजस्तो महत्तम विषयलाई टुंगोमा पुर्‍याउन गरिएको सहमति हो भने पार्टीले मान्यता नदिने कुरा आउँदैन । अपनत्व नलिने प्रश्नै उठ्दैन ।

फेरि दोहोर्‍याउन चाहन्छु– सहमतिले सिर्जना गरेको दायित्वबाट कोही पनि विमुख हुन, पन्छन पाउँदैन ।

चुनावको बेलामा खुबै स्थिरताको कुरा उठाउनु भयो । पाँचवर्ष नपुग्दै सरकारको नेतृत्व बदल्ने, काँध फेर्ने कुराले अस्थिरतालाई नै बल पुर्‍याउँदैन ?
विलकुलै पुर्‍याउँदैन । अस्थिरता के चिज हो त्यो हामीले बुझ्नुपर्छ । अस्थिरता भनेको एउटा पार्टीले पूरा अवधि (तोकिएको अवधि) सरकार सञ्चालन गर्न नपाउने, पटकपटक सरकार बदलिरहनुपर्ने अवस्था हो । तर, पछिल्लो चुनावको मतादेश (म्यान्डेड) नेकपाले पाँच वर्ष सरकार सञ्चालन गर्ने हो । यसर्थ नेकपा पाँच वर्षसम्म निःसन्देह सत्तामा रहन्छ । उसले तलमाथि गर्न पाउँदैन, शासन शासन गरिरहन्छ ।

सरकारमा मन्त्री बदलिन सक्छ । ओहोदा बदलिन सक्छ । प्रधानमन्त्री फेरिने किन नफेरिने पार्टीको कुरा हो । पार्टीले आवश्यक ठान्यो भने फेरिन सक्छ ।

पार्टी एकता भएको १३ महिना भयो १५ दिनमा प्रकाशन गरेर वितरण गर्ने भनिएको राजनीतिक प्रतिवेदन छापिएन, किन ?

यो दुखद् कुरा हो । दुईवटा पार्टी के आधारमा भए, पार्टीको नीति, कार्यदिशा र सिद्धान्त के हो ? यसका लक्ष्य के हुन् ? भनेर एकवर्षभित्र जनतालाई बुझाइसक्नुपथ्र्यो । कार्यकर्ताको मात्र होइन, यो आम सरोकारको विषय हो । सरोकारको विषय दस्तावेजीकरणसमेत गरेका छौँ । सचिवालयले परिमार्जन, सुझावसहित पास गरेर अध्यक्षद्वयलाई बुझाएको छ । तर, अध्यक्षहरूले प्रतिवेदन छाप्न सक्नुभएको छैन । यो नितान्त दुखद् कुरा हो । एकीकरणको विषयबारे तल सुसूचित नगराउनु घोर लापरवाही हो । यसलाई तुरुन्त छाप्नुपर्छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय निकाय, विभागले पूर्णता पाएका छैनन्, यत्रो माथापच्ची किन ?
एकीकरण जटिल र दुरुह प्रक्रिया हो । यसले लामो समय लिन्छ । उतारचढावको प्रक्रिया पनि पार गर्नुपर्छ । दुईजना अध्यक्षले पार्टी एकता गर्ने निर्णय गर्नुभयो, यो ऐतिहासिक निर्णय हो । नितान्त दूरगामी निर्णय हो । कम्युनिस्ट  र लोकतान्त्रिक आन्दोलनको आवश्यकता पनि थियो । जनताको आवश्यकता पनि हो यो ।
तर, जसरी गृहकार्य गरेर तलतल एकीकरण टुंग्याउनुपर्थ्यो । जे तयारी गरिनुपर्थ्यो, त्यो हुन सकेन । बरु माथि एकता भयो, तल विघटन गर्दिनुभयो । फलतः पार्टी एकवर्षसम्म पूरा निस्क्रिय बस्यो । तीन महिनामा एकीकरण टुंग्याउने भनिएको थियो अहिले १२ महिना भयो । एकता टुंग्याउन अध्यक्षहरूमा प्रतिवद्धता, ठोस योजना देखिनुपथ्र्यो, पार्टीले त्यो कमी महसुस गरेको छ ।

अध्यक्षहरूकै असक्षमता हो त ?
पार्टीमा नियमित बैठक हुन छाड्यो । अजेण्डमा बहस नै हुँदैन । पार्टीको मूल एकता भयो । अरू पार्टीका थुप्रै निकाय रिक्त छ । यसमा अध्यक्षद्वयले विचार पुर्‍याउनुपर्‍यो ।

स्थायी कमिटी, केन्द्रीय कमिटीका बैठकचाहिँ किन बस्दैनन्, कि महाधिवेशनसम्म अध्यक्षद्वयकै तजबिजमा पार्टी चल्ने हो ? दुईजना अध्यक्षहरूको तजबिजअनुसार पनि पार्टी कहाँ चलेको छ र ?

तजबिजमा चले पनि त केही काम त भइरहन्थ्यो नि ! दुईजना अध्यक्ष आ–आफ्नै ढंगबाट चलिरहनुभएको छ । प्रधानमन्त्री रहनुभएको एकजना अध्यक्ष विदेश भ्रमणमा हुनुहुन्छ । व्यस्तताका बीचमा देख्छु । समय निकालेर बैठक बस्नै नभ्याउने । एककिसिमले भन्ने हो भने दुवै अध्यक्षले पार्टीका मिटिङ, भेलाका लागि समय निकालेजस्तो मलाई लाग्दैन । नियमित बैठक, भेला हुने हो भने पार्टीले झेलेका अधिकांश समस्याको हल भइहाल्थ्यो ।

पार्टीमा सरकार र पार्टीको नेतृत्व गरिसक्नुभएको अरू दुईजना नेता हुनुहुन्छ, तपाईंहरूले पनि सल्लाह–सुझाव दिन सक्नुहुन्छ नि ?
बैठक बसेको पो सल्लाह दिनु ! सुझाव दिनु !

मिटिङ चाँडो राख्नूहोस्, सरकारको कामका बारेमा समीक्षा गरौँ, पार्टीको काम व्यवस्थित गरौँ भनिरहेका छौँ । तर, पार्टी बैठकबाट टाढिएपछि हाम्रो भूमिका नदेखिएको होला, बाहिर खेल्ने भूमिकामा सक्रिय नै छौँ ।

सरकारले ल्याएका विधेयकले आन्दोलनको निम्तो दिएजस्तो देखिन्छ । सरकारले विधेयक ल्याउँछ, सरोकारवाला सडकमा उत्रिइहाल्छन् । सरकारको तयारी नपुगेको कि सरोकारवालालाई बेवास्ता गरेको ?

विधेयक ल्याउँदा सरकारले डेमोक्रेटिक (प्रजातान्त्रिक)प्रक्रिया अपनाउनुपर्छ । त्यो अपनाएको देखिँदैन । विधेयक, कहाँ, कुन, ब्युरोक्रेट्स (कर्मचारी)ले मस्यौदा गर्छ, उसैको भर परेर जस्ताको त्यस्तै ल्याउँदा विरोधको सामना गर्नुपर्छ । परिवर्तित परिस्थिति, बदलिएको सन्दर्भमा जनताका मागहरू के छन् ? सरोकारवालाका माग के छन्, पार्टीमा छलफल गरेर, पार्टीका कतिपय मेक्यानिज्म, (संयन्त्र)मा छलफल गरेर ल्याउनुपर्छ । पार्टीको निर्देशन नभइ कानुनको मस्यौदा पनि गर्नुहुँदैन, कतिपय अवस्थामा । मस्यौदामा व्यापक छलफल गर्ने, विधेयकको रूप दिएर दर्ता गर्नुपर्छ । त्यसो गरेको भए विवाद हुने थिएन ।

अहिले विरोधी अनावश्यक मुद्दा (इस्यु) खोजेर हिँडिरहेका छन् । उनीहरूले यस्ता समस्या देख्नेबित्तिकै ‘के निहुँ पाउँ, कनिका बुकाउँ’ भन्छन् । कतिपयले कनिका बुकाउँदै पनि होलान् ।

गुठी विधेयकविरुद्ध ठूलै आन्दोलन चर्किएको छ । काठमाडौैंका रैथाने नेवार समुदायले विधेयक पास भए नेवार समूदायको धर्म, संस्कृति, रीतिरिवाज मासिने बताउँदै आएका छन् । संस्कृति, सभ्यता मासिनेगरी विधेयक कसको स्वार्थमा आयो ?

निश्चय पनि काठमाडौंका गुठियारहरूको गुठीलाई नास गर्ने कुरा गर्नुहुँदैन । त्यो गर्न सम्भव पनि छैन । काठमाडौं उपत्यकामा त कोही दिवंगत (निधन) भयो भने दाहसंस्कार त्यही गुठीले गर्छ । सदगती गुठीकै दायित्व हो । जीवनपद्धति मानिएको गुठी मासिदिएपछि संस्कृति नै समाप्त भइहाल्यो नि ! आफू बाँचेको संस्कृति–सभ्यता नामेट हुने भएपछि आक्रोशित हुनु जायज हो । अतः गुठी विधेयक परिस्कृत, परिमार्जित गर्नुपर्छ ।

मिडिया विधेयकका बारेमा पनि सरोकारवालासँग छलफल भइरहेको छ । त्यो पनि परिमार्जन हुन्छ । परिस्कृत, परिमार्जन गर्ने विधि, प्रक्रिया र समय छ । त्यसलाई पर्खने धीरता चाहिन्छ । अहिले नै पासै भइसक्यो भनेजसरी विरोध गर्ने चलन पनि बेठिक छ । सरकारलेचाहिँ परिमार्जन, परिस्कृत गर्ने तरिका बताएर उत्तेजित मास (जनसमुदाय)लाई आस्वस्त तुल्याएर आफ्नो काम अघि बढाउनुपर्छ ।

केही समयअघि सरकारका मन्त्री हेरफेर हुने निकै हल्ला थियो, अहिले साम्य भएको छ, मन्त्रीहरू नफेरिने नै भए त ?

मन्त्री, मन्त्रालय, सरकारको कामको समीक्षा गर्ने, कमी–कमजोरी देखिए फेर्न सकिन्छ । सरकारले नियमितताका आधारमा गर्नुपर्ने हुन्छ । औचित्य पुष्टि नहुनेगरी मन्त्री हेरफेर गर्नु हुँदैन । सरकारको प्राथमिकता जनमुखी, लोकप्रिय, सुशासनयुक्त बन्नेमै केन्द्रित हुनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC