काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका समकक्षी एडवार्ड फिलिपसँग बिहीबार पेरिसमा दुई पक्षीय वार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्विट मार्फत जानकारी गराए अनुसार दुई पक्षीय वार्ता आपसी हितका विषयमा सौहाद्र्धपू्र्णरुपमा भएको थियो । फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भूभागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको अर्यालले जनाएका छन् ।
विहीबार नै प्रधानमन्त्री ओलीले विभिन्न व्यवसायीहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी मैत्री वातावरण बनेको उल्लेख गर्दै भनेका थिए,‘‘ सुरक्षाको चिन्ता नगर्नुस, ढुक्क भएर लगानी गर्नुस्। विप्लवको छिटफूट गतिविधि बेमौसमी वर्षा जस्तै हो । सरकार तपाईंहरुको सुरक्षाका लागि तपाईंहरुसँगै छ। ’’
प्रधानमन्त्री ओली स्वीजरल्याण्ड र बेलायतको भ्रमण पूरा गरी अहिले फ्रान्समा पुगेका हुन् । प्रधानमन्त्री ओलीले यही जुन १० देखि १२ सम्म गरेको बेलायत भ्रमणका बारेमा विहीबार संयुक्त वक्तव्य जारी गरिएको थियो । सो वक्तव्यमा जनाइएअनुसार नेपाल र बेलायत दुवैले मानवअधिकारका अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप चल्ने कुरामा प्रतिवद्धता जनाएको थिए ।
यसअघि नेपालको सरकारी तहबाट नेपाल, भारत र बेलायतबीच गोर्खा सैनिकका बारेमा गरिएको त्रिपक्षीय सन्धीको सट्टामा अब नेपाल र बेलायतबीच मात्रै दुई पक्षीय सन्धी गर्ने बारेमा नेपालले प्रस्ताव राखिएको भनिएपनि सो कुरा संयुक्त वक्तव्यमा उल्लेख छैन। संयुक्त वक्तव्यमा दुई देशको सम्बन्ध बढाउनकालागि गोर्खाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गोर्खाको सम्बन्धमा निरन्तर छलफल गर्न दुवै पक्ष सहमत भएको जनाइएको छ ।