site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

अहिलेको नेपाल वायुसेवा निगमको अवस्था नेपालको मात्र हैन संसारकै सार्वजनिक संस्थानको दुर्दशाको दृष्टान्त बनेको हुनुपर्छ । निगमको वर्तमान व्यवस्थापीय अवस्थाको राम्ररी प्रचारप्रसार हुने हो संसारका ठूला विश्वविद्यालयका विद्यार्थीहरू सार्वजनिक संस्थानको सबैभन्दा खराब अवस्थाका बारेमा अध्ययन गर्न आउँथे होलान् । देशमा थुप्रै विमान कम्पनीहरूले आन्तरिक उडानबाटै प्रशस्त कमाएका बेला नेपाल वायु निगम भने बर्सेनि करोडौंको घाटामा गयो । कहिले विमान नभएकाले घाटा भएको भनियो भने कहिले विमान उडाउने जनशक्तिको अभावले उडान हुन नसकेको बताइयो । व्यावसायिक उडानका लागि अनुपयुक्त मानिएको चिनियाँ विमानहरू निगमका लागि सेता हात्ती भए । निगमसँग भएका नौवटामा सातवटा जहाज अहिले थन्किएका छन् । आवश्यक संख्यामा विमान चालक नभएकाले जहाज नउडाइ थन्क्याइएको व्यवस्थापनले स्पष्टीकरण दिएको छ ।  

एकातिर भएका जहाज नउडाई थन्क्याएर राख्ने र अर्कातिर कार्यालय सञ्चालनका लागिसमेत सरकारसँग पैसा माग्ने गरिन्छ । आफ्ना कृपापात्रलाई निगमको व्यवस्थापन बक्सिस दिने शासकहरूले पनि राज्यको ढुकुटी उदार मनले लुटाउने गरिआएकै छन् । तर, अहिलेकै संरचना, शैली र सोच कायम रहँदासम्म सरकारले जति पैसा खन्याएपनि नेपाल वायुसेवा निगम सुध्रँदैन । शासकका कृपामा व्यवस्थापनको नेतृत्वमा पुग्नेहरूले निगमको अहित गरेको अनेकौं उदाहरण भए पनि विज्ञता, दक्षता वा क्षमताका आधारमा नेतृत्व छान्न कहिल्यै प्राथमिकता दिइएन । यही कारणले कमिसन पाए ‘हात्ती’ किन्ने प्रवृत्ति नेपाल वायुसेवा निगमको चरित्र नै बन्न पुग्यो । चीनसँग लिइएका विमानहरू नेपालका लागि उपयुक्त नभएको निगम व्यवस्थापनले थाहा नपाएको थिएन । ती विमानको साटो त्यति बेला अरू विमान लिइएको भए सम्भवतः निगम अहिलेजस्ता थला पर्ने पनि थिएन । 

व्यावसायिक प्रतिस्पर्धा गर्ने वातावरणविना निगमको व्यवस्थापनमा सुधारको प्रयास पूर्ण सफल हुँदैन । दक्ष व्यवस्थापकलाई निगम व्यवस्थापन नसुम्पी सुधारको प्रयास पनि थाल्न सकिँदैन । निगमलाई सपार्ने आँट भएको व्यवस्थापक शासकको कृपाकांक्षी हुन र तिनको स्वार्थमा निगमलाई लुटाउन तयार पनि हुँदैन । यसैले सबैभन्दा पहिले नेपाल वायुसेवा निगममा सरकारी अधिकारीको सनकी र स्वार्थी हस्तक्षेप हुने बाटो रोक्नुपर्छ । त्यसपछि निगमलाई संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘वक्रदृष्टि’बाट पनि बचाउनुपर्ने विगतको अनुभवले सिकाएको छ । आवश्यक व्यवस्था मिलाएर कुशल व्यवस्थापन छान्न सके नेपाल वायुसेवा निगम बिस्तारै नाफामा जान पनि सक्ला । नत्र बर्सेनि एक अर्ब बढी घाटामा जाने निगम टाट उल्टन धेरै समय पर्खनुपर्ने छैन । निगमको खर्च घटाउन नयाँसडकको कार्यालयमा आवश्यक ठाउँमात्र प्रयोग गरेर कहालमा दिनेदेखि चलाउन नसके जहाजै पनि भाडामा लगाउने सम्भावना खोज्नुपर्छ । निगमलाई बचाउनका लागि  व्यवस्थापन करारदेखि रणनीतिक साझेदार भित्र्याउनेसम्मका विकल्पमा विचार गरिनुपर्छ । शासकहरूको व्यक्तिगत र दलगत स्वार्थबाट जोगाएर निगमलाई पुनर्जीवन दिने गम्भीर प्रयास नगर्ने हो भने सकेसम्म चाँडै यसलाई भंग गरेर राज्यको बोझ हलुंगो बनाउनु देश र जनताको हितमा हुनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC