दाङ । जिल्ला समन्वय समिति दाङले स्थानीय सरकारलाई ३० करोड रुपैयाँ बाँडेको छ । तत्कालिन जिल्ला विकास समितिको खातामा रहेको सञ्चित कोषको रकममध्ये जिल्लाका दश स्थानीय तहलाई ३ करोडका दरले रकम बाँडफाँड गरेको हो । देश संघीयतामा गएपछि जिल्ला विकास समिति खारेज भएसँगै कोषको खाता रोक्का भएको थियो ।
सरकारले सञ्चित कोषमा रहेको रकम फुकुवा गरेपछि जिल्ला समन्वय समितिले कोषको रकम बाँडफाँड गरेको हो । कोषमा ३२ करोड ९८ लाख ८० हजार ५ सय २८ रुपैयाँ १९ पैसा रहेको थियो । स्थानीय तहलाई ३० करोड र बाँकी २ करोड ९८ लाख ८० हजार रकम जिल्ला समन्वय समितिले राखेको समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिएका छन् । उक्त रकमलाई परिचालन गर्न कार्यविधिले नगरपालिका र गाउँपालिका भवन निर्माणमा प्राथमिकता दिएको छ । त्यसपछि वडा कार्यालयको भवनलाई राखेको छ । विद्यालयको भवन निर्माण, खानेपानी तथा पूर्वाधार विकाससँगै स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बनाउन सकिने कार्यविधिमा उल्लेख छ ।
जिल्ला समन्वय समितिले राखेको झण्डै ३ करोड रुपैयाँमध्ये १ करोड ५० लाख भवन तथा व्यावसायिक सटर निर्माण र १ करोड ४८ लाख ८० हजार ५ सय २८ रुपैयाँ १९ पैसा जिससका भवन मर्मतमा लगाउने प्रस्ताव गरेको छ ।