site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

गुठी हरण कानुनविरुद्धमा आइतवार माइतीघर मण्डलामा भएको प्रदर्शन नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरीको दमनकारी शैली पुनः प्रकट भएको छ । प्रदर्शनकारी भिडमा अनावश्यक बल प्रयोग गरिएको मात्र हैन नियन्त्रण लिइसकेका व्यक्तिलाई लात्ताले हानेको तस्बिर नै सञ्चार माध्यममा सार्वजनिक भएको छ । यसलाई सभ्य समाजमा कसैले पनि स्वाभाविक र सही भन्न सक्तैन । प्रहरी अधिकारीहरूले पनि यस्तो उद्दण्ड व्यवहारलाई प्रोत्साहन गर्दैनन् होला । तर, गृहमन्त्रीले भने प्रहरीको उद्दण्डतालाई सामान्य ठानेको देखियो । उनले त उल्टै प्रदर्शनकारीमाथि दोष लगाए । संसद्मा उनले माइतीघर मण्डलामा आइतवार भएको प्रदर्शनका सहभागीहरूले ठूलै उपद्रो गरेजस्तो जानकारी दिए । 

प्रहरीले पानीको फोहोरा, लाठी र नियन्त्रणमा लिएको व्यक्तिलाई पछाडिबाट लात्ताले हानेको घटनामा प्रदर्शनकारीका तर्फबाट निजी वा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन । यसैले गृहमन्त्रीले संसद्लाई गलत विवरण दिएको स्पष्टै हुन्छ । र, सरकारी पक्षको गल्ती लुकाएर सदनलाई ठाडै ढाँट्ने गृहमन्त्री रामबहादुर थापा पहिलो भने हैनन् । बरु, यसरी नढाँट्ने गृहमन्त्री नेपालको इतिहासमै बिरलै भेटिएलान् । सुरक्षाकर्मीको मनोबल खस्कन नदिन तालुकवाला मन्त्रीले उनीहरूका गल्ती ढाकछोप गर्दै आएका पनि छन् । यसैले गृहमन्त्री थापाले मात्रै ठूलो अपराध गरे भन्नु न्यायोचित नहोला । तर, अब प्रहरी वा अरू कसैको ज्यादती ढाकछोप गरेर सुरक्षा संयन्त्रको मनोबल बलियो हुन्छ भन्ने मानसिकता गलत हो ।

संसार एक्काइसौं शताब्दीमा प्रवेश गर्दा नेपाललाई मात्रै अठारौं शताब्दीमा रोक्न सकिँदैन । गृहमन्त्रीले सदनमा शान्तिपूर्ण प्रदर्शनमा दमन गरिएको छैन भन्नुभन्दा पहिले नै प्रहरी ज्यादतीका तस्बिरहरू व्यापक भइसकेका थिए । केही वर्षअघि सम्म यसरी घटना हुनेबित्तिकै त्यसको विवरण जनतासम्म पुग्न सक्तैनथियो । यसैले त्यतिबेला सदनमा गृहमन्त्रीले भनेका कुरा धेरैले पत्याउँथे पनि होला । अब सूचना प्रविधिमा भएको क्रान्तिले घटना विवरण संकलन र प्रचारप्रसारमा नियन्त्रण गर्न सहज छैन । यसैले सरकारी संयन्त्रबाट गल्ती नै हुँदैन भन्ने सोच त्यागेर शासकहरूले अब आफूलाई राणा प्रधानमन्त्रीका भारदारभन्दा अलग बनाउनुपर्छ । प्रहरीले आइतवार ज्यादती गरेको स्पष्टै देखिन्छ । नियन्त्रणमा लिइसकेको व्यक्तिलाई पछाडिबाट त्यसरी लात्ताले हान्नु कुनै पनि दृष्टिमा सही हुनसक्तैन । गृहमन्त्रीले ढाकछोप गर्नुभन्दा घटनामा भएको ज्यादतीका लागि माफी मागेर अब त्यस्तो हुन नदिने आश्वासन दिएको भए लोकतान्त्रिक संस्कार हुन्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका गृहमन्त्रीबाट पनि निरंकुश पञ्चायतका दमनकारीकै शब्द दोहोरिनु दुःखद विडम्बना हो । यसले सरकारको नियत नै दमनकारी भएको सन्देश दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC