मानवताको सम्मान गर्ने दायित्व

एल हसन बिन तलाल

सन् १८५९ मा इटालीको दोस्रो स्वतन्त्रता युद्ध चर्केका बेला हेनरी ड्युना नामका स्विस नागरिक युद्धस्थल सल्फरिनोमा पुगे । दसौं हजार मृत र घाइते सिपमहीहरूको दर्दनाक अवस्थाले उनको हृदय विचलित भयो र उनले युद्धरत दुवै पक्षका बिरामी एवं घाइतेको सेवा गर्न नागरिकहरूलाई संगठित गरे । आज १६० वर्षपछि त्यति बेलाको उदाहरण, नियम र मान्यताहरू तथा त्यसले अगाडि बढाएको संस्थाहरूप्रति पुनः प्रतिबद्धता प्रकट गरिनुपर्छ । 

विश्व बन्धुत्वको ध्येय राखेर ड्युनाले थालेको यो प्रयासबाट नै अन्तर्राष्ट्रिय रेडक्रस अभियान र सन् १८६४ को पहिलो जेनेभा महासन्धिको बीजारोपण भयो । त्यसपछिका जेनेभा महासन्धिहरू नै अन्तर्राष्ट्रिय मानवीय कानुन तथा यसको कार्यान्वयन गर्ने मुख्य संस्थाका रूपमा विश्वका अधिकांश राष्ट्रले स्वीकार गरेको सन् २००२ मा स्थापित तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको जग बने । 

तैपनि, जेनेभा महासन्धि र अन्तर्राष्ट्रिय अदालतलाई निरन्तर प्रायः नयाँ नयाँ शैलीमा अवज्ञा गरिँदै आएको छ । उदाहरणका लागि सिरिया र यमनका राज्य र गैरराज्यपक्षलाई लिन सकिन्छ । दुवै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको समानरूपमा निरन्तर उल्लंघन गर्दैआएका छन् र खुला दण्डहीनता पनि अपनाएका छन् । ‘इन्टरनेसनल रिभ्यु अफ द रेडक्रस’का प्रधान सम्पादक भिन्सेन्ट बर्नहार्डले टिप्पणी गरेजस्तै यी युद्धहरू ‘‘ बालबालिका, अस्पताल, प्राथमिक चिकित्सा स्वयंसेवी, मानवीय स्मृति तथा न्यायका विरुद्ध’’ गरिएका छन् ।    

परिवार र समुदायहरूलाई आहत बनाउने गरी असंख्य मानिस बेपत्ता पारिएका छन् । पुस्तौंसम्म बालबालिकाले हिंसाबाहेक अरू केही थाहै पाएका छैनन् । सिरियाका बन्दी शिविरहरू पक्राउ परेका इस्लामिक स्टेटका लडाकु् र तिनका परिवारले भरिएका छन् र तिनलाई उचित पुर्पक्षको अवसरसम्म पनि प्रायः दिइँदैन । जतिसुकै गम्भीर अपराधमा संलग्न भएको भए पनि कुनै व्यक्तिलाई कानुनी उपचारको अधिकार नदिनु उसको मानव अधिकारको हनन गर्नु हो । अझ बाबुआमाको कारण बालबालिकाको भविष्य निषेध गर्नु त झन् समाजमा दशकौंसम्मका लागि प्रतिशोधको निरन्तरता निश्चित हो । 

गत शताब्दीमा मेरो मुलुक जोर्डनले प्रत्येक दशकका कम्तीमा एउटा युद्ध र त्यसको असर भोगेको छ । हामीले पानीको चर्को अभाव र केही गरिबी हुँदाहुँदै पनिविभिन्न द्वन्द्वका पीडित दसौं लाख शरणार्थीलाई स्थान दिएका छौँ । सरकारहरू प्रायः धेरैजसो अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव अधिकारको सुरक्षाका लागि आवश्यक भौतिक सुरक्षा व्यवस्था मिलाउन विफल हुँदा पनि त्यसको औचित्य पुष्टि गर्न खोज्छन् । 

यो गलत द्वैध चरित्र हो । संयुक्त राष्ट्र मानअधिकार आयुक्त जैद राद अल हुसेनले गत वर्ष पदत्याग गर्नुअगाडि भनेजस्तै ‘‘ यी नेताहरूले जब मानव अधिकार र मानव अधिकार कानुनको अवज्ञा गर्छन्  ... तिनले आफ्नो समाजलाई हिंसा, विध्वंश, शोषण र विपत्तिको फर्काएर आफ्नै जनताको रक्षा गर्नसक्ने संरचना भत्काउँदै हुन्छन् । ’’
जेनेभा महासन्धिको समर्थन युद्ध कसरी लडिन्छ भनेरमात्र हैन तिनको अन्त्य कसरी हुन्छ भन्नका लागि पनि महत्त्वपूर्ण हुन्छ । अहिले युद्ध लम्मिदै गएको समयमा मानवीय सहायता आपूर्ति र सुरक्षाको सुनिश्चतताका लागि नेतृत्वको जवाफदेही सधैँभन्दा बढी महत्त्वपूर्ण भएको छ । 

यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माताहरूले नयाँ मानवताको सिद्धान्तलाई केन्द्रमा राख्नुपर्छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘संरक्षणको जिम्मेवारी’लाई ‘सम्मानको जिम्मेवारी’का रूपमा लिनुपर्छ । यसले सरकारहरूलाई तत्कालको द्वन्द्वको क्षेत्रभन्दा बाहिर सामाजिक न्यायप्रति प्रतिबद्ध गराउनुपर्छ ।

परन्तु, मानवताको सिद्धान्त कार्यान्वयनका लागि राज्य र गैरराज्यपक्षका साथै द्वन्द्व समाधान विज्ञ, व्यापसायिक र निजी क्षेत्रको नेतृत्व तथा सामान्य नागरिक सबैलाई समेट्ने अवधारणा अपनाउनुपर्छ । यसको तात्पर्य के हो निस्पृह रहने विकल्प हुँदैन र सबैले न्यायको माग गर्नुपर्छ । हाम्रो दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छैन भन्दैमा हामी अत्याचारलाई चुपचाप बेवास्ता गर्न सक्तैनौ । 

महात्मा गान्धीले यसलाई स्पष्टसँग भनेका छन् – ‘‘ मानवता एउटा अविभाज्य र अविभक्त परिवार हो र अरूका गलत कार्यका लागि हामी सबै जिम्मेवार छौँ ।’’ एक जनामाथि भएको आक्रमणलाई हामीले सबैमाथि भएको आक्रमण मान्नुपर्छ । र, कैयौं मुलुकहरूमा व्याप्त हिंसाको दुश्चक्र अन्त्य गर्न मानव जीवन, वातावरण र भावी सन्तानको सम्मान गर्ने संसारको जग बसाउनुपर्छ । 

हामीले यो वर्ष भर्सेलिसको सन्धि र सन् १९४९ को जेनेभा महासन्धिको वार्षिकोत्सव मनाउँदा यी घटनाहरू आफैँमा साध्य हैनन् भन्ने स्वीकार गर्नुपर्छ । वार्षिकोत्सव विजयको घोषणा हैन बरु सबै मानव जातिको मर्यादाको सममान र अधिकारको प्रवर्धन गर्ने अवसर हो । 

अझै गर्नुपर्ने धेरै बाँकी छ । धेरै मुलुकहरूमा एक्काइसौं शताब्दी मानवताका लागि ‘कालरात्री’ हुनपुगेको छ । ‘हामी सबै बन्धु हौँ’ भन्ने अर्थात् विश्वबन्धुत्वको पुरानो तर सरल सत्य अपनाएर उज्यालोको दियो जलाउने हाम्रो कर्तव्य हो । 

(अरब थप फोरमका संस्थापक अध्यक्ष)

Copyright: Project Syndicate, 2019.


 

प्रतिकृया दिनुहोस
ad