संगीत तथा रोयल्टी संकलन समाज लोभले डुब्न लाग्यो

संगीत तथा रोयल्टी संकलन समाज लोभले डुब्न लाग्यो

गीतसंगीतको रोयल्टी उठाउनका लागि गठन गरिएको संस्था संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको प्रश्न उठ्यो । पारदर्शिता नभएको भन्दै समाजका पूर्व पदाधकारी तथा सदस्यहरुले प्रश्न उठाएपछि जेठ ५ गते समाजले विशेष साधारणसभा बोलायो । सभामा समाजकै पूर्व पदाधिकारी तथा सदस्य लक्ष्मण शेषले रोयल्टीबापत संकलनमा  रकम हिनामिना भएको भन्दै त्यसको जवाफ माग गरे । पूर्व अध्यक्षहरुले पारदर्शी हुन सुझाव दिए । साधारणसभाले आर्थिक वर्ष ०७४–०७५मा भएको आर्थिक गतिविविधिको छानविन गरी दोषिलाई कारबाही गर्न रजिष्टारको कार्यालयलाई चिठ्ठी पठाउने, यातायात रोयल्टीबाट संकलन भएको रोयल्टीको २० प्रतिशत रोयल्टी रकम अग्रज श्रष्टालाई योगदानका आधारमा वितरण गर्ने मापदण्ड बनाउने र वर्तमान कार्यसमितिको आर्थिक गतिविधि नियमनका लागि गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा संयोजक रहनेगरी संगीतकार संघका अध्यक्ष शान्तिराम राई र संगीतकार लक्ष्मण शेष सदस्य रहेको समिति गठन गर्यो । संगीतकार शेष संगीत तथा रोयल्टी संकलन समाजको सुरेश अधिकारी अध्यक्ष रहेको कार्यसमितिमा बसेर ७वर्ष काम गरेका व्यक्ति हुन् । एक महिना कोषाध्यक्ष र बाँकी समय सदस्य भएर काम गरेका उनी स्वयम् अहिले सोही संस्थामा आर्थिक पारदर्शिता नरहेको बताउँदै आएका छन् । उनै संगीतकार शेषसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः  

संगीत तथा रोयल्टी संकलन समाजमा तपाईंले असन्तुष्टि राखिरहनु भएको छ, किन ?
त्यसको एउटै मात्रै कारण छ– अपारदर्शिता । अहिलेको संसार डिजिटल संसार हो । डिजिटल हुनुभनेको पारदर्शी हुनु पनि हो । हिजोको दिन लेजरमा कलमले हिसाब राख्दा अर्कै थियो । अहिले त्यो समय छैन । एक क्लिकमा संसार हेर्न पाइन्छ । एक क्लिकमा विश्वभरको सूचना लिन पाइन्छ । यस्तो समयमा श्रष्टाको बौद्धिक सम्पत्तिको कमाई रोयल्टीमा आउने हो । यो सुकासुकामा हिसाव हुन्छ । बौद्धिक सम्पत्ति पारदर्शी हुनुपर्छ । संसारको जुनसुकै ठाउँमा बसेको श्रष्टाले मेरो सिर्जनाले कहाँ कहाँ कति व्यवसाय गर्यो भन्ने जानकारी राख्न पाउनुपर्छ । कुन देशमा कति हेरिए, सुनिए, कति प्रयोग भयो र कहाँबाट कति रोयल्टी उठ्यो जान्न पाउनु व्यक्तिको अधिकार हो । यो अधिकार व्यक्तिले आफ्नो हातमा रहेको मोबाइल अथवा रोयल्टी संकलन समाजले तोकेको ठाउँबाट हेर्न पाउनुपर्छ भन्ने मेरो आवाज हो । 

तपाईं स्वयम् सात वर्ष कार्यसमितिमा बसेर काम गरेको संस्था पारदर्शी भएन भनेर भनिरहनु भएको छ । श्रष्टाको संस्थामाश्रष्टा नै छन् तर श्रष्टाले विरोध गरिरहनु परेको छ । किन यस्तो अवास्था आयो ?
लोभ नै मुख्य कारण हो । सामाजिक सेवामा बसेपछि त्यागको भावना पनि हुनुपर्छ । सेवामूलक कार्य गर्छुभनेर जिम्मेवारी लिएपछि त्यसबाट हामीले क्षतिपूर्ति लिनुहुँदैन । मैले यो गरेँ, त्यो गरेँ, दुःख गरेँ भनेर त्यसबाट लाभ लिनु हुँदैन । लोभले संस्थालाई नै डुबाउन लाग्यो ।

२५ प्रतिशत कार्यालय व्यवस्थापनमा छुट्याउँदा पनि त्यसबाहेक खर्च भइरहेको हो ?
विधानमा २५ प्रतिशतभन्दा धेरै प्रशासनिक खर्च गर्न पाइँदैन भन्ने स्पष्ट उल्लेख छ । तर यहाँ त ७५ प्रतिशतसम्म प्रशासनिक खर्च भएको पाइएको छ । कार्ययोजना बनाएर त्यो पास भएपछि मात्रै कार्यक्रममा पनि खर्च गर्न पाइन्छ । तर यहाँ मनलागी खर्च गरेको पाइयो । पहिला नर्वेजियन एक संस्थाले सहयोग दिँदा हामी नियमावलीअनुसार नै चल्दै आएका थियौं । तर अहिले अवस्था त्यस्तो रहेन । 

यो आरोप लगाइरहँदा तपाईं पनि त्यही कार्यसमितिमा त हुनुहुन्थ्यो नि !
त्यतिबेला जुन समय हामी अत्यन्तै दुःखमा थियौं । संगीत तथा रोयल्टीसंकलन समाजलाई स्थापित गर्न संघर्ष गरिरहेका थियौं । त्यो बेला अहिलेको जस्तो अवस्था थिएन । रोयल्टीका लागि ठूलठूला निर्णय र परिणाममुखी काम गरेको छ । परिणाममुखी कामले रोयल्टी संकलनको बाटो खुल्यो । विडम्बना त्यही कार्यसमिति भित्रैका केही साथीमा लोभ पलायो र कार्यसमितिको अनुमति नलिई, लिखित माइन्युट नबनाई अबैधानिक तरिकाले मनपरी चेक काटेर खर्च गर्न थालियो । सामाजिक निर्णयहरु सामूहिक रुपमै हुन्थे तर खर्च हुने कुरामा धेरैलाई जानकारी नै हुँदैन थियो । 

साधारणसभा हुनुभन्दा अगाडि मैले साढे पाँच लाख रुपैयाँको बेरुजु देखेँ । म पनि दुईचार लाख रुपैयाँ खाउँ न भनेर लामो हात गरेको भए अहिले पनि यो कुरा आउँदैन थियो । पारदर्शिता हुनुपर्छ भनेर मैले भनेपछि यी कुराहरु आएका हुन् । म स्पष्ट भन्छु, यो कुनै व्यक्तिका बीचमा भएको द्वन्द्व हैन यो प्रवृत्तिबीचको द्वन्द्व हो । 

यसले अब आफू पनि पैसा खाँदैन र हिसाव पनि छोड्दैन भनेपछि समस्या आयो । कार्यसमितको कोषाध्यक्ष भएको एक महिनामै मलाई कारबाही गरेर कार्यसमिति सदस्यमा सिमित गरियो । 

त्यसोभए संगीत तथा रोयल्टी संकलन समाजभित्र हुने भ्रष्टाचार अडिटले पनि देखाउँदैन ?
३१ पेजको प्रतिवेदनमा कमजोरी मात्रै देखाइएको छ । यो गर्न हुँदैन, त्यो गर्न हुँदैन थियो । यसो गरेको भए हुन्थ्यो भन्ने कमजोरी मात्रै औँल्याइएको छ । प्रतिवेदन नै फरक फरक छ । फरक फरक प्रतिवेदनमा फरक फरक हिसाव छ ।

अडिट रिपोर्टले सबै हिसाव ठिक भनेर देखाएको छ भनेर रोयल्टी समाज दाबी गर्छ नि ! 
मैले जति कुरा भनिरहेको छु त्योभन्दा धेरै कमेन्ट छ अडिट रिपोर्टमा । म त अरुको नाम किन लिनु । बन्दै गरेको करिअरमा किन धक्का दिनु भनेर चुप लागेर बसेको थिएँ । तर मैले भनेभन्दा १० गुणा बढी समस्या भएपछि बोल्न बाध्य भएको हुँ । उहाँहरुले गर्नु भएको दाबीको कुरामा सूचनाको हक तपाईंलाई पनि छ, प्रतिवेदन लगेर अध्ययन गर्न सक्नुहुन्छ । 

दुईथरी प्रतिवेदन छन् । प्रतिबेदन त एउटै हुनुपर्छ नि हैन र ? दुईचार जनाबाहेक कसैको हातमा छैन प्रतिवेदन । 

यातायातबाट रोयल्टी उठाउन थालेपछि ठूलो परिमाणमा रोयल्टी उठ्न थालेको छ । एक वर्षमा बाँड्ने भनिएपनि मापदण्डको अभावमा अझै बाँडिएको छैन । मापदण्ड किन बनाउन सकिएन ?
इच्छा शक्ति हुनुपर्छ । जिम्मेवारीमा रहेको व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । श्रष्टाको रोयल्टी उठाएर बाँड्ने मेरो जिम्मेवारी हो भने त्यो जिम्मेवारी निभाउन सक्नुपर्छ । 

सात वर्ष काम गरेँ । जहिले पनि मापदण्ड मापदण्ड भनियो । कहिले पनि बनेन । शंका गर्ने ठाउँ छ, मापदण्ड बनाएपछि बाँड्नुपर्छ । बाँडेपछि पैसा नै रहँदैन । अनि अहिलेको जस्तो अरुको पैसा फजुल खर्च गर्न पाइँदैन । दुईचार जना सिनियर राखेर छलफल गर्ने र दुईचारवटा राष्ट्रको प्राक्टिस के छ भनेर अध्ययन गर्यो भने मापदण्ड बनाएर रोयल्टी वितरण गर्न कठिन छैन । यो अधिकार समाजमै निहित छ । काम गर्न कसैले छेकेको छैन । 

तपाईंले यसो भनिरहँदा अधिकांश श्रष्टा किन चुप लागिरहनुभएको छ ?
आफ्नै साथीभाइका विरुद्ध के बोल्नु, जेसुकै गरुन् भनेर सबै बसिरहेको अवस्था थियो । तर मेरो स्वाभाव त्यस्तो छैन । जे हो त्यो बोल्नुपर्छ । अन्याय भएको छ भने आफ्नै बाउ वा श्रीमती जो भए पनि छोड्नु हुन्न भन्ने मेरो विचार भएकाले म बोलेँ । किन भने हामी पनि नबोलेर कतिञ्जेल अँध्यारोमा बस्ने । त्यसैले यो प्रवृत्तिको अन्त्यका लागि पनि मैले बोल्नु परेको हो । आज म बोलेँ, भोलि अर्कोले बोल्छ । समात्दै कुट्दै गर्न मिलेन । कुरा उठाउने साधारणसभामा हो । त्यहाँ मैले उठाएँ । विशेष साधारणसभामा कारबाहीको माग गरेर निर्णय पनि गराएको अवस्था छ । 

लामो समयदेखि वेथिती थियो भने किन त्यहीबेला आवाजउठाउनु भएन ?
समाजमा त मैले उठाइरहेको थिएँ । तर सुनुवाई भएन । साधारणसभामा उठाउने कुरा हो यो । साधारणसभामा डोनर पनि हुने भएकाले उसले संस्थामा बेथिती भयो भन्यो भने त उसले दिँदै आएको सहयोग रकम पनि बन्द हुन्छ । संस्था नै बन्द हुन्छ भने आफै बसेको जहाजमा प्वाल पार्नुहुन्न भन्ने लागेर भनिन । अब रोयल्टी रकम उठ्न थाल्यो त्यसैले यो उपयुक्त समय आयो भनेर भनेँ । 

अब यो समस्याको समाधान तत्काल होला त ?
यो समस्याको जिम्मेवारी प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयले लिनुपर्छ । सरकारले बनाएको संरचना हो । रोयल्टी निर्धारण गर्ने, संकलन गर्ने र वितरण गर्ने संस्थालाई सरकारले नियन्त्रण र नियमन गर्नुपर्छ । यो अधिकार उसमा छ । सरकारले गठन गरिदिएको संस्था हुनाले यो अर्धसरकारी संस्था हो । नियम कानुन र नियमावली विपरित गएर खर्च गर्नेलाई सरकारी नियम अनुसार आर्थिक अपचलनको मुद्दामा दण्ड गर्नुपर्छ भन्ने हामीले विशेष साधारणसभाबाट निर्णय गरेका छौं । 

रजिष्टारको कार्यालयबाट नियमन, नियन्त्रण र कारबाही भएन भने सारा श्रष्टा अख्तियार जानेछन् र सामूहिक रुपमा निवेदन दर्ता गरेर राज्यसँग आह्वान गर्नेछन् हामीलाई पारदर्शी र अनुशासित गराइदेऊ र हाम्रा लागि यो संस्था हाम्रो हो भन्ने अपनत्व हुने वातावरण बनाइदेऊ भनेर । 

अहिले समाजमा नयाँ कार्यसमिति आएको छ । यसले काम भर्खर सुरु गरेको छ । यसलाई श्रष्टाको हितमा काम गर्छ भन्ने अपेक्षा छ । 

प्रतिकृया दिनुहोस
ad