बित्थामा देउवाको खोइरो नखनौ ! 

बित्थामा देउवाको खोइरो नखनौ ! 

भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरलाई बधाई दिएको बारे पत्रकारले सोधे भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्थे होलान्– भनेर भन्देखुन्लाई कसैलाई बधाई र शुभकामना दिन पनि नहुने मैले ! 

नेपालका पूर्व प्रधानमन्त्री देउवाले आफूलाई बधाई र शुभकामना दिएको भारतका विदेशमन्त्री डा. जयशंकरले ‘नोट’ सम्म गरे कि गरेनन् तर नेपाली सबैले थाहा पाइसके । भन्नेहरूले भन्न थाले, लेख्नेहरूले लेख्न थाले ‘‘चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कूटनीतिक ‘प्रोटोकल’ ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाए ।’’ 

आफ्नै पार्टीका साथीदेखि ‘अखण्ड सुदूरपश्चिम’का ‘कमरेड इन आर्मस’ ‘बन्दुके काजी’ले समेत उनलाई थुर्न थालेका छन् । बाबा ठाकुरे ! यो शुभकामनामा ‘प्रोटोकल’को कुरा आयो कसरी ? शुभेच्छा व्यक्तिगत विषय हैन ? अब नेपाली कांग्रेसमा कुन पार्टी कुन सभापति ? सबै पार्टी सबै सभापति । यसैले देउवाले जयशंकरलाई शुभकामना पार्टी सभापतिका रूपमा पठाएका हुन् कि पूर्वप्रधानमन्त्रीका हैसियतमा उनका निजी मामिला भएन त ! 

आरोप लगाउनुको पनि हद हुन्छ नि ! ‘‘भारतलाई रिझाउने नाममा’’ सभापतिबाट अशोभनीय काम भयो भने रे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओली प्रधानमन्त्री नियुक्त नहुँदै शुभकामना दिन विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाउँदा अशोभनीय नहुने, कूटनीतिक मर्यादाविपरीत नहुने उल्टै निकट छिमेकीबीचको अनौपचारिक निकटता ठहरिने तर  बिचरा शेरबहादुर देउवाले भारतका विदेशमन्त्री जयशंकरलाई बधाई दिँदा चाहिँ के के भएजस्तो ? 

यस्ता औपचारिकता र मर्यादाको झ्याउलामा अल्झेका भए शेरबहादुर देउपा देउवा नै हुनथेनन् होला । के हुन्छ के हुन्न भनेर जोखाना हेरेर बसेको भए न त देउवाले ‘स्मेक’को मेजमानी मान्न पाउँथे न चारपटक प्रधानमन्त्री हुनै भ्याउँथे । यस्तै, सुरा, सुन्दरी र सयरसपाटाको संस्कृति नेपाली राजनीतिमा प्रबर्धन गर्ने कीर्तिमान पनि कायम गर्न सक्ने थिएनन् । उनले २०५३ सालमा आफ्नै सरकार आफ्नै सदस्यहरूबाट ढाल्ने अवस्था न्याएको भए २०५८ मा दोस्रोपटक प्रधानमन्त्री हुनै पाउँदैन थिए ।

देउवाकै नेतृत्वमा सरकार चुनावसम्म टिकेको भए न एमाले सरकारमा पुग्थ्यो, न सुनको भारी कुनै गृहमन्त्रीले ओसार्थे । सुनको चर नपसेको भए २०५६ को चुनाव पहिले एमाले चर्कने नै थिएन । अनि कांग्रेसले किसुनजीलाई देखाएर बहुमत पाउने पनि थिएन । देउवाको नेतृत्वमा उतिबेला चुनाव भएको भए मुलुक सोझै २०५६ मै २०७४ मा छलाङ माथ्र्यो । त्यसो भएको भए राजा ज्ञानेन्द्रले देउवालाई दुई चोटी ‘असक्षम’ (हुनुपर्ने त ‘अक्षम’ हो तर गोर्खाली राजाकै हुकुम भएपछि त्यही लेखे सबैले) भन्नै पाउँदैनथे । राजाले नहटाएका भए देउवाले ‘गोर्खाली राजाको ’ न्याय’ पाएर तेस्रोपटक प्रधानमन्त्री हुने मौका पनि कहाँ पाउँथे ?

अनि २०५६ मै नेपाली कांग्रेस २०७४ को अवस्थामा पुगेको भए दोस्रो जनआन्दोलन कसरी हुन्थ्यो ? अहिलेको जस्तो ‘लोपान्मुख’ दलले आन्दोलनै गरे पनि कस्ले पत्याउँथ्यो ? अहिलेसम्म ज्ञानेन्द्रकै शासन पो हुन्थ्यो कि ? के थाहा ?

देउवाले देशलाई लगाएका यति धेरै गुन बिर्सेर अहिले बित्थामा खोइरो खन्दैछन् मानिसहरू ! ओरालो लाग्या मृग हुन् र शेरबहादुर देउवा यसरी खेद्न ? 

दिए भने दिए । उत्तराखण्डका सहायक मन्त्रीलाई बधाई दिए भने पनि चिन्ता किन गर्नु ? राष्ट्राध्यक्षको हैसियतमा सबै सुविधा प्रयोग गरिरहेका तत्कालीन राजा ज्ञानेन्द्र उत्तरप्रदेशका मुख्यमन्त्रीलाई ‘दर्शनभेट बक्सन’ लखनौ जाँदा कसैले प्रोटोकलको कुरा उठायो ? प्रधानमन्त्री ओलीसँग हिन्दी सिनेमाका ‘ऐरेगैरे नत्थुखैरे’ले भेट्दा कूटनीतिकमात्र हैन अरू पनि थुप्रै मर्यादा मिचिएको सबैले बिर्से पनि देउवाले त सम्झेका छन् नि ! चीनका विदेशमन्त्रीलाई बधाई दिएका भए कसैले देउवाको आलोचना गर्नेथिएनन् । 

यसैले बित्थामा देउवाको विरोध नगरौ कि ! यसै पनि लोपोन्मुख प्रजातिको त संरक्षण पो गर्नुपर्छ ।          
 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad