विदेश
बग्दाद, १४ असार । इराकमा मङ्गलबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको समाचार छ । बग्दाद नजिकैैको एक मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका नागरिकमाथि लक्ष्यगरी सो आत्मघाती बम हानिएको थियो । त्यसमा परी नौ जनाको ज्यान गएको छ भने अरु २८ जना नागरिक घाइते भएका छन् ।
मारिनेमा उक्त मस्जिदमा प्रार्थनाका लागि गएका सर्वसाधारण नागरिक परेका छन् । सोमबार साँझ उक्त मस्जिदमा सो हमला भएको थियो । हमलामा परी ठूलो सङ्ख्याका नागरिक घाइते भएका र वरपरका पसल एवम् घरमा बसेका नागरिक पनि घाइते भएका बताइएको छ ।
बग्दाद नजिकैको अबु घरिब भन्ने स्थानमा रहेको मस्जिदमा सो हमला भएको थियो । सोमबार मुस्लिम समुदायले रमादानको महिनाको ब्रतको समयमा सो हमला भएको छ ।
आक्रमण गरिएको सुन्नी मुस्लिम समुदायका नागरिकको मस्जिद हो । उक्त मस्जिदमा यसअघि पनि गतवर्ष यस्तै आत्मघाती आक्रमण भएको थियो ।
यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यस्तो प्रकारको हमला यसअघि पनि लामो समयदेखि उक्त क्षेत्रमा आइएसले गर्दै आएको छ ।
त्यसैले यस हमालमा पनि आइएसको हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ । रासस÷एएफपी
प्रकाशित मिति: बुधबार, असार १५, २०७३ ११:५४
प्रतिक्रिया दिनुहोस्