site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस जागरण अभियानः कार्यकर्ताको चोरऔंला नेतृत्वतिरै
Sarbottam CementSarbottam Cement

विराटनगर । देशभर नेपाली कांग्रेसको जागरण अभियान जोडतोडका साथ चलिरहेको छ । कांग्रेस राजनीतिको जग बसाल्ने ऐतिहासिक मानिएको मोरङमा पनि अभियानले गति लिएको छ । 

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौला अभियानको नेतृत्वमा छन् । उनी जागरण अभियानमा आएसँगै कांग्रेसजनमा नयाँ ऊर्जा थपिएको छ । प्रदेश १ भर नियमित कार्यक्रमले गति लिएको छ । पालिकाहरुमा कांग्रेसका कुनै न कुनै कार्यक्रम दिनहुँ भइरहेका छन् । 

पार्टीका पूर्वमहामन्त्री सिटौलाले आफ्ना कुराभन्दा पनि कार्यकर्ता, पार्टीपंक्ति, शुभेच्छुक संस्थाका प्रतिनिधि र कांग्रेसका शुभचिन्तकसँग धारणा माग्न र परामर्श गर्न कुनै कन्जुस्याइँ गरेका छैनन् । उनले ‘विराटनगरले छुट्टै राजनीतिक सन्देश दिने भएकोले सबै व्यवसायिक र बौद्धिक शुभेच्छक संघसंस्थासँग सुझाव लिनुपर्छ’ भन्ने इच्छा जिल्ला समक्ष राखे । जागरण अभियानमा समन्वय गरिरहेको पार्टीको जिल्ला कार्यसमितिले चाँजोपाँजो मिलाइदियो । नेपाल बार एसोसिएसनको सभाहलमा एउटा छलफल कार्यक्रम आयोजना भयो । कार्यक्रमका सहभागीले ‘कार्यकर्ता तहमा खासै धेरै समस्या नभएको बरु नेतृत्वकै कमजोरीका कारण कांग्रेस झन् कमजोर बनेको’ धारणा राखे । प्राध्यापक डा. अनिल पोखरेलले भने, ‘‘नेताहरु माथिबाटै मिलेर आउने हो भने तल समस्या छैन । त्यसैले नेताज्यू, पहिले तपाईंहरु मिल्नुहोस् । यो गुट वा उ गुट भन्ने अन्त्य गर्नुहोस् ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

प्रजातान्त्रिक कानुन व्यवसायी संघका वरिष्ठ वकिल हरि निरौलाले नेपाली राजनीतिको मियो मानिएको ‘कोइरालाको निवास’ रहेको विराटनगरमा पनि कांग्रेसका उपल्लो नेतृत्वबीच एकता नएको बताउँदै भने, ‘‘एउटा नेताले गर्ने कार्यक्रममा गयो, अर्कोलाई रिस उठ्छ । अर्काकोमा गयो, अर्कैले नाक खुम्च्याउँछ । आखिर हामी नेताको पछि लागेको हो कि पार्टीको ?’’ निरौलाले गुट उपगुट सबै मिलाएर वा त्यागेर पार्टीमा एक ढिक्का भएर नेता अग्रपंक्तिमा आउनुपर्ने सुझाव दिए ।

जागरण अभियानअन्तर्गत मोरङमा एउटा गाउँपालिकाबाहेक १६ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेका छन् । तल्लो तहमा अब कस्तो कांग्रेसको खोजी भएको भन्ने सन्देश लिन र तलसम्म पार्टीको अवस्था बुझ्न राष्ट्रिय जागरण अभियान सुरु गरिएको बताउँदै सिटौलाले कांग्रेसका धेरै समस्या महाधिवेशनबाट निर्क्योलमा पुग्ने पनि बताएका छन् । उनी भन्छन्, ‘‘संघीयतामा गइसकेको मुलुक भएपनि कांग्रेसको संरचना त्यसअनुरुप गई नसकेकोले संगठन नै नभएको जस्तो भएकोले जनभावना बुझ्नकै लागि तल जागरण अभियान लिएर आएका हौं ।’’ यसको सकारात्मक प्रभावले पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने पनि सिटौलाको भनाइ छ ।

Global Ime bank

विराटनगरबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता महेश आचार्य सुनसरीमा खटिएका छन् । योबाहेक उनी मोरङमै हुने कार्यक्रमहरुमा पनि पुगिरहेका छन् । सुनसरीको धरानमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताले आचार्यसामु हाकाहाकी भनिदिए– ‘पार्टी र संगठनभन्दा पनि नेताको पछि दौडने प्रथाले कांग्रेस लथालिङ्ग भयो, मिलाउनु पर्यो ।’ आचार्यले जागरण अभियानले कांग्रेसजनमा नयाँ उर्जा थपिने र संगठन बलियो भएर जाने प्रतिबद्धता जनाए । 

अर्का केन्द्रीय सदस्य अमृत अर्याल इलाम पुगेका छन् । अर्याल सहभागी भएका कार्यक्रममा पनि कार्यकर्ताले नेतृत्व वर्गमा भएको कमजोरीमाथि टिकाटिप्पणी गर्ने गरेका छन् । अर्यालले भने, ‘‘पार्टी र संगठनबारे कार्यकर्तामा कति चिन्ता रहेछ भन्ने बुझ्न र नयाँ शिराबाट कांग्रेसलाई अघि बढाउन जागरण अभियान प्रभावकारी हुनेछ ।’’ अर्यालले नेतृत्व र कार्यकता तथा शुभेच्छुकसँग नेतृत्वले एकाकार हुने अवसर प्राप्त गरेको बताए ।

कांग्रेसको विराटनगर कमिटीले हालै आयोजना गरेको कार्यक्रममा कार्यकर्ताले आफ्ना कुरा सुन्न दबाब नै दिएका छन् । जागरणका लागि गरिएको कार्यक्रममा नेताले आफ्ना कुरामा बढी केन्द्रीत भएपछि होहल्ला नै हुन पुग्यो । ‘नेताले कार्यकर्ताको कुरा सुन्नुपर्छ’ भन्दै कार्यकर्ताले दबाब दिएर आफ्ना कुरा राखे । विराटनगर–१७ का बुथ सभापति समाउद्दिनले ‘कार्यकर्तालाई नभएर नेतालाई नै जागरण आवश्यक छ’ भनेपछि अधिकांश सहभागीले उनको समर्थन गरेका थिए । धेरै कार्यक्रमहरुमा तल्लो तहबाट नेतृत्व वर्गको रवैया र गुटउपगुटबारे नै चर्चा हुने गरेको छ । चुनावमा गलत ढंगले आफ्नै उम्मेदवार हराउन सक्रिय भएकालाई कारवाही नभएको र पार्टीमा अनुशासनको कमी हुन थालेका विषयले पनि प्रमुखता पाउने गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला जागरण अभियानबारे भन्छिन्, ‘‘पार्टीलाई नयाँ जीवन दिन पनि जागरण अभियानको छुट्टै महत्व छ । तर, तलबाट नेतृत्वमै जागरण आउनुपर्ने भन्दै सुझाव आउन थालेको छ । खासगरी पार्टीभित्रको गुट र उपगुटबारे तल निकै ठूलो असन्तुष्टि देखिन्छ । यसलाई मिलाएर सबै नेता एक भएर आउन कार्यकर्ताले दबाब दिन थालेका छन् ।’’ मुलुक संघीय गणतन्त्रमा गएपनि कांग्रेस भने यो संरचनामा रुपमान्तरण हुन ढिलाइ भएको भन्दै कार्यकर्ता मनोभाव व्यक्त भएको पाइएको छ । 

कांग्रेसमा सक्रिय कार्यकर्ताको पिरमर्का बुझ्नु पर्ने, भ्रातृसंघ संगठनलाई चुस्त बनाइ नेतृत्व दिइनुपर्ने, पार्टीलाई संघीय संरचनामा लैजान ढिलाइ गर्न नहुने र महाधिवेशन समयमै हुनुपर्ने तलबाट सुझाव आउने गरेको कांग्रेसका मोरङ जिल्ला सचिव मोदराज घिमिरे बताउँछन् । भन्छन्, ‘‘जागरण अभियान लिएर गाउँगाउँसम्म केन्द्रीय नेता आउँदा गुनासोसँगै सुझाव दिने कामले समेत गति लिएको छ । पार्टी जीवनका लागि यो ठूलो अवसर पनि हो ।’’ जागरण अभियान गत वैशाख २५ गतेदेखि सुरु भएको हो । पहिलो चरणमा यो अभियान एक महिनासम्म चल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC