site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 बूढानीलकण्ठजस्तो समावेशी दोस्रो विद्यालय छैन

बूढानीलकण्ठ स्कुल देशको एउटामात्रै यस्तो विद्यालय हो जसले मजस्तो तराईको सानो गाउँको कृषक परिवारको छोरालाई कुनै भेदभाव नगरी राष्ट्रियअन्तर्राष्ट्रिय अवसरको ढोका खोलिदियो । काठमाडौंमा मेरो पहिलो घर नै बूढानीलकण्ठ स्कुल हो जहाँ सबैलाई समान व्यवहार र अवसर प्रदान गरिन्थ्यो । अहिले पनि गरिन्छ । 

यस राष्ट्रिय विद्यालयले देशको सबै भूगोल (हिमाल, पहाड र तराई) तथा आर्थिक हिसाबले सम्पन्न वा विपन्न (पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र सशुल्क) लाई समान अवसर दिएको छ । सबै जिल्लाका विद्यार्थीको प्रतिनिधित्व यस विद्यालयमा हुने गर्छ । विभिन्न जातजाति, शासक र शासित सबैखाले विद्यार्थीले यस विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् । यहाँ सबैलाई समान अवसर प्रदान गरिन्छ । 

किन महत्त्वपूर्ण छ बूढानीलकण्ठ स्कुल ?
देशमा भएको राजनीतिक, आर्थिक परिवर्तन र त्यसले ल्याएको विकासको नयाँ अवधारणामा यस्तो दोस्रो विद्यालयको न त परिकल्पना नै भएको छ न त यस्तो समावेशी शैक्षिक अवधारणा बनाउन नै सकिएको छ । यस्ता सफल परियोजनामा विकासे संस्था र दातृ निकायको समेत रुचि छैन । आजको दिनमा त यस्तो समावेशी संस्थाले आफ्नो उद्देश्यबाट नै विचलित हुने हो कि भन्ने डर पैदा भएको छ ।

Agni Group

 यस विद्यालयमा हुने राजनीतिकरणले ग्रामीण नेपाली बालबालिकाको शिक्षा र क्षमतावान विद्यार्थीले समान अवसर पाउने अधिकारलाई वञ्चित गर्छ भने त्यो देशको लागि धेरै ठूलो क्षति हो । यस विद्यालयका अधिकांश विद्यार्थी नेपालमा बसेर काम गरिदिएको भएमात्रै पनि नेपालमा धेरै परिवर्तन आउने थियो र आज देश अन्तर्राष्ट्रिय स्तरमा राम्रो हैसियतमा हुने थियो । 

यही विद्यालयले मलाई गाउँदेखि राजधानीसम्म ल्यायो । यस विद्यालयको स्थापित मान्यता र लक्ष्यलाई बचाउन मैले गाउँ नै फर्किनु पर्ने अवस्था आयो भने सायद त्यो आफैँमा सुखद् हुनेछ । यो अभियान देशको र आगामी पुस्ताको भविष्यको लागि हो ।

Global Ime bank

हाम्रो जीवनमा समानता र समावेशीताको मूल्यमान्यता सिकाउने मेरो विद्यालयलाई मनैबाट नमन गर्न चाहन्छु । आजको घडीमा हामी सबै यस विद्यालयप्रति कृतज्ञ बनौ । यस अभियानमा साथ दिऔँ ।

सानो कृषकको छोरालाई अवसरको ढोका 
मलाई अहिले पनि राम्रोसँग याद छ । जनकपुरमा पढ्दै थिएँ म । काठमाडौंको बूढानीलकण्ठ स्कुलको बारेमा सुनेको थिएँ र आफू पनि बूढानीलकण्ठ स्कुलमा पढ्ने अठोट गरेको थिएँ । तर, म पढ्ने स्कुलको प्रधानाध्यापक मेरोविरुद्ध उभिनुभयो । सिंगो कक्षाको अगाडि मलाई बूढानीलकण्ठ स्कुलमा मेरो भर्ना रोकिदिने घोषणा गरिदिनुभयो र त्यसको लागि जे पनि गर्न तयार रहेको कुरा गर्नुभयो । मेरो उमेर नौ दश वर्षको मात्र थियो । प्रधानाध्यापकको त्यस व्यवहारले गर्दा जसरी पनि बूढानीलकण्ठ स्कुलमा भर्ना भएर देखाउने प्रण गरेँ मैले । 

बूढानीलकण्ठ स्कुलको प्रवेश परीक्षामा दुई पटक पास पनि भएँ तर जनकपुरमा मैले पढेको स्कुलको प्रअले कागजात बिगारेर पठाउँदा भर्ना भने हुन पाइनँ । केही वर्षपछि कक्षा ७ को लागि फेरि भर्ना तयारी गरेँ र प्रवेश परीक्षा दिएँ । त्यतिबेलासम्म केही परिपक्व भइसकेको थिएँ, त्यसैले म आफैँले कागजात राम्रोसँग हेरेको थिएँ । तेस्रो प्रयासमा मलाई कसैले रोक्न सकेन । अन्ततः म बूढानीलकण्ठ स्कुलमा भर्ना हुन सफल भएँ ।

म बूढानीलकण्ठ स्कुलमा २०४९ साल वैशाखमा भर्ना भएर २०५६ पुसमा पासआउट भएको थिएँ । म सोही स्कुलको पूर्व विद्यार्थी भएको र उक्त स्कुल नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय गौरवको शैक्षिक संस्था भएकाले सार्वजनिक हितको लागि सूचना माग गरेको हुँ । 

सूचना आयोगमा पुनरावेदन
देशकै प्रतिष्ठित तथा देशभरका विद्यार्थी अध्ययन गर्ने बूढानीलकण्ठ स्कुलको प्रधानाध्यापक (प्रिन्सिपल) छनोट पारदर्शी नभएको र राजनीतिक चलखेल भएकोले एक पूर्व विद्यार्थीको हैसियतले मैले प्रिन्सिपल छनोट प्रक्रियाको जानकारी माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरेको छु । 

उक्त सूचना माग गरी शिक्षा मन्त्रालय र बूढानीलकण्ठ स्कुलमा नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ को उपयोग गर्दै निवेदन पेस गरेकोमा कानुनले तोकेको समयावधि (२१ दिन) मा सूचना उपलब्ध नगराइएकोले मैले आयोगबाट आदेशको माग गरेको हुँ ।

नागरिकले कुनै पनि सार्वजनिक महत्त्वको विषयमा मागेको सूचना सम्बन्धित निकाय वा कार्यालयले कानुनले तोकिएको समयभित्र उपलब्ध नगराएको खण्डमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ ।

बूढानीलकण्ठ स्कूलको २०७६ वैशाख १७ गते घोषणा भएको प्रधानाध्यापक छनोटमा सहभागी सम्पूर्ण निवेदकहरूको प्रारम्भिक चरणदेखि नतिजा घोषणासम्मको प्राप्ताङ्क, निवेदकहरूले दिएको प्रस्तुतीकरण, उहाँहरूले हासिल गरेको स्थान (नतिजा) तथा छनोट विधि र प्रक्रियाको प्रतिलिपि र आवेदकहरूले हासिल गरेको प्राप्ताङ्क र नतिजाको आधार मैले माग गरेको छु । 

मैले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वैशाख १९ गते सूचनाको हक प्रयोग गर्दै सूचना माग गरेको थिएँ । मन्त्रालयले वैशाख २० गते पत्र जारी गर्दै उक्त सूचना बूढानीलकण्ठ स्कुलमा रहेको जानकारी गराएको थियो । मन्त्रालयको पत्रको बोधार्थ स्कुललाई पनि दिइएको थियो । त्यसपश्चात् मैले २०७६ जेठ जेठ ७ गते बूढानीलकण्ठ स्कुल व्यवस्थापन समितिका अध्यक्षसमक्ष सूचना माग गर्दै पुनरावेदन गरेको थिएँ । बूढानीलकण्ठ स्कूलबाट त्यसको सात दिनभित्र सूचना उपलब्ध हुनुपर्नेमा दश दिनभित्र पनि सूचना उपलब्ध नगराइएकोले आयोग समक्ष निवेदन दिएको हुँ । 

स्कूलको जमीनमाथि प्रधानमंत्रीको प्रश्न
२०७६ वैशाख १७ गते ५ वर्षका लागि बूढानिलकण्ठ स्कुलको प्रधानाध्यापक छनोट भएकोमा त्यसको एक साता नबित्दै २०७६ वैशाख २४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित संसदमा ५७० रोपनी जमिन र ५ करोड रुपैयाँ एउटा स्कुललाई किन दिने भन्दै प्रश्न उठाउनुभएको छ ।

साथै उहाँले बूढानीलकण्ठ स्कुलको विद्यार्थी छनोट प्रक्रियामा पनि प्रश्न गर्नुभएको छ । देशभरका हजारौं सामुदायिक विद्यालयमध्ये प्रधानमन्त्रीले एउटाको मात्रै नाम लिनु संयोगमात्रै नहोला कि !

(बूढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थी ) 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC