site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झुक्किएर भएका पत्रकार
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


‘कखरा’ चिन्दै देवप्रकाश त्रिपाठी चित्र पनि कोर्थे । लाइन कपीमा डटपेनको सहाराले चित्र बनाउँथे । साथीभाइ तथा ठूलाबडाले ‘आहा !’ भन्दिन्थे, उनी दंग पर्थे । झन् जोसिन्थे चित्र कोर्न । पढ्नमा भन्दा चित्र कोर्नमै बित्थ्यो धेरै समय ।

कक्षा चढ्दै गएपछि पाठ्यपुस्तकमै अरनिकोको बारेमा पढ्नु पर्‍यो । अरनिकोको ख्याति नेपाली भूगोल पार गरेर चीनसम्म पुगेको थियो । देवप्रकाशमा चित्रकलाको मोहले सगरमाथा नाघ्यो । ठूलो नाम कमाउने कलाकार बन्ने रहर झनै झांगियो ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवस्थाले त कोल्टे फेरेको थिएन तर परिस्थितिले कोल्टे फेर्‍यो । पञ्चायतविरुद्ध आन्दोलन चलिरहेको थियो । ‘देश बनाउन अरूले सक्दैनन्, हामीले नै बनाउने हो’ भन्ने युवाजोश थियो । त्यसमा पनि आफ्नै काकाले मलजल गरे । काठमाडौंमा देव गुरुङ र पम्फा भुसालको संगतमा रहेका काका उनीहरूबाट प्रभावित थिए । देवप्रकाश काकाबाट प्रभावित थिए । अन्ततः उनी अखिल छैटौंमा लामबद्ध भए ।

परिणाम— कक्षा ९ मा पढ्दै गर्दा १६ वर्षको उमेरमै प्रहरी हिरासतमा पुगे । प्रहरीले मुद्दा चलायो । छुट्न त छुटे तर तारिखमा ।

Global Ime bank

“देश बनाउन पञ्चहरूले सक्दैनन्, हामीमात्रै सक्छौं भन्ने अनुभूति हुन्थ्यो,” युवाजोश र त्यसको परिणामको विगत सुनाउँछन् देवप्रकाश, “०३६ देखि ०४६ मा १८ पटक पक्राउ परें । एकपटकमा कम्तीमा दुई रातदेखि बढीमा १७ रातसम्म थुनामा परें । जेल दुईपटक परें । दुईपटक गरेर डेढ वर्ष जेल बसें ।”

चित्रकार कि नेता ?

०३७ सालमा एसलएसी दिए । ०३९ सालमा धादिङको मलेखु छोडेर उनी ठूलो कलाकार बन्ने सपनाको छड्के झोला बोकेर काठमाडौं छिरे । पाटन संयुक्त क्याम्पसमा भर्ना भए । जब क्याम्पस भर्ना भए, उनको मनमा द्विविधा पैदा भयो ।

कस्तो दुविधा ?

आन्दोलनमा लागिएको छ, नेता बन्ने कि अरनिकोजस्तो महान् कलाकार ? मनमा वेचैनी थियो । तर, यी दुई कुराको पनि विकल्पचाहिँ रहेछ उनमा । कलाकार र नेता दुवै बन्न नसके व्यापारी बन्ने विकल्प ।

सामान्यतः कसैले पनि भविष्यमा ‘यो बन्दिनँ’ भन्दैन, ‘यो बन्छु’ मात्रै भन्छ । तर, उनले ‘योचाहिँ बन्दिनँ’ भन्ने संकल्प गरेका थिए । 

के ?

पत्रकार । 

कारण ?

भारतले नेपालमा नाकाबन्दी गरेको थियो । नाकाबन्दीले नेपालीको जनजीवन प्रभावित हुन थालेको थियो । अखिलको नेता थिए देवप्रकाश । दुई–तीन वटा विद्यार्थी संगठनका केन्द्रीय नेतासँग छलफल थियो । त्यो छलफलमा देवप्रकाश आफैंले प्रस्ताव राखे, “नाकाबन्दीको विरोधमा विरोधसभा गरौं । त्यो सभा त्रिचन्द्र कलेजमै गरौं ।”

त्यो बेला देवप्रकाश त्रिचन्द्र कलेजमै पढ्थे । विरोधसभा गर्ने निर्णय भयो । त्यसको हाते प्रचारको शब्द लेख्ने जिम्मा उनकै काँधमा आयो । अर्को दिनका पत्रपत्रिकामा समाचार आयो, “पञ्चायतले विद्यार्थी नेतालाई पैसा दिएर नाकाबन्दीविरुद्ध क्रियाशील गराएको छ ।”

देवप्रकाश आफैंले विरोधसभा गर्ने प्रस्ताव गरेका थिए । न पञ्चायतले पैसा दिएको थियो न उसले विरोधसभा गर्न लगाएको नै थियो ।

देवप्रकाशमा रिसको पारो जति चढेको थियो, त्योभन्दा धेरै त कसरी यो हावादारी समाचार आयो भनेर अचम्म लाग्यो । “यदि त्यो विरोध सभाको प्रस्ताव मेरै कोही साथीले गरेको भए पनि म शंका गर्ने रहेछु त्यो समाचार आएपछि,” अचानक आएको तथ्यहीन समाचारले आफूमा पारेको प्रभाव सम्झिन्छन् उनी ।

त्यही दिन देवप्रकाशले अठोट गरे, “म जीवनमा जेसुकै भए पनि कम्तीमा पत्रकारचाहिँ झुक्किएर, बिर्सिएर पनि बन्दिनँ ।”

उनलाई लागेछ— पत्रकारिता त कतैबाट परिचालित भएर कलम चलाउने पेशा रहेछ !

पत्रकार नबन्ने अठोट गर्नुको कारण स्पष्ट पार्छन् उनी, “मलाई पो थाहा छ त मैले कसैको पैसा खाएको छैन भन्ने कुरा । अरूलाई कसरी विश्वास दिलाउनू ? त्यसैले गलत कुरा बाहिर ल्याउने यो पेशामा जानु हुँदैन भन्ने लाग्यो ।”

यति बेलासम्म समय, परिस्थिति र संगतले उनको बालवयको सपनामा तुँवालो लागिसकेको थियो । चित्रकार हुने रहर अब शोखमा परिणत भइसकेको थियो । चित्रकार कि नेता ? मनको द्विविधा हटिसकेको थियो । नेता हुने उत्कट चाहनाले जरो गाडिसकेको थियो । केन्द्रीय  सदस्य, केन्द्रीय उपाध्यक्ष हुँदै उनी अखिल छैटौंको केन्द्रीय को–अर्डिनेटर बने । लीलामणि पोखरेल अध्यक्ष हुँदा उनी केन्द्रीय सदस्य र  गिरिराजमणि पोखरेल अध्यक्ष हुँदा केन्द्रीय उपाध्यक्ष थिए । 

हरिहर विरहीसँगको भेट

०४४ मा भद्रगोल जेलमै देवप्रकाशको भेट हरिहर विरहीसँग भयो । भेटेले उनीहरूलाई चिनजानमात्रै गराएन, गठिलो मित्र बनाइदियो । बेलाबेलामा घेटघाट र राजनीतिक छलफल भइरहन्थे ।

०४६ मा ‘विमर्श’बाट हरिहर विरही हटाइए । आफूलाई हटाउने टोलीलाई नै हटाएर विरही आफैं ‘विमर्श’ प्रकाशन गर्न थाले । चिनजान भएको साथीका हिसाबले केही समयका लागि सहयोग गर्न भनेर देवप्रकाश ‘विमर्श’ पुगे । समाचार लेख्न थाले । समाचार, सम्पादकीय र अन्तर्वार्ता लेख्न थाले ।

देवप्रकाश हरिहरलाई आफ्नो पत्रकारिताका गुरु ठान्छन् । त्यसैले उनको कार्यकक्षको भित्तामा अहिले पनि हरिहरको तस्बिर झुन्ड्याइएको छ ।

०४६ मा जनजआन्दोलन शुरु भयो । देवप्रकाशका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो । उनी केही समयका लागि भूमिगत भए । यद्यपि समाचारका लागि रिपोर्टिङ पनि गरिरहेका थिए ।

०४६ को केही अगाडिदेखि नै देवप्रकाशलाई माक्र्सवाद र भौतिकवादप्रति विश्वास हराउँदै जान थालेको थियो । जीवन र सृष्टिको रहस्यबारे अझै पनि अध्ययन र अनुसन्धान बाँकी नै छ भन्ने उनलाई लाग्न थालेको थियो । माक्र्सले भौतिकवादको निष्कर्ष पदार्थ नै हो अन्तिम तत्व भनेर निकाल्दिसकेका थिए । सही हो या गलत— त्यो बहसकै विषय होला तर यो टुंगिसकेको विषय हो भन्ने उनलाई लागेन । अझै पुस्तौंपुस्ताको अध्ययनले मात्रै निष्कर्षमा पुर्‍याउँछ भन्ने उनको धारणा थियो । परिणाम— उनी माक्र्सवादी भएर बस्न सकेनन् । शांख्य दर्शनसँग उनलाई विश्वास थियो । पदार्थ र चेतना दुबै सृष्टिका परम आधार हुन् भनेको उनलाई चित्त बुझ्यो । अब पनि आफू कम्युनिस्ट भए नक्कली कम्युनिस्ट भइन्छ भनेर उनले बाटो फेरे ।

बहुदलीय व्यवस्था आयो । कृष्णप्रसाद भट्टराई (किसुनजी) नेपाली कांग्रेसका सभापति थिए । पार्टी कार्यालय पुगेर किसुनजीलाई एक्लै भेटे र कांग्रेसको सदस्यता लिए ।

‘घटना र विचार’

राजनीति नै गर्छु भन्ने भित्री इच्छा थियो तर पत्रकारिता गरिरहेका थिए । जुन दिन राजनीतिमा भूमिका मिल्छ, त्यही दिन पत्रकारिता छोड्छु भन्ने तयारी थियो ।

०५१ सालमा आमनिर्वाचन हुने भयो । देवप्रकाशले सोचे— मौका यही हो । धादिङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मानसिक तयारीमा थिए । आन्तरिक तयारीसँगै टिकटका लागि लविङ शुरु गरे । गिरिजाप्रसाद कोइरालाले ‘टिकट दिन्छु’ भन्ने वचन पनि दिए ।

गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ता थिए । उनले देवप्रकाशलाई प्रस्ताव गरे, “रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाइदिनु पर्‍यो ।”

देवप्रकाशले भने, “म ‘घटना र विचार’ चलाउँदिनँ । पत्रकारिता नै गर्दिनँ । फुलटाइम राजनीति गर्छु । अरू कसैलाई राखिदिनुस् । म टिकट लिएर चुनाव लड्छु ।”

उनले प्रश्न गरे, “तपाईंलाई टिकट कसले दिन्छ ?”

देवप्रकाशले सजिलै भनिदिए, “गिरिजाप्रसाद कोइरालाले ।”

जयप्रकाशले फेरि सोधे, “गिरिजाप्रसादले भनेको मान्ने अवस्था आएन भने ? त्यसैले अहिले कार्यक्रम चलाइदिनुस् अनि टिकट पनि लिएर जानुस् ।”

देवप्रकाशले भने, “त्यसो भए दुई दिन सोच्न दिनुस् ।”

दुई दिन पनि उनले समय दिएनन् । दिउँसो फोन गरेर ‘आजैबाट चलाइदिनुस्’ भने । 

देवप्रकाशले ‘घटना र विचार’ चलाउन थाले । उनको टोलीमा थिए– सुशील कोइराला, विश्वप्रकाश शर्मा (अहिले कांग्रेस प्रवक्ता), माया गिरी, सुरेन्द्र महतो, श्याम डोटेल ।

पार्टी सभापति किसुनजी थिए । जयप्रकाशले भनेझैं अन्ततः देवप्रकाशले चुनावको टिकट पाएनन् । चिजकुमार श्रेष्ठले पाए ।

तीव्र आकांक्षा र आश्वासनबीच पनि उनले टिकट पाएनन् । त्यसको पीडा मनबाट पखालिसकेको थिएन । त्यहीबेला उनलाई गम्भीर आरोप लाग्यो— देवप्रकाशले चिजकुमारलाई हराउन विपक्षी उम्मेदवारसँग साँठगाँठ गरेको छ ।

यो फगत आरोपमात्रै थिएन । नक्कली कागजपत्र खडा गरेर कारबाहीका लागि पार्टीमा सिफारिससमेत गरियो ।

“त्यो बेला मैले सोचें— यस्तो घटिया सोच भएका साथीहरूसँग प्रतिस्पर्धा गरेर समय बर्बाद गर्नु हुँदैन,” उनले सुनाए ।

आरोपको तोडले विचार बदल्यो । नयाँ परिस्थिति खडा भयो । पत्रिका दर्ता गरेर पत्रकारिता गर्ने सोच बनाए । व्यापारी र समाजसेवी जीवनसिंह भण्डारीले उनलाई भने, “पत्रिका दर्ता गरेर चलाउने हो भने ‘घटना र विचार’ नाम राख्नुस् ।”

नाम देवप्रकाशलाई चित्त बुझ्यो । त्यही नाममा पत्रिका दर्ता गरे ।

धम्की

प्रशंसा, गाली र धम्की उनको जीवनको पर्याय हो । कहिले प्रशंसामा न्यानो तारिफ त कहिले धम्कीका कर्कश स्वर उनले धेरै सुने । प्रशंसा होइन, देवप्रकाशले गाली सम्झिए, “साथीहरू रेडियोमै ओच्छ्यान लगार सुत् । बाहिर ननिस्के, तेरो लागि खतरा छ भनेर सुझाव दिन्थे ।”

साथीहरू उनलाई आएका चिठी पढ्न डराउँथे । गाली र धम्कीका चिठी हुन्थे । काट्ने र मार्नेमात्रै कुरा हुन्थे चिठीमा ।

राजनीतिक वृत्तमा उनलाई गिरिजाप्रसाद कोइरालानिकट भन्ने सन्देश गएको थियो । त्यसमा पनि चुनाव लड्ने मानसिक तयारी गरिरहेको व्यक्तिले चलाएको कार्यक्रमले कति पत्रकारिताको आचारसंहिता पालना गर्‍यो होला ? नैतिकता र अचारसंहितामा कति अडिग रहन सके देवप्रकाश ? प्रश्न जायज थियो ।

“मेरो कार्यक्रम पूर्ण रूपमा निष्पक्ष थियो भन्ने दाबी म गर्दिनँ किनभने म त्यो बेला अहिलेको जस्तो निष्पक्ष भइसकेको थिइनँ,” उनी आफूले ‘घटना र विचार’ चलाउँदा निष्पक्ष व्यवहार गरें भन्ने दाबी गर्दैनन्, “म केही समयमात्रै पत्रकारिता गर्छु, उद्देश्य राजनीति नै गर्छु भन्ने थियो । तथापि मैले अरू पक्षलाई पनि स्थान दिन्थें । महत्वको राजनीतिक विषयमा आफूले चाहेको पक्षलाई महत्व दिन्थें । कम महत्वका राजनीतिक विषय छन् भने अर्को पक्षमा पनि दिन्थें ।”

तर, केही कार्यक्रमलाई लिएर उनको आलोचना भयो । चुनावभन्दा अगाडि उनले कार्यक्रमबाटै मतदातासँग आग्रह गरेका थिए, “अब जनताले निर्णय गर्नेछन् टेलिफोनका क्याबिनेट जलाउने र सडकका रेलिङ भत्काउने अशान्तिका पक्षधरलाई मतदान गर्ने कि शान्ति पक्षधरलाई गर्ने ? प्रजातन्त्र पक्षधरलाई गर्ने कि अराजकताका पक्षधरलाई गर्ने ? अब निर्णय गर्ने पालो जनताको ।”

उनको प्रस्तुतिलाई निष्पक्ष मानिएन र यसमा विवाद भयो ।

‘घटना र विचार’ साप्ताहिक

जब उनले ‘घटना र विचार’ दर्ता गरे, त्यसपछि सोचे— अब म राजनीति हैन, पत्रकारिता गर्छु । राजनीतिज्ञ हैन, पत्रकार बन्छु ।

“त्यसपछि मैले ‘घटना र विचार’मार्फत शुरु गरें निष्पक्ष पत्रकारिता । मेरो पत्रकारिताले पक्षधरता लिन छोड्यो,” देवप्रकाश भन्छन्, “हामी विचार लेख्ने व्यक्ति पूर्ण रूपमा कसैको पनि पक्षविहीन भएर लेख्न सक्दैनौं तर राष्ट्रको पक्ष लिने कि प्रजातन्त्रको पक्ष लिने वा अरू कसैको भन्ने मात्रै हो । तर, बढीभन्दा बढी निष्पक्ष पत्रकारिता गर्ने अभ्यास भने मैले गरेको छु । म पक्ष लिन्छु, निष्पक्ष छैन तर देशको पक्ष लिन्छु । देशका लागि राजनीतिक पार्टी र व्यक्ति गौण हुन् ।”

पत्रकारिताको दुरुपयोग

‘घटना र विचार’मा काम गरिरहेका थिए । त्यहीबेला ०५४ सालमा रेडियो नेपालको सञ्चालक समिति सदस्य भए । उनलाई ‘घटना र विचार’सहित समाचार मूलक कार्यक्रमको जिम्मेवारी दिइयो ।

०५५ मा राष्ट्रिय समाचार समिति (रासस)को प्रधानसम्पादकसहित महाप्रबन्धक भए । पौने दुई वर्ष ‘रासस’मा काम गरेपछि ०५८ मा उनको यात्रा ‘स्पेसटाइम’तिर सोझियो । त्यसपछि उनले च्यानल नेपालमा ‘अराजनीति’ नामक टक–शो चलाए ।

‘स्पेसटाइम’मा देवप्रकाशको जिम्मेवारी प्रधानसम्पादकको थियो । जस–अपजसको भारी उनकै काँधमा थियो । केही सुखद त केही दुःखद् अनुभव उनले त्यहाँ पनि सँगाले, जुन अन्त पनि सँगालेका थिए । तर ‘स्पेसटाइम’ नेटवर्कमा उनले एउटा यस्तो निर्णय गरे, जुन कमैले गर्छन् ।

कस्तो  निर्णय ?

व्यापारी साहूले सञ्चालन गरेको ठूला लगानीका मिडियामा अब कहिले काम नगर्ने ।

“स्पेसटाइममा काम गर्दा मलाई अनुभव भयो— व्यापारिक उद्देश्यले चलाइएका ठूला सञ्चार गृहमा सम्पादक राख्नुको अर्थ पुँजी संकलनसँग जोडिन्छ । त्यही उद्देश्यमा सहयोग गर्नका लागि सम्पादक मनोनयन गरिन्छ । उनीहरूको काँधमा बन्दुक राखेर आफ्नो स्वार्थपूर्ति गरिन्छ,” उनी तीतो अनुभव सुनाउँछन्, “पत्रकारिता गरेर देश र जनतालाई सुसूचित गर्छु भन्ने लगानीकर्ता होलान् तर अपवादमात्रै । अधिकांशको उद्देश्य अर्थ संकलन गर्ने नै हो ।”

उनले त्यो बेला ‘घटना विचार’मा लेखै लेखेर भने, “अब म ठूला लगानीको कुनै पनि अखबारको सम्पादक बन्दिनँ । र, अब त्यतातिर मेरो रुचि पनि रहनेछैन । किनभने त्यसको उद्देश्य जनतालाई सुसूचित गर्ने होइन, अर्कै हुँदो रहेछ ।”

कारण ?

सम्पादकले लेखेको/हेरेको समाचार नै भोलिपल्ट अर्कै भएर आउँथ्यो ।

“कयौंपटक म राति २ बजेसम्म बसेर समाचार र त्यसको प्लेसमेन्ट फाइनल गरेर आउँथें तर बिहान त्यो समाचार पत्रिकामा हेर्दा अर्कै भएर आउँथ्यो । प्लेसमेन्ट र कन्टेन्ट नै फरक हुन्थ्यो,” देवप्रकाश नेपाली पत्रकारिताको तीतो यथार्थ सुनाउँछन्, “यो गलत हो भन्दाभन्दै व्यापारीहरूले यही, यसरी नै छाप्नुपर्छ भनेर दबाब दिन्छन् । साहू सम्पादकको होइन, व्यापारीको कुरा सुन्छन् । मोटो तलब छँदै छ, गुजारा चलिरहेको छ भनेर चुप लागी बस्नेमात्रै हो अधिकांश ठूला सञ्चारगृहमा ।”

प्रचण्डको पहिलो अन्तर्वार्ता

अहिलेका प्रचण्ड तत्कालीन नेकपा मसालका महामन्त्री थिए । भूमिगत थिए । ०४६ मा मसालको भूमिका फरक थियो । त्यतिबेला वामपन्थी र कांग्रेस एक ठाउँमा आए । संयुक्त राष्ट्रिय जनआन्दोलन भनेर मोर्चा खडा गरेका थिए । तर, प्रचण्डले कांग्रेस र वामपन्थीसँग सम्झौता गरेनन् ।

किन ? प्रश्नसहित प्रचण्डको अन्तर्वार्ताका लागि देवप्रकाशले आफ्नो सम्पर्क सूत्रमार्फत प्रयास गरिरहेका थिए । सम्पर्क सूत्रले ‘हुन्छ’ पनि भनेको थियो । अन्तर्वार्ता लिने मिति पनि तय भइसकेको थियो । तर, ०४६ को जनआन्दोलन निर्णायक चरणमा पुग्यो । प्रजातन्त्र पुनस्र्थापना भयो ।

तर, पनि उनले अन्तर्वार्ता लिने भए । जेठ महिना थियो । सम्पर्क सूत्रले कुपण्डोलको कानदेवताथानभित्रको एक घरमा पुर्‍यायो । प्रचण्डसँग लामै कुराकानी भयो । भूमिगत नेताको अन्तर्वार्ता चासोको विषय थियो । ‘विमर्श’मा ०४७ जेठ २७ गते फोटोबिनाको अन्तर्वार्ता छापियो ।

०६२/६३ को आन्दोलन सफल भएपछि एकदिन प्रचण्ड र बाबुराम भट्टराईसँग नागरिक समाजका अगुवाहरूसँग चिनजानको कार्यक्रम राखियो । स्थान थियो– डा. शुन्दरमणि दीक्षितको घर, पाटन ।

दुबै नेता खरानी कलरको सुटपाइन्टमा सुन्दरमणिको घर पुगेका थिए । चिनजानको कार्यक्रम शुरु भयो । सुन्दरमणिले नागरिक समाजका अगुवाहरूलाई चिनाउँदै गए । पालो आयो नागरिक समाजका सचिव देवप्रकाश त्रिपाठीको । सुन्दरमणिले उनको परिचय दिनै लाग्दा प्रचण्डले भने, “हैन हैन, मेरो उहाँसँग परिचय छ । मेरो जीवनकै पहिलो अन्तर्वार्ता उहाँले लिनुभाको ।”

त्यही बेला देवप्रकाशले थाहा पाए— प्रचण्डको अन्तर्वार्ता लिने पहिलो पत्रकार उनै रहेछन् ।

“प्रचण्डको अन्तर्वार्ता लिन पाइएला भन्ने मलाई लागेको थिएन । प्रचण्ड यो साइजको नेता हुनुहोला भन्ने पनि मलाई थाहा थिएन,” देवप्रकाश भन्छन्, “तर, अन्तर्वार्ता लिएर आएपछि मलाई हरिहर विरहीले सोध्नुभयो, ‘कस्तो खालको मान्छे रछ प्रचण्ड ?”

उनी भन्छन्, “विरहीजीलाई त्यो बेला मैले दिएको जवाफ याद छ कि छैन मलाई थाहा छैन तर मैले बिर्सिएको छैन । मैले भनेको थिएँ, ‘जुन दिन मोहनविक्रम सिंह खुला राजनीतिमा आउनुहुन्छ, उहाँ समाप्त हुनुहुन्छ । जुन दिन प्रचण्ड भन्ने मान्छे खुला राजनीतिमा आउनुहुन्छ, उहाँले देश खानुहुन्छ । यो मेरो निष्कर्ष हो ।’ त्यो बेला मैले उहाँलाई त्यति रिडचाहिँ गरेको रहेछु ।”

हरिहरले ‘विमर्श’ बेच्दा त्यो अन्तर्वार्ताको फाइल देवप्रकाशलाई नै दिँदै भनेका थिए, “तपाईंको विशेष प्रयासबाट भएको यो अन्तर्वार्ताको फाइल तपाईं नै राख्नुस् ।”

ती अन्तर्वार्ता

‘च्यानल नेपाल’मा तारानाथ रानाभाटको अन्तर्वार्ता थियो । भर्खर संसद विघटन भएको थियो । अन्तर्वार्ता दिँदादिँदै उनी आवाज निकालेर ग्वाँग्वाँ रुन थाले । क्यामेरापर्सनहरूले क्यामेरा अफ गरे । देवप्रकाशले क्यामेरा अन गर्न लगाए । त्यो अन्तर्वार्ता प्रसारण भयो ।

तारानाथ रुने प्रश्न के थियो, त्यो त उनलाई आज थाहा छैन तर उनलाई सम्झना छ, त्यो प्रश्न भावनात्मक थियो ।

० ० ०

अन्तर्वार्ताकै क्रममा उनले केपी शर्मा ओलीसँग कुराकानी गर्ने भए । जवाफ लगाउन सिपालु नेताका रूपमा परिचित थिए ओली । सबैलाई होच्याउने उनको बानी थियो । कसरी उनीसँग प्रश्नमार्फत ट्याकल गर्ने मुख्य चुनौती थियो । उनले ओलीको विपक्षमा रहेका र पक्षमा रहेकाको सूची बनाए । दुबैसँग सोधेर उनीबारे विवरण लिए । थप अध्ययन गरे । र, अन्तर्वार्ता लिन गए ।

“मेरो उद्देश्य थियो— म केपी ओलीसँगको संवादमा चुक्न मिल्दैन र घट्न पनि हुँदैन । कुरा गर्दै जाँदा एउटा प्रश्नमा उहाँले मलाई प्रतिप्रश्न गर्नुभयो, ‘के भको थियो त्यो ?’ भनेर । मैले त्यसको सन्दर्भसहितको जवाफ दिएँ । उहाँ डिमरलाइज हुनुभयो । त्यो अन्तर्वार्ता प्रसारण भएपछि मलाई धेरैले हप्तौंसम्म पनि फोन गरेर ‘तपाईंसँग भेट्न मन छ’ भनेर भन्नुहुन्थ्यो । उहाँहरू ‘केपी ओलीलाई तपाईंले ठीक ठाउँमा ल्याउनुभयो’ भन्नुहुन्थ्यो ।”

० ० ०

कृष्णप्रसाद भट्टराईसँग उनले एउटा अन्तर्वार्ता लिए । डेढ घण्टा लामो अन्तर्वार्ता देश, समाज, पार्टीमा केन्द्रित थियो । त्यो अन्तर्वार्ता उनको मृत्युपछि मात्रै प्रकाशन गर्ने भनेर लिइएको थियो । “तर, विडम्बना ! त्यो अन्तर्वार्ता कसरी र कहाँ हरायो— मैले भेटिनँ,” देवप्रकाश भन्छन्, “त्यो अन्तर्वार्ता नभेटिएकोमा मलाई ठूलो पछुतो लागिरहन्छ ।”

समाचारको स्रोत नदिँदा

शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यही समय एलसी काण्ड भयो । अभियुक्तलाई पक्राउ गरेर कारबाही गर्न नसकेकोमा सरकारको संसद् र बाहिर चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्रीलाई संसद्मा प्रतिपक्षी संसद्ले र्‍याखर्‍याखती पारे । प्रधानमन्त्रीको हैसियतले उनले संसदमा जवाफ दिए, “अभियुक्तहरू दिल्ली पुगेको जानकारी आएको छ । हामी जतिसक्दो चाँडो अभियुक्तलाई समाएर कारबाही गर्छौं ।”

अभियुक्त थिए, प्रकाश टिबडेवाला र आनन्द अग्रवाल ।

भोलिपल्ट देवप्रकाशले प्रकाश टिबडेवालाको अन्तर्वार्ता ‘घटना र विचार’मा प्रकाशित गरे । 

“त्यसपछि शेरबहादुर देउवाका तर्फबाट भन्दै दुईजना पत्रकार मलाई प्रलोभन देखाउँदै आए । ३ लाख नगद र चुनावको टिकटको प्रलोभन थियो । तर, मैले उनीहरूलाई फर्काइदिएँ,” देवप्रकाश भन्छन्, “त्यसलगत्तै मलाई गृह मन्त्रालयमा बोलाइयो । प्रहरी महानिरीक्षक (आईजीपी) मोतीलाल बोहोरा त्यहीँ बसिरहनुभएको थियो । गृहराज्यमत्री हुनुन्थ्यो— दीपकप्रकाश बाँस्कोटा । उहाँले आफ्नै कार्यकक्षमा मलाई ‘कुन च्यानल र सूत्रबाट यो अन्तर्वार्ता लिनुभयो, हामीलाई बताइदिनुस्, हामीले उनीहरूलाई पक्राउ गर्नुपर्छ’ भन्नुभयो ।”

देवप्रकाशले भने, “मेरो पेशागत मर्यादाभित्र यो पर्दैन, त्यसैले बताउँदिनँ ।”

सोफामा बसिरहेका आईजीपी बोहोरा जुरुक्क उठेर भने, “राज्यले खोजिरहेको अपराधी, जो फरार छ, उसको अन्तर्वार्ता तपाईंले लिनुभएको छ भने तपाईंलाई पनि अपराधीसँग साँठगाँठ रहेको आरोपमा कारबाहीमा ल्याउन मिल्छ ।”

देवप्रकाशले मोतीलाललाई त केही भनेनन् तर मन्त्री दीपकप्रकाश बाँस्कोटालाई भने, “मन्त्रीज्यू ! म यो बताउन सक्छु तर मेरो एउटा सानो शर्त छ । त्यो शर्त के भने नेपाल प्रहरी भंग गर्दिनुस् । यत्रो तलबभत्ता खर्च गरेर प्रहरी राखे पनि हामीजस्तो व्यक्तिबाट यस्तो सूचना लिनुपर्छ भने प्रहरीको के काम ?”

बोहोर मन्त्रीलाई सलाम गरेर केही नभनी निस्किए । मन्त्रीले भने, “तपाईंहरूको पेशागत मर्यादाको कुरा हो भने यसमा म थप दबाब दिन सक्दिनँ ।”

१२ वर्षपछि

०५० को दशक मध्यतिरको एकदिन निर्वाचन आयोगको पत्रकार सम्मेलनमा सहभागी भएर देवप्रकाश अफिस फर्किए । बबरमहलमा आएर गाडीबाट ओर्लिई ‘घटना र विचार’को कार्यालयतर्फ अगाडि बढ्दै थिए । अगाडिबाट आइरहेको एक व्यक्तिले उनको अनुहारमा यसरी मुक्का हाने, उनी पुर्लक्कै ढले । त्यो बेला उनलाई लागेको थियो— त्यो मुक्का आम सर्वसाधारण नागरिकको थिएन । तालिमप्राप्त कोही व्यक्तिको थियो ।

१२ वर्षपछि दुई व्यक्ति आएर भने, “१२ वर्षअघि तपाईंलाई बक्सिङ हानेर ढाल्ने हामी नै हौं । हामी अहिले त्यसको प्रायश्चित गर्न आएका हौं ।”

“किन १२ वर्षपछि माफी माग्न आयौ त ?” देवप्रकाशले सोधे ।

उनीहरूले भने, “हामी खेलाडी थियौं । हामीलाई त्यो बेला प्रहरीले तपाईंलाई कुटेर आओ, प्रहरीमा जागिर लगाइदिन्छु भनेको थियो । त्यसैले तपाईंमाथि आक्रमण ग¥यौं । तर, हामी प्रयोगमात्रै भयौं । हामीलाई प्रहरीले जागिर दिएन । त्यसैले हामी प्रायश्चित गर्न आएका हौं ।”

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC