site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारकै कारण सगरमाथाको बदनाम ! विभाग भन्छ–पर्यटक चीन लैजाने षडयन्त्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको पहिचानको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको अहिले विश्वव्यापी रुपमा नाम बदनाम गराउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी, सीएनएन, न्यूयोर्क टाइम्स, न्यूजील्याण्ड हेराल्ड, वाशिङटन पोस्टदेखि लिएर एबीसी न्यूजसम्मले नेपालको व्यवस्थापनलाई विभिन्न आरोप लगाउँदै समाचार प्रकाशन वा प्रसारण गरिरहेका छन् । तर, नेपाल सरकार भने अहिलेसम्म मौनता साँधेर बसिरहेको पाइएको छ ।

उनीहरुले समाचारमा धेरै अनुमति दिइएका कारण आरोहीको चाप बढेर मृत्यु संख्या बढेको, सगरमाथा चिडियाखाना जस्तो भएको, पैसा उठाउनकै लागि जथाभावी आरोहीलाई अनुमति दिइएको, सगरमाथा आसपासमा फोहर जम्मा भएको, शिखरमा नै पुगेर आरोहीहरुले अवाञ्छित काम गरिरहेको, योवर्ष अहिलेसम्म करिब ११ जनाको मृत्यु भएको भन्ने खालका कुरा उठाएका छन् । 

केही दिनअघि पर्यटन विभागले एउटा वक्तव्य जारी गरेर मानिसहरुको भीड भएका कारणले मृत्यु संख्या बढेको भन्ने विषयलाई अस्वीकार गरेको थियो । तर, नेपालका तर्फबाट वास्तविकता अझ प्रष्ट ढंगले भन्न नसकेकै कारण यो विषयमा अहिले विश्वभरी नै भ्रम फैलिन पुगेको छ ।  नेपालमा रहेको सगरमाथा सबै नेपालीका लागि शानको विषय भएपनि सगरमाथाको बारेमा विश्वभरी फैलाइएको भ्रम नेपाल सरकारले तोड्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यही बीचमा सगरमाथालाई केही समयका लागि आरोहण स्थगन गरेर व्यवस्थित गर्नुपर्ने मागसमेत सामाजिक सञ्जालमा विभिन्न क्षेत्रबाट उठिरहेको छ । 

यसबारेमा बाह्रखरीले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायसँग जिज्ञासा राख्दा उनले सरकारका तर्फबाट सगरमाथा क्षेत्रमा भइरहेको अवस्थालाई सुक्ष्म ढंगले अनुगमन गरिरहेको र केही त्रुटि देखिएमा त्यसलाई सच्याउन कदम चालिने बताए ।

Global Ime bank

उनले अहिले अन्तर्राष्ट्रिय मिडियामा आइरहेको समाचार त्रुटिपूर्ण रहेको बताउँदै आफूहरुले हालै एक वक्तव्य जारी गरेर प्रष्ट गरिसकेको र छिटै त्यसबारेमा अन्तर्राष्ट्रिय मिडियालाई भन्ने तयारी गरिरहेको समेत बताए ।

उनले एउटा उपयुक्त सिजनमा मात्रै मानिसहरु सगरमाथा चढ्नुपर्ने भएकोले त्यहाँ सामान्य भीडभाड हुन सक्ने उल्लेख गर्दै भने,‘‘फ्रान्सको एउटा हिमालमा वर्षमा ४० हजार जनासम्मले हिमाल चढ्छन् । त्यहाँ पनि मानिसको मृत्यु भएको पाइन्छ । अमेरिकामा पनि यस्तो घटना हुन्छ । नेपालकै सञ्जय पण्डितको अमेरिकी हिमाल चढ्ने क्रममा मृत्यु भएको हो । चढिसकेपछि कस्तो वातावरण हुन्छ त्यसमा भर पर्ने हो । मान्छेको मृत्युको जिम्मेवारी लिन सकिँदैन । माथि पुगेपछि उनीहरुलाई के कस्तो हुन्छ त्यो सरकारलाई जानकारी हुने कुरा होइन ।’’

समस्याको पहिचान भएपछि के कस्तो समस्या हो त्यो बुझेर त्यसैअनुसार नियम कानुन परिवर्तन गर्न सकिने र त्यसको लागि प्रयास भइरहेको समेत उनले बताए । लस एञ्जेल्स टाइम्सले सगरमाथाबारेमा बनाएको समाचारमा  चार वर्षयताकै सबैभन्दा बढी मृत्यु भएको उल्लेख गरिएको छ ।  भीडभाड, अनुभवहीन मान्छे चढ्ने, साँगुरो हिँड्ने मार्ग जस्ता कारणले यसरी मृत्यु संख्या बढेको भन्ने उसको तर्क पाइएको छ । 

नेपालले  पर्वतारोहण उद्योगबाट वर्षेनी ३०० मिलियन डलर कमाइरहेको उल्लेख गर्दै समाचारमा कुन समयमा पर्वतारोहण गर्ने भन्ने काम मात्रै गरेको तर कतिले चढ्ने भनेर सीमा नतोकेकोले समस्या भएको त्यसमा उल्लेख छ । यही मे २२ का दिन एकजना पर्वतारोहीले सार्वजनिक गरेको फोटोमा सगरमाथामा भीड लागेको देखिएको थियो । त्यसपछि सबै अन्तर्राष्ट्रिय मिडियाले सगरमाथामा ट्राफिक जाम भन्दै समाचार बनाएका थिए । 

सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक मिङ्मा शेर्पाले बाह्रखरीसँगको कुराकानीमा भने, “यो ट्राफिक जाम भन्ने शब्द अन्तर्राष्ट्रिय मिडियाले प्रयोग गरेको नै मिलेन । त्यस्तो होइन । तीनसय ८१ जनालाई अहिले अनुमति दिइएको छ । यो त्यति ठूलो संख्या होइन । पोहोर साल पनि अहिलेको भन्दा ९ जना कमले मात्रै हिमाल चढ्ने अनुमति पाएका हुन् । तर, यसपालि अनावश्यक रुपमा हल्ला फैलाइयो । सरकारले यसको प्रतिबाद गर्नुपर्छ ।”

उनले सगरमाथा क्षेत्रमा फोहोर हुनेलगायतका सामान्य समस्या भएका हुन सक्छन् तर त्यो समाधान नै गर्न नसकिने खालको नरहेको समेत बताए । नागरिक समाजका अगुवा तथा पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले ट्विट गर्दै सगरमाथालाई आराम आवश्यक भएको जनाउँदै विश्वभरी नै नेपालको नाम राखेको हिमाललाई यो वर्ष दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले पनि सरकारले सगरमाथामा ५ वर्षसम्म प्रतिबन्ध लगाइनुपर्ने भनेर आफूले एकवर्ष पहिला नै भनेको र अहिलेपनि दोहो¥याइरहेको जनाउँदै धेरै नै खराब अवस्था नआउन्जेलसम्म कसैले ध्यान नदिने गरिएको भन्दै आलोचना गरेका छन् । दीपक पौड्यालले ट्विट गर्दै तीनवर्ष आरोहण बन्द गरेर सगरमाथाको सफाई अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । 

लस एन्जेल्स टाइम्ससँगको कुराकानीमा नेपाल पर्वतारोहण एशोसिएसनका महासचिव कुलबहादुर गुरुङ्गले पनि बढी संख्याका पर्वतारोहीलाई अनुमति दिएका कारण नै समश्या आएको बताएका छन् ।  सन् २०१५ यताकै अहिलेको मृत्यु संख्या बढी भएको भन्ने अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेको छ ।  धेरै जसोको मृत्यु  हाइ अल्टिच्युड सिकनेसका कारण हुने गरेको बताइएको छ ।  यसको लक्षण कम मात्रामा अक्सिजन हुनु, टाउको दुख्नु, बान्ता  हुनु र मानसिक रुपमा असन्तुलित हुनु रहेको जनाइएको छ । 

यसपालि सगरमाथा चढ्न जाने तीनसय ८१ जना अहिलेसम्मकै सबैभन्दा बढी भएको बताइएको छ । अहिले चढ्न जानेमा केही २०१४ मै अनुमति पाएका व्यक्ति पनि छन्  । त्यतिबेला केही शेर्पा गाइडको मृत्यु भएपछि आरोहण स्थगन गरिएकोमा  अहिले अनुमति दिइएको छ ।

सीएनएनले बनाएको समाचारमा अनुमति तीनसय ८१ जनालाई दिइएको भएपनि गाइड र भरिया गरेर झन्डै छ सय  जना पुग्ने भएकोले त्यहाँ भीड बढ्ने गरको जनाइएको छ । बीबीसीले पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई उद्धृत गर्दै मौसमका कारण अहिले समस्या आएको र सधैँ त्यस्तो नहुने बताएको उल्लेख गरिएको  छ ।

पर्वतारोहीको मृत्युमा सरकार, पर्वतारोहण कम्पनी र आरोही स्वयम् नै पनि जिम्मेवार रहेको समाचारमा जनाइएको छ । सीएनएनले सगरमाथा क्षेत्रलाई ‘डेथ जोन’ नै भनेर समेत प्रचार गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ८ प्रतिशत पर्वतारोहणले धानेको तर त्यसअनुसारको हेरविचार सरकारले नगरेको भनेर समेत अन्तर्राष्ट्रिय मिडियामा चर्चा गरिएको छ ।

केही दिनअघि पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा पर्यटकहरुको मृत्यु भएको घटना पर्वतारोहीको चापले नभएको दाबी गरेको थियो । तर उसको भनाइलाई अन्तर्राष्ट्रिय मिडियाले त्यति धेरै स्थान दिएको पाइएको छैन । बरु उल्टो असर गरेको देखिएको छ ।  पर्यटन मन्त्रालयका प्रवक्ता उपाध्यायले सरकारका तर्फबाट फेरि धारणा राखिने जनाएका छन् । 

विभागले भनेको छ, “पछिल्लो अनुकुल मौसम २१ मे देखि २४ सम्म भनिएपनि २१ मे मा आरोहण योजना बनाएका अधिकांश आरोही द्रुत हावाका कारण चौथो आधार शिविरमा दुईरात बस्न बाध्य भएको अवस्थाबारे यस क्षेत्रसँग सम्बन्धित सबैलाई जानकारी रहेकै छ । यो समेत कारणले २२ र २३ मेमा सगरमाथाको चौथो शिविर र त्यो भन्दामाथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भएपनि मृत्यु भएका आरोहीहरुको मृत्युको एक मात्र कारण आरोहण मार्गमा रहेको चाप मात्र हो भन्ने धारणा राखी प्रचार गरिनु दुःखपूर्ण छ ।”

विभागको वक्तव्यमा हिमालहरुको आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील कार्य भएको हुँदा सचेतता अवलम्बन गर्दागर्दै कतिपय दुःखदायी घटनाहरु हुने गरेको जनाउँदै भनिएको छ ,‘‘यस्ता घटनाहरुको न्यूनीकरणका लागि सरकारी, गैरसरकारी तथा निजी व्यक्ति सबैको सामूहिक प्रयास आवश्यक हुने गर्छ । यसर्थ यस वसन्तकालीन मौसममा भएका घटनाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न घटनाहरुको वास्तविकतालाई मात्र सबैले सम्मान गर्नुहुनेछ भन्नेमा विभाग आशावादी रहेको छ ।’’

विभागले यस मौसममा सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर पर्वतारोहण सम्बन्धी नियमावली २०५९को नियम २४को पालना नगरी विभिन्न सामाजिक सञ्जालमार्फत धारणा राख्ने वा फैलाउने गरेबाट सिर्जना भएको अवस्था वा पुराना फोटो र भिडियो राखी सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनसाय एवं दुस्प्रचारप्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको तथा पर्वतारोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्रै पहिचान गर्न सकिने विषय भएको समेत उल्लेख गरेको थियो । यद्यपि उसको भनाई अन्तर्राष्ट्रिय मिडियामा त्यति महत्व दिएको देखिएको छैन ।

पहिलादेखि नै ‘फेक रेस्क्यु कान्ड’
यसअघि नेपालका पर्वतारोहीलाई ‘फेक रेस्क्यु’ भएको  भनेर अन्तर्राष्ट्रिय बिमा कम्पनीले आरोप लगाउँदै पर्वतारोहीलाई बिमा गर्न नै रोक्ने चेतावनी समेत दिएका थिए । तर, सरकारी निकायहरु दोषीलाई कारबाही गर्ने भन्दा पनि त्यसलाई ढाकछोप गर्नेतर्फ लागेको आरोप लाग्दै आएको छ । सो सम्बन्धी छानबिन प्रतिवेदन नै बनाइएको भएपनि त्यसलाई अहिलेसम्म त्यत्तिकै दराजमा थन्क्याएर राखिएको आरोहण क्षेत्रका विज्ञहरुको आरोप रहँदै आएको छ । 

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सो प्रकरणमा त्यस्ता गतिविधिमा संलग्नहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन लाग्दा उनीमाथि गलत कार्यमा संलग्नहरुबाट ठूलो दबाब झेल्नुपरेको स्रोतले बताएको छ । हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि सो प्रकरण त्यसै सेलाउने अवस्था उत्पन्न भएको छ ।

‘फेक रेस्क्यु’को विषयलाई लिएर अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुले गएको फागुन ३ गतेसम्ममा त्यस खालको गतिविधि नरोकेमा आफूहरुले बिमा नै नगराउने चेतावनी दिएका थिए । 

अन्तर्राष्ट्रिय बिमा सम्बन्धी कम्पनीले विश्वको सर्वोच्च शिखर सगरमाथा आसपासमा पदयात्रामा गएका विदेशीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा भइरहेको ठगीका विषयमा छानबिन गरी दोषीलाई कारबाही नगरे आफूले रकम उपलब्ध नगराउने चेतावनी दिएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय मिडियामार्फत् बारम्बार त्यस खालको चेतावनी दिनुका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि यस खालको पत्र पठाएका थिए ।

गतवर्ष नेपाल सरकार र आयरल्याण्डस्थित मेडिकल सम्बन्धी सहयोग गर्ने कम्पनी ट्राभलर एसिस्टले गरेको अनुसन्धानका क्रममा केही ट्रेक अपरेटर, गाइड, हेलिकोप्टर कम्पनी तथा चिकित्सक तथा अस्पतालसम्मको मिलेमतोमा उपचारका अन्य विकल्प हुँदाहुँदै पनि सामान्य बिरामीलाई उद्धार गराएर दशौंलाख अमेरिकी डलर बिमा कम्पनीसँग दावी गरेको विवरण सार्वजनिक भएको थियो । 

पदयात्री चिसोका कारण सामान्य बिरामी भएपनि उनीहरुलाई बढी खर्च हुने स्थानमा लैजाने, गाइडहरुले नियोजित रुपमा खानामा बेकिङ सोडा प्रयोग गरेको र त्यसले गर्दा बान्ता, झाडापखालालगायतका समस्यासमेत पर्यटकमा देखिने र उनीहरुलाई  हेलिकोप्टरमार्फत अन्यत्र लगिने गरेको तथ्य सार्वजनिक भएको थियो ।
यसरी बिरामीको उद्धार गर्दा ४० हजार अमेरिकी डलरसम्म खर्च हुने गरेको तर त्यसको खर्च पदयात्री कति छन् त्यसमा निर्भर हुने गरेको जनाइएको थियो । त्यसपछि सो सम्बन्धी बिल बिमा कम्पनीमा पठाउने गरिएको थियो । ट्राभलर एसिस्टका प्रबन्ध निर्देशक जोनाथन बानक्रोफ्टले केही अघि न्यूयोर्क टाइम्ससँगको कुराकानीमा प्रश्न गरेका थिए,“किन सरकारले अझै ठगी र कर छली गर्ने १७ वटा नेपाली कम्पनी विरुद्ध अभियोग दर्ता गरेको छैन ?” 

बिमा कम्पनीहरुले फागुन ३ गतेदेखि बिमा इश्यु गर्ने कार्य नै रोक्ने भनेकोमा पछि विभागले कुरा मिलाएको थियो । ती निकायका प्रतिनिधिसँग एक चरणको बैठक भएपछि कुरा मिलेको बताइएको छ । 

नेपालका धेरैजसो ट्रेकिङ अपरेटरहरुले भने ग्राहकको सुरक्षालाई नै मुख्य चासोको रुपमा लिएको र उनीहरुले पदयात्रीलाई हाइ अल्टिच्युड हुन सक्ने कुराको पनि ख्याल गर्ने गरेको समेत बिमा  कम्पनीले जनाएको छ । धेरैजसो पर्यटकहरुले बिमाबापत केही सय डलरको बिमा गराएका हुन्छन् । तर, सरकारी अधिकारीहरुका अनुसार नेपालको पर्यटन उद्योगका अधिकारीहरु र माउन्टेन गाइडहरुले ट्रेकिङ अपरेटरहरुसँग कमिसन लिने गरेका छन् । अनुभवहीन मानिसलाई खटाएर सामान्य बिरामीलाई पनि काठमाडौं लैजान उनीहरुले दबाब दिने गरेको आरोप त्यतिबेला लागेको थियो । 

अन्य विकल्प जस्तो औषधी लिने, नजिकको क्लिनिकमा लैजाने वा केही तल्लो भूभागमा लैजाने बारेमा वास्ता नगर्ने गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचारमा आरोप लाग्दै आएको छ ।  यसैगरी काठमाडौंमा रहेका अस्पतालहरुले पनि अनावश्यक परीक्षण गर्ने गरेको, पर्यटकमा देखिएको समस्याको लक्षणलाई बढाइचढाइ गरेको र पदयात्रीको पासपोर्ट लिएर उनीहरुलाई छोडेर जानपनि नदिने गरेको समेत यसअघि देखि नै आरोप लाग्दै आएको छ ।

ट्राभलर एसिस्टले गएको वर्ष गरेको छानबिनका क्रममा चार वटा अस्पताल र १३ वटा हेलिकप्टर चार्टर तथा उद्धार कम्पनीले घोटाला गरेको पाइएको जनाइएको थियो । केही दर्जन ट्रेकिङ कम्पनी पनि यस्तो घोटालामा संलग्न रहेको अनुमान गरिएको छ ।

यो जटिल समस्या रहेको र यसलाई कम आँक्न नहुने बताउँदै ट्राभलर एसिस्टका सहयोग सम्बन्धी प्रमुख डानी कैनीले नेपालको हेलिकोप्टर उद्धार कम्पनीमा भ्रष्टाचार र घोटालालाई व्यापार गर्ने तरिकाकै रुपमा स्थापित भएको आरोप लगाएका थिए । बिमा कम्पनीहरुले यस खालको जालसाँझीलाई नियन्त्रणमा लिन प्रारम्भमा संघर्ष गरेको भएपनि यस खालका गतिविधि सन् २०१० को शुरुदेखि नै भइरहेको आरोप लगाउँदै आएका छन् । पछिल्ला केही वर्षमा नेपालबाट बिमा दाबी गर्ने क्रम नाटकीय ढंगले बढेको उनीहरुको भनाइ रहेको छ । यो अवस्थाले गर्दा बिमा कम्पनीहरुले आन्तरिक रुपमा कतिपय नेपाली हेलिकोप्टर कम्पनी र अस्पताललाई कालो सूचीमा राखेको र ट्रेकरहरुलाई एडभाइजरी नै जारी गरेर चेतावनी समेत दिएको बुझिएको छ  । ट्राभलर एसिस्टका अनुसार सन् २०१८को जनवरीदेखि अगष्ट सम्ममा १६०० वटा घटनामा हेलिकोप्टरबाट उद्धार गरिएको र ती मध्ये ३५ प्रतिशतचाहिँ जालसाँझीपूर्ण भएको अनुमान गरिएको छ । बिमाका कारण ४ मिलियन सम्बद्ध बिमान कम्पनीलाई घाटा भएको जनाइएको छ । 

नयाँ अनुगमन हुँदै 

सो सम्बन्धमा गएको सेप्टेम्बर महिनादेखि नेपाल सरकारले नयाँ अनुगमन कार्यक्रम ल्याएको छ । जस अन्तर्गत सम्बद्ध कम्पनीले पर्यटन विभागमा आफू वास्तविक कम्पनी भएको पुष्टि गर्ने कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको छ । फेक रेस्क्युको विषयमा पर्यटन मन्त्रालय मात्रै नभइ स्वास्थ्य, गृह र अर्थ मन्त्रालयपनि जोडिने अवस्था रहेको छ । यस सम्बन्धी विवरण पर्यटन मन्त्रालयले ती मन्त्रालयमा समेत पठाएकोमा गृह मन्त्रालयले भने पर्यटन मन्त्रालयलाई नै सो सम्बन्धी कारवाही गर्न भनेको बताइएको छ ।  

पर्यटक चीन लैजाने षडयन्त्र 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले अन्तर्राष्ट्रिय मिडियाले नेपालबाट सगरमाथा चढ्न चाहने पर्यटकलाई चीनतर्फ लैजानको लागि राजनीति गर्न खोजेको आरोप लगाएका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने ‘‘मौसमका कारणले गर्दा देखिएको समस्यालाई लिएर यति साह्रो आलोचना गर्नु जरुरी थिएन । तर, उनीहरुले एकतर्फी रुपमा कुरा उठाउनुले यस्तो संकेत पाइएको छ ।’’

उनीहरुले किन चीनतर्फ लैजान खोजेको हुन सक्छ भन्ने प्रश्नमा भने उनले किन त्यसो गरिरहेका छन् त्यो बुझ्न नसकिएको जनाए । 

उनले सगरमाथा चढ्नै नदिने गरी नियम ल्याउन पनि सकिने उल्लेख गर्दै त्यसो गर्दा पनि नेपाललाई आर्थिक हिसाबले नोक्सानी नपर्ने जनाए । उनको भनाई थियो,‘‘मैले मात्रै भनेर हुँदैन । तर, कालापत्थर क्षेत्रमा नै पर्यटकलाई रोक्न पनि सकिन्छ । त्यसो गर्ने हो भने पनि त्यहाँ जाने पर्यटकको कमी हुँदैन । किनकि त्यहाँसम्म आएर उनीहरु फोटो खिचेर जान सक्छन् । हाम्रा पवित्र हिमालहरु हामी चढ्न नमिल्ने गरी रोक्न पनि सक्छौं ।’’

उनले पश्चिमाहरु नै आएर सगरमाथामा फोहोर गरिरहेको र उनीहरु नै समाचार बनाएर बदनाम गर्ने काममा लागेको समेत आरोप लगाए ।

तस्बिर : विकिपिडिया 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC