वाटोमा हिँडिरहेका २० जना मानिसलाई एकैछिन रोकेर एकै ठाँउ राखाैं । उनीहरू कसैले एक अर्कालाई चिनेका पनि हुँदैनन् । कसैसँग कसैको कुनै दुस्मनी पनि हँुदैन, मित्रवत् व्यवहार पनि हुँदैन ।
हामीलाई किन रोकियो भन्ने अलमल र जिज्ञासा हुन्छ लगभग उनीहरू सबैमा । त्यपछि उनीहरूले लगाएको लुगाको रंगको अधारमा त्यहाँ समूह विभाजन गरौँ — रातोरातो लाग्ने लुगा लगाउने जति एकातर्फ, सेतोसेतो देदिने लुगावाला अर्कोतिर । एकछिन त्यत्तिकै छाडाैँ । अब त्यहाँ बिस्तारै द्वन्द्व सुरु हुन्छ । हामी राम्रा, हामी धेरै, हामी असलजस्ता तर्क गर्दै दुवै समूह वादविवादमा उत्रन्छन् । त्यो वादविवादको उचित व्यवस्थापन भएन भने त्यहाँ हिंसासमेत हुनसक्छ ।
अर्थात्, हिंसाको पहिलो अधार विभाजन हो । नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या राष्ट्रवादी र विदेशी दलालका नाममा गरिने विभाजन हो । यस्तो ध्रुवीकरण यति लामो समयसम्म कुनै पनि देशमा रहेन होला । तर, नेपालमा आफूले भनेजस्तो नहुनेबित्तिकै विदेशी दलालको बिल्ला भिराइदिने र आफूलाई मात्र राष्ट्रवादी ठान्ने पञ्चायती मानसिकता अहिले पनि राजनीतिक दलका नेता कार्यकर्तामा छ । यो ’स्कुलिङ’बाट हुर्कने अतिवादी सोचले गर्दा मुलुकले धेरै क्षति ब्यहोरेको छ । पटकपटक मानवीय क्षति ब्यहोर्नसमेत हामी विवश भएका छाैँ । यस्तै विवशताबीचमा हामीले यो फागुण २३ गते भोग्याैँ।
क्षति भइसकेको छ । बन्दुकले छेँडेको प्वालबाट नेपालीको रगत सडकमा बगिरह्यो । हामी अब कसैको रगत त्यसरी नबगोस् भनी कामना गर्न र त्यो रगत बगाउनेमाथि कानुनी कारबाही गर्न दबाब दिनबाहेक केही गर्न सक्तैनौ । अर्थात् ती युवकको ज्यान फिर्ता ल्याउन सक्तैनौ । तर, राजनीतिकरूपमा यो घटना कसरी भयो र कस्को गलत निर्णयका कारण यो परिस्थिति निम्तियो भन्ने बारेमा भने कुनै न कुनै दिन सबैले महसुस गर्लान् । अहिले तातो रन्को छुटेको बेला घटनाको सही विश्लेषण संभव देखिँदैन ।
घटनाको २४ घन्टा नबित्दै सामाजिक सञ्जालमा पोखिएका प्रतिक्रिया हेर्दा यस विषयमा आआफ्नो पक्षलाई बचाउ गर्न नेकपा (एमाले), मधेसी मोर्चा र सरकार समर्थक कम्मर कसेर लागेका देखिएको छ ।
आफूलाई मात्र सच्चा राष्ट्रवादी ठान्ने प्रवृत्तिले हिटलर जन्माउने हो र सप्तरीको जस्तो घटना निम्त्याउने हो । सबै नेपालीलाई नेपाली देख्ने आँखा नेपाली राजनीतिक क्षेत्रमा देखिएन । कम्युनिस्ट स्कुलिङ २००७ साल वरपरदेखि नै यस्तै प्रकारको रह्यो ।
त्यस्तो दीक्षाको प्रभाव अहिलेसम्म राजनीतिमा कायमै छ । आफ्ना एजेन्डामा सहयोग नगर्ने र आफूलाई सत्तामा जान रोक्ने वा सत्ताबाट ओराल्ने सबै सजिलै विदेशी दलालका रूपमा दरिन्छन् ।
यहाँ विदेशी प्रभाव छ भन्नेमा कुनै शंका छैन । यहाँ षड्यन्त्रकारी पनि होलान्, उनीहरू प्रयोग पनि हुन्छन् होला । यो संख्या अपवादमा वा अत्यन्त न्यून छ । तर, राष्ट्रियताको सबालमा सबै नेपाली एक छन् र एक हुन्छन् भन्ने विश्वास नेपाली राजनीतिकर्मीले मौकामा देखाउन सकेनन् ।
पहिलो संसदीय निर्वाचन, २०१५ पछि गठित बीपी कोइरालाको सरकारको आकार वा उनले बनाएको पार्टी संरचनामा परेकाहरूको अनुहार हेर्दा नेपालको एकीकृत रूप देखिन्छ । त्यसबाहेक कुनै पनि बेला एकै ठाँउ वा एउटै संरचना हेर्दा सिंगो नेपालको प्रतिविम्ब देख्न सकिएन । पछिल्लो समयमा त आफ्नो विरोध गर्यो कि विदेशी दलाल भनिहाल्ने पवृत्ति राजनीतिक नेतृत्वमा देखियो ।
त्यस्तै अर्को प्रवृत्ति पनि देखिन थाल्यो — मधेसमा मधेसी मोर्चाबाहेकका दलले प्रदर्शन पनि गर्न नपाउने । मधेसी मोर्चाले कार्यक्रम बिथोलेको, बिथाल्ने चेतावनी दिएको यो पहिलोपटक हैन । यो निषेध तिनको मूल प्रवृत्तिकै रूपमा विकास हुँदैछ । हिजो माओवादी हिंसाको समयमा पहाडी जिल्लामा पार्टी भन्यो कि माओवादीमात्र बुझ्नुपर्थ्यो।
अरू दलको अस्तित्व अस्वीकार र प्रभाव मत्थर पार्न माओवादी आक्रमक हुनेगर्थे । त्यस्तै प्रवृत्ति आजकल मधेसी मोर्चाले देखाइरहेको छ । एमाले पनि मधेसी मार्चाप्रति आक्रामक देखिँदै आएको छ ।
सबै नेपालीलाई राष्ट्रवादी नदेख्ने दीक्षामा हुर्किएका, अर्काको अस्तित्व र प्रभाव स्वीकार्न नसक्ने प्रवृत्ति बोकेका र राजनीतिक ध्रुवीकरणलाई आक्रामक बनाउने सोच बोकेकाहरूको त्रिवेणीको घानमा सप्तरी परेको हो । यी प्रवृत्ति उपयुक्त राजनीतिक अभ्यासका लागि हितकर हुँदैनन् ।
यी प्रवृत्ति र चिन्तनबाट माथि उठेर बलियो राष्ट्रिय एकता निर्माणको अभियानमा आजैदेखि नजुट्ने हो भने संघीयताको अभ्यास हाम्रा लागि आत्मघाती हुनेछ । निश्चित् भूगोलमाथि एकलौटीको दाबी गर्ने प्रवृत्ति राख्ने अनि त्यस भूगोलमा अरूको उपस्थितिलाई पनि अस्वीकार गर्ने सोचको विकास हुने हो भने सप्तरी घटना जुनसुकै जिल्लामा पनि दोहोरिन सक्छ ।
तीनजना मानिस व्यर्थमा मारिए । अब उनीहरूप्रति श्रद्धाञ्जली चढाउनेभन्दा अरू विकल्प छैन । तर, त्यो श्रद्धाञ्जलीलाई अर्थपूर्ण गराउन उल्लिखित खराब प्रवृत्ति त्याग्दै बलियो राष्ट्रिय एकता निर्माण गर्न सबै प्रयत्नशील हुनै पर्छ ।
यस्तो एकता जनस्तरमा हुनुपर्छ । सत्तामा जाने बेलामा भागबन्डाका आधारमा सबै दल एकै ठाँउमा बसेमात्र बलियो एकता मान्यौ भने हामी अलमलमा पर्छौ ।
राज्य र पार्टीका हरेक तह र संरचनामा सिंगो देश झल्कनेगरी समावेशिताको व्यावहारिक अभ्यास गर्दै आपसी विश्वास, सहअस्तित्वको भावनाको विकास, र निषेधको राजनीति अन्त्य गर्ने संकल्प गर्ने हो भनेमात्र उनीहरूलाई श्रद्धाञ्जली दिएको ठहर्नेछ ।
घटनाको विश्लेषण गर्ने अनुकूल समय त भइसकेको छैन तर यति त भन्नै पर्छ — मधेसी मोर्चासँग सम्बन्ध कटु बनाएकोे एमालेले त्यति तामझामका साथ पूर्वबाट अभियान थाल्नु हुने थिएन । मधेसी मार्चाले एमालेको सभाको प्रतिकार गर्नु उसको उर्बौलो हर्कत हो । अझ त्यसलाई मधेसी जनताको स्वतःस्फूर्त प्रतिरोध भन्नु त मधेसी जनताप्रति लाञ्छना नै हो ।
राष्ट्रवादी र विदेशी दलाल भन्ने दाबी र आरोप चलिरहेको संवेदनशील अवस्था र चुनावका लागि वातावरण बनाउने दायित्व वहन गर्नुपर्ने बेलामा कुनै पनि हालतमा गोली चलाउने आदेश सरकारी पक्षबाट दिनुहुँदैनथ्यो । कमी सबै पक्षबाट भएका छन् ।
नियोजित बदमासी हो कि आकस्मिकरूपमा त्यसो भएको हो भन्ने छानबिन पनि होला । तर, जानेर वा नजानेर यी तीनै पक्ष घटनाका दोषी भएका छन् । अब आफू आफ्नो स्थानमा रहेर कसरी संयमित हुने भन्ने निर्णय गर्न तिनीहरू चुके भने यो घटना नियोजित थियो भन्ने आधार मिल्नेछ ।
देश विविधता युक्त छ ।
यस विविधतालाई राष्ट्रिय पुँजीका रूपमा स्वीकार गरी सहअस्तित्व र सहकार्यका आधारमा बलियो राष्ट्रिय एकता निर्माण गर्ने दिशामा उन्मुख हुन सकौँ । यो नै अखण्ड, स्वाभिमान र सद्भावपूर्ण नेपाल निर्माणको अचुक कार्यसूची हो । सबैको ध्यान अब यतातर्फ जान सकोस् । सप्तरी हामीबीचको बेमेलको अन्तिम घटनाका रूपमा इतिहासमा सीमित होस् ।