site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
फेरि एकपल्ट \'भद्र विद्रोह\' गर्छु

हली दाइकी छोरी र म दिनभर खेल्थ्यौँ । अरू सबै जना काममा हुन्थे । हामी खेलेको, खाएको धरातल एउटै थियो तर मेरो टाउकोमा छत हुन्थ्यो अनि उनको टाउकोमाथि खुला आकाश । किनभने, उनलाई समाजले तल्लो जातको बिल्ला भिराएकोथियो । मलाई यो कुरा पटक्कै मन पर्दैनथियो । मेरो बाल मनले यो कुरा कहिलै स्वीकार्न सकेन । मलाई सधैँ परिवार अनि समाजले गाली गर्थे । तर, मैले त्यही समाजलाई देखाईदेखाई यस्ता कुराको विरोध गर्न थालेँ  । 

म भान्छामा खाना खाइरहेकी हुन्थेँ, मसँगै पढ्ने, खेल्ने मेरी साथी बाहिर पिँढीमा बसेर खान्थिन् । उनलाई घर भित्र पस्न मनाही थियो । हामी दुवै असाध्यै मिल्थ्यौँ । मैले आफूले खाँदै गरेको थाल उठाएर बाहिर साथीसँगै बसेर खान थाले  ।

त्यसले हामी दुवैको मुहारमा रमाइलो चमक ल्याउँथ्यो । सायद, उनको मनमा पनि मेरैजस्तो प्रश्न आउँथ्यो होला तर ती प्रश्न समाजको डरले बाहिर निस्किन सक्तैनथिए । किनभने, उनलाई जन्मिएदेखि नै सानो जातको बिल्ला जो झुन्ड्याइएको थियो ।

Agni Group

हामीसँगै स्कुल जान्थ्यौँ, सँगै बसेर पढ्थ्यौँ । त्यही किताब, त्यही बाटो, तिनै गुरु अनि त्यही हावा सास फेर्थ्यौँ । हामी सबै कुरामा समान थियौं तर समाजले हामीबीच जातको रेखा कोरिदिएको थियो । त्यो समाज जुन हाम्रा लागि अस्तित्वमै थिएन । अर्थात, म उनले के भन्छ भनेर सोच्ने अनि ऊ मैले के भन्छ भनेर सोच्ने ! मलाई मेरा बाबाले जतिकै माया उसको बाबाले पनि गर्नुहुन्थ्यो । तर, त्यहीमाथि व्याख्या गरेको समाजले त्यो मायामा पनि जातभातको स्ट्याम्प लगाइदियो ।

म बुझ्ने भए यता, जबजब मलाई परिवारले यस्तो कुरा सिकाउँथ्यो तबतब म सिकाउने मानिसलाई नै प्रश्न सोध्थेँ । किन आमा ? किन बुबा ? कसले भनेको ? तपाईले कसरी थाहा पाउनुभयो ? आदि इत्यादि । उनीहरूलाई नै उल्टो प्रश्न गरेर हैरान पार्थेँ । अनि जे मन लाग्छ त्यही गर भनेर थकित मुद्रामा चुप लाग्थे ।

Global Ime bank

उनीहरू मेरो व्यवहारदेखि आजित हुन्थेँ भने म उनीहरूको सोचदेखेर । अहिले सम्झदा, यो मेरो अचेत मानसपटलले आफ्नै परिवारसँग गरेको विद्रोह रहेछ । मैले पहिलो विद्रोह आफैँसँग पनि परिवारसँग गरेँ । 
गाउँमा उच्च शिक्षाको उचित व्यवस्था नभएको कारण, आफ्नो घर, आमा, मिल्ने साथी सब छाडेर हिँड्न पटक्कै मनले नमान्दा नमान्दै पनि बाजे बजुको साथमा सहर पढ्न आएँ । यहाँ पनि केही फरक रहेनछ । त्यही अन्धविश्वास र कुरितिले जरा गडेको रहेछ । काठमाडौँ आएको धेरै भएको थिएन । मेरा धेरै साथी बनिसकेका पनि थिएनन् । तर रश्मी र म भने एकदम मिल्थौँ । एक दिन, गफ गर्दैगर्दा साँझ ६ बजेको थियो । रश्मी एक्कासि आत्तिँदै ढिला भयो भन्दै उठिन् ।

मैले “किन बल्ल ६ त बज्यो” भन्दा राति हाम्रो घरतिर डर हुन्छ, टोलमा आवारा केटा हुन्छन् भनिन् । म छक्क परेँ । यस्तो सहरमा पनि महिला यस्तो डरैडरमा बस्नुपर्ने रहेछ । मनमा कुरा खेल्न थाले ।

महिला मुक्तिको कुरा गर्ने, जान्ने बुझ्ने भनाउँदा मानिसको व्यवहारमा पनि मैले फरक पाइन । मैले सहर फरक हुन्छ भन्ने सोच्थें । यहाँ पनि, जेमा पनि छोरी मान्छेकै खोट देखाइने रहेछ ।

कसैले नराम्रो भने वा व्यवहार गरे भने पनि यसैले केही गरिहोली वा त्यस्तो त गरिहाल्छन् नि भनेर उल्टो नारीलाई नै दोष थोपर्ने रहेछन्  । छोरी मान्छे भएपछि छोरी जस्तै भएर बस्नुपर्छ आदि इत्यादि । नारीहरूलाई हेर्ने दृष्टिकोणमा यो विकसित ठूलो सहर भनिएको ठाउँमा पनि केही फरक रहेनछ  । मलाई निकै उकुसमुकुस भयो । छटपटी भयो । तर एक्लै के नै गर्न सक्थेँ र ?

बिस्तारै समय बित्दै गयो । प्लस टुको पढाइ सकेर के पढ्ने भन्ने अलमलमै थिएँ । परिवार देश छाडेर बाहिर जान भन्दै थिए । मलाई बाहिर जानु थिएन । समस्या यहाँ छ समाधान बाहिर हुन सक्तैन थियो । तर, मेरो चुनौती एउटै थियो । मलाई के गर्ने थाहा थिएन । समाज सेवा गर्ने लक्ष्य लिएर अघि बढ्न मन थियो । त्यसैले परिवारको दबाब हुँदाहुँदै पनि समाज सेवाकै विषय लिएर पढेँ । यसै क्रममा, मैले विवेकशील नेपालीको बारेमा थाहा पाएँ ।

आफ्नै उमेरका साथीहरू । उमेरभन्दा पनि मेरो मनमा जे छ, जस्तो सपना छ त्यस्तै सपना बोकेका साथीहरू भेटेँ । सुरुसुरुमा सरसफाइ अभियानबाट सुरु गरेँ । तर, मलाई महिला हिंसा अनि त्यो मानसिकताका निम्ति केही गर्नुथियो । तसर्थ, मैले एउटा टोली बनाएर महिला हिंसा विरुद्ध जागरण अभियानको तयारी गरेँ । सडक नाटक तयार गरी अभियान सुरु गर्ने निधो गर्‍यौँ ।
कहाँबाट सुरु गर्नेभन्दा मैले काठमाडौँको मुटु बसन्तपुरको डबलीबाट सुरु गर्ने निधो गरेँ ।

त्यति बेलासम्म हाम्रो एउटा राम्रो टोली बनिसकेको थियो । हामीले महिला हिंसा विरुद्ध जागरण अभियान संचालन गर्‍यौँ । अभियान राम्रै भयो । त्यसपछि हामीले पाटनलगायतका विभिन्न ठाउँमा पनि गर्‍यौँ । हामीले यही अभियानलाई काठमाडौं सहरबाट सुरु गर्दै नेपालगंजको भित्री गाउँहरूसम्म लग्यौँ । त्यस सँगसँगै दिदीबहिनीहरूलाई आत्मरक्षाको तालिमसमेत दियौँ । यो मेरो महिला हिंसाविरुद्ध समाजसँगको दोस्रो विद्रोह थियो  ।
त्यस्तो अभियानले केही परिवर्तन त ल्यायो तर समाधान दिन भने सकेन । मूलभूतरूपमा समस्या कहाँ छ भनेर खोज्दै जादाँ नीति कार्यानवयनमै रहेछ । 'फोर जी' चलाउने समाज किन ढुंगे युगकै सोचमा छ भनेर गम्दा हामी कहाँ नेतृत्वमा ठूलो समस्या रहेको दिनानुदिन अनुभूति गर्दै गएँ ।

त्यसपछि, म राजनीतिक अभियानमा संलग्न हुन थालेँ । संविधान तोकिएकै समयमा हुनुपर्छ भनेर 'नेता ज्यू! खबरदार, संविधान कहिले बन्ने ?' अभियानमा लगातार ३५ साता संविधान सभा अगाडि सहभागी भएँ ।
नेतृत्वको समस्याको कारण खोतल्दै जादाँ हाम्रो 'विकल्प कुर्दै बस्ने बानी' रहेछ । मेरो लागि कोही सडकमा गएर आन्दोलन गरोस् अनि म चाँहि घरमा सोफामा बसेर टेलिभिजनमा 'लाइभ' हेर्न पाउँ भन्ने मानसिकता रहेछ ।

त्यसैले मैले त्यो मानसिकता बदल्न अब राजनीतिमै आउनुपर्छ भन्ने ठानेर त्यसको सुरु आफैँबाट गर्ने जमर्को गरेँ । मैले बुझेको राजनीति भनेको ढुंगामुढा गर्नु, बन्दहड्ताल गर्नु, आफ्नो स्वार्थका लागि काम गर्नु थिएन । मेरो लागि त राजनीति समाजको सेवा गर्नु थियो । मैले राजनीतिको परिभाषा नै बदल्नुपर्छ भन्ने ठानेर राजनितीलाई समाजसेवाको उच्चतम विन्दुमा स्थापित गर्ने जमर्को गरें ।

तर मसँग राजनीतिको अनुभव नै थिएन । त्यसलाई परिपूर्ति गर्न मैले नेतृत्व विकास प्रतिष्ठानबाट नेतृत्वको तालिम लिएँ र ठूलो साहस गरेर आफैँभित्रका दुबिधालाई चिर्दै राजनीतिमा सक्रिय भएँ । म सानो हुँदादेखि जे देखेँ, जे भोगेँ त्यसलाई समाधान गर्न  सामाजिक अभियानसँगै नीतिगत परिवर्तनका लागि मैले राजनीतिक नेतृत्वविरुद्ध तेस्रो विद्रोह सुरु गरेँ । 

अर्थात्, मेरो पहिलो विद्रोह परिवारसँग थियो । त्यो मेरो लागि निकै चुनौतीपूर्ण थियो । दोस्रो विद्रोह, मेरै वरपरको समाजसँग थियो । अब राजनीतिक विद्रोह गर्नु छ । जाति, धर्म, लिङ्ग, पिछडिएका वर्गलाई सबैलाई अघि बढाएर सामाजिक, आर्थिक, राजनीतिकरूपले अघि ल्याई समृद्धितर्फ़ अघि बढ्नु छ । र, समग्र नेतृत्व अनि राजनीतिको यो यथास्थिति र मनपरीतन्त्रको पर्खाल तोडेर युवालाई अघि बढाउनु छ । सकारात्मक परिवर्तनका लागि भद्र आदोलन गर्नु छ । फेरि एकपल्ट शान्तिपूर्ण विद्रोह गर्नु छ ।

केन्द्रीय सदस्य, विवेकशील नेपाली दल ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC