लण्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले राजीनामा घोषणा गरेपछि त्यहाँ भावी प्रधानमन्त्री को हुने भन्ने चर्चा हुन थालेको छ । अब मे को उत्तराधिकारीको रुपमा बेलायतका लगभग १२ जना भन्दा बढी सांसदहरु प्रधानमन्त्री पदको दौडमा लाग्ने सम्भावना रहेको जनाइएको छ । अहिलेसम्म पाँच जना यो दौडमा लागिसकेका छन् ।
यसरी दौडमा लाग्नेमा विदेशमन्त्री जेरेमी हन्ट, पूर्व विदेशमन्त्री बोरिस जोन्सन,स्वास्थ्यमन्त्री मैट हेनाक, रोरी स्टुअर्ट र एस्टर मैक्के छन्् । मैट हैनाकले टेरेजा मेको उत्तराधिकारी हुनका लागि ब्रेक्जिटको सहमति बनाउन बढी इमान्दार बन्नुपर्ने जनाएका छन् । हैनाकले आफ्नो उम्मेदवारी घोषणा गर्दै आफू तुरुन्तै आमचुनाव गराउने पक्षमा नरहेको समेत बताए । उनले चुनाव गराउनाले ब्रेक्जिट समश्याको हल नहुने र यसले देशको लागि भयावह अवस्था सिर्जना हुने समेत उल्लेख गरेका छन् । हैनाकले मौजुदा संसदमा ब्रेक्जिट सौदामा सहमति बनाउने कोशिस गरिने समेत जनाएको बीबीसीले जनाएको छ ।