हेटौँडा (रासस) । हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए ।
उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले भारतीय प्रहरी पशुपति मन्दिरको दर्शन गर्न आएको र उनीहरुलाई भारत फर्काइएको बताए ।
प्रहरी प्रमुख सिंहले भने, , “गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको र हेटौँडास्थित पशुपति मन्दिर दर्शनपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइयो ।”
कानूनी प्रावधानअनुसार भारतीय प्रहरी यसरी हात हतियारसहित नेपाल आउनु गैरकानूनी हो । त्यसो त विहारबाट हेटौँडासम्म अधिकांश स्थानमा प्रहरीको जाँच हुन्छ । उनीहरु कसरी हेटौँडासम्म हात हतियारसहित आए ? यो विषयमा चासोको विषय बनेको छ । उनीहरु सुराकी गर्न आएको पनि हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।
सांकेतिक तस्बिर