नयाँ दिल्ली । भारतमा १७ औं लोकसभा चुनावका सात चरणको मतदान पूरा भइसकेको छ । टीभी च्यानल र सर्वे एजेन्सीहरुका ‘एग्जिट पोल’ सार्वजनिक भइसकेका छन् भने मे २३ मा आउने परिणामको प्रतिक्षा छ ।
अन्तिम चरणको मतदानका लागि प्रचार सकिए लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथ गएर बुद्ध पूर्णिमामा पूजा अर्चना गरे । त्यहाँ उनले झण्डै १७ घण्टा बिताए र गुफामा बसेर ध्यान पनि गरे । यस अघि मोदीले केदारनाथमा २०१३ मा गएको प्रलयपछि भइरहेको पुनर्निर्माणको अवलोकन पनि गरेका थिए ।
मोदीले आफ्नो यात्राका तस्बिर र भिडियो टीभी च्यानल, वेबसाइट र सामाजिक सञ्जालका माध्यमबाट आमनागरिक समक्ष पुगिरेहको सोची रहेका बेला विपक्षी दलहरुले यात्राको प्रत्यक्ष प्रशारणप्रति आपत्ति जनाए । आचारसंहिताअनुसार अन्तिम चरणको चुनावी प्रचार स्थगित भएपछि अप्रत्यक्ष ढंगबाट प्रधानमन्त्री मोदीले चुनावी प्रचारका लागि यस्तो उपाय अउनाएको उनीहरुको दाबी थियो ।
तृणमूल कांग्रेसका नेता डेरेक ओ ब्रायनले पत्र लेखेर भारतको निर्वाचन आयोगसमक्ष मोदीको यात्राको प्रत्यक्ष प्रशारणको उजुरी दर्ता गर्दै यात्रामा रोक लगाउन माग गरेका थिए ।
यो पूरै घटनाक्रमबाट केही प्रश्नहरु खठेका छन्, जसमाथि चर्चा भइरहेको छ । जस्तै, मोदीको केदारनाथ यात्राको प्राप्ति के थियो ? के यो एक प्रकारको चुनाव प्रचार थियो ? के चुनावका दौरान प्रचार रोकिएलगत्तै शीर्ष नेताहरु सार्वजनिक कार्यक्रममा अथवा निजी धार्मिक यात्राहरुमा जानु गलत हो ?
के यो प्रचार थियो ?
नरेन्द्र मोदीको केदारनाथ यात्राका लागि एउटा ‘टर्म’ प्रयोग गरिँदैछ– ‘सेरोगेट क्याम्पेनिङ’ । ‘सेरोगेट क्याम्पेनिङ’ अर्थात अप्रत्यक्ष रूपबाट चुनाव प्रचार गर्नु । सामान्यतया मतदानभन्दा २४ घण्टा अगाडि नै चुनावको प्रचार–प्रसार गर्न पाइदैन । यस्तो अवस्थामा कोही नेता र राजनीतिक दलले मतदान हुने क्षेत्रमा चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन् । कसैले खुलेर प्रचार नगरेरै अप्रत्यक्ष ढंगबाट मतदातालाई प्रभावित पार्न सकिने काम गरिए त्यसलाई ‘सेरोगेट क्याम्पेनिङ’ भनिन्छ ।
मे १९ मा हिमाञ्चलमा मतदान हुँदै गर्दा केदारनाथमा मोदीले हिमाञ्चली टोपी शीरमा सजाएका थिए । ‘‘प्रधानमन्त्री मोदीको केदारनाथ यात्रालाई केही मानिसहरुले ‘सेरोगेट क्याम्पेनिङ’ भनिरहेका छन्,’’ वरिष्ठ पत्रकार राधिका रामासेशन भन्छिन्, ‘‘प्रधानमन्त्रीलाई सामान्यतया कतै जान रोकटोक त छैन् तर यो मामिला नैतिकता र शिष्टाचारसँग जोडिएको छ ।’’
प्राविधिक र कानुनी ढंगबाट हेर्दा मोदीले केही गलत गरेको नभए पनि राजनीति र चुनावमा शिष्टाचारको कुरा पनि आउने उनको भनाइ छ ।
‘‘उनी मन्दिर जाउन, पूजा गरुन तर न्युज एजेन्सीहरुलmाई आफूसँगै लगेको आरोप लागिरहेको छ । उनका गतिविधिहरुका बारेमा जनमानसमा पलपल पुगिरहेको छ, प्रश्न त्यसमाथि उठिरहेको छ,’’ वरिष्ठ पत्रकार रामासेशनले भनिन् ।
निजी यात्रा वा रणनीतिक भ्रमण ?
वरिष्ठ पत्रकार प्रदीप सिंह प्रधानमन्त्री मोदीको केदारनाथ यात्रालाई फरक नजरबाट हेर्छन । ‘‘चुनाव प्रचारको सानो अंश हुन सक्छ तर यो उनको निजी आस्थाको कुरो हो,’’ सिंहले भने । प्रधानमन्त्री पदमा रहँदा मोदी चौथो पटक केदारनाथ गएका र भ्रमण उनको आस्थाको निजी पक्ष भएको सिंहको भनाइ छ ।
मिडिया कभरेजका कारण उठ्यो सवाल ?
अप्रत्यक्ष रुपमा चुनावको प्रचार गरेको आरोप मोदीमाथि मात्रै नभएर अन्य नेताहरु माथि पनि लगाइदै आइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि निर्वाचन आयोगले प्रचार–प्रसार गर्न प्रतिवन्ध लगाएका बेला उनी हनुमान मन्दिर पुगेका थिए । जसलाई मिडियाले कभर गरेको थियो ।
प्रधानमन्त्री मोदी केदारनाथ गएको, ध्यान गरेको लगायतका तस्ब्रि र भिडियो मिडियाका माध्यमबाट सीधै जनतासम्म पुगे । यस्तो अवस्थामा एउटा अहम् प्रशन उठेको छ– के यसका लागि मिडिया पनि जिम्मेबार छ ?
वरिष्ठ पत्रकार राधिका रामासेशन यसका लागिद मिडिया नभएर निर्वाचन आयोग जिम्मेबार रहेको जिकिर गर्छिन् । “जहाँ समाचार हुन्छ त्यहाँ मिडिया त जान्छ नै । प्रधानमन्त्रीको भ्रमणलाई मिडियाले कभर गरेर कुनै गल्ति गरेको छैन्,’’ उनले भनिन् ।