site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मत सर्वेक्षण कति विश्वासिलाः अमेरिकामा ‘म्याडम प्रेसिडेन्ट’ भनिएको थियो, भारतमा के होला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । छिमेकी भारतमा गएको आइतबार सत्रौं लोकसभा निर्वाचन सकिएको छ । नतिजा बिहीबार सार्वजनिक हुँदैछ । निर्वाचन सकिएलगत्तै भएका ‘एक्जिट पोल’को नतिजाले त्यहाँ अहिले हल्लीखल्ली मच्चिएको छ । विभिन्न पक्षबाट गरिएका एक्जिट पोलमा प्रधानमन्त्री नरेन्द्र मोदी समर्थित गठबन्धनले चुनाव जित्ने कुरा सार्वजनिक गरियो । तर, के होला भनेर अहिले चर्चा भइरहेको छ । पोलपछि अहिले भारतमा विभाजित धारणा आइरहेका छन् । अझै दुई दिन यो क्रम जारी रहने अवस्था छ । सत्तापक्ष खुसी देखिएको छ भने विपक्षीले एक्जिट पोल भन्दा पनि एक्ज्याक्ट पोल (वास्तविक नतिजा) का लागि २३ तारेखसम्म पर्खन आग्रह गरेका छन् । सात चरणको निर्वाचनपछिको मतपरिणाम मे २३ मा एकैपटक आउने छ ।

धेरै देशमा मत सर्वेक्षण मिल्दैन !

पछिल्ला दिनमा विश्वमै यस खालका सर्वेक्षणको परिणाम त्यति विश्वस्त पाइएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा पनि विभिन्न समयमा भएका चुनावको मत सर्वेक्षण नगरिए पनि राजनीतिक विश्लेषक र मिडियाले गरेका अनुमानभन्दा फरक नतिजा आएको देखिन्छ । 

अमेरिकामा पनि सन् २०१६मा भएको निर्वाचनको परिणाम आउने बेलामा पत्रपत्रिकामा ‘म्याडम प्रेसिडेन्ट’ समेत भनेर समाचार प्रकाशित भएका थिए । त्यसभन्दा अघि हिलारी क्लिन्टनले जित्ने विषयलाई लिएर ९९ प्रतिशतसम्मका अनुमान सार्वजनिक भएका थिए । त्यसैले क्लिन्टनले चुनाव जित्छिन् भनेर यसो भनिएको थियो । तर, परिणाम उल्टो आयो । हिलारी क्लिन्टनले होइन डोनाल्ड ट्रम्पले चुनाव जिते । सन् २०१६ मै भएको युरोपेली संघ (इयु)बाट बेलायत बाहिरिने ब्रेक्जिटको पक्षमा जनता छन् कि विपक्षमा भन्ने बारेमा गरिएको पोलमा पनि जनता नबाहिरीने पक्षमा देखिएको मत सर्वेक्षण सार्वजनिक गरिएको थियो । 

Global Ime bank

तर,  जनमत अलग हुने पक्षमा आयो । गत शनिबार मात्रै अष्ट्रेलियामा भएको निर्वाचनमा पनि यस्तो पोल फेल खायो । त्यहाँको विपक्षी दल सत्तामा आउन सक्ने अनुमान गरिएपनि त्यसो भएन  । अहिले भारतको हकमा पनि के होला भन्ने चासो भइरहेको छ । एक्जिट पोलमा प्रधानमन्त्री मोदी पक्षले जित्ने देखिएपनि सर्वसाधारण त्यसलाई विश्वास गर्ने कि नगर्ने भनेर अन्योलमा छन् । अमेरिकामा पोललाई विश्वास गर्दै ‘म्याडम प्रेसिडेन्ट’ भनेर घोषणा गर्दै पत्रपत्रिकामा कभर स्टोरी बनाइएको थियो । अहिले भारतमा पोल पछि मोदीलाई ‘मिस्टर प्राइममिनिस्टर’ भन्न थालिएको छ । तर अमेरिका वा अष्ट्रेलियामा जस्तै त भारतमा पनि हुँदैन भनेर प्रश्न पनि उठिरहेका छन् । 

अष्ट्रेलियामा गएको शनिबार भएको निर्वाचनमा विपक्षी  लेबर पार्टीले विजय हासिल गर्ने पोलको परिणाममा देखिएको थियो । तर, नतिजा सत्तारुढ लिबरल पार्टीको पक्षमा आयो । ओपिनियन पोल फेल खायो । अष्ट्रेलियाका न्यूज अर्गनाइजेसन न्यूजपोल, युगभ ग्यालेक्सी, रिच टेललगायतकाले पोल गरेका थिए । दुई पार्टीमा लेबरको अवस्था ५१ र सत्तारुढ लिबरल पार्टीको ४९ प्रतिशत देखाइएकोे थियो । तर, सबै फेल खाए । विपक्षी लेबर पार्टीका नेता बिल सर्टेनले पराजय स्वीकार गरेर राजीनामा घोषणा गरेका छन् । अष्ट्रेलियामा अनिवार्य मतदानको व्यवस्था रहेको छ । मतदानमा नजानेलाई कारवाही गर्ने कानुनी प्रावधान नै छ । 

भारतका पोल

भारतमा गएको आइतबार सम्पन्न लोकसभा निर्वाचन सकिएको दिननै अनेकथरीका एक्जिट पोल देखिए । ती सबैको निचोड भने मोदी जित्दैछन् भन्ने नै थियो । प्रधानमन्त्री मोदीको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले सबैभन्दा बढी ३०० सिट जित्ने आँकडा सार्वजनिक गरिएका छन् । भारतमा सरकार बनाउनका लागि २७३ सिट आवश्यक पर्छ । न्यूज १८ आईपीएसओएस, इण्डिया टुडे, टाइम्स नाउ सीएनएक्स, न्यूज एक्स, रिपब्लिक भारत जनकी बात, पिब्लिक सी भोटर, एबीपी सीएसडीएस, टुडेज चाणक्यलगायतले पोलको नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम चरणको निर्वाचन सकिएको आधा घण्टापछि मात्रै त्यस त्यस खालको पोल सार्वजनिक गर्न सकिने भारतमा कानुनी व्यवस्था  छ ।

भारतको पहिलाको नजिर

प्रायः यस्ता एक्जिट पोल असत्य साबित भएर विश्वभरी नै आलोचना भइरहेका छन् । त्यसो हुनुमा स्याम्पल संकलन नै त्यति भरपर्दो नभएकाले हो भन्न थालिएको छ । भारतमै २००४ र २००९को एक्जिट पोल नराम्रोसँग फेल खाएका थिए । २००४को एक्जिट पोलमा अटल बिहारी बाजपेयी नेतृत्वको भाजपा गठबन्धनले व्यापक विजय हासिल गर्ने दाबी गरिएको थियो । तर, ती पोलहरुलाई हार खुवाउँदै कांग्रेसले त्यतिबेला सरकार बनाउने अवस्था आयो । सन् २००९मा पनि हङ्ग पार्लियामेन्ट हुने जनाइएको थियो । त्यो बेलापनि यो गलत भयो किनकि कांग्रेसले नै त्यो समयमा २०० भन्दा बढी सिट म्यानेज गरेको थियो । उसको गठबन्धनलाई बहुमत आयो । २०१४मा सायद मतदाताको मूड नापेर होला भाजपा नेतृत्वको एनडीएले नै चुनाव जित्ने प्रक्षेपण गरिएको थियो । तर, भाजपा एक्लैले सामान्य बहुमत ल्याउन सफल भयो । एनडीएले एक्लै ३०० भन्दा बढी मत ल्यायो । 

मत गन्नुभन्दा अघि सन् २०१४ मा कसरी गरिएको थियो एक्जिट पोल भन्ने विषयमा जाऔं । २०१४ को एक्जिट पोलमा नरेन्द्र मोदी नेतृत्वको एनडीएले जित्ने आकलन गरिएको थियो । उनी नेतृत्वको गठबन्धन नै सबैभन्दा ठूलो बन्ने त्यतिबेला चर्चा भएको थियो । तर, उनीहरु पूर्वानुमानको स्केल तय गर्न भने असफल भएका थिए ।

उनीहरुले भाजपालाई कम आक्ने काम मात्रै गरेनन् कंग्रेस नेतृत्वको गठबन्धनले ल्याउने सिटलाई पनि ओभर इस्टिमेट गरेका थिए । सन् २०१४का मुख्य ६ वटा पोलमध्ये न्यूज २४ चाणक्यले गरेको पोल धेरै मिल्दो देखिएको थियो । सो कम्पनीले ३४० सिट एनडीएको आउने जनाएको थियो । तर एनडीए गठबन्धनले ३३६ सिट जितेको थियो ।  इण्डिया टीभीका भोटरले एनडीएको पक्षमा सामान्य बहुमत अर्थात् २८९ सिट आउने आंकलन गरेका थिए । सो चुनावमा कांग्रेसले ४४ सिट जितेको थियो । भारतमा जम्मा ५४३ निर्वाचन क्षेत्र छन् ।

पहिलो कहिले ?

पहिलो निर्वाचन पोल सन् १८२४ मा अमेरिकामा भएको विभिन्न रेकर्डहरुमा पाइन्छ । त्यो बेलामा स्ट्र पोल पनि भनिन्थ्यो । सो पोल हरिसबर्ग पेन्सिलभानियनले अमेरिकी राष्ट्रपतिको चुनावमा गरेको पाइन्छ । तर, त्यसखालको पोल कुनै शहरमा केन्द्रित रहेका थिए । त्यसपछि थुप्रै पोल यसबीचमा थुप्रै स्थानमा भएका छन् । कतिपय मिलेका छन् भने कतिपय लज्जाजनक रुपमा नमिलेका पनि छन् । लज्जाजनक रुपमा नमिलेको पोलको उदाहरण दिनुपर्‍यो भने सन् २०१६को राष्ट्रपति निर्वाचनको परिणामलाई पनि दिन सकिन्छ ।

२००४ र २०१९ उस्तै

धेरै भारतीयले अहिलेको चुनाव सन् २००४को चुनावसँग मिल्दोजुल्दो भएको पनि बताइरहेका छन् । त्यतिबेला जब राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकारको चमकधमकले भरिएको ‘इण्डिया साइनिङ’ अभियान र बहुप्रचारित ‘फिल गुड फ्याक्टर’ धराशायी भएको थियो । तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीको प्रभावशाली नेतृत्वको रङ उडेको थियो । त्यही भएर केन्द्रमा कंग्रेसले सरकार बनाउन सफलता पाएको थियो । 

त्यतिबेला मुख्य मिडियामा विश्लेषकहरुले त्यस्तो परिणाम आउँछ भनेर अनुमान गरेका थिएनन् । किनकि कंग्रेस एक जना महिलाको नेतृत्वमा चुनाव लडिरहेको थियो जो राम्रोसँग हिन्दी पनि बोल्न सक्दिनथिन् । तर, कंग्रेस नेतृत्वको गठबन्धनले नै चुनाव जित्यो । अहिले पनि धेरैजसो विश्लेषकले मोदीले चुनाव जित्ने बताएका छन् ।

यद्यपि सन् २००४ र २०१९ को अवस्थामा केही समानता पनि रहेको विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९९९मा तेह्राैं लोकसभाको निर्वाचन सेप्टेम्बर–अक्टोबर महिनामा भएको थियो । चौधौं लोकसभाको २००४ को निर्वाचन ५ महिना पहिला नै गर्न बाजपेयीलाई उनका रणनीतिकारहरुले सल्लाह दिएका थिए । वाजपेयीलाई साइनिङ इण्डियाको नाराले विपक्षीको सत्ता विरोधी लहरलाई पाखा लगाउने आशा थियो । यो सोचको आधार भनेको एनडीए शासनको समयमा आर्थिक बृद्धि लगातार भइरहेको तथ्यांक सार्वजनिक गरिएका थिए । भारतमा विदेशी मुद्राको भण्डारण राम्रो हालतमा थियो । त्यतिबेला १०० अर्ब डलर भन्दा बढी भण्डारण थियो ।  त्यो भनेको त्यतिबेला विश्वमै सातौं बढी विदेशी मुद्राको भण्डारण थियो । अनि भारतका लागि नयाँ रेकर्डपनि थियो । 

सेवा क्षेत्रमा पनि ठूलो संख्यामा रोजगारी पैदा गरिएको थियो । यही सकारात्मक अवस्थाका कारण नै रणनीतिकारले वाजपेयीलाई पहिला नै चुनाव गराउन सुझाव दिएका थिए । यसैले २० अप्रिल देखि १० मे २००४ सम्म चार चरणमा लोकसभाको निर्वाचन भएको थियो । सन् १९९० को दशकमा भएको सबै लोकसभा चुनावको तुलनामा २१ औं शताब्दीको पहिलो आम चुनाव थियो त्यो । त्यसमा वाजपेयी र सोनिया गान्धीको व्यक्तित्वमा टकरावको अवस्था थियो । जस्तो यसपालि प्रधानमन्त्री मोदी र कंग्रेस अध्यक्ष राहुल गान्धीमा देखिएको छ । वाजपेयी नेतृत्वमा एनडीएले आफ्नो काम सर्वसाधारणसमक्ष प्रस्तुत गरेको थियो त्यसबाहेक सोनिया गान्धी विदेशी मूलकी भन्ने विषयलाई बढी चुनावी मुद्दा बनाएको थियो । 

अहिलेपनि प्रधानमन्त्री मोदी लगायतका उनको गठबन्धनका नेताहरुले गान्धी–नेहरु परिवारलाई निशाना बनाएको देखियो । यहाँसम्मकी चुनावको बीचमा भाजपाका सांसद सुब्रमण्यम स्वामीले  राहुल गान्धीको नागरिकताको विषय दोस्रो पटक उचाले । त्यसलाई सर्वोच्च अदालतले धेरै अघि नै टुंगो लगाइसकेको थियो । २००४ मा कंग्रेस र अन्य विपक्षी दलले जनता खुसी नभएको, किसानले आत्महत्या गरेको, महंगी बढेको, सन् २००२ मा गुजरातमा नरसंहार भएकोजस्ता मुद्दा सत्ता गठबन्धनविरुद्ध लगाएका थिए । यसपालि विपक्षीले नोटबन्दी र जीएसटीको असफलता, बेरोजगारी, किसानको नाजुक हालत, रफाल विमान खरिद प्रकरण, सामाजिक तनाव, संवैधानिक संस्थाको अवमूल्यन जस्ता मुद्दा बनाएको छ । अहिलेकै जस्तो विपक्षीको हालत उतिबेला पनि खराब देखाइएको थियो । २००४ मा सत्तारुढ गठबन्धन आफ्नो सम्भावनाका बावजुद् पराजित भएको थियो । वाजपेयीको करिस्म्याटिक नेतृत्वले पनि त्यतिबेला काम गर्न सकेन । १३ मे २००४ मा आएको नतिजामा भाजपा नेतृत्वको एनडीएको पराजय भयो तर कुनैपनि दलको बहुमत आएन । कंग्रेस सबैभन्दा ठूलो पार्टी हुन सक्यो । त्यतिबेला कंग्रेसलाई १४१ र भाजपालाई १३८ सिट आएको थियो ।

कंग्रेसले विभिन्न सहयोगी दलसँग मिलेर संयुक्त प्रगतिशील गठबन्धन (युपीए) बनाएको थियो । जसलाई वामपन्थीसहितको समर्थन थियो । त्यसैबेला कंग्रेसका डा. मनमोहन सिंह भारतको १४ औं प्रधानमन्त्री भएका थिए । अहिले मोदी पनि वाजपेयी जस्तै नेता मानिन्छन् जो राजधर्म निभाउने कुरा गर्छन् । तर वाजपेयी सरकार ढल्दापनि आशाहीन अवस्थामा देखिएका थिएनन् । 

तर, पहिला अहिलेको जस्तो सामाजिक सञ्जालको प्रयोग, अपार आर्थिक संशाधन, चुस्त कर्पोरेट स्टाइल, बुथहरुको माइक्रो म्यानेजमेन्ट देखिएको थिएन । यद्यपि मर्यादामा रहने हिसाबले भने पहिला र अहिलेको तुलना गर्न नसकिने बताइने गरेको छ । जस्तो अन्तिम चरणको चुनावको अघिल्लो दिन मोदी गुफामा गएको जस्तो वाजपेयीले गर्ने थिएनन् । यस्तो मामिलामा वाजपेयी र मोदीको तुलनै हुन नसक्ने बताइने गरेको छ । २००४ र २०१९को चुनावमा केही समानता भएपनि खेलाडी भने निकै फरक छन् । परिणाम के आउँछ त्यसका लागि दुई दिन पर्खिनुपर्नेछ । तर, यी दुई दिनका  बीचमा अनेकथरी अनुमान र हल्ला भने जारी रहने संकेत देखिएको छ । 
(विभिन्न एजेन्सीहरुको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC