बेइजिङ । चिनियाँ ख्यातिप्राप्त प्रोद्योगिकी (टेक्नोलोजी) कम्पनी हुवावेका संस्थापकले अमेरिकाले चालेको कदमविरुद्ध लड्न आफ्नो कम्पनी तयार रहेको बताएका छन् । हुवावेका उत्पादनमा आवश्यक पार्टपुर्जामा अमेरिकी निर्भरतामा कमी ल्याउने पनि उनले घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबारदेखि प्रभावकारी ढङ्गमा अमेरिकी बजारमा हुवावेलाई प्रतिबन्ध लगाइदिएका छन् । हुवावेका संस्थापक तथा सीईओ (प्रमुख कार्यकारी) रेन जेङफेले शनिबार जापानी पत्रकारहरुसँगको भेटघाटमा भने, ‘‘हामी केही समय अघिदेखि नै यसको तयारीमा जुटेका थियौं ।’’
रेनका अनुसार उनको कम्पनीले पार्टीपुर्जाको विकासका काम पनि जारी राख्नेछ । हुवावे फाइभजी प्रोद्योगिकीमा अगुवा कम्पनी भए तापनि अधिकांश पार्टपुर्जामा अरुमा निर्भर रहँदै आएको छ । निक्की बिजनेस डेलीअनुसार हुवावेले वार्षिक करिब ६७ अर्ब डलरको पार्टपुर्जा खरिद गर्छ । यसमध्ये करिब ११ अर्ब डलरबराबरको आपूर्ति अमेरिकी कम्पनीले गर्दै आएको छ ।
एएफपी