site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल पत्रिका त एमाले भएछ !

आइतवार बिहानै नेपाल पत्रिका घरमा आयो । पत्रिकाको कभर पृष्ठमै शेरबहादुर देउवाको सुरुवाल खुस्केको स्केच रहेछ, छेउमा भँगेरे टाउके अक्षरमा लेखिएको थियो ‘सखाप साख’ । कभर पेजमा नै शेरबहादुर देउवाको साख समाप्त भएको घोषणा गर्दैगरेको नेपाल पत्रिका देखेर एकछिन गर्व पनि लाग्यो । यो देशको सबैभन्दा शत्तिशाली व्यक्तिमाथि पनि नेपाली मिडियाले यति सशक्त ढंगले प्रहार गर्न सक्छ भनेर । एकछिन पछि अचानक मेरो मुखबाट निस्क्यो, “नेपाल पत्रिका पनि एमाले भएछ !” अनि मज्जाले हाँसे ।

नेपालमा पत्रकारहरू यति नराम्ररी राजनीतिक नेतासँग एउटै ओछ्यानमा सुतेका छन् कि कुनै पनि नेताले पत्रकारले स्वतन्त्र ढंगले, आफ्नै सोचले र रचनात्मक आलोचना गर्छ भन्ने दृष्टिले हेर्दै हेर्दैनन् । अनि जसलाई भनिएको हो उसले सहजै भनिदिन्छ – मेरो विरोधी दलको समर्थक भइसक्यो, त्यसैले त्यस्तो लेखेको हो । हैन, सही कुरा लेखेछ, मलाई समयमै ब्युँझाइदियो भनेर कसैले पनि भन्दैन । 

यो रोग अहिलेको होइन । धेरै पहिलेदेखिको हो । पत्रकारले आफ्नो पेसाभन्दा दल विशेषको कुनै नेतालाई आफ्नो सोच र सर्वस्व बुझाएको पनि धेरै पहिलेदेखि नै हो । आजभन्दा करिब २३ वर्षअघि म द काठमाडौं पोस्टको आर्थिक संवाददाता थिएँ । त्यसबेला रामकृष्ण ताम्राकार उद्योग मन्त्री थिए । उनले प्रजातान्त्रिक नेपालको लागि पहिलो लगानी सम्मेलनको आयोजना गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुर तथा द काठमाडौं पोस्टमा समाचार राम्रैसँग आएको थियो । तर, सबै समाचार प्रथम पृष्ठमा आएनन् भन्ने गुनासो र केही समाचारमा सम्मेलनको आलोचना भएको भनेर मन्त्रीका निकटका व्यक्ति पत्रिकाको अफिसमा नै आए । मैले पनि डेस्कमा कोही व्यक्ति यस्तो आर्थिक समाचार बुझ्दैनन् त्यसैले भित्री पृष्ठमा प्रकाशित गरिदिए भने । तर, ती मेरा पनि निकट चिनजान भएका व्यक्तिले भने – “थाहा छ, यहाँ को को एमाले समर्थक छन्, सब थाहा भइसक्यो ।”

\"\"भर्खरै पत्रकारित गरिरहेको र यसको मर्मअनुसार काम गर्नुपर्छ भन्ने सोच भएको मलाई नराम्रो झट्का लाग्यो । ए ! पत्रकारले कुनै विषयमा आफ्नो स्वविवेक प्रयोग ग¥यो भने यस्तो आरोप पो लाग्ने रहेछ भनेर मनमा चिसो पस्यो । अनि मनमनै सोचेँ – “पत्रकार बन्ने हो भने राजनीतिक दलका नेतासँग एउटा दूरी बनाएरै बस्नुपर्ने रहेछ । नत्र त राजनीतिक नेताको रौं हल्लिदाँ पनि तुरुन्तै अर्को दलको एजेन्ट भन्ने आरोप लाग्ने रहेछ ।”

Global Ime bank

पछि बानी पर्दै गयो । देउवाकोमा गयो तपाईंहरू खाली गिरिजाको राम्रो लेख्नुहुन्छ, मलाई कुनै महत्व दिनुहुन्न भन्ने गिरिजाप्रसाद कोइरालाकोमा गयो खाली देउवाको समाचार प्रकाशित गर्नुहुन्छ भन्ने गुनासो । कांग्रेसकोमा गयो पत्रिका माओवादी भयो है भन्ने अनि माओवादीकोमा गयो देश र जनताको स्वतन्त्रताका लागि लडेको आफ्नो पार्टीले महत्व पाएन भन्ने । 

समयको अनेक थप्पड खाँदाखाँदै पनि सुशील कोइरालाले भने प्रेस सल्लाहकार कसरी बनाए पत्तो भएन । तर, त्यहाँ बस्दा पनि कुन पत्रिका कस्को समर्थनमा छ, कुन आफ्नो नजिकको पत्रकार र कुन अर्को दलको पत्रकार भन्ने हिसाब गर्दैमा समय बित्यो । पत्रकारले आफ्नो पेसा नगरेर राजनीति गरेको देख्दा अचम्म लाग्यो । वास्तवमा आफ्नै विवेकले, आफ्नै सोचले सही र गलत छुट्याउने पत्रिका र पत्रकार पाउन त मुस्किल नै रहेछ । पत्रकार पनि आफू कुन नेतासँग नजिक भन्ने कुरामा गर्व गर्दा रहेछन् । म स्वतन्त्र पत्रकार हुँ भनेर त कोही दुई खुट्टामा उभिनै नसक्ने ।

पत्रकार महासंघमा पनि कहिल्यै स्वतन्त्र पत्रकार उठेर नजित्ने । एकदुई जनाले कोसिस गर्दा पनि नराम्ररी पराजित भए । तिनले यस्तो आदर्श यो देशमा चल्दैन भन्ने शिक्षा हासिल गर्ने बाहेक अरू केही गर्न सकेनन् । एमाले र कांग्रेसको साझा उमेदवार कहिल्यै नहुने । अर्थात्, पत्रकार कहिल्यै पत्रकार नरहने राजनीतिक कार्यकर्तामात्र हुने अवस्थाबाट मुक्ति नहुने भयो । 

कहिलेकाहीं प्रशान्त अर्यालजस्ता पत्रकार निस्कन्छन् जुन दलसँग नजिक भनेर चिनिएका भए पनि सबैभन्दा ठूलो दलको सभापतिलाई नै कस्सिएर चेतावनी दिन्छन् । जस्तो नेपाल पत्रिकामा सन्तोष आचार्यले लेखे र अर्यालले कभर नै बनाए । त्यो पनि सशक्त ढंगले चासो पोखे । तर के देउवा र उनी नजिकका व्यक्तिले यसलाई सकारात्मक विरोधको रूपमा लेलान् ? लिँदैनन् ।

यो लेखकसँग विगतमा भएको तीतो अनुभवले पनि भन्छ – त्यस्तो हुँदैन । बरु, देउवा समर्थक सबैजना एक मुखले नेपाल पत्रिका त एमालेको भइसकेको छ, प्रशान्त अर्याल बिकिसके भन्नेजस्ता आरोप लगाएर हिँड्नेछन् । नेपालको सबैभन्दा ठूलो मिडिया हाउसको एक प्रभावशाली म्यागजिनले आफूविरुद्ध लगाएको आरोपका सम्बन्धमा देउवाले पत्रकार सम्मेलन गरेरै आफ्ना कुरा राख्नुपर्छ । जुन हदसम्म आफू सप्रिने हो त्यस हदसम्म पत्रिकालाई धन्यवाद दिनुपर्छ । तर, सायद त्यस्तो कुरा नेपालमा आदर्शमात्रै मानिने छ ।

बरु, त्यो सन्तोष आचार्य कुन दलको नजिक हो र त्यसलाई कसले कति पैसा दिएर लेखाएछ भन्नेतिर कुरा बढी चर्चा हुनेछ । अझ सम्पादक र लेखक दुवैलाई निकाल्नका लागि दबाब पुग्नसक्छ व्यवस्थापनमा । किनभने, जे कुरा समस्या देखिएको छ त्यसले नेता र उनका नजिकका मान्छेलाई छुँदैन । तिनको धर्ममा जनताले र पत्रिकाले सही भनेको कुरा गर्नुपर्छ भन्ने कहिँ छैन ।

यहाँका नेताका नजिकका मान्छेको विचारमा नेताले सकभर कमाउनुपर्छ र त्यो आफ्ना आसेपासेलाई बाँडनुपर्छ । राजा हुन्, राणा हुन वा अहिलेका शासक सबैमा त्यही सामन्ती सोच भरिएको छ । जनता पनि आफैँमा अधिकार खोजेर, आफूले पाउने अधिकारका लागि लड्दैनन् । बरु, आफूभन्दा तलका मान्छेमाथि हैकम राख्न, आफू पनि एउटा सामन्तीको चाकर बनेर हिँड्छन् । त्यसैले नेता जनताका हुँदैनन्, पैसाका नेता हुन्छन् ।

प्रेसले जति लेखे पनि केही हुँदैन । किनभने पत्रकार सबैले नगुमाए पनि यो देशमा पत्रकारिताले आफ्नो सतीत्व गुमाइसकेको छ । बरु, पेरुका फुजिमोरी वा टर्कीका एर्डोआनजस्तै पत्रकार र विरोधीमाथि शारीरिक, आर्थिक वा सरकारी आक्रमण गरेर त्यसलाई धम्काउने, तर्साउने वा सडकमा पुर्याउने कोसिस गरिन्छ । तर, पत्रकारले भनेका कुरामा ध्यान दिनुपर्छ भन्ने सोच पलाउँदैन । तर, नेताज्यू ! सधैँ यस्तो चल्दैन ।

ज्ञानेन्द्रलाई पनि पत्रकारले जनताको अधिकार देऊ, तिम्रो साख सकियो भनेकै हो, मानेनन् । अहिले कुमारीको दर्शन गर्न जान पाउँदा बडो ठूलो सम्मान पाएकझैँ ठानेर बस्नुपरेको छ । लोकमानलाई पनि पत्रिकाले तिमीले साख गुमायौ है, अब ध्यान देऊ भन्दा उनलाई ध्यान दिनुपर्ला जस्तो लागेन । उनी पनि विरोधीलाई सिध्याउने ध्याउन्नमा लागे । उनको के अवस्था भयो भनेर अहिले नै सम्झाउनु कसैलाई नपर्ला । किनभने यो घटना निकै हालैमात्रको हो । नेपाल पत्रिकाले देउवाको विषयमा यो लेख लेखेरमात्र ठूलो विषय भएको होइन ।

कुरा के भने जनताले के भन्दैछन् र नेताले कस्तो व्यवहार गर्नुपर्छ भनेर हामीमा सोच्ने चलन छैन । एमाले भयो, पैसा खायो, महाको विरोधी हो भनिदियो, सकियो । नेपाल पत्रिकाको कभर र भित्रको समाचार पढेपछि मनमनै सोचेँ, अब पत्रकार र सम्पादकलाई फोन आउनेछ – “त्यस्तरी त लेख्न नहुने । तपाईंहरू जस्तोले त्यस्तो गर्न नहुने । तपाईलाई एमाले भन्दैछन् सबैजना ।” 
अनि तपाईंहरूले नि? जे गरे पनि हुने ? लज्जा शरणम् !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७३  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC