काठमाडौं । अप्रिल ११ देखि सुरु भएको भारतको लोकसभा निर्वाचन आइतबार सम्पन्न भएको छ । ५४३ सिटका लागि भएको भारतको लोकसभा निर्वाचनले आगामी सरकार कुन पार्टीको बन्ने भन्ने निर्धारण गर्नेछ । सात चरणमा सम्पन्न भएको निर्वाचनको नतिजा एकैपटक २३ मे अर्थात बिहीबार सार्वजनिक हुने भएको छ ।
३९ दिनपछि आइतबार सम्पन्न भएको निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदीसहितका सातै चरणका उमेदवारको भविष्य मतपेटिकामा प्याक भइसकेको छ । भारतका जनताले कसको भाग्य रेखा कोर्लान् भन्ने जान्न चार दिन अझै कुर्नु पर्नेछ ।
जुन पार्टीको गठबन्धनले न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्छ उसैले सरकार बनाउनेछ । भारतीय जनता पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको 'जनमत संग्रह' को रुपमा हेरिएको यस निर्वाचनमा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई हेरिएको छ । भाजपाका लागि मोदीलाई 'मताकर्षित' गर्न सक्ने पात्रका रुपमा पनि हेरिएको छ । मोदी सन् २०१४ को जितलाई निरन्तरता दिने लक्ष्यमा भए पनि गान्धीले उनको योजना भत्काएर भारतमा गान्धी परिवारको विरासत फर्काउने रणनीतिमा छन् ।
गान्धीको निर्वाचन क्षेत्र अमेठीमा ६ मे मा पाँचौ चरणमा मतदान भएको थियो भने मोदीको निर्वाचन क्षेत्र वाराणासीमा सातौं चरणमा आइतबार मतदान सम्पन्न भएको छ । केही महिनाअघि मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने विश्लेषण गरिएको थियो तर डिसेम्बरमा भएका केही महत्त्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने संकेत देखा परेको हो ।
मोदीले फेरि सामान्य बहुमतले जित्लान् या नजित्लान् भन्नेबारे विश्लेषकहरूको मत बाझिएको बीबीसीले जनाएको छ । चुनाव सुरु हुनै लाग्दा पाकिस्तानसँग चर्किएको तनावले भने भाजपालाई धक्का लाग्ने उनीहरुको विश्लेषण छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा, किसानहरुको मुद्दा र रोजगारी ग्यारेन्टीको मुद्दालाई चुनावी प्रचारका क्रममा निकै जोडतोडका साथ उठाएका थिए । उनले यसअघि पनि यिनै मुद्दाहरु उठाएको र पूरा नगरेको भन्दै निकै आलोचनासमेत भइरहेको छ । विश्लेषकहरुका अनुसार बीजेपीले आफ्नो बहुमत कायमै राख्न सक्छ र केही सीट हारेपनि दोस्रो कार्यकालका लागि मोदी विजयी हुनेछन् । अथवा बिजेपीले अन्य दलको सहयोगमा फेरि सरकार बनाउने छ । कसैको पनि बहुमत हुनेछैन्। त्यसो भएमा क्षेत्रीय पार्टीहरूले 'किङ मेकर' को भूमिका खेल्नेछन् ।
सन् २०१४ मा भएको निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले २८२ सिट जितेको थियो भने गान्धीको पार्टी भारतीय राष्ट्रिय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो । जुन भारतीय राजनीतिक इतिहासको ३० वर्षको समयमा हासिल गरेको सबभन्दा ठूलो जित मानिएको थियो । अहिले पनि कांग्रेसले बहुमत प्राप्त गर्ने मौका असाध्यै झिनो छ । उसले सन् २०१४ मा उसको राम्रो आधार रहेको उत्तर प्रदेश गुमाएको थियो जहाँ बिजेपीले ८० सिटमा ७१ सिट जित हात पारेको थियो । यसपटक पनि निर्वाचन अघि गठबन्धन गर्न पनि कांग्रेस चुकेको छ ।
लोकसभाको पछिल्लो कार्यकाल ३ जुन २०१९ मा सकिँदै छ ।
सात चरणको मतदान
१७ औं लोकसभा पहिलो चरणको निर्वाचन ११ अप्रिलमा सम्पन्न भएको थियो । पहिलो चरणको निर्वाचनमा २० वटा राज्यमा ९१ सिटका लागि मतदान भएको थियो । भारतको निर्वाचन आयोगको तथ्यांकअनुसार ६९. ४३ प्रतिशत मत खसेको थियो । जसमा बिहारमा ५०.२६ प्रतिशत, पश्चिम बंगालमा ८० प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, उत्तराखण्डमा ४६.५९ प्रतिशत, उडिसामा ६६ प्रतिशत, तलंगानामा ६०.५७ प्रतिशत, जम्मु कश्मीरमा ४६ प्रतिशत, सिक्किममा ५५ प्रतिशत, मणिपुरमा ७८.२० प्रतिशत, मिजोरममा ५५.२० प्रतिशत, नागाल्याण्डमा ७३ प्रतिशत, आसाममा ६८ प्रतिशत र मेघालयमा ६२ प्रतिशत मत खसेको थियो ।
त्यसैगरी १८ अप्रिलमा ९७ सिटका लागि भएको दोस्रो चरणको निर्वाचनमा ६१.१२ प्रतिशत मतदान भएको थियो । जसमा आसाममा ७३.३२ प्रतिशत, बिहारमा ५८.१४ प्रतिशत, छत्तीसगढमा ६८.७० प्रतिशत, जम्मूकास्मिरमा ४३.३७ प्रतिशत, कर्नाटकमा ६१.८० प्रतिशत, महाराष्ट्रमा ५५.३७ प्रतिशत, मणिपुरमा ७४.६९ प्रतिशत, ओडिशामा ५७.४१ प्रतिशत, पुड्डुचेरीमा ७२.४० प्रतिशत, तमिनाडुमा ६१.५२ प्रतिशत, उत्तर प्रदेशमा ५८.१२ प्रतिशत र पश्चिम बंगालमा ७५.२७ प्रतिशत मत खसेको थियो ।
तेस्रो चरणको लोकसभा निर्वाचन २३ अप्रिलमा सम्पन्न भएको थियो । ११७ सिटका लागि निर्वाचन तेस्रो चरणको निर्वाचनमा ६६ प्रतिशत मत खसेको थियो । जसमा गुजरात २६, केरला २०, महराष्ट्र १४, कर्नाटक १४, उत्तरप्रदेशका १०, छत्तिसगढ ७, उडिसा ६, बिहारका ५, पश्चिम बंगालका ५, असम ४, गोवा २ र जम्मु कश्मीर, दादर नगर हवेली, दमन दिव र त्रिपुरामा १-१ सिटका लागि निर्वाचन भएको थियो ।
२९ अप्रिलमा ७२ सिटका लागि भएको चौथो चरणको निर्वाचन भएको थियो । जहाँ ६१ प्रतिशत मतदाता मतदानमा सहभागी भएको थिए । भारतीय निर्वाचन आयोगका अनुसार बंगालमा ७६ प्रतिशत, मध्ये प्रदेशमा ६६ प्रतिशत, ओडिसामा ६४ प्रतिशत, बिहारमा ५४ प्रतिशत, राजस्थानमा ६३ प्रतिशत, उत्तर प्रदेशमा ५३ प्रतिशत, झारखण्डमा ६३ प्रतिशत, काश्मिरमा ९ प्रतिशत मतदान भएको थियो । चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका थिए । निर्वाचनमा ९४३ जना प्रत्यासीहरु मैदानमा उत्रिएका थिए । जसमा ३३ प्रतिशत करोडपतिहरुको उम्मेद्वारी परेको थियो ।
पाँचौ चरणको निर्वाच ६ मे मा सम्पन्न भएको थियो । ५१ सिटका लागि भएको उक्त निर्वाचनमा ६२.५६ प्रतिशत मतदान भएको थियो । जसअर्न्तगत बिहारमा ५७ प्रतिशत, जम्मूकश्मीरमा ६४ प्रतिशत, राजस्थानमा ६३.७८ प्रतिशत, पश्चिम बंगाल ७४.४२ प्रतिशत, मध्यप्रदेशमा ६३ प्रतिशत र झारखण्डमा ६४ प्रतिशत मतदान भएको भएको थियो ।
१२ मे मा भएको छैठौं चरणमा ५९ सिटका लागि भएको निर्वाचनमा ७९७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो । छैठौं चरणको निर्वाचनमा ६१.०३ प्रतिशतले मतदान गरेका थिए । जसमा बिहारमा ५९.२९ प्रतिशत, हरियाणामा ६२.८५ प्रतिशत, झारखण्डमा ६४.४६ प्रतिशत, मध्य प्रदेशमा ६०.४० प्रतिशत, उत्तर प्रदेशमा ५३.२१ प्रतिशत, पश्चिम बंगालमा ८०.१६ प्रतिशत र दिल्लीमा ५५.६६ प्रतिशत मतदान भएको थियो ।
आइतबार सम्पन्न सातौं तथा अन्तिम चरणको मतदानमा ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । ५९ सिटका लागि भएको आजको निर्वाचनमा ९१८ जना उमेदवारले प्रतिस्पर्धा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि आजै निर्वाचन भएको हो ।
निर्वाचन सम्पन्न भएसँगै लोकसभाका सभामुख सुमित्रा महाजनले यस निर्वाचनबाट पनि नरेन्द्र मोदी नेतृत्वकै सरकार सत्तामा फर्किने दाबी गरेकी छन् ।
एजेन्सीको सहयोगमा