विराटनगर । मोरङका पत्रकारले प्रशासन कार्यालय अगाडि रोएर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याएका विधेयकको विरोध गरेका छन् । सरकारले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी ल्याएका विधेयक संसद्बाट हुबहु पारित भए त्यसले पत्रकार रुने अवस्था आउने जनाउँदै उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरे ।
नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको रुने कार्यक्रममा सहभागीले डाको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गरे । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस अधिकार नै हनन् हुने कानुनले पत्रकारले गरिखाने बाटो नै बन्द हुने बताए । उनले भने, ‘‘पत्रकारिताका आधारभूत पक्ष नै कुण्ठित हुने गरी ल्याइएका विरोधले स्वतन्त्र नेपाली प्रेस नै धरासायी हुने देखिन्छ । त्यसैले यस्ता विधेयक परिमार्जन भएर आउनुपर्छ या त खारेज हुनुपर्छ ।’’ लुइँटेलले प्रेस काउन्सिलको स्वतन्त्रतामै असर गर्ने गरी र पत्रकारलाई जरिबाना लगाउने मनसायका कानुनको विरोधमा नेपाल पत्रकार महासंघ रहेको स्पष्ट गरे ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरेले सरकारले विभिन्न विधेकयमार्फत् प्रेसलाई कस्ने र नियन्त्रण गर्ने गलत मनसाय राखेको बताउँदै भने,‘‘प्रेसको स्वतन्त्र हुनुपर्ने प्राकृतिक नियमलाई नै सरकारले चुनौती दिएको छ । यो हामीलाई मान्य छैन ।’’ उनले युनियनले सरकारका गलत कामको विरोध र खबरदारी गरिरहने बताए ।
नेपाल प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि नै धावा बोलेर सरकारले नियन्त्रण गर्न खोेजेको बताए । उनले भने, ‘‘यस्ता कानुनले पत्रकारको स्वन्त्रतता नै धरासायी हुन्छ । रुने अवस्था आउँछ भन्ने सन्देश सरकारलाई सन्देश दिन रुने कार्यक्रम गरिएको हो ।’’ उनले प्रेससँग सरोकार राख्ने विधेयक फिर्ता हुनुपर्ने बताए ।
युनियनको रोएर सरकारको विरोध गर्ने कार्यक्रममा प्रदेश १ राजधानी विराटनगरका विभिन्न सामाजिक संघसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।