site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खैरो स्मृति
Ghorahi CementGhorahi Cement

– विद्या सापकोटा


घरमा गोरु थियो, निख्खर कालो । खासमा त्यो गोरु थिएन, बाच्छो थियो । मेरो भाइभन्दा नि पछि जन्मिएको । तर, भाइ त भाइ— म पनि बालखै हुदाँहुदै त्यो मोरो हलक्कै बढेर बहर भइगयो । अनि त मेलापर्म पनि धाउन थाल्यो । परिवारको गतिलो सहारा भयो, विशेष सानोबुवाको ।

काले बडो राम्रो थियो । त्यसका चिल्ला र काला रौं मेरा कपालभन्दा मुलायम थिए । आँखामा गज्जबको तेज थियो । रिस उठेकालाई घर्लप्पै ढालिदेला जस्तो सिङ थियो । मन परेन भने पूरै गोठ बढारेर हान्न सक्ने पुच्छर थियो । काले साँच्चै ह्यान्डसम थियो ।

Agni Group

बाहिरी मान्छे आउँदा जति फाऽऽऽ फूऽऽऽ गथ्र्याे— बाबा र सानोबुवाको अघि त्यत्ति नै लुत्रुक्क पथ्र्यो । घरमा पनि विशेष हेरचाह हुन्थ्यो उसको । राम्रा टाँकी कुटमिराका घाँस उसैले पाउँथ्यो । पानी पिउँदा पनि धेरै पीठो उसकै भागमा पथ्र्यो । जिउमा अलिकति पनि फोहोर नबसोस् भनेर लुडीले माडीमाडी नुहाइदिनुहुन्थ्यो सानोबुवा । गोठमा पनि मलखाल्टातिर सर्लक्क पिसाब बगिजाने कुलेसो बनाइएको थियो । खाना खाइसकेर उठ्दा एक गाँस उसको लागि लिएर निस्कनु बाबाको अनिवार्यता हुन्थ्यो ।

काले गुनिलो पनि थियो । अरू गोरुमा जस्तो जोत्दाजोत्दै हिलोमै बस्ने, नहिँड्ने, टेढोमेढो पर्ने अवगुण उसमा थिएनन् । त्यसताक ब्राह्मणले जोत्ने चलन थिएन । मन खाएका हल्दार दाइहरूसँग अथवा ममी÷सानोबुबा नै मेलामा जाने भएमात्र कालेलाई लगिन्थ्यो । धेरैले किन्न पनि खोजेका थिए । एउटा गोरू लगेर हल गोरु नै दिने शर्त पनि राखेका थिए । तर, बाबाले मान्नुभएन ।

Global Ime bank

“आफ्नै बच्चा जस्तो लाग्छ, यसलाई त नदिने,” आमाले नि बोली मिसाउनुभयो ।

यसप्रकार अरू–अरू गोरु एकखेप बाली लगाएपछि यताउता हुन्थे, काले जन्मेदेखि ढसमस्स घरमै थियो । हिरो थियो । त्यो हिरो थियो । त्यसका पालक हाम्रा बाबा झन् सुपर हिरो ।

फिल्म त धेरै परको कुरो भयो । हिन्दी फिल्मसँगको लगाव अस्तिको कुरा भयो । गाउँमा त टिभी पनि पुगेको थिएन । बार्दलीको किलामा झुन्डिएर स्थानीय समाचार, कृषि समाचार, घटना र विचार सुनाइरहने, मीठा–मीठा गीत गाइरहने बडेमानको रेडियो भने थियो ।

खैर ! अहिलेजस्तो हुँदो हो त म ठयाक्कै भन्न सक्थें– मेरो बाबा फलानो हिरोजस्तो । अँ, जैफी श्रफजस्तो । 

त्यतिबेला त्यस्तो नजारेर नि म जान्दथें– मेरो बाबाजस्तो अरू कोही छैन । त्यसै–त्यसै मख्ख पर्थें म– बस, जिप, ट्रक, साइकल, मोटरसाइकल, रिक्सा... ओहो ! बाबाले नचढेको सवारी नै छैन ।

नारायण गोपाल, फत्तेमान, तारादेवी, गुलाम अली, अरुण थापा, कुमार बस्नेत, शम्भु ढुंगेल ... बाबाले नसुनेको गीतै छैन ।

काठमान्डू, चितवन, बर्दिया, धनगढी, बाजुरा... बाबा नहिँडेको बाटै छैन ।

दशैको पिङ हाल्न लठारो बाट्नमा होस् कि शुभकार्यमा गाड्ने लिंगो ल्याउनमा— मेरै बाबा अगाडि सर्नुपथ्र्यो । मेरो बाबाले गर्न नसक्ने कामै छैन ।

धेरै पढ्न नपाएर के भो ? रामायण, महाभारत, वेद, पुराण, गीता— बाबालाई थाहा नभएको ग्रन्थै छैन । पशुपतिनाथ, लाखे नाच, मच्छिन्द्रनाथको रथ, बाघ, भालु, हात्ती, माछा, मयुर— बाबाले नदेखेको चिजै छैन । 

बाबालाई आलटाल, लप्पनछप्पन मन नपर्ने । ‘हुन्छ’ भने ‘हुन्छ’, ‘हुन्न’ भने ‘हुन्न’— एकदम स्पष्ट । शायद यसैले मान्छेहरू उहाँसँग हच्किन्थे । बाबालाई नटेर्ने मान्छे नै थिए ।

यसप्रकार शरीरमा टक्क मिल्ने सफा कपडा लगाएर हिँड्ने मेरो बाबाप्रति मलाई अपार गर्व थियो । छ ।

० ० ०

छिनमा पानी पथ्र्यो । छिनमा झुलुक्क घाम लाग्थ्यो । मौसमको कुनै भरोसा थिएन । मध्य असारको छेकोमा थियो गाउँ । यसै नि गाउँ, गाउँ नै थियो । न ठूला सपना थिए न ठूला पूर्वाधार । ठूला जानकारी नि थिएनन् क्यारे । घर–घरमा शौचालय थिएनन् । बनाउने पैसा पनि नहुँदो हो । मलाई याद भएसम्म हाम्रो र अरू एक–दुई घरका बच्चाहरूका लागि भने खाल्टे चर्पी थियो । आमाहरू रात–साँझमात्र प्रयोग गर्नुहुन्थ्यो, नत्र उही हो— कुना, खोंच, खोलातिर ।

अतः बिहान स्नान गर्न गएकाहरू उतैबाट खेतबारीका काम पनि तमाम गरेर फर्किन्थे ।

घर–घरमा चिया भित्रिएकै थिएन । बाबा शहरमा बस्नुहुन्थ्यो । यसो खेतीपातीको बेला पारेर आउनुहुन्थ्यो घर । संगत, उठबसले नै हो मान्छेलाई यताउता लैजाने । बाबालाई चियाको लत बसेछ । त्यसो नहुँदो हो त हाम्रो घरमा पनि चिया नपाक्दो हो । बाबा घरमा हुँदा अनिवार्यजस्तै चिया गफ जम्थ्यो, हाम्रो फलैंचामा । चिया के हुनू— गाउँका ठूलोबुवा, बुवाहरू भेट हुने मेसो थियो । बाबा गाउँमा नहुँदाका दिन गाउँठाउँमा के–के भए, कसले के गर्‍यो— भलाकुसारीको माध्यम ।

त्यो दिन भने हाम्रो घरमा पनि चिया पाकेन । सजीवनको डाँठले दाँत मस्काउँदै स्नानका लागि निस्किनुभएको बाबा सीधै खेततिर हान्निनुभयो । छाप खेतमा रोपाइँ जो थियो । चार हल गोरु नार्ने कुरा थियो । आली लगाउनु पर्‍यो, भित्ता तास्नु पर्‍यो, गरागरामा पानी पुर्‍याउनु पर्‍यो, गोरु अघाउनु पर्‍यो ! के–के पो भ्याउनू !

एकछिनमा बीउको मुठा बाँध्ने बाबियो थुन्चेमा हालेर ममी पनि ओरालो लाग्नुभयो । 

खेतीको बेला हाम्रो मात्र हैन, सबैको हालत उस्तै हुन्थ्यो । पूरै गाउँ उल्टिएर खेत पस्थ्यो । घरमा त उही ओछ्यान छोड्न नसक्ने बूढाबूढी र झोलुंगो नछोडेका बच्चाबच्चीहरू ।

अझ हाम्रो धेरै खेत थिएन । छाप खेत पनि धेरे पछि किनिएको हो । धेरै खेत हुनेहरू त राति पनि घर आउन पाउँदैनथे । उता गोठमै बस्थे । र, फर्किंदा भूत, प्रेतका तिलस्मी कथा लिएर आउँथे ।

– ओहो ! धाप खेतमा सेतो कपडा लगाएर सर्लक्क परेकी केटी बसिरहेकी थिई ।
– मकै पोलेर खाऊँ भनेको, अगुल्टो आफैं सर्दै–सर्दै सर्दै दोभानतिर गयो ।
– पिसाब लागेर टुसुक्क बसेको मात्र के थेँ, नाथे लोखर्के ! आफ्नो हजुरबाउ नि चिन्दैनस् ? भन्दै उहिल्यै मरेका हजुरबाले हकारे ।

अँ ! त्यो दिन हाम्रो रोपाइँ थियो । खेत घरबाट अलि तलै पथ्र्यो ।

घरमा घाँस बोकेर आउन नि गाह्रो, घरबाट मल बोकेर जान नि गाह्रो । त्यसैले खेतीको छेकोमा केही बस्तुभाउ उतै बाँधिन्थ्यो । विशेष गोरु । माले र अरू दुइटा नयाँ गोरु त खेतमै थिए । त्यहाँ जान दुई बाटा थिए ।

एक– घरबाट सीधै ओर्लिने छोटो र ठाडो बाटो । दोस्रो– जेदु ठूलोबुवाको घर हुँदै खरबारीमाथिबाट कुन–कुना हुँदै पुगिन,े तर्कने–तर्कने परेको बाटो ।

ठाडो बाटोबाट भारी बोकेर हिँड्न त गाह्रै थियो । बस्तुभाउ हिँड्न सक्दैनथे । खुरमा घाउ हुन्थ्यो । ढाडतिर नि दर्फरिन्थ्यो ।

मलाईचाहिँ त्यही बाटो मन पथ्र्यो । दोस्रो बाटो भनेपछि त्यसै–त्यसै डर लाग्थ्यो । सम्झिन नि मन पर्दैनथ्यो ।
त्यसको गम्भीर कारण थियो ।

मेरो भाइ सानैदेखि जिताहा । उसलाई एकदिन तल खेत हेर्न जाने सनक चढ्यो । घरका मुने, कालेहरूसँग खेलेर पुगेन । खेतमै अस्थायी गोठ बनाएर बाँधिएका नयाँ बस्तुहरूसँग चल्न मन लाग्यो ।

“ममी, आज म पनि जाने,” ममीको पछि लाग्यो ऊ । म उसको पछि ।

ममीले बाटोमा मामाघरबाट ल्याएका नरिवलका टुक्रा दिनुभो । आमाले घरमै छोकडा दिनुभएथ्यो । कुटुकुटु पार्दै हिँड्यौं हामी । कमला दिदीको घरमा पस्यौं । सुन्तलाका दानामात्र लागेका थिए । टिप्न पाइएन । बोडी टिपेर खायौं । एकछिन यताउता ग¥यौं ।

गोठमा नयाँ बस्तुभाउले हामीलाई चिनेनन् । पुरानो माले नि रिसाएझैं कुना फर्कियो । एउटाले त खाउँलाझैं आँखा पल्टायो, उधिनुलाझैं सिङ बटा¥यो ।

“ममी घर जाने,” सँगसँगै भाइ पनि बटारियो ।

घाँसको भारी पुगेकै थिएन । गोरुहरू भोकै थिए । छोराछोरीले भने भन्दैमा खुरुक्क उकालो लाग्न कहाँ पाउनू ममीले !

“भाइलाई लेर जान सक्छौ त ?” ममी सानो सुनिनुभयो ।

“किन नसक्नू नि ?” मलाई नि अल्छी लागिसक्याथ्यो, ठूलै पल्टिएँ ।

“तँ नसक्ने भए म एक्लै जान्छु,” पाँच वर्षे भाइ उचालियो ।

नसक्ने हुँदाका चटक नै बेसी, “पख् न ! म त घाँस बोकेर जान्छु ।” भाइभन्दा दुई वर्ष जेठी हुनुको अहम् देखाएँ ।

अब भाइ पनि घाँस नबोकी नजाने भो । ममीले ‘सक्दैनौ’ भन्दै हुनुहुन्थ्यो, हामीले टेरे पो ! भाइले टाँकीको सानो मुठो बोक्यो । मैले मकैका टुप्पा । यसप्रकार दुइटा भुइँमान्छे आफूजत्रै भारी बोकेर उकालो लागे ।

“गोपाल दाइका छोराछोरी हुर्किएछन्,” जोर चौतारा जाँदै रहेछन् हरि दाइ, “ठाडो बाटामा मकैको ढोडले धोच्छ, यतैबाट बिस्तारै जाओ ।” दाइले माया देखाए ।

“हस् ! तपाईं नि राम्ररी जानू,” ज्ञानी देखियो भाइ ।

मैले पुलुक्क भाइलाई हेरें, “दिदी, हामी हुर्कियौं, बुझिस् ?” उसको अनुहारले यस्तै भन्यो । 

“हो त नि,” भनेजसरी म पनि गमक्क भएँ ।

बाटाभरि वनमारा र तीतेपातीका झाङ थिए । तिनलाई समाउँदै, खेल्दै, चल्दै हामी हिँडिरह्यौं । शरण दाइको खरबारी छेउमा पुगेका मात्र के थियौं, भाइको गोडा चिप्लियो । खरबारीको ठाडो भीरमा मेरो फुच्चे भाइ पुल्टुङ–पुल्टुङ–पुल्टुङ दुई, तीन, चार बलड्याङ लडेर एउटा बुट्यानमा अल्झियो । पछिपछि दौडेकी म पनि बजारिँदै भाइसम्म पुगें । एक–अर्काको हात समाएर पल्याकपुलुक भयौं हामी ।

“राम ! राम ! राम !!” पारि पाखाबाट हुत्ती आमा र देउती दिदी चिच्याइरहनुभएथ्यो ।

आउनका लागि सीधा बाटो थिएन । भीरभीरै आउन सम्भव भएन । बडो निःसहाय भएर जहाँको तहीँ टुसुक्क बस्नुभयो उहाँहरू । त्यत्तिले नि हामीमा धेरै सास र साहस आयो । सकेसम्म सम्हालिँदै खरका पाँजो समात्दै बाटोसम्म उक्लियौं हामी । भाइ पूरै धसारिएको थियो । हामीले बोकेका घाँसका मुठाको अत्तोपत्तो थिएन ।

रुँदै–रोकिँदै घरतिर लाग्यौं ।

“हे दैव ! तिमीले हात थापेर यी बालख बचायौ,” भगवानप्रति धन्य हुँदै पारी दिदी आमा नि आफ्नो घरपट्टि लाग्नुभो ।

अलि माथि गोविन्द दाइ भेटियो । ‘के भयो भाइ ? किन रोको बहिनी ?’ नि भनेन । साह्रै मन कुँडिएर आयो ।

‘सानिमा, भाइ–बैनी खै ? भन्दै पापा खान आउलास् नि पात गोविन्दे !’ उसैले लडाइदेको झैं मनमनै इख साधें मैले ।
 
भाइलाई राम्ररी लग्न नसकेकोमा ठूलो ग्लानि थियो ममा । (हजुर) आमा कराउने डर उस्तै थियो । घर गएर हेर्दा भाइको गाला छेडिएर मुखभित्रसम्म छेस्का छिरेको थियो । गाह्रो गरेर निकाल्नुभयो आमाले ।

साँझ मम्मीले भेट्नुभयो आमाको, “बालखलाई एक्लै पठाएर जाँ... ?”

थकथक मान्दै सातो बोलाउने पानी लिन जानुभो ममी । भगवानप्रति कति कृतज्ञ हुनुहुन्थ्यो उहाँहरू, शब्दमा भन्नै सकिन्न । 

त्यसपछि दिउँसै भूत हिँड्छ भनिने त्यो बाटो हाम्रो लागि बन्द भयो । हामी भुरासँग त बाटो नहिँड्नका विकल्प थिए– खेत नजान सकिन्थ्यो । गए पनि सीधा बाटो जान सकिन्थ्यो । बुबा ममीको काँध÷बुई चढेर जान सकिन्थ्यो । तर, ठूला मान्छे र बस्तुभाउ, विशेष असारका गोरुलाई कहाँ त्यो छुट हुनु ? खेत त जानु नै थियो ।

बिहानभर हिलोसँग पौठेजोरी खेलेर खाना आउनुभएका बाबा एकबट्टा गैंडा चुरोट, काँधमा कोदाली र घूमसहित निस्किहाल्नुभयो । दाँदे बोकेका रामशरण दाइ पनि पछिपछि लागे । बीचमा थियो काले । बाबाहरू हिँड्नेबित्तिकै आमालाई हतारोले छोपिहाल्यो । सानो भाइ त जन्मिएकै थिएन । बहिनी सानी थिई । ठूलो भाइ यताउता दौडिरहन्थ्यो । म पनि त कम्तीकी थिइनँ । हामी भुराभुरीलाई खुवाइ, पियाइ, बस्तुभाउलाई घाँसपानी, खेतालालाई खाजा— आमाको आफ्नै चटारो । म सकेको सघाउँथें आमालाई ।

उसिन्नको लागि एक छिटुवा मकै ठीक्क पारिएको थियो । आधासरो मकै पोल्नु पनि पथ्र्यो । कमला र रसिला मकै छान्नु प¥यो, हल्का नंग्याउनु प¥यो, पिल्छ्याउनु प¥यो । त्यसपछि भुंग्रोमा हालेर ओल्टाइपल्टाइ गर्नै प¥यो । अझ मुलाका कलिला डुकु, मोही र पिनिएको नुनखुर्सानीको पोको त तयार भइसकेको थियो । त्यत्तिले पनि चल्थ्यो अरूको तर हाम्रो बाबालाई झारा टारेको मन नपर्ने । हुँदै नभएको भए त ठीकै छ, भईभईकन नि ‘छैन’ र ‘हुन्न’ भन्दा कन्सिरी तात्ने । टन्न चिप्लेभिन्डी थियो, कागती थिदै— त्यसकै अचार बनाउँदै थियौ नातिनी ज्यामा ।

बाबाको हातमा बाहेक अर्को घडी थिएन । कति बज्यो भनेर फुर्फुराउने त्यही रेडियो पनि सुनिएनछ । आफ्नै ध्याउन्नमा थियौं हामी ।

खत्त्रयाक्कऽऽऽ बाहिर केही जोडसँग बजेको आवाज आयो । पिस्दापिस्दैको जिरा छोडेर बाहिर निस्कनुभो आमा । बाबा आउनुभएको रहेछ । परैबाट कोदाली फालेर आफैंलाई दुख्ने गरी फलैचामा थचारिनुभयो उहाँ । केहीबेरमा सँगै गोरु लिएर निस्केको रामशरण दाइ नि आयो । आमा त्यसै डराउनुभयो । ‘के भयो छोरा ?’ भनेर सोध्न नि सक्नुभएन । एकैछिनमा साबेल, चाँदे बोकेका गाउँका काका, ठूलो बा पनि आए । रोपाइँ भएनछ, अर्थोकै अनर्थ भएछ ।

हामी पछारिएको पाखोबाट काले लडेछ । बाबाहरू दौडिँदै, हाम्फाल्दै पुग्दा उसको मुलायम जिउभरि घाउ नै घाउ थियो । एकापट्टि सिङ उप्किएको थियो, अर्कोपट्टि भाँचिएर भलभली रगत बगिरहेको थियो । बाबाले हल्केलामा पानी उठाएर मुखमा हालिदिनुभयो । आँसु र रगतले भरिएका उसका नजर एकपटक बाबातर्फ उठे अनि सधैंको लागि चिम्म भए ।

“हे भगवान् !” आमा कालोनीलो हुनुभयो ।

ममी र सानोबुवा त पहिलेदेखि नै हुँक्कहुँक्क गर्दै हुनुहुन्थ्यो ।

अरू–अरूले विभिन्न कालखण्डमा त्यही भीर, गुराँसे भीर, मझेरी डाँडा, अरु कता–कता, के–के, कसरी लडेका, के–कस्ता बिजोग भएका सबै दृष्टान्त ताजा गरे, गराए । आफ्ना पुन्टापुन्टी यानेकि हामी दिदीभाइले केही पहिले खतरा चिप्लेटी मारिसकेको कुरा नि भर्खरै ज्ञात भयो बाबालाई । यद्यपि उहाँ बोल्नुभएन । न ‘ए ! हो र ?’  भन्नुभयो न त ‘भयो नि त छोड्’ भन्नुभयो ।

बहिनीको झोलुंगोको प्वालबाट लुकेर हेरें मैले— सबैले कठोर, हक्की भन्ने मेरो बाबाका आँखाका खोंच भरिएका थिए ।

मेरो बाबाजत्ति जाती अरू कोही छैन— त्यतिखेरै बुझिहालें मैले ।

केही महिनामै अरूले नि बुझे— त्यो दिन एउटा सामान्य गोरुमात्र मरेको थिएन, एउटा बाबुको गाउँप्रतिको मोह मरेको थियो ।

हामी बसाइ सर्‍यौं ।

Twitter— @OiBidhya

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC