site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कलात्मक ‘जात्रै जात्रा’
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


केही दिनअघि ‘जात्रै जात्रा’ निर्देशक प्रदीप भट्टराईले ‘बाह्रखरी’सँगको अन्तर्वार्तामा भनेका थिए, “‘जात्रै जात्रा’ ब्ल्यांक चेक होइन, यसमा हामीले प्रशस्त मेहनत गरेका छौं । स्क्रिप्ट लेखें, च्यातें, लेखें, च्यातें दर्जनौं पटक । ‘जात्रा’को स्क्रिप्ट १७ दिनमा लेखेको थिएँ । तर, ‘जात्रै जात्रा’को स्क्रिप्ट लेख्न ६ महिना लाग्यो । आइडिया जेनेरेट गर्न त मलाई अढाई वर्ष लाग्यो ।”

अक्सर नेपाली चलचित्रका निर्देशक, निर्माता र कलाकारहरू चलचित्र प्रदर्शनअघि यसै भन्छन् । त्यसैले उनीहरूको भनाइमा न दर्शक विश्वास गर्छन् न पत्रकार नै । त्यसैले प्रदीपको भनाइमा पनि विश्वास गरिहाल्न सकिने अवस्था थिएन । भलै पहिलो निर्देशन ‘जात्रा’बाट दर्शक तथा समीक्षकको मन जितेकाले उनीबाट थोरै अपेक्षा भने थियो । यद्यपि सिक्वेलका नाममा आउने गरेका चलचित्रले दिने गरेको निराशाले उस्तै हतोत्साही बनाइरहेको थियो । तर, शुक्रबार प्रदर्शनमा आएको ‘जात्रै जात्रा’ हेर्दा प्रदीपले भनेजस्तै स्क्रिप्टमा प्रशस्त मेहनत गरेको देखिन्छ । ६ महिना स्क्रिप्टका लागि खर्चिएको विश्वास हुन्छ ।

Agni Group

पछिल्लो समय नेपालमा सिक्वेलको नाममा सिरिजको बाढी छ । तीमध्ये एउटाबाहेक कुनै पनि सिक्वेलले पहिलो संस्करणको शाख जोगाएनन् । ‘छक्का पञ्जा’का सबै संस्करण हिट भए । कमेडी चलचित्रको बाढी आयो । तर, त्यही बाढीले बगाए अधिकांश कमेडी चलचित्रलाई । तर, पनि कमेडीका नाममा भद्दा संवाद र दृश्य देखाउन छोडिएन । दोहोरो अर्थ लाग्ने संवाद प्रयोग गर्न छोडिएन । फलतः निर्माता डुब्ने र पलायन हुने क्रम रोकिएन । यो प्रवृत्ति अझै अन्त्य भएको छैन । नबुझेरै ह्वात्तै चलचित्रमा हामफाल्ने लगानीकर्ता फस्ने क्रम रोकिएको छैन ।

‘जात्रै जात्रा’ले ती चलचित्रलाई राम्रो पाठ सिकायो, जसले हँसाउनकै लागि दोहोरो अर्थ लाग्ने भद्दा दृश्य र संवाद प्रयोग गरिरहेका छन् । ‘जात्रै जात्रा’मा पनि दोहोरो अर्थ लाग्ने शब्द नभएका होइनन् तर ती परिस्थितिजन्य प्राकृतिक लाग्छन् । ‘सिचुएशनल’ कमेडीले चलचित्रलाई हेर्न लायक बनाएको छ । ढङ्ग पुगे दर्शक आफैँ हाँस्छन् । न भद्दा संवाद देखाउनु पर्छ न भद्दा दृश्य नै । 
‘जात्रै जात्रा’को कथा ‘जात्रा’ सकिएकै ठाउँबाट शुरु हुन्छ । तीन वर्ष जेलमा बसेपछि अदालतले तीनै जनालाई सफाइ (क्लिन चिट) दिन्छ । उनीहरू वास्तविक जाली नोट कारोबारी नभएर लोभीमात्रै भएको भन्दै अदालतले रिहा गरिदिन्छ । तर, समाजले उनीहरूलाई हेर्ने देृष्टिकोणमा भारी फरक परिसकेको हुन्छ । परिणामतः फणिन्द्र (विपीन कार्की)की श्रीमती सम्पदा (वर्षा राउत) एक्लै बस्न बाध्य हुन्छिन् । जोयश (रवीन्द्रसिंह बानियाँ)की गर्लफ्रेन्ड भेटिन्निन् । मुन्ना (रवीन्द्र झा) ऋण तिर्न नसकेकै कारण सासूआमाको टोकसो सहन बाध्य छन् । 

Global Ime bank

त्यसैले, फणिन्द्र साहूको ट्याक्सी चलाउन थाल्छन् । जोयश अक्सिजनका सिलिन्डर साइकलमा ओसार्न थाल्छन् । मुन्ना सडकमै कुर्सी राखेर कपाल काट्न थाल्छन् । यहीबीच ट्याक्सी चलाउने क्रममा फणिन्द्रले १० किलो सुन भेट्छन् । त्यो सुन हुन्छ दावा (दयाहाङ राई)को । ‘जात्रा’मा ३ करोड रुपैयाँ भागबण्डामा आइपुगेझैं जोयश र मुन्ना १० किलो सुनमा पनि जोडिन आइपुग्छन् । १० किलो सुनलाई लेखक/निर्देशक प्रदीपले ३३ किलो सुन तस्करीसँग जोडेका छन् । यसकै पछाडि सवा दुई घण्टा चलचित्रका अधिकांश पात्र घुम्छन् । 

सिक्वेलमा कथा, पात्र र लवज पुरानै हुने भएकाले ‘जात्रै जात्रा’मा पनि दर्शकले नयाँपन पाउँदैनन् । दावाका रूपमा थपिएका दयाहाङ राई सिक्वेलका लागि नयाँ हुन् । विपीन चलचित्रका नायक हुन् । चरित्र र अभिनय दुबैका हिसाबले । उनले आफूलाई यसरी चरित्रमा डुवाएका छन् । दर्शक उनलाई देख्न वित्तिकै हाँस्छन् । लाग्छ उनी वेजोड हास्य कलाकार हुन् । रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँ पनि अभिनयमा अब्बल देखिएका छन् । ‘जात्रा’मा भन्दा ‘जात्रै जात्रा’मा वर्षाको अभिनय सुधारिएको छ । 

सिक्वेलमा सुन काण्डको कथा नयाँ हो तर असान्दर्भिक लाग्दैन । परिस्थितिजन्य संवाद न भद्दा लाग्छन् न झिँजो नै । सवा दुई घण्टा लामो चलचित्रले घरि हँसाउँछ, घरि भावुक बनाउँछ । चलचित्र हेरुन्जेल दर्शक हाँसिरहन्छन् । 

स्क्रिप्टमा प्रदीपको प्रशस्त मेहनत देखिन्छ । उनलाई साथ दिँदै कलाकारले पनि अभिनयमा उत्तिकै मेहनत गरेका छन् । ‘जात्रा’को ‘टोन’ यसमा पनि मजाले भेटिन्छ । क्यामेरा र सम्पादनमा चुस्त काम भएको छ । तर, पृष्ठ संगीतमा भने केही कमजोर देखिएको छ । कथा, संवाद र दृश्यअनुसारको पृष्ठभूमि संगीतमा धेरै मेहनत देखिँदैन । चलचित्रको कमजोर पक्ष नै यही हो । यद्यपि दर्शकले यसमा त्यती धेरै ख्याल गर्दैनन् । 

‘जात्रा’ प्रदर्शनको केही समयपछिसम्म पनि निर्देशक तथा निर्माताहरू ‘यसको सिक्वेल आउँदैन’ भन्थे । तर, करिब तीन वर्षपछि उनीहरू आफ्नै भनाइमा अडिग रहन सकेनन् । यसको सिक्वेल लिएरै आए । यसको कारण दर्शकको आग्रह भन्छन् लेखक/निर्देशक प्रदीप । उनलाई कतिले ‘जात्रा’को क्लाइम्याक्स चित्तबुझ्दो नभएको भन्दै सिक्वेल लिएर आउन भन्थे । कतिले चलचित्र अपूरो भएको भन्दै कथा पूरा गर्न सिक्वेल बनाउन आग्रह गर्थे ।

तर, उनैलाई अचम्म लागेको पाटो भने रोचक छ । दर्शक भन्थे, “जात्राको २ करोड ८० लाख रुपैयाँ कहाँ गयो, हामीलाई थाहा छ ।”

लेखकसमेत रहेका निर्देशक प्रदीप स्वयंलाई भने त्यो २ करोड ८० लाख कहाँ गयो, थाहा थिएन । त्यसैले सिक्वेलको कथालाई कसरी अगाडि बढाउने उनलाई चुनौति थियो । ‘जात्रै जात्रा’ हेर्दा दर्शकले अनुमान लगाएको कथाभन्दा भिन्न छ ।  कथामा दर्शकले नसोचेका ट्वीस्टहरु छन् । धेरैजसो संवादले एउटै मात्र अर्थ बोक्दैनन् । ब्यङ्ग्यात्मक छन् । कतै राजनीतिलाई कतै समाजमा लब्ध प्रतिस्ठतको छबी बनाएकालाई । 

मारधाडभन्दा पनि कलात्मक दाउपेच, अविश्वास, शंकाले चलचित्रलाई स्तरीय बनाएको छ । पैसाको भरमा अडिएको तथाकथित इज्जतभित्रको बेइमानीले व्यक्तिको वास्तविक चरित्रमा शंका गर्न चलचित्रले दर्शकलाई बाध्य बनाउँछ । इमानमा बाँचेको फणिन्द्र कसरी फटाहा हुन वाध्य हुन्छन् ? चलचित्रले स्पष्ट पार्छ । 

‘जात्रा’मा सानो सेट छ तर यसको सिक्वेलले फराकिलो सेट देखाउँछ । सेटजस्तै निर्देशकको फराकिलो निर्देशन क्षमता पनि दर्शकले भेट्छन् । ‘शत्रु गते’को कमजोर प्रस्तुतिले पुरानो शाख धमिलो बनाएका प्रदीपले ‘जात्रै जात्रा’बाट आफूलाई पुनः सीधा उभ्याएका छन् । आइलागेको सुनलाई जोगाएर आफ्नो बनाउने दाउपेचको सेरोफेरोमा घुमेको चलचित्र ‘जात्रै जात्रा’ नेपाली चलचित्र उद्योगमा बनेका सिक्वेलमा अब्बल सिनेमा हो । 

कस्तो चलचित्र राम्रो ? आफ्नो संस्कृति, भाषा र रुचिअनुसार सबैका लागि राम्रो फिल्मको परिभाषा फरक हुन सक्छ । यो प्रश्नलाई अंग्रेजहरू ‘मिलयिन डलर क्वेश्चन’ भन्छन् । अर्थ हो— यसको उत्तर पाउन प्रश्न गरेजस्तो सजिलो छैन । राम्रो चलचित्रबारे दर्शक र फिल्मकर्मीअनुसार आ–आफ्नै परिभाषा र बुझाइ छन् । प्रसिद्ध अभिनेत्री तथा निर्मात्री÷निर्देशक केट ब्लान्चेट भन्छिन्, “राम्रो फिल्म बन्न राम्रो पटकथा, राम्रो निर्देशन, राम्रो अभिनय, राम्रो छायांकन र राम्रो सम्पादन हुनुपर्छ । राम्रो फिल्म हुन जुरीको मन जित्नुपर्छ भन्ने छैन । दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ ।”

ब्लान्चेटले भनेजस्तै ‘जात्रै जात्रा’ आफ्नो विधामा पछिसम्म सम्झिइरहने चलचित्र बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC