काठमाडौं । कान्तिपुर हाफ म्याराथन यही जेठ ११ गते हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेशन्स प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै नवौँ संस्करणबारे जानकारी दिएको हो ।
प्रतियोगितामा हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ । हाफसँगै ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौडसमेत हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका सबै प्रतिस्पर्धामा गरी ३ हजार खेलाडीले भाग लिनेछन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुने हाफ म्याराथनमा नेपाल एथ्लेटिक्स सघंको प्राविधिक सहयोग गरेको छ ।
कान्तिपुर पब्लिकेशनबाट सरु हुने हाफ म्याराथन माइतीघर हुँदै बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर,जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोहि स्थानबाट माइतीघर हुँदै कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले डुएट स्कुटरसहित समान ५०–५० हजार पुरस्कार हात पार्नेछन् । यस्तै उपविजेताले ३०–३० हजार नगद र तेस्रो हुनेले समान २० – २० हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले १०–१०, पाँचौले ५–५ हजार प्राप्त गर्दा छैटौं हुनेले समान ३–३ हजार प्राप्त गर्ने छन् ।
हाफ म्याराथनमा सहभागिता जनाउन जेठ ८ गतेभित्र कान्तिपुर पब्लिकेशनमा नाम दर्ता गराईसक्नु पर्ने हुन्छ । त्यस्तै ह्विल महिला र पुरुष प्रतिस्पर्धामा विजेताले २०–२० हजार पाउँदा उपविजेताले १०–१० हजार र तेस्रो हुनेले समान ५–५ हजार प्राप्त गर्ने छन् । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।
कर्पोरेट–मिडिया दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुनः त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ । कर्पोरेट–मिडियातर्फको विजेताले थाइल्याण्डको बैककको ३ रात ४ दिनको प्याकेज प्राप्त गर्दा उपविजेताले २ रात ३ दिनको प्याकेज र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पाउने छ ।