site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 बीपी जस्तै ‘करिस्म्याटिक’ मदन  
Sarbottam CementSarbottam Cement

मदन भण्डारीसँग मेरो भेट २०३५÷३६ सालमा विराटनगरमा भएको हो । हामी त्यतिबेला फरक फरक पार्टीमा थियौं । म नेकपा मार्क्सवादीमा थिएँ भने उहाँ तत्कालीन नेकपा मालेमा ‘सागर’का नामले चिनिनुहुन्थ्यो । मेरो पृष्ठभूमि कम्युनिस्टको नभएपनि मेरा पिताजी (मातृकाप्रसाद कोइराला) प्रधानमन्त्री भएको बेलामा नै १६ वर्षको उमेरमा म त्रिचन्द्र क्याम्पसमा पक्राउ परेको थिएँ । एक हप्ताजति थुनामा राखेर छोडियो । त्यतिबेला राजा महेन्द्र थिए । महेन्द्रले मेरा पिताजीसँग म पक्राउ परेको कुरा गरेकि गरेनन् पिताजीसँग कुरा हुन पाएन ।

जनमत संग्रहताका हामी अलग अलग पार्टीका भएपनि संयुक्त रुपमै कार्यक्रमहरुमा सहभागी हुने गर्थ्यौं । हामी खुला थियौं । मदनलगायतका तत्कालीन नेकपा मालेका नेताहरु अर्धभूमिगत हुनुहुन्थ्यो । मदन त्यतिबेला मालेको पूर्वकोशीको इन्चार्ज हुनुहुन्थ्यो । 

विद्या भण्डारी (मदन पत्नी तथा अहिले राष्ट्रपति) पनि महेन्द्र मोरङ क्याम्पसमा पढ्नु हुन्थ्यो ।  कहिले धरानमा गएर हामी आमसभामा सहभागी हुन्थ्यौं । कहिले सुरुंगामा कार्यक्रम हुन्थ्यो । कहिले आदर्श माविमा गर्‍यौं । दमकमा गएर पनि गर्‍यौं । त्यतिबेला  अनेरास्ववियुको नामबाट कार्यक्रम गरिन्थ्यो  र वक्ता भने हामीहरु थियौं । 

Prabhu Bank
Agni Group
NIC Asia

२०४६ सालको जनआन्दोलन अघि संयुक्त वाममोर्चा बनेको थियो । आन्दोलनको सफलतापछि निर्वाचन आयोगले दल दर्ताको लागि आह्वान गर्‍यो । त्यही बेलादेखि नेकपा मार्क्सवादी र नेकपा मालेबीच एकताका लागि कुरा चल्न थालेको हो । 

विभिन्न आमसभामा मार्क्सवादीका तर्फबाट मनमोहन अधिकारी र मालेका तर्फबाट मदन भण्डारी सहभागी हुने गर्नुहुन्थ्यो ।  त्यही सेरोफेरोमा नेकपा मार्क्सवादीको अधिवेशन पोखरामा तय भएको थियो । त्यसमा भाग लिन भारतीय कम्युनिस्ट पार्टीका महासचिव हरिकिसन सिंह सुरजीतपनि आउनुभएको थियो  । 

Global Ime bank

त्यहाँ हामीले मालेबाट मदन भण्डारी, माधवकुमार नेपाल र जीवराज आश्रित लगायतका नेताहरुलाई पनि बोलाएका थियौं । त्यो बेलामा नै पनि पार्टी एकताको बारेमा चर्चा भयो ।  माधव नेपालले सोही कार्यक्रमबाट निस्कने बेलामा मदन भण्डारीलाई पार्टी एकताको कुरा टुंग्याएर मात्रै यताउता लाग्न मदनलाई आग्रह गर्नुभएको थियो । 

पछि मैले मालेका नेता तथा त्यतिबेला दृष्टि साप्ताहिकका सम्पादक रघुजी पन्तलाई हाम्रो पार्टीमा नेताहरु हुनुहुन्छ तपाईंहरुको राम्रो संगठन छ त्यसैले एकता गर्दा राम्रो हुन्छ भनेको थिएँ ।  उहाँले दृष्टिमा त्यसबारेमा समाचारपनि छाप्नुभयो । त्यसबेलादेखि नै एकताको चर्चा अझ बढेको थियो । 

मालेका केही मान्छे भने एकता गर्ने पक्षमा हुनुहुन्न्थ्यो । २०४८ सालको चुनावमा आफ्नो भागको टिकट जाने हो कि भन्ने उहाँहरुलाई डर थियो तर भन्न पनि सकिरहनु भएको थिएन । 

निर्णायक क्षमता

पोखराबाट काठमाडौं आएपछि हामी सिद्धिलाल सिंहको शंखमुलस्थित घरको भुईंतलामा बैठक बसेका थियौ । त्यहाँ मदन भण्डारी, जीवराज आश्रित, माधवकुमार नेपाल, मनमोहन अधिकारी, सहाना प्रधान, हामी लगायतका थियौं ।  एकीकृत पार्टीमा कुन पार्टीबाट कति केन्द्रीय सदस्य राख्ने भन्ने विषयलाई लिएर विवाद भयो । मालेले केन्द्रीय समितिमा पहिला नै आफ्नो तर्फबाट १४ जना र मार्क्सवादीको तर्फबाट ८ जना केन्द्रीय सदस्य राख्ने निर्णय गरिसकेको रहेछ । 

सहाना प्रधानले त्यो प्रस्ताव मान्नु भएन । आफूहरुलाई पनि बराबरी चाहिन्छ भन्ने तर्क उहाँहरुको थियो । त्यसले गर्दा झण्डै एकता नै भाँडिएला जस्तो भयो । जीवराज त उठेर हिंड्न लाग्नुभएको थियो । तर, मदन भण्डारी र माधवकुमार नेपाल बसिरहनुभएको थियो । अन्तिममा मदन भण्डारीले केन्द्रीय सदस्य बराबर गर्न हामी राजी हुन्छौं भन्नुभयो । त्यसपछि बल्ल एकता होला जस्तो भयो । 

उहाँमा त्यसप्रकारको निर्णायक कदम चाल्ने क्षमता थियो । उहाँले केन्द्रीय समितिबाट त्यसको पछि म्यान्डेट पनि लिनुभयो । उहाँको राम्रो क्षमता भएकोले त्यो लिन सक्नुभएको हो । नत्र झण्डै एकता टुटेको थियो ।

एमारले प्रसंग

केन्द्रीय सदस्यमा कुरा मिल्यो तर साहनाले फेरि नामको विवाद निकाल्नुभयो । नेकपा मार्क्सवादी र नेकपा माले एकीकृत भएपछिको नाम ‘एमारले’ राख्नुपर्छ भन्ने उहाँको तर्क थियो ।  त्यो नाम त्यति राम्रो सुनिएको थिएन । तर, उहाँले जिद्धी गरेपछि मदनले सो कुरा पनि स्वीकार्नुभयो । त्यसैले सुरुमा पार्टीको नाम एमारले भनिएपनि पछि चलनचल्तीमा आउँदा ‘र’ हटेर एमाले मात्रै भएको हो । यसरी मार्क्सवादी र मालेबीच २०४७ चैतमा एकता भएको हो । 

जनताको बहुदलीय जनवाद

तत्कालीन नेकपा एमालेको २०४९ साल माघ १४ देखि २० सम्म काठमाडौंमा भएको पाँचौ महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गरेको थियो ।  त्यतिबेला सीपी मैनालीको नौलो जनवाद भन्ने फरक विचार थियो भने झलनाथ खनालले बहुदलीय जनवादलाई दक्षप्रजापतिको टाउको भन्नुभएको थियो । 

तर, महाधिवेशनले मदनको प्रस्ताव पारित गर्यो । सोही महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव बनाएको थियो । आधिकारिक रुपमा त्यतिबेला पास भएपनि उहाँले २०४६ सालको परिवर्तन पछिको पहिलो आम चुनावका समयमा नै पार्टीका तर्फबाट ल्याइएको पहिलो घोषणापत्रमा बहुलवादको चर्चा गरिएको थियो । 

बहुलवादको आधारमा प्रतिस्पर्धा भनिएको थियो । उहाँले केन्द्रीय प्रचार विभागका तर्फबाट नै ‘बहुदलीय जनवादबारे केही कुरा’ शीर्षकमा त्यसको व्याख्या गरिएको २४ पेजको एउटा पुस्तिका पनि निकाल्नुभएको थियो ।  त्यसको मूल्य २ रुपैयाँ थियो । जबजबारे निस्किएको पहिलो पुस्तिका नै त्यही थियो । त्यसैले उहाँ विश्वमा चलेको कम्युनिस्टको हावा भन्दा फरक ढंगले चल्न शुरु देखि नै लागिपरेको बुझन सकिन्छ । 

बहुदलीय जनवाद भनेको अंग्रेजीमा भन्दा ‘मल्टीपार्टी डेमोक्रेसी’ नै हो । अर्थात् बहुदलीय प्रतिस्पर्धा सहितको जनवाद उहाँको चाहना देखिन्थ्यो । जडसूत्रवादीहरुले त्यसको विरोध गरे । एमाले भित्र र बाहिर पनि विरोध भयो । त्यो पुस्तिका निकाल्ने क्रममा पनि विवाद भएको थियो । तर, पाँचौं महाधिवेशनले त्यही कुरा पास गर्‍यो । उहाँले पाँचौं महाधिवेशनमा खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नुभएको थियो । 

पार्टीमा मात्रै होइन जनता समक्ष जाँदा पनि खुलेर जाने भन्नुभएको थियो । उहाँको मृत्यु नहुन्जेल सम्म यो क्रमपनि चल्यो । तर, पछि गोप्य राख्न थालियो । त्यतिबेला म दृष्टि साप्ताहिकको प्रधान सम्पादक पनि  थिएँ । मदनको विचारलाई मन नपराउने झलनाथ खनाल, सीपी मैनालीलगायतका हुनुहुन्थ्यो । सीपीले त अब बोल्न खुला भयो म लेख लेख्छु है पनि भन्नु हुन्थ्यो । उहाँहरु सबैका विचार हामीले छापेका थियौं । तर, त्यो पद्यति अहिले लोप भएर गएको छ । छैठौं महाधिवेशनपछि त्यो क्रम रोकियो । 

हत्या नै हो 

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको बेलामा म विराटनगरमा थिएँ ।  म त्यतिबेला दृष्टिको प्रधानसम्पादक नै भएपनि पत्नी बिरामी भएकाले मैले १५ महिनासम्म केही पनि लेख्न पाइन । पत्नीलाई क्यान्सर भएको पत्ता लागेपछि उपचारका लागि म दिल्ली र मुम्बई जानुपर्ने भयो । 

चिकित्सकहरुले उपचार सम्भव नहुने बरु अब धर्म कर्म गर्नू भनेपछि म उतैबाट विराटनगरमा गएर बसेको थिएँ । बिरामी पत्नीलाई छोडेर हिंड्न गाह्रो भएकोले त्यसो गर्नु परेको हो ।  तर, म काठमाडौंमा नभएपनि १५ महिनादेखि प्रधानसम्पादकबाट मलाई हटाइएको थिएन ।  मलाई पार्टी सल्लाहकार समितिको अध्यक्ष राख्न मदनले चाहनु भएपनि म बाहिर भएकोले सो पद खाली नै राख्नु भएको थियो । 

खासमा उहाँले पार्टीमा महासचिव नै प्रमुख व्यक्ति रहने र सल्लाहकार समितिको अध्यक्षमा मनमोहन अधिकारीलाई राख्ने इच्छा देखाउनुभएको थियो । तर, मनमोहन, साहना, सीपीलगायतले मान्नु भएन । त्यसैले सल्लाहकार समितिको अध्यक्षमा उहाँले पछि मलाई राख्न चाहनुभएको हो ।  मेरी पत्नीको स्वास्थ्यको हेरविचार डा. शेखर कोइरालाले विराटनगरमा गरिरहनु भएको थियो । 

सोही क्रममा नोना कोइराला (गिरिजाप्रसाद कोइरालाकी भाउजु) ले एक दिन मलाई बोलाउन पठाउनुभएछ ।  उहाँ कोइराला निवासमा नै बस्नु हुन्थ्यो । नजिकै भएकोले म गएँ । जेठ ३ गते दिउँसोको करिब ४ बजेको थियो । उहाँले मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा परेको र ड्राइभर फेला परेको सुनेको जानकारी दिनुभयो । 

त्यतिबेला कि फोनबाट जानकारी हुन सक्थ्यो कि रेडियो सुन्नुपर्ने अवस्था थियो ।  पछि घटना भएको पुष्टि भयो । त्यसपछि बिरामी पत्नीलाई संझाएर शवयात्रामा सहभागी हुन म काठमाडौं आएको थिएँ ।  उहाँ नेपालमा बीपी पछिकै अर्को करिस्म्याटिक नेता हुनुहुन्थ्यो । टनकपुर प्रकरणमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । 

उहाँको त्यही भूमिकाले गर्दा नै सुदुरपश्चिममा नेकपा एमाले स्थापित हुन सकेको थियो ।  यसले गर्दापनि धेरैतिरबाट उहाँलाई नरुचाइएको हुन सक्थ्यो । त्यसैले यो घटना सुनियोजित तरिकाले भएको थियो ।  ड्राइभरलाई पनि केही वर्षपछि मारियो । माओवादीले मारेको भन्ने चर्चा चलेकोमा पछि अस्वीकार गरिएको थियो । 

कसले ड्राइभरलाई मार्‍यो भन्ने कुरापनि अझै खुलेको छैन । उ सँग घटनाबारेमा बुझ्न सकिने अवस्था रहेकोमा प्रमाण नष्ट गर्ने काम भएको छ ।  त्यसैले त्यो सुनियोजित हत्या नै हो । उहाँको शवयात्रामा काठमाडौ आएपछि पुनः पत्नीको रेखदेख गर्न म विराटनगर जानुप¥यो  र पत्नीको मृत्युभएपछि काम सकेर मात्रै म काठमाडौं आउन सकेँ । 

माधव नेपाल महासचिव भएपछि केही महिना पर्खिनुभयो र मलाई नै सल्लाहकार समितिको अध्यक्ष बनाउनुभएको थियो ।
 
पहिला र अहिले 

अहिले बनेको नेकपाभित्र त अब सैद्धान्तिक खालको विवाद केही नै रहेन । हुनत जनताको बहुदलीय जनवादको विषयमा अहिले विवाद जस्तो देखिएको छ ।  पुष्पकमल दाहाल प्रचण्ड र ईश्वर पोखरेलले यो विषयमा सार्वजनिक कार्यक्रममै विवाद गरेको मैले अखबारमा समाचार पढ्न पाएँ । मैले त जनआस्था साप्ताहिकमा पहिल्यै पनि ‘के मदनलाई फेरि मार्ने कमरेड ?’ भन्ने शीर्षकमा लेख नै लेखेको थिएँ । 

किशोर श्रेष्ठले राखिदिनुभएको त्यो शीर्षकले नै सबै कुरा बोलिदिएको छ ।  अहिलेको यो संविधान नै हाइब्रीड (वर्णशंकर) भयो । पार्टीहरुमा लोकतन्त्र छैन । मान्छे किनेर सांसद बनाउने अवस्था रहेको छ । मदनले बहुदलीय प्रतिस्पर्धाको आधारमा जनप्रतिनिधिको कुरा गर्नु हुन्थ्यो । 

अब यहाँ त ल्हारक्याल लामा सांसद भएर आए, राज्य लक्ष्मी गोल्छा सांसद बनेर आइन् । तिनले कहाँ प्रतिस्पर्धा गरे ? यस्तो पनि हुन्छ ?  मुलुकलाई हरिकंगाल बनाउने खालको अवस्था आयो ।  पुरै लोकतान्त्रिक अवस्था पनि छैन, पुरै निरंकुशता पनि होइन । त्यस्तो अवस्था छ । लोकतन्त्र शुद्ध भएन । मदनको चाहना यो थिएन । सांसदहरु भनेका अहिले यन्त्र मानव जस्ता भए । 

संसदमा बहस छलफल भन्दा पनि खाली हात उठाउने आउने । राजाले  देश सुहाउँदो पञ्चायत भन्थे अहिले देश सुहाउँदो प्रतिनिधिसभा भएको छ । जस्तो भारतमा २ जना बाहेक सबै लोकसभाका सांसद निर्वाचित हुन्छन् ।  दुईजना बाहिरका हुन्छन् । निर्वाचित नभएका उनीहरुले भोट हाल्न पनि पाउँदैनन् । 

अहिले  नेकपाको पोलिटव्युरो नै आमसभा गर्न पुग्ने जस्तो भयो । पहिला भूगोलपार्कमा आमसभा गरे जस्तो । पार्टी ठूलो जहाज होइन टाइटानिक जस्तो भयो । कहाँ गएर ठोक्किन्छ जस्तो लाग्न थाल्यो  ।  त्यसैले मदन भण्डारीको जबजको अवधारणा नै अहिले हरायो । यो कुरा नेता ईश्वर पोखरेलले नै उठाइसक्नुभयो । पार्टीमा खुलापन पनि छैन ।  म त अहिले साधारण सदस्य मात्रै छु । बेलाबेलामा लेख लेख्छु, अन्तर्वार्ता दिन्छु । त्यसैमा सीमित छु । नेताहरुलाई भेट्ने पनि गरेको छैन । 

पार्टीमा यति साह्रै भद्धा अवस्था देखियो ।  भारदारी सभाबाट चलेजस्तो भइरहेको छ । पहिला मोहन शमसेरले भारदारी सभा बोलाएर त्रिभुवनलाई हटाएर ज्ञानेन्द्रलाई राजा बनाएको जस्तो अवस्था अहिले पार्टीमा सिर्जना भएको छ ।  सायद मदन हुनुभएको भए यस्तो अवस्था आउने थिए । मदनको अवसानपछि पार्टीमा विकृति विसंगति पनि भित्रिए । पहिला माधव नेपालले पनि आफू महासचिव भएको बेलामा यो कुराको आलोचना गर्नुभएको थियो ।  

विकृति हट्नुपर्ने कुरा गर्नुभएको थियो । पार्टीमा कतिपय अवस्थामा गोप्य मतदान गर्नुपर्ने अवस्था आयो । सरकार जोगाउने नाममा विगतमा सांसदहरुलाई होटलमा राख्नेसम्मका काम भए । विकृति अझै झाँगिदै गएका छन् ।

जीउँदो मार्क्स

मदन भण्डारीको व्यक्तित्व र कलाबाट सर्वसाधारण निकै प्रभावित थिए  । उहाँले २०४८ सालको निर्वाचनमा राजधानीबाटै दुई स्थानमा चुनाव जित्नुभयो ।  उहाँले त्यतिबेलाका लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नै चुनावमा हराउनु भएको थियो ।  भटटराईले संविधान सफलतापूर्वक ल्याएकोले त्यतिबेला उहाँ लोकप्रिय नै हुनुहुन्थ्यो । 

उहाँलाई त्यसरी हराउनु भनेको चानचुने कुरा थिएन । त्यतिबेला कार्पेट, गार्मेन्ट लगायतमा काम गर्नेको भोट सबै भण्डारीतिर खनिएको थियो । पार्टीले एक एक हिसाब पहिल्यै राखेको थियो ।  अहिलेको जस्तो जुन जिल्लाको हो त्यही गएर भोट हाल्ने व्यवस्था त्यतिबेला थिएन । त्यसैले उहाँलाई ठूलो सफलता मिलेको हो । चर्चित अमेरिकी पत्रिका न्यूजवीकमा ‘नेपाल जहाँ मार्क्स जीवित छन्’ भन्ने शीर्षकमा सामग्री नै प्रकाशित भएको  थियो ।

कृष्णप्रसाद भटराईमाथि पार्टी भित्रैबाट अन्तर्घात भयो भनेर पनि त्यतिबेला चर्चा भएको थियो । तर, त्यस्तो होइन जस्तो लाग्छ  । हुनत उहाँले हार्दा गिरिजाप्रसाद कोइरालालाई फाइदा हुने भएकोले त्यतिबेला प्रदीप नेपाल लगायतका नेताहरुले गिरिजाप्रसादलाई भेटेको पनि मैले सुनेको थिएँ । तर, के कुरा भयो मलाई जानकारी छैन । 

दृष्टिमा खाजा

त्यतिबेला नेकपा एमालेको कार्यालय र दृष्टि साप्ताहिक दुवैको कार्यालय बागबजारमा थिए ।  उहाँ बेलाबेलामा सैद्धान्तिक विषयमा लेख लेख्नु हुन्थ्यो र  हामी सँगै खाजापनि खान्थ्यौं ।  मम, मासुचिउरा जस्ता खाजा त्यतिबेला खाइन्थ्यो । उहाँको व्यक्तित्व अर्कै थियो । उहाँकै जसरी  पार्टी र देशलाई अघि बढाउनका लागि अहिलेको पुस्ताले निकै नै मेहनेत गर्नुपर्ने अवस्था  छ । 

(वरिष्ठ पत्रकार तथा पूर्वराजदूत कोइरालासँग लेखनाथ अधिकारीको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC