देवानगन्ज (सुनसरी) । सुनसरीको दक्षिणी सीमान्तकी लक्ष्मीकान्त मेहता तरकारी किसान हुन् । बसाइ साविक कप्तानगन्ज गाविस ४ हाल देवानगन्ज गाउँपालिका वडा नम्बर ३ हो । अहिले बारीमा लटरम्म पर्वल फलेको छ । झाङका झाङ बोटबाट फल टिप्न र बजार पठाउन अरु व्यस्त हुँदा मेहता भने न्यायिक समिति धाइरहेका छन् । सीतादेवी उरावकै साँधमा छ, उनको जग्गा । तर, साताअघि मात्र उनलाई ठूलै विपत्ती आइलाग्यो । अहिले सिजनमा राम्रो आम्दानी दिने पर्वलको झाङ कँचियाले काटेर लतार्दै सखाप पारिदिएछन् ।
‘‘छिमेकीले नै पर्वलको झ्याङ कँचिया (हँसिया) ले काटेर सखाप गरिदिए,’’ मेहताले भने, ‘‘भएभरको फल पनि टिपेर लगेछन् । फल दिने बोटै काटिदिएपछि त म अन्यायमा परेको छु । बरु लहरा उता गएको भए पन्छाइदिएको भए चित्त बुझ्ने थियो ।’’ मेहताले छिमेकी सीतादेवविरुद्ध न्यायिक समितिमा मुद्दा हालेका छन् ।
उनले साँध जोडिएको जग्गाबाट लहरा पारि गएको भए जानकारी गराई पन्छाउनु पर्नेमा बोट काट्नु र फल टिपेर लग्नु अपराध भएको भन्दै क्षतिपूर्तिसमेत माग गरी देवानगन्ज गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । उनको उजुरी उपर समितिले छलफल चलाउन मितिय तोक्न बाँकी नै छ । देवानगन्ज तरकारी खेतीका लागि चर्चित छ । यहाँको तरकारी विराटनगर र इनरुवा हुँदै देशका विभिन्न भागसम्म बिक्री गर्न पठाइन्छ ।
राजगन्जसिनवारीका अर्जुन मलाहाले आफ्नै फूपुको छोराबाट घडेरी किन्दा ठगिएको भन्दै न्यायिक समितिमा उजुरी गरेका छन् । उनले घडेरी जमिन लिए । पहिले फूपुकै छोराको नाममा जग्गा किनेर पास गरिदिए । पछि आफ्नो नाममा ल्याए । ‘‘आफन्तले बेइमानी गर्दैनन् भन्ने लागेको थियो तर जग्गा त बाटोमा पो रहेछ,’’ मलाहाले भने,‘‘गाउँपालिकाले सूचना गरेर घर हटाउन भनेको छ । म के गर्नु भनेर चिन्तामा छु । घर अब भत्कने भएपछि न्याय माग्न समितिमा आएको हुँ ।’’ उनले आफू ठगिएको विषयमा समितिले न्याय दिलाउनेमा आशावादी रहेको सुनाए ।
रुपेशकुमार मेहता पनि जग्गा सम्बन्धी झगडा लिएर समिति धाउँदैछन् । उनको भनाइअनुसार छिमेकी रामप्रसाद पण्डितले मेहताको उनको जमिनमा परेको छ । भन्छन्, ‘‘जति गर्दा पनि विवाद नसुल्झिएपछि यहां समितिमा निवेदन दिएको छु । दुबै पक्षलाई राखेर छलफल गराउने भन्ने समितिले तयारी गरेको छ ।’’
देवानगन्ज गाउँपालिकाको न्यायिक समितिमा मुद्दाको चाप दैनिक बढ्दो क्रममा रहेको समितिले जनाएको छ । समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष पुनीतादेवी यादव मेलमिलापलाई ध्यान दिएर छलफल गराउने गरेको बताउँदै भनिन्, ‘‘गाउँमै मुद्दामामिला मिल्न थालेपछि अहिले निकै सहज भएको छ । मुद्दा लिएर जिल्ला जाँदा हुने खर्चसमेत जोगिएको छ ।’’
समितिका सदस्य सदस्य लखन मेहता कुटपिट, चरिचरन, कुलोपैनी आदिसंग सम्बन्धित मुद्दा अधिक रुपमा समितिसमक्ष आउने गरेको बताउँछन् । भने, ‘‘दुबै पक्ष विपक्षलाई राखेर सहमति गराएर फैसला सुनाउने गरिन्छ । समस्या र थिचोमिचो उनीहरुको मुखबाट बुझेर सुनेर मेलमिलाप गरेर पठाइदिन्छौं ।’’ दिनमा चारवटासम्म मुद्दा हेर्ने गरेको उनले बताए । ४ सय ५० मुद्दा परेको थियो । ३ सय ५० जति मुद्दाको फैसला भएको छ । यो वर्ष पनि ९० जति मुद्दा परेका छन् । २५ जति मुद्दा छलफल गरिएको छ ।