काठमाडौं । साझा विवेकशील पार्टीले संसद्मा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर साझा विवेकशीलले सरकारसँग विधेयक फिर्ता लिएर सरोकारवाला निकायसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानुन निर्माण गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रले मुलुकको लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रताका लागि अतुलनीय योगदान पुर्याएको प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध आफ्नो पार्टी सधै मिडियाको साथमा रहने प्रतिवद्धता जनाए । ‘‘संसद्मा दर्ता भएको विधेयकलाई फिर्ता गरेर सरोकारवाला पक्षसँगको सहमतिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल बनाउनुपर्छ,’’ उनले भने, ‘‘पेलेरै लान्छु भनेर सोच्दै नसोचे हुन्छ, यो लडाइँमा हामी मिडियाको साथमा छौं र रहने छौं ।’’
सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खवरदारी गरिरहेको मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्ट अनुदार लोकतन्त्र उन्मुख रहेको उनको भनाइ थियो । साझा विवेकशीलले सत्तारुढ दलका शीर्ष नेताहरुले माफियासँग हिमचिम बढाइरहेको प्रमाण मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरुले मिडियालाई आफ्नो दुष्मन ठान्नु स्वाभाविक भएको पनि पार्टीको भनाइ छ ।