काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आइतबारको पूर्व बजेट छलफलमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडालाई राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सुझाव दिएका हनु् ।
उनले भने, “मुलुकको ढुकुटीको चावी बोकेको सरकारको अर्थमन्त्रीले राजनीतिक आग्रह र पुर्वाग्रह भन्दा माथि उठेर यथार्थवादी हुनु जरुरी छ । आफूबाहेक अरु सबै खराब हुन् भन्ने दर्शनले अर्थतन्त्रलाई सही बाटो दिन सक्दैन ।” सरकारले यत्रतत्र जथाभावी कनिका जसरी बजेट छरेर भोटको राजनीतिलाई सुरक्षा गर्ने अस्त्रको रुपमा लिएको भन्दै उनले त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराए ।
सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहित र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजस्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनले जोड दिए । बजेटको अनुशासन कायम भएको भन्ने सरकारको दाबी सही नभएको टिप्पणी उनले गरे ।
फाइल तस्बिर