site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 हिउँभित्रका कथा
Sarbottam CementSarbottam Cement

— बच्चु हिमांशु


वियस राई केही महिनाअघिसम्म साहित्यिक दुनियाँमा बिरानो थिए । उनका कथाहरूको पहिलो सँगालो ‘हिउँमाझी’ गत मंसिर १५ देखि हामीलाई हात लागेको हो । सबैका लागि उपलब्ध भएसँगै शुरुवाती यात्रामा किताबको एउटा कथा (जोखना)ले आफ्नै नाट्य रुपान्तरण पनि उपहारस्वरूप पाइसकेको छ । नाटकको भव्य सफलताको स्वयं साक्षी हुनाको नाताले ‘हिउँमाझी’को चर्चालाई सुनमा सुगन्ध थप्ने काम उक्त नाटकले गरेको हो भन्ने तथ्य अब कटुसत्यमा परिणत भएको छ ।

सोलुखुम्बुका स्थायी बासिन्दा वियसले बाह्र बसन्त घाम प्रहरीको बर्दीमै तापिसकेका छन् । आफ्नो परिचयात्मक परिधिलाई फैलाउँदै उनले त्यसभित्र कथाकारको ट्याग पनि टाँस्न भ्याइसके । ‘फिनिक्स बुक्स’को ब्यानरमा बजार भित्रिएको कथासंग्रह ‘हिउँमाझी’भित्र उनका १३ लामा–छोटा कथा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि यो भूगोलको कुनै शब्दकोषमा नभेटिएको शब्द ‘हिउँमाझी’लाई कथामार्फत पदार्पण गराउने श्रेय उनैलाई गएको छ । शब्दको अर्थलाई परिभाषित गर्नेगरी उही शीर्षकमा एउटा कथा नै लेखेका छन् । यसअनुसार हिउँमाझीको अर्थ हुन्छ, पर्वतारोहीलाई कसरी सम्भव हुन्छ, त्यसरीनै हिमाल चढ्न र ओह्राल्न सघाउने मान्छे अर्थात् शेर्पा जाति । हिमाल चढ्ने सिजनको शुरुवातमा रुट खोलिदिने मान्छेलाई अंग्रेजीमा दिइने ‘आइस डक्टर’को संज्ञा पर्वतारोहणको भाषामा सामान्य हो । यो कोणबाट हेर्दा नेपाली वाङ्मयमा ‘हिउँमाझी’ शब्दको प्रवेश जायज नै ठहरिएला । निश्चित छ, प्राज्ञहरूले यो शब्दबारे भविष्यमा बोल्नेछन् ।

आफू बाँचिरहेको समय, समाज र युगलाई कथामा लेख्न इच्छाउने वियसले साहित्यमार्फत समाजलाई यथार्थपरक ढंगले हेर्ने चेष्टा गरेका छन् । उनका हरेक कथाको उद्देश्य समाजको असंगत पक्षलाई मिहिन ढंगले बहसमा उभ्याउन खोज्नु देखिन्छ । उनका कथाहरू गुणात्मक र परिमाणात्मक दुवै कोणबाट सामाजिक यथार्थवादी धारामा केन्द्रित छन् । उनले समाजमा विद्यमान आर्थिक असमानता, सामाजिक भेदभाव, वर्गीय वैमनश्य आदिलाई कथामा सफलतापूर्वक चित्रण गरेका छन् । साथै, उनले प्रगतिवादी स्वरलाई प्रश्रय दिएको पनि पाइन्छ । उनी समाजमा व्याप्त सम्पूर्ण समस्याको मूल जड आर्थिक विषमता रहेको तर्फ संकेत गर्दै समतामूलक सामाजिक संरचना निर्माण गर्न समाजबाट आर्थिक विषमता उन्मूलन हुनुपर्ने धारणा कथामार्फत राख्छन् । उनका कथाहरूमा पीडित र असहाय वर्गप्रति सद्भाव र सहानुभूति प्रकट भएको पाइन्छ । ‘नाकाबन्दी’ र ‘चम्पाको नाम’ कथामा उनको यस प्रवृत्तिगत लेखनको सशक्त र तीव्र अभिव्यक्ति भेटिन्छ । उनले आर्थिक अभावका कारण अत्यन्त संकटमय जीवन गुजार्न बाध्य भएका मानिसहरूको मार्मिक चित्रण गर्दै ‘बयान’ शीर्षकको कथा लेखेका छन् ।

Global Ime bank

वियसका कथाहरूमा आर्थिक समस्याका अतिरिक्त मनोवैज्ञानिक, राजनीतिक, सामाजिक र सांस्कृतिक समस्याहरूको पनि चित्रण पाइन्छ । ‘टुङ्ना’ कथामा द्वन्द्वोत्तर समाजको मनोविज्ञान उल्लेख छ । द्वन्द्वको घाउ बोकेर बाँचिरहेका पासाङजस्ता पात्रहरू समाजमा अझै पनि भेटिन्छन् । यहाँ कसै न कसैले फूलसानीजस्तै आफन्त गुमाएका छन् । जो कि त कहिल्यै फर्केर नआउने बाटोमा गएका छन् कि बेपत्ता पारिएका छन् । द्वन्द्वको त्राषदीपूर्ण कथानक प्रस्तुत नगरिकनै द्वन्द्वबाट गुज्रेर आएको समाजको मनोविज्ञानलाई हुबहु प्रस्तुत गर्नुमा लेखकीय चलाखीले काम गरेको छ ।

सामाजिक यथार्थवादी लेखकका रूपमा वियसको दखल आलोचनात्मक यथार्थवादमा बढी छ । उनी समाजमा देखिएका कुरीति, शोषण, दमन र अन्य विसंगतिका कारण र प्रभावलाई औंल्याएर तिनलाई सुधार्ने अपेक्षा राख्छन् । यथार्थवादी सामाजिक कथाकार भएकाले उनले आलोचनात्मक यथार्थवादलाई आत्मसात गरेका छन् । ‘जोखना’ कथामा सामाजिक अन्धविश्वास र कुरीतिमाथि उनको सटिक प्रहार पाइन्छ ।

मानवतावादी चिन्तनका पक्षधर वियसले मानवीय जनजीवनका विकृति र विसंगतिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । आफूलाई समाज र राजनीतिको पहरेदार ठान्ने व्यक्तिबाट लुटिएर कलंकित र निरर्थक पात्र बनाइएकी चञ्चलाको दुःखान्त कहानी ‘जिम्मा’ कथामा पाइन्छ । राजनीतिमा अधिकांश युवाहरू कसरी प्रयोग भइरहेका छन् भन्ने दृष्टान्त हो यो । सामाजिक–राजनीतिक पृष्ठभूमिको एउटा सशक्त कथा हो ‘जिम्मा ।’

सामन्तवादी प्रवृत्तिको विरोधी अभिव्यक्ति वियसका कथाहरूको अर्को विशेषता हो । यसो भनौं, उनी केही हद माक्र्सवादी चिन्तनबाट पनि प्रभावित छन् । उनले समाजमा विद्यमान वर्गीय चरित्रलाई स्वीकार गर्दै तदनुरूप कथा बुन्ने सफल प्रयत्न गरेका छन् । तर, माक्र्सवादी चिन्तनलाई उनले नाराको रूपमा प्रस्तुत नगरेर ‘चन्दा’ कथामार्फत कलात्मक रूपमा प्रगतिवादी स्वर दिन खोजेको पाइन्छ । छुवाछुतको कथानक रहेको यो कथा चरित्रचित्रणको हिसाबले निकै सशक्त छ । कथाका पात्रहरू छत्रे र मुक्तिनाथ समाजका दुई वर्ग हुन् । प्रवृत्तिका आधारमा छत्रे समाजका लागि अनुकूल पात्र हो भने मुक्तिनाथ प्रतिकूल पात्र ।

कथाहरू ‘हिजोको कुरा’ र ‘बसन्त भर्सेज बस्टिन’ बालमनोविज्ञानमा आधारित छन् । सानो कुरामा झगडा गरिहाल्ने र एकैछिनमा मिली पनि हाल्ने बालसुलभ चरित्रको मीठो कथानक ‘हिजोको कुरा’मा पाइन्छ । बालबालिकाको मनोविज्ञान नबुझिकन अभिभावकहरूले उनीहरूमाथि आफ्नो कुरा थोपर्न खोज्दा निम्तिने परिस्थितिको कथा हो, ‘बसन्त भर्सेज बस्टिन ।’ दुवै कथामा मूलतः समाजको यथार्थपरक प्रस्तुति पाइएको हुनाले यी सामाजिक यथार्थवादी कथाहरू नै हुन् ।

कृतिका प्रायः कथानकहरू समसामयिक नेपालका विभिन्न परिदृश्यसँग यद्यपि मेल खान्छन्—

— द्वन्द्वोत्तर पीडा यथावत् हुनु (टुङ्ना)

— छुवाछुतको घटना हरेक दिनजसो घटित हुनु (चन्दा)

— धर्म परिवर्तनको रोग व्याप्त हुनु (चम्पाको नाम)

— इमानदार राष्ट्रसेवकहरूको अनावश्यक सरुवाको समाचार दिनदिनै अखबारमा आउनु (सरुवा) । आदि ।

‘हिउँमाझी’भित्र सोलुखुम्बु जिल्लाआसपासको आञ्चलिकता झल्किने सातवटा कथाहरू छन् । संग्रहभित्रका ‘नाम्लो’, ‘चन्दा’, ‘जिम्मा’, ‘हिजोको कुरा’, ‘माफ’, ‘हिउँमाझी’ र ‘जोखना’ सोलुखुम्बुको परिवेशमा आधारित कथा हुन् ।

आञ्चलिक संस्कृत शब्द अञ्चलबाट बनेको हो । अञ्चलको अर्थ हुन्छ, कुनै विशेषक्षेत्र, जसका आफ्नै संस्कृति, भाषा, समस्या र विशिष्टता हुन्छन् । कुनै अञ्चल वा क्षेत्रको वातावरण र त्यहाँका बासिन्दाबीचको अन्योन्याश्रित सम्बन्ध नै आञ्चलिकता हो । भारतीय लेखक राजेन्द्र अवस्थी (सन् १९३०–२००९)का अनुसार ‘जुन कथाकृतिमा कुनै विशिष्ट क्षेत्रको जनजीवनको समग्र चित्रण, त्यहाँको भाषा, वेशभूषा, धर्म, जीवन, समाज, संस्कृति साथै आर्थिक–राजनीतिक जागरणको प्रश्न एकसाथ उठेर आएको हुन्छ, त्यो आञ्चलिक कृति हुन्छ ।’

कुनै पनि कथा आञ्चलिक हुनका लागि त्यसभित्र नवीन चरित्र र योजना आवश्यक हुन्छन् । आञ्चलिक कथामा प्राकृतिक परिवेश केवल कथाको पृष्ठभूमिको रूपमा नआएर त्यसले सर्जकतत्त्वकै काम गरिरहेको हुन्छ । भाषामा स्थानीयताको रंग हुनु आञ्चलिक कथाका लागि अर्को अनिवार्य शर्त हो । यी कुराहरूलाई आधार मान्दा संग्रहकै उत्कृष्ट कथा ‘नाम्लो’ हो । ग्रामीण परिवेशको यो कथामा लेखकले साधारण गाउँले युवालाई कथावाचकका रूपमा प्रस्तुत गरेका छन् । पर्वतारोहणको क्षेत्रमा ‘पोटर’ अर्थात् भरियाको काम गर्ने युवा तिखे दमाईले सुनाइरहेको आफ्नै जनजीवन आकर्षक भाषाशैलीमा उतारिएको छ । स्थानीय लवजमा लेखिएको यो कथा नेपाली साहित्यका लागि एउटा नयाँ प्रयोग पनि हो ।

“म ता हुरुक्कै भैगएँ । कुइरिनी ल्याम्छु भन्दा हाम्रा बा पत्याम्दैनन् । बेर छैन, बेर छैन । यस्तै हो भने मैले कुइरिनी ल्याम्न बेर छैन । ओहो ! लोडरका खलकले ट्रली गुडाका । कुइरेहरूका झोलैझोला । डेजीको झोला पन् आइपुगेछ ।’ (नाम्लो, पृ.१३)

कथाकार वियसले ‘हिउँमाझी’ कथामार्फत पर्यावरण साहित्यमा आफ्नो बलियो उपस्थिति जनाएका छन् । पर्यावरण साहित्यको नैतिक अभिविन्यास यो हुने गर्छ कि, लेखकले आफ्नो रचनामा वातावरणप्रतिको मानवीय जवाफदेहितालाई प्रस्तुत गर्नुपर्ने हुन्छ । यस किसिमको आख्यान सकेसम्म यथार्थवादी र यसको कथानक पर्यावरणीय सिद्धान्तसँग मेल खाने हुनुपर्छ । कथाका पात्र मिङ्मामार्फत आणविक शक्तिसम्पन्न देशहरूलाई पठाउन खोजिएको एउटा सन्देश छ, “आणविक भट्टीहरू बन्द गर्नू, यसले हिमालहरू सुक्दै छन् ।” यसबाट प्रष्ट हुन्छ, पर्यावरण साहित्यले माग गर्ने ‘विवेकशील लेखनको अवधारणा’प्रति लेखक सजग छन् ।

’प्रहरी साहित्य’को विरासत थाम्ने हैसियतका साथ प्रकट भएका छन् वियस । प्रहरी सेवामा आबद्ध सर्जकहरूमा मदन पुरस्कार विजेता महेशविक्रम शाह, नव सिलवाल (सेवाबाट अवकाशप्राप्त), धनबहादुर थापा र वाक्सेली थापाजस्ता चर्चित नामसँगै अर्को नाम पनि थपिएको छ, वियस राई । उनका ‘बयान’ र ‘सरुवा’ शीर्षकका दुई कथा प्रहरी अनुभवमा आधारित छन् । प्रहरीको भूमिकामा रहेर आफ्नो जिम्मेवारी बहन गर्दै जाँदा कतिपय घटनाले छोएपछि कथा लेख्न बाध्य भएको कुरा उनले स्वीकारेका छन् । आफ्नो प्रहरी जीवन भोगाइका पीडालाई पनि सरलीकृत गर्दै उनले यी कथा सिर्जना गरेको पाइन्छ । जागिरमा रहँदा साहित्यका लागि समयको अभावका बाबजुद उनको साहित्य साधना निरन्तर अघि बढिरहेको छ ।

‘माफ’ कथामार्फत लेखकले किराँती सौन्दर्यशास्त्रको बहसको आवश्यकतामाथि वकालत गरेका छन् । किराँत समुदायले मान्दै आएका कतिपय रीतिरिवाजहरू आयातीत छन् । तर, त्यसलाई निरन्तरता दिन चाहने जडसूत्रीय समाज पनि एकातिर छँदै छ । एउटा पुस्ता मौलिक सौन्दर्यशास्त्रको बहसमा उत्रिएको छ भने अर्को पुस्ता सांस्कृतिक औपनिवेशिकतामै रमाइरहेको छ । यी दुई पुस्ताबीचको स्वाभाविक द्वन्द्वमा लेखकले नयाँ पिँढीहरू, जो आफ्नो इतिहासप्रति सचेत छन्, तिनको समर्थन गरेका छन् । यो कथाले किराँती समाजमा विद्यमान् सौन्दर्यशास्त्रको बहसलाई थप बल पुग्नेछ । 

समग्रमा वियसले ‘हिउँमाझी’ कथा कृतिमार्फत समकालीन समयलाई समाजका विविध पक्षमार्फत यथार्थपरक ढंगले अभिव्यक्त गरेका छन् । शिल्पका कुरामा उनी नयाँ कथाकारजस्ता पटक्कै लाग्दैनन् । सजिलोसँग पाठकको मनमष्तिष्कमा पुग्न सफल उनका कथा समाजमै घटित घटना हुन् र ती कतै सुनिरहेकै प्रतीत भएपनि उनको भाषाशैली फरक भएकाले हामीलाई कथामा नयाँपन अनुभूत हुन्छ । ‘हिमालको कथा लेखिनुपर्छ’ भन्नेमा जोड दिने उनले यो संग्रहमार्फत ल्याएका हिमालका दुवै कथाहरू (नाम्लो र हिउँमाझी) स्तरीय छन् । संग्रहणीय कथा पस्केका वियसले आधुनिक नेपाली कथा साहित्यमा आफ्नो अलग्गै पहिचान बनाउन सक्ने कुरामा दुईमत छैन । 

अन्तमा,

कथाकृतिको पृष्ठ १६ मा उल्लिखित प्राणी ‘याक’ नभएर घरपालुवा गाई र याकको क्रसबाट निस्किने ‘जो’ भएको कुरा जानकारहरू बताउँछन् ।

कथाकृतिः हिउँमाझी
कथाकारः वियस राई
प्रकाशकः फिनिक्स बुक्स 
पृष्ठः २१४
मूल्यः रु. ३५०।–

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC