site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्नो ट्रोल देख्दा खुशी लाग्छ
Ghorahi CementGhorahi Cement

‘भर्सटाइल’ अभिनेता विपीन कार्कीअभिनीत ‘जात्रै जात्रा’ जेठ ३ गते प्रदर्शन हुँदै छ । करिब तीन वर्षपछि ‘जात्रा’को सिक्वेलका रूपमा आउन लागेको ‘जात्रै जात्रा’सम्म आइपुग्दा इमानी र स्वाभिमानी फणिन्द्र स्वाभिमानबाट डगमगाएको छ कि छैन ? सँगै साहित्यमा विपीनको रुचि के छ ? उनलाई मन परेको पुस्तक तथा उनको मन खिचेको चलचित्र कुन हुन् ? यी र यस्तै विषयमा विपीनसँग नरेश फुयाँलले गरेको छोटो कुराकानीः

० ० ०

साहित्यमा कतिको रुचि राख्नुहुन्छ ?

Agni Group

साहित्यिक कृतिहरू पढ्छु । 

कस्ता खालका पुस्तक पढ्नुहुन्छ ?

Global Ime bank

समयअनुसार फेरबदल हुँदो रहेछ । कुनै समय कथा र उपन्यास मनपथ्र्यो भने अहिले आएर कविता मन पर्छ ।

कुन–कुन पुस्तक पढ्नुभएको छ ?

पुराना अग्रज साहित्यकारका नाम चलेका कृति प्रायः पढिसकेको छु । नयाँ पुस्तक पनि धेरै त पढ्न बाँकी नै छ । नाम चलेका र बजारमा चर्चामा रहेका पुस्तक केही पढेको छु । केही पढ्न बाँकी छ ।

पछिल्लो समय तपाईंले पढेको पुस्तक कुन हो ?

पछिल्लो समय मैले पढेको निलम कार्की निहारिकाको ‘योगमाया’ पढेको थिएँ । एकदमै मजा आएको थियो ।

तपाईं पनि पूर्वको, ‘योगमाया’को परिवेश पनि पूर्वको छ, त्यही भएर हो ?

त्यो पनि कारण हो ।

तपाईंलाई हृदयबाटै मन परेको पुस्तक कुन हो ?

धेरै छन् । समयअनुसार त्यसले प्रभाव पार्दो रहेछ । कुन समयमा कसरी व्यक्ति गुज्रिरहेको छ, त्यसले दिमागमा छुँदो रहेछ । समयअनुसार पुस्तकले दिमागमा छाप छोड्दो रहेछ । लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता मलाई निकै मन पर्छ । बुद्धिसागरको ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ पनि मन परेका पुस्तक हुन् । यी दुईमा पनि ‘कर्नाली ब्लुज’ अझै धेरै मन परेको पुस्तक हो । ‘कर्नाली ब्लुज’ले मलाई आकर्षण गर्नुको कारण यसको भाषा शैली नै हो । त्यो बेला मलाई त्यो लेखन शैली छुट्टै लागेको थियो । लेखन शैलीले नै मलाई आकर्षित गरेको हो ।

खाना कत्तिको बनाउनुहुन्छ ?

प्रायः बनाइरहेको हुन्छु । समय मिल्दा, फुसर्द हुँदा बनाउँछु । यस दिन बनाउने भनेर पालो नै त छैन । तर, मजा लाग्छ मलाई खाना बनाउन ।

भाँडा पनि माझ्नुहुन्छ ?

माझ्छु । श्रीमती र ममात्रै बस्ने भएकाले यसले यो गर्ने, उसले यो गर्नेभन्दा पनि को खाली छ, त्यसैले काम गर्छौं ।

तपाईं आफैं अभिनय गर्नुहुन्छ, तपाईं स्वयंचाहिँ कस्ता चलचित्र हेर्नुहुन्छ ?

यो र यस्तै मात्रै चलचित्र मनपर्छ भन्ने छैन । यो जानरामात्रै मनपर्छ भन्ने पनि छैन । चलचित्रको विषय, प्रस्तुति मन पर्ने हो । कलाकार भएको नाताले त्यसमा पनि मलाई तपाईंहरूले भर्सटाइल अभिनेता भनिदिनुहुन्छ, त्यसैले पनि मैले सबै खालका चलचित्र हेर्नुपर्छ । सबैको आ–आफ्नै तौरतरिका हुन्छन्, त्यसैले जुनसुकै चलचित्र पनि राम्रो हुन सक्छ, मनपर्न सक्छ । सस्पेन्स, हरर, थ्रिलर पनि मन पर्छन् ।

पछिल्लो पटक तपाईंले हेरेर मन परेको चलचित्र कुन हो ?

चलचित्र त नयाँ होइन पुरानै हो तर मैलेचाहिँ भर्खर भेट्टाएर हेरेको हुँ । तर, जब मैले यो चलचित्र हेरें, केही नयाँ कुरा हेरेजस्तो, पढेजस्तो र सिकेजस्तो लाग्यो । त्यो चलचित्र हो, ‘तुम्बाद’ । तपाईंहरूले पनि हेर्नुभएको छैन भने हेर्न आग्रह गर्छु ।

मन पर्नुको कारण ?

साँच्चै चलचित्रजस्तै छ त्यो चलचित्र । छुट्टै क्रिएसन छ । फिल्मी दुनियाँ बनाएर क्रिएसन गरेको छ । हामी जबर्जस्ती गर्र्छौं भने त्यहाँ अटोमेटिक लाग्छ । रियल लाइफमा हुन नसक्ने कुराहरू कति मजाले देखाएको छ । साच्चै मजा आउँछ त्यो चलचित्र हेर्न । धेरै छन् यस्ता कारण । तपाईंले पनि हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ ।

तपाईंलाई अभिनेताका रूपमा धेरैले मन पराउनुहुन्छ, तपाईंले मन पराउने अभिनेता र अभिनेत्री को हुन् ?

म पनि धेरैलाई नै मन पराउँछु । म नेपालकै धेरै अग्रज दाइ–दिदीहरूको अभिनय हेरेर हुर्किएँ । मलाई हरिवंश आचार्य दाइ धेरै मन पर्छ । म चलचित्रतिर नढल्किँदा पनि उहाँको अभिनय मनपर्छ । समग्रमा भन्दा मनोज बाजपेयी मलाई एकदम मनपर्छ ।

सामाजिक सञ्जालमा आफ्नो मिम, ट्रोल देख्दा कस्तो लाग्छ ?

खुशी नै लाग्छ । मेरो काम र त्यसको सफलताको रूपमा लिन्छु । ट्रोल बन्नु, ट्रोलमा अनुहार आउनु भनेको क्यारेक्टर मन पराएर नै आएको जस्तो लाग्छ । कलाकार जसले पनि चाहने कुरा हो जस्तो लाग्छ ।

जेठ ३ गतेबाट तपाईं मुख्य भूमिकामा रहेको ‘जात्रै जात्रा’ रिलिज हुँदैछ, कस्तो चलचित्र हो यो ?

आम दर्शकलाई ध्यानमा राखेर बनाइएको चलचित्र हो यो । पूर्ण व्यावसायिक चलचित्र भन्न रुचाउँछु म । ‘हरि’, ‘नाका’, ‘गोपी’लाई म व्यावसायिक चलचित्र भन्दिनथें तर यो आम दर्शकलाई ध्यान दिएर बनाइएको चलचित्र हो । दर्शकले मन पराउनुहुन्छ ।

सिक्वेल हो, क्यारेक्टर त फणिन्द्र नै त होला ?

सिक्वेल भएकाले त्यारेक्टर त फणिन्द्र तिमिलसेना नै हो । क्यारेक्टर त दोहोरिन्छ तर नयाँ कुराहरू धेरै नै छन् । मैले जानेजति नयाँपन दिने प्रयास गरेको छु ।

साढे दुई वर्षपछि पुरानै क्यारेक्टरमा फर्किंदा त्यसको आत्मालाई पक्रिन कत्तिको सहज/असहज भयो ?

नयाँ क्यारेक्टर गर्न जति गाह्रो छ, त्यत्ति गाह्रोचाहिँ पुरानो क्यारेक्टरमा फर्किन हुँदो रहेनछ । कहिलेकाहीँ भर्खरै गरेको क्यारेक्टर भने देखिन खोज्दो रहेछ । दिमागमा नमेटिएको क्यारेक्टर आउनु स्वाभाविक पनि हो । बीचबीचमा ‘प्रसाद’, ‘गोपी’को क्यारेक्टर घरिघरि आउन खोज्थे तर पनि नयाँ गर्नुभन्दा पुरानो दोहोर्‍याउन नै सजिलो हुने रहेछ । फर्याम्याट अढाई वर्षअघि नै बनिसकेको थियो । क्यारेक्टर क्लियर थियो । कस्टुम र लवज निर्धारित भइसकेकाले सजिलो नै भयो ।

‘जात्रा’ इमान बेन्दिनँ भन्ने फणिन्द्र ‘जात्रै जात्रा’मा आइपुग्दा इमानमा कायमै रहन्छ ? वा बेइमान भइसक्छ ?

मान्छे कसरी फटाहा हुन्छ, सोझो मान्छेलाई कसरी परिस्थितिले बिगार्दै लैजान्छ भन्ने विषय नै यो चलचित्रको मुख्य कथा हो । यो पटक पहिलाको जस्तो इमान्दार फणिन्द्रले आफ्नो स्वाभिमान र इमान बेचेर खाइसकेको छ । समाज जस्तो छ, त्यस्तै छ फणिन्द्र पनि । पैसामै इज्जत छ भन्ने कुरा फणिन्द्रले बुझिसकेको छ । इज्जत पाउनका लागि अहिले फणिन्द्र फटाहा भइसकेको छ ।

(तस्बिरः सौरभ रानाभाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  ०६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC