site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कविताको कमालः सुदूरपश्चिमदेखि अन्तर्राष्ट्रियसम्म, चार वर्षमै राष्ट्रिय टोलीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूगोल र भोगाइका हिसाबले सुदूरपश्चिम भन्नेबित्तिकै विकट, अशिक्षा, अभाव तथा कुसंस्कारको चित्रि कोरिन्छ हाम्रो मानसपटलमा । तर, पछिल्लो समय लोकप्रिय बन्दै गएको क्रिकेटमा भने सुदूरपश्चिमको बेग्लै पहिचान छ । पुरुष तथा महिला राष्ट्रिय क्रिकेटमा प्रतिभावान खेलाडी दिएको छ, सुदूरले ।

युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरी, प्रदिप ऐरी, नरेश बुढाऐयर, विनोद भण्डारी, विक्रम सोव, राजु रिजाल, भीम सार्की, सन्दीप जोरा, ललितसिंह भण्डारी लगायतका अन्य कैयौं खेलाडीले सुदूरको भूमिबाट ब्याट र बल समाउँदै राष्ट्रिय टोलीबाट देशका लागि खेलेका छन् ।  पुरुष क्रिकेट खेलाडी उत्पादनको कारखाना नै मानिँदै आएको सुदूरपश्चिममा महिला क्रिकेटले पनि गति लिन थालेको छ । पछिल्लो समय महिला क्रिकेटको क्रेज बढ्दै गएको अवस्थामा उदाउँदै गरेकी खेलाडी हुन्, कविता कुँवर । 

क्रिकेटको सहर धनगढीकी १६ वर्षीया कविता राष्ट्रिय टोलीमा बलर र घरेलु प्रतियोगितामा अलराउण्डरको रुपमा मैदानमा देखिँदै आएकी छन् । कविता भन्छिन्, ‘‘मेरो लक्ष्य भनेकै उत्कृष्ट अलराउण्डर बन्ने हो । यसैका लागि संघर्ष जारी छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

ब्याट र बलबाटै भविष्य खोज्न थालेकी कविताले हालै राष्ट्रिय टोलीबाट दुई अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइन् । थाइल्याण्डमा भएको ट्वान्टी–२० स्म्यास र थाइल्याण्डमै भएको विश्वकप छनोट कविताको पहिलो अन्तर्राष्ट्रिय खेल हो । ४ वर्षको क्रिकेट करीअरमा कवितालाई छोटै समयमै राष्ट्रिय टोलीबाट देशका लागि खेल्छु भन्ने लागेको थिएन । निरन्तरको लगन र अठोटले कवितालाई छोटो समयमै राष्ट्रिय टोलीसम्म डोर्यायो । यु–१६, प्रधानमन्त्री कप र मोफसलका सामान्य प्रतियोगिता खेलेकी कविता प्रदेश छनोटमा उत्कृष्ट रहँदै गत पुषमा क्याम्पबाट राष्ट्रिय टोलीका लागि छनोट भइन् । छनोटमा सहभागि ४२ जनामध्ये कवितालाई प्रशिक्षक विनोद दासले उदीयमान खेलाडीको रुपमा मौका दिए ।

प्रशिक्षक दासको विश्वास र कप्तान रुविना क्षेत्रीको प्र्रेरणाले डेब्यू खेलमा शानदार प्रदर्शन गर्न सफल भएको कविताको अनुभव छ । डेब्यू खेलमै २ विकेट लिँदै निकै कम इकोनोमिमा बलिङ गरिन् । आफ्नो पहिलो खेललाई सम्झिँदै कविताले भनिन्, “राष्ट्रिय टोलीको जर्सि पहिलो पटक पाएको थिएँ । रातभर कस्तो खेल्नेमात्र सोचेँ । पहिलो खेल भएर अलि नर्भस भएँ तर सम्हालिँदै बलिङ गरेँ ।”

Global Ime bank

कविताको क्रिकेटको यात्रा सहज छैन । आजभन्दा ४ वर्षअगाडि बारीका पाटामा अंकल र मामासँग क्रिकेट खेल्ने कवितालाई राष्ट्रिय क्रिकेटर बनाउन सानीआमा (ममीको बहिनी) निता खत्रीले ठूलो भूमिका निर्वाह गरेकी छन् । टिभीमा महिला क्रिकेट देखेपछि झुम्मिरहने, कतै क्रिकेट भनेपछि कुदिहाल्ने कवितालाई सानीआमा निताले नै प्रशिक्षण गराउने स्थानसम्म पुर्याइन् । पहिलेका दिन सम्झिँदै कविताले भनिन्, “आन्टी बजार जानुभएको रहेछ । अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा जानकी भट्ट दिदीले क्रिकेट सिकाइरहेको देख्नुभएछ । घरमा आएर मलाई पनि त्यहाँ लैजाने बताउनु भयो । अर्को दिनबाट त्यहाँ जान थालेँ । त्यसपछि त क्रिकेट भनेपछि हुरुक्कै ।”

 

जानकी पूर्वक्रिकेटर हुन् । धनगढीमा उनले प्रशिक्षण गराउँदै आएकी छन् । अहिले ज्ञानेन्द्र खत्री र जानकीले संयुक्त रुपमा क्रिकेट प्रशिक्षण गराउँदै आएका छन् । २०६० सालमा अछाममा जन्मिएकी कविता कुँवरलाई टिभिमा देखेको क्रिकेटले निकै लोभ्याएको हो । ठूलो ब्याट र बल देखेपछि त्यस्तै खेलाडी बन्ने प्रण गरेकी कविता पहिलो पटक बल समाउँदा अचम्ममा परेकी थिइन् । 

“कति न गह्रुँगो हुन्छ सोचेकी मैले त ! पहिलो पटक समाउँदा अचम्ममा परेँ । दाइले खेलेको हेरेको थिएँ । शतक र अर्धशतक बनाउँदा ब्याट उचाल्थे । सोच्थेँ– गह्रुँगो ब्याट कसरी उठाउँछन् होला । अभ्यासको पहिलो दिन ब्याट समाउँदा त अर्कै फिल गरेँ । त्यहि दिन राम्रो खेलाडी हुन्छु भन्ने सोचेर क्रिकेटलाई प्राथकिमतामा राखेँ,” कविताले भनिन् ।

प्रशिक्षणको एक सातापछि उनले काठमाडौंमा एकदिवसीय क्रिकेट खेल्ने मौका पाएकी थिइन् । बुवा आर्मी भएका कारण काठमाडौंको आर्मी स्कुलमा पढेकी कविताले अहिले एसईई दिएकी छिन् । बुवा भलिबल खेलाडी भएपनि कवितालाई क्रिकेटमा लाग्न धेरै सहयोग गरेका छन् । आफैंमा पनि धेरै परिवर्तन आएको बताउने कविता एकदिन देशकै उत्कृष्ट अलराउण्डर हुने लक्ष्यमा छिन् ।

आर्मी स्कुलमा केही समय पढेकी कविता पहिलो पटक क्रिकेटका लागि काठमाडौं आउँदा निकै उत्साहित थिइन् । त्यो भन्दा बढी उत्साह उनलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान देखेपछि भयो । टिभिमा मात्र देखेको क्रिकेट मैदानमा खेल्ने पाउने भएपछि उत्साहित कविताले मैदानमा प्रवेश पाउँदा आफ्नो सपना पूरा भएको महशुस गरेकी थिइन् ।

प्रशिक्षण सुरु गरेको १ साता नबित्दै राष्ट्रिय खेलका लागि अवसर पाएकी कविता त्यसपछि पछाडि फर्किनु परेको छैन । रुविना क्षेत्री, सिता रानामगर, नेरी थापालगायतका खेलाडीमाझ फुच्ची कवितालाई घुलमिल हुन धेरै समय लागेन । रुविनासँग पहिले नै परिचित कविता सिनियर खेलाडीको सहयोगले नै छोटो समयमा राष्ट्रिय खेलाडी बन्ने सकेको बताउँछिन् । कविताले रुविनासँग बंगलादेश र भारतका स्थानीय प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

थाइल्याण्डमा ट्वान्टी–२० स्म्यासका लागि जाँदा कविताको लक्ष्य आफूलाई प्रमाणित गर्नुथियो । प्रशिक्षक विनोद दासको विश्वास र कप्तान रुविनाको हौसलामा उनी उत्कृष्ट बलिङ गर्न सफल भइन् । महिला क्रिकेटमा घरेलु प्रतियोगिता नहँुदा महिला खेलाडीले राम्रो खेल्न नसकेको उनको बुझाइ छ । कविताले थपिन्, “दाइहरुको जस्तै क्रिकेटका प्रतियोगिता हुने भए हामीलाई पनि सहयोग हुन्थ्यो । आफ्ना कमजोरी पत्ता लगाउन सकिन्थ्यो । अभ्यास गरेरमात्र अन्तर्राष्ट्रिय खेल्दा राम्रो नतिजा आउँदैन ।”

राष्ट्रिय टोलीका लागि नियमित अभ्यासमा रहेकी कविताको लक्ष्य थाइल्याण्डलाई हराउने छ । “हामी सधै अरुलाई जित्छौं तर थाइल्याण्डसँग हार्छौ । एक्सपोजर पाए हामी जितका लागि योग्य छौं,” कविताले भनिन् ।

प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सुदूरपश्चिमलाई तेस्रो स्थानमा पुर्याउन कविताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।  जनकपुरमा भएको यु–१६ स्कुलस्तरीय क्रिकेट प्रतियोगितामा पनि कविता उत्कृष्ट बलर भएकी थिइन् । आठौंअघि भएको प्रधानमन्त्री कपमा कविता सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा थिइन् । उदीयमान खेलाडी कवितालाई हालै क्रिकेट समर्थक समाज (एनसीएसएस) ले सम्मान गरेको छ । दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई मध्यनजर गर्दै एनसीएसएसले २५ हजार नगदसहित सम्मान गरेको हो । कविता भन्छिन्, “सम्मानले थप हौसला पाएको छु । फिटनेसलगायतका कुरामा ध्यान दिएर अघि बढ्नेछु ।” उनी क्रिकेट खेलाडी संघ (सिप्यान) ले आयोजना गरेको अवार्डतर्फ उदीयमान खेलाडीको मनोनयनमा परेकी थिइन् । तर अवार्ड भने पाइनन् । 

कुनैबेला क्रिकेट खेल्न जाँदा छोरीमान्छेले क्रिकेट खेल्न हुँदैन भन्ने समाज अहिले स्याबासी दिन आउँदा कवितालाई गर्र्व महसुस हुन्छ । तर परिवारको सहयोग भने उनको बलियो आधार हो । “कहिले त गाली पनि खानुपर्यो तर अहिले सबैले सम्मान गर्छन् । पहाड अछाममा पनि सबै खुसी हुन्छन्,” कविताले भनिन् । विदेशी क्रिकेटमा अष्ट्रेलियालाई फलो गर्ने उनी आगामी विश्वकप उसैले जितेमा खुसी हुने बताउँछिन् । महिला क्रिकेटमा उनी अष्ट्रेलियन पेरीकी समर्थक हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC