जाग्ला त हेपिएको कांग्रेस ?

देशमा विपक्ष छ कि छैन भने थाहा पाउनै छाडेका बेलामा एकाएक प्रतिनिधि सभामा देखियो नेपाली कांग्रेस । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सांसदहरूले उठाएको प्रश्नहरूलाई ‘कुण्ठा, आक्रोश र निम्छरा’ भनेर नबिच्क्याएको भए सायद त्यस दिन पनि कांग्रेस ‘निष्ठावान् विपक्ष’मै सीमित हुन्थ्यो होला । पूरक प्रश्नमा जति परिश्रम नीति तथा कार्यक्रममा बोल्दा गरेको भए त प्रधानमन्त्री ओलीको शब्दकोशमा पनि गाली सकिनेथिए होलान् ? 

ओलीका गाली
बुद्ध र गालीसम्बन्धी एउटा रोचक प्रसंग छ जातक कथामा । बुद्धलाई कसैले तुच्छ वचनसहित गाली गरेछ । बुद्धले कुनै उत्तर नदिई हाँसीहाँसी  टारेछन् । शिष्यहरूले सोधे – किन उत्तर नदिनु भएको ? बुद्धले प्रतिप्रश्न गरे – कसैले दिएको वस्तु लिनेले लिएन भने कस्को हुन्छ ? शिष्यले भने – दिनेकै हुन्छ । बुद्धले अनि भनेछन् – ती गाली पनि मैले लिइन । अब गाली गर्नेकै भए । 

प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षीका प्रश्नलाई प्रतिनिधि सभामा ‘‘कुण्ठा, आक्रोश र निम्छरा’’ भने । कांग्रेसले त्यसलाई नलिएको भए सबै ओलीकै हुन्थे ।   

संसद्का अवकाशप्राप्त सचिव सोमबहादुर थापाले एउटा टेलिभिजनमा शिष्ट शैलीमा भने ‘‘प्रधानमन्त्रीले त्यसो नभनेको भए हुन्थ्यो ।’’ हुन पनि संसदीय मर्यादाको हेक्का गर्नेले संसद्मा उठेका प्रश्नलाई पक्कै पनि ‘‘आक्रोश, कुण्ठा र निम्छरा’’ भन्दैनन् । तर, संसदीय पद्धतिलाई करबलले स्वीकारेका कम्युनिस्टहरूबाट संसदीय मर्यादाको अपेक्षा गर्नु सायद सही हैन ।

दीक्षाअनुसार संस्कार

कांग्रेसका प्रश्नहरूलाई प्रधानमन्त्रीले निम्छरा भनेर फालिदिए । उनको शैली र स्वभाव अनुरूप । सभामुख कृष्णबहादुर महराले पनि आफ्नो दीक्षाअनुसार संसद् चलाए । उनीहरूले जे जानेको हो त्यही गरे । जेमा विश्वास थियो त्यही गरे । यसैमा रडाको गरेर तिनलाई रमाउने मौका दिनु बुद्धिमानी होइन । 

प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई असहिष्णु चरित्र उदांगो पारेको दिन सभामुखको निरीहता र संसदीय मर्यादाप्रतिको उपेक्षा पनि उदांगियो । कांग्रेसले यस घटनालाई कार्यकर्ता र जनतासम्म लैजान सक्छ कि सक्तैन र लगे कसरी लैजान्छ ? बुद्धि पुर्याउन सक्यो भने पार्टीमात्र हैन देशलाई पनि लाभ हुनेछ ।  

कांग्रेसका शीर्ष नेता

गिरिजाप्रसाल कोइराला, सुशील कोइराला, कृष्णप्रसाद भट्टराई सबैभन्दा धेरै औपचारिक शिक्षा पाएका छन् अहिलेका कांग्रेसका शीर्ष नेताले । तर, संस्कार हेर्दा पत्यार लाग्दैन । आफ्नो स्वार्थभन्दा माथि कुनै कुरालाई राख्न नसक्नेहरूले कांग्रेसको रथ तान्लान् कसरी ?

तामझामसहित जनजागरण अभियान बुधवारबाट सुरु भएको छ । जनतासँग संवाद गर्ने हो भने पार्टीमात्र हैन त्यसबाट देशलाई पनि लाभ हुनसक्छ । के भन्ने हो जनतालाई ? कुनै तयारी छ ? भन्नुपर्ने त धेरै छ तर प्रतिनिधि सभामा मंगलवारको दृश्य हेर्दा कांग्रेसका नेताहरू कुनै तयारी गर्दैनन् भन्ने स्पष्टै देखिन्छ । जनजागरण अभियान कुनै गुट र नेताको पक्षमा अर्को समूहलाई दबाउने अवसर बन्ने त हैन ? नेतालाई निगरानी गर्न कानुन व्यवसायीहरूलाई खटाउने काम त भइसकेको छ क्या रे !

देश र जनताका पक्षमा

अहिलेको सबैभन्दा ठूलो समस्या प्राकृतिक सम्पदाको अवैध र अनुचित दोहन हो । हिमाल, पहाड, तराई सबैतिर मूलतः राजनीतिक नेताहरूको संरक्षण पाएका गुन्डा नाइकेहरूले खोला, नदी खनेर र चुरेमा पहाड खोस्रेर उपद्रो मच्चाएका छन् । स्थानीय निकायका अधिकांश बजेटमा भ्रष्टाचार भएको छ । 

खेती गर्ने खेताला नभएपछि पहाड र हिमालका बारीहरू बाँझै छन् । केपी ओलीले जे गुड्डी हाँके पनि साँझ बिहान चुलोमा ताउलो बसाल्न नसक्नेहरूको संख्या थोरै छैन । खेतीका भरमा गुजारा गर्ने परिवारलाई छाकटार्न मुस्किल भएको छ । ज्यालाबनी गरेर खानेहरू बरु साँझको छाक टर्छ भनेर ढुक्क हुनसक्छन् तर खेती गरेर खाने साना किसानको परिवार ढुक्क हुन सक्तैन । 

कांग्रेसको जनाधार

भुइँफुट्टावर्गसँग बढी लहसिएको नेपाली कांग्रेसको नेतृत्वलाई गुजारा चलाउनै मुस्किल हुँदैगएको त्यही निम्न मध्यम वर्ग कांग्रेसको मताधार हो भन्ने हेक्का पनि नहोला । कांग्रेसले तिनको मर्का कतै कहिल्यै उठाएको नसुनेको धेरै भइसक्यो । कांग्रेसको जागरण अभियान त्यो वर्गसम्म पुग्ला ? पत्यार लाग्दैन । 

संघीयतामा प्रहार

सांसद विकास कोष संघीयताको मर्ममा प्रहार हो । त्यसले राजनीति, भ्रष्टाचार र विकासको अस्वस्थ परम्परा कायम गरेको छ । नेपाली कांग्रेसले स्थानीय विकास कोषको खारेजीको माग राख्यो भने सिद्धान्ततः सही काम हुनेछ ।  

स्थानीय तहमा भ्रष्टाचार

स्थानीय तहमा पनि भ्रष्टाचार व्यापक भएको संकेतहरू प्रकट हुन थालेका छन् । जागरण अभियानमा स्थानीय तहको भ्रष्टाचारप्रति जनता र कांग्रेस कार्यकर्ताको ध्यान आकर्षण गर्न सके देशलाई नै गुन लाग्छ । कांग्रेसकै कार्यकर्ता संलग्न रहेछन् भने पार्टीले तिनलाई पर्गेल्नुपर्छ । कार्यकर्ताका लागि भ्रष्टाचार ‘डरलाग्लो मात्र हैन रहरलाग्दो’ पनि हुने गरेको छ । कम्युनिस्टहरूले कांग्रेसबाट निर्वाचित प्रतिनिधिलाई पनि ‘सर्वदलीय भ्रष्टाचार’मा संलग्न गराउने गरेको गुनासो सुनिन थालेको छ । यसैले कार्यकर्तालाई कम्युनिस्टहरूको चंगुलमा पर्नबाट जोगाउन पनि जागरण अभियानमा जाने नेताले ध्यान दिऊन् ।  

अर्थतन्त्रका वास्तविक समस्या

सरकार प्रधानमन्त्री ओलीजस्तै मनोजगतमा रमाएको देखिन्छ । जनताका वास्तविक समस्याका बारेमा हैन तथ्यलाई लिपपोत पारेर देखाउनेमै सरकारको ध्यान केन्द्रित भएको छ । कांग्रेसका नेताहरू पनि खासै फरक देखिएका छैनन् । वृद्धि दरको हिसाब हैन चिया मजदुरले न्यूनतम ज्याला नपाउने अवस्था अर्थतन्त्रको वास्तविक समस्या हो । बाँझो खेतबारी र एक्ली बूढी आमा गाउँमा, छोराछोरी लिएर बुहारी नजिकको बजारमा र छोरा कतै विदेशमा अहिलेको गाउँको यथार्थ चित्र हो । कांग्रेसजनले बुझ्नुपर्छ यसको मर्म । अनि तर्जुमा गर्नुपर्छ यस्तै सूचनामा आधारित कार्यक्रम । फास्टट्य्राक कि कर्णाली राजमार्गमा बाह्रै महिना निर्बाध यातायात ? प्राथमिकता पहिचान गर । बीपीका कुरा सुन्ने हो भने कम्युनिस्टहरूको समृद्धि नारामा दोहोरी खेल्ने हैन गुजाराको बाटो खोज्नतिर लाग्नुपर्छ ।    

तराईमा गाडिएको कांग्रेसको जरा

अहिले तराई अतिवादको चपेटामा पर्ने जोखिम बढेको छ । नागरिकताको घनचक्करमा नेपाली तराईवासीमाथि अविश्वास गर्ने प्रवृत्ति बढेको छ र सरकारले मलजल गर्दैछ । मधेसीहरू नेपाली राष्ट्रियता विरोधी हुन्छन् भन्ने भाष्य जबर्जस्ती स्थापित गर्न खोजिँदैछ । बीपीको राष्ट्रियतासम्बन्धी धारणा कम्तीमा कांग्रेसजनले मनन गर्नुपर्छ । उनले भनेका छन् – राष्ट्रियता ढुंगामाटोमा हैन मान्छेमा हुन्छ । यसैले कांग्रेसहरूले कम्तीमा अविश्वास बढाउने भ्रामक विचारको प्रतिवाद गर्नुपर्छ । तराईलाई सिंगो नेपालबाट अलग्याउने र पहाडमा तराईवासीविरुद्ध द्वेष उत्पन्न गर्न खोज्ने दुवैथरी राष्ट्रघाती हुन् भन्ने कांग्रेसजनले बुझ्न र बुझाउन सक्नुपर्छ । 

कांग्रेस यसो त देशको सबै भेगमा फैलिएको पार्टी हो तर तराईमा यसको जरा गाडिएको छ । तराई अहिले चुरेका कारण जीवनमरणको संकटमा छ । चुरे संरक्षणमा कांग्रेसले मुख खोलेको सुनेको छैन । क्रसर डनहरूकै चन्दाले अभियान चलाउने त हैन होला नि ?

स्थानीय प्रतिनिधिलाई आडभरोस

कांग्रेसको नेतृत्व र बहुमत पनि भएको निर्वाचित स्थानीय सरकारहरू कम्युनिस्ट वा तराईका क्षेत्रीय दलहरूभन्दा भिन्नै हुनसक्नुपर्छ । अहिलेसम्म भिन्न हुनसकेको उदाहरण छैन । महानगरहरूमा त ललितपुर र विराटनगरमा नेपाली कांग्रेसको नेतृत्व छ । भरतपुर, काठमाडौं र वीरगन्जमा उपप्रमुख कांग्रेसका उमेदवार चुनिएका छन् । पदाधिकारीमा  कम्युनिस्टहरूमात्र भएको त पोखरा महानगरपालिकामात्रै हो । कतै पनि पार्टीले जनप्रतिनिधिलाई मार्गनिर्देश सहयोग र नैतिक समर्थन दिएको सुनिएको छैन । बरु खुट्टा तान्ने गरेकै गुनासो धेरै सुनिन्छ । 

प्रतिक्रियामा सीमित हुने खतरा

शीर्ष नेताहरूको भाषण सुन्दा त जनजागरण ओली वा महराको मूर्खतापूर्ण बोली र व्यवहारको प्रतिक्रियाका सीमित हुने डर पनि छ । तिनीहरूलाई बिर्सेर जनतासँग जोडिने र जनजीवनको कष्ट आत्मसात गर्ने प्रयत्न होस् । ओली अर्थात् सत्ताको वरपर अलमलिएर गालीमात्र गरेको जनतालाई पनि खासै मन नपर्ला । आफ्ना कुरा भन । सरकारका कामकाजले कसरी राष्ट्रलाई कमजोर बनाएको छ बताऊ । अनि न जनताले रुचाउँछन् ।

घरभित्र एक नहुँदासम्म कांग्रेसलाई कसैले टेर्दैन तर यही कुरा कांग्रेसका नेताको घैँटामा घाम लागेन । शीर्ष नेताको बानी र वाणीमा सुधार भएन भने कार्यकर्ता जति जागे पनि कांग्रेस सधैँ हेपिनु पर्नेछ । 
 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस
ad