site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भाषा जोगाऊँ !
Sarbottam CementSarbottam Cement

रमेश भट्टराई ‘सहृदयी’ 


तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप बन्दा, आधा मिश्रणलाई देख्दा नेपाली भाषा पढ्ने र पढाउने तथा सरोकार राख्नेको जिम्मेवारी भनिदिन्छन् । ‘गोरखापत्र’लाई एकछिन सम्झेजस्तो गर्छ, भाषा आयोगलाई आरोप लगाउँछ, प्रज्ञा प्रतिष्ठानको दायित्वमा पुर्‍याएर आफू पन्सिन्छ । पैसा कमाउने अभिप्रायमा सीमाङ्कित सोचभित्र राष्ट्रियता र पहिचानको विषय निम्जो बन्दो रहेछ । गरिबीको फाइदा उठाउने षड्यन्त्रसँग हामी पलायनवादी सोचको दास बनेर बेसुरे बन्छौं । भाषा र संस्कृतिमा प्रहार गरेपछि परजीवी बन्ने उदाहरणको खलपात्र बन्दा पनि लाज र डरको रेखा हामीमा देखिन्न । मैले यहाँ अङ्ग्रेजी भाषाको विरोध गरेको छैन, भाषा त भाषा नै हो तर समाजले अङ्ग्रेजी भाषाको मिश्रणमा ठालुपन देख्न थाल्यो । अङ्ग्रेजी पनि राम्रोसँग जान्दैन र शुद्धतामा पनि ध्यान छैन । शङ्का छ– कतै हाम्रो समाजले अङ्ग्रेजी जान्नुलाई नै समृद्धिसँग बुझ्न त थालेन ?

१२३ वटा भाषाका धनी नेपालीले यिनको रक्षार्थ योगदान गरौं भन्ने आँटै गर्दैनौं । आज हाम्रो शिक्षित भनिएको मानिस– न अङ्ग्रेजी शुद्ध बोल्छ न नेपाली जान्दछ, न त मातृभाषा जान्दछ । सामाजिक सञ्जाल र सञ्चार माध्यमले नेपाली र अङ्ग्रेजी भाषालाई ‘कक्टेल’ बनाउने फेसन हाबी बनिरहेको छ । लेख्य रूपको सहजताका पछाडि सञ्चार माध्यममा भाषाको खिचडीवाज बन्दै जाँदा अब भाषा, वेशभूषा, पहिचान, लोक साहित्य विश्वव्यापीकरणको नाममा जानाजान अपहेलित बन्दै गएको आजको सामाजिक वास्तविकतामा जागरणगत नीति तथा कार्यक्रमको आवश्यकता टड्कारो आवश्यकता बन्दै छ । उत्तरआधुनिकताको सोचमा निजत्व बोधलाई ख्याल गरिनुपर्ला कि ! भाषा जोगाउनु कुनै जाति र देशको मात्रै नभएर संसारकै मानव मात्रको सम्पदा जोगाउनुसँग खुला भएर बुझ्दा बढी राम्रो हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अब भाषाप्रेमी तथा जातिप्रेमीहरूले नेपाली भाषाको शुद्धता र मातृभाषा संरक्षणको आन्दोलन गर्नुपर्ने आवश्यकता बढेको छ । आन्दोलनको अर्थ, हिंसा र तमासा होइन, मात्र जागरणको लहडको विकास गरियोस् । सामाजिक सञ्जाल, सञ्चार माध्यममा भाषा प्रयोगको स्वतन्त्रता र हद, प्रयोग शैलीदेखि हरेक कार्यालयीय कागजात, सूचना, अभिलेखालयमा नेपाली भाषाको मानक प्रयोग हुनुपर्ने नियमको खाँचो अबको आवश्यकता हो । हो, मानिस स्वतन्त्र छ, स्वतन्त्रता उसको हक हुनुपर्छ तर भाषाको जथाभावी प्रयोगले विकसित खतराका दोषी आजको पुस्ता बन्नेछ । मातृभाषाको प्रयोग तथा नेपाली भाषाको शुद्धतालाई सार्वजनिक सूचना, व्यापारिक विज्ञापन, नाम, विद्यालय, विश्वविद्यालय तथा कार्यालयको नामदेखि सार्वजनिक क्षेत्रका हरेक स्थानमा कमसेकम मापदण्डको एउटा आधार तय गरिनु अबको आवश्यकता हो । अन्यथा नेपाली भाषा कुरूप बन्दै जानेछ भने नेपालका मातृभाषा सधैं सङ्कटको घेरामा परिरहनेछन् । हरेक मातृभाषीले आफ्नो भाषालाई माया गर्न थालौं । सबैले सबै भाषाको कदर गर्न सिकौं । यसो भनिरहँदा भाषिक अन्तद्र्वन्द्वको सङ्कीर्णताले भाषाको विकासमा राजनीति हुनु हुन्न । सबै जातिले आफ्नो भाषाको रक्षार्थ आफ्ना भाषिक समुदायलाई प्रेरित गर्नुपर्छ । नवीन पुस्तामा भाषिक ज्ञान हस्तान्तरण गर्ने अभियानको खाँचोलाई महसुस गर्नुपर्छ । यसर्थ अबको भाषिक आन्दोलन नेपाली भाषाको शुद्धता र मातृभाषाको रक्षातर्फ केन्द्रित बनोस् ।

नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट भएपश्चात् मौलिकतातर्फ ध्यान दिन थाल्छन्, तबसम्ममा ढिलो भइसक्छ । इतिहास मात्र भेट्न सकिएला । नेपालले त्यस्तो दुर्भाग्य भोग्नु नपरोस् । बेलैमा सचेत बन्नुपर्छ । समृद्धि, भौतिक सम्पन्नतातर्फ पाइला त चालिसकेको छ तर भाषा रक्षाको विषय मामुली मानिँदा लापरवाही भइरहेको छ । विगतमा सञ्चार माध्यमले नै उचाइमा पुर्‍याएको भाषालाई हिजोआज धेरैजसो सञ्चार माध्यमले भाषिक खिचडीजन्य कार्यक्रममा बडप्पन शैलीलाई हाबी बनाइरहेका छन् । यसो भनिरहँदा सञ्चार माध्यम नै भाषाको जगेर्ना गर्ने शक्तिशाली आधार थियो र आजसम्म पनि सञ्चार नै मुख्य आधार हो अनि भोलि पनि रहिरहनेछ । सवाल, राष्ट्रियताको रक्षाको हो । नेपालका सबै भाषा राज्यका हरेक नागरिकका सम्पत्ति हुन् । यिनको रक्षा गर्नु भनेको नेपालको अमूल्य निधिको रक्षा गर्नु हो ।

Global Ime bank

भाषा बचाउँदा, भाषा जोगाउँदा पहिचानमात्र होइन, तिनको रैथाने ज्ञान, सीप, कला, विज्ञान लगायतका मूल्यवान पाटाहरू जोगिन्छन् । भाषाको इतिहासलाई कोट्याउँदा अशोक चल्लकालीन दुल्लुको शीला अभिलेख (जुन वि.सं. १३१७ देखि १३२७ सम्मको अड्कलसम्म पुग्नुपर्छ), शीलापत्र, ताम्रपत्रमा भाव सम्प्रेषण गर्ने माध्यम खोज्दै मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जनको विनाश हुनु हो । प्रसिद्ध भाषाविद् चूडामणि बन्धूले नेपाली भाषा सङ्गोष्ठी–२०६७ मा उल्लेख गर्नुभए अनुसार भाषा चित्रात्मक लिपिबाट भावात्मक लिपि हुँदै आजका अक्षरात्मक र वर्णात्मक लिपिसम्म आइपुगेका हुन् । यसका साथमा भाषाका कुशल अध्येता कृष्णप्रसाद आचार्यले आफ्ना पुस्तकहरूमा उल्लेख गर्नुभएका अभिलेखकालीन इतिहासलाई नियाल्दा अशोक चल्ल लगायत अक्षय मल्लको देवल अभिलेख (वि.सं. १३३७), आदित्य मल्लको ताघवाइ गुम्बाको ताम्रपत्र (वि.सं. १३७८), पृथ्वी मल्ल राईको कनकपत्र (वि.सं. १४१३) र निरयपालको ताम्रपत्र (सं. १४१९) पुगेर नेपाली भाषाको विकासलाई हेर्न सकिन्छ । यसको अर्थ एउटा भाषा जन्मिन, विकसित र विस्तारित हुन त्यसका लागि ध्वनि, वर्ण, रूप, वाक्यगत व्याकरणिक अवस्थाका साथै लिपि, वाङ्मय, शब्दकोश, साहित्यको विकास र विस्तार, प्रयोग चलनको फैलावट जस्ता विविध जटिल पक्षले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । एउटा भाषालाई जन्माएर लिपिदेखि साहित्यसम्मको विकास गरी विस्तार गर्नु कुनै चानचुने काम होइन । कयौं समय घोत्लेर अनुसन्धान गरेर, खोजेर एउटा व्यस्थामा विकसित भाषालाई हाम्रा पुर्खाले नासोका रूपमा अर्पेका छन् तर हामी कति लापरवाहीका साथ बेवास्ता गर्दै आधुनिकताको बडप्पन देखाउनतिर लागिपरेका छौं ।

भाषाले समाजसँग प्रत्यक्ष साइनो गाँसेको हुन्छ । संस्कृति उसको मेरुदण्ड हो । मानिस सामाजिक प्राणी भएकाले उसका लागि समाज र समाजलाई जोड्नका लागि संस्कृति चाहिन्छ । भाषाले मानव सभ्यताको साइनोलाई कसिलो बनाउन समन्वयकारी भूमिका खेलेको हुन्छ । यसर्थ सामाजिक संरचनामा भाषाको जगेर्ना अनिवार्य सर्त हो । भाषासँग साहित्य र साहित्यसँग ज्ञान तथा जीवनको वास्तविक आनन्द लुकेको हुन्छ । यसर्थ भाषासँग आनन्द लुक्छ । चिकित्साको कुरा गर्दा वि.सं. १७७३ तिर लेखिएको मानिने ज्वरोत्पत्ति चिकित्सामा ज्वरोका प्रकारदेखि औषधी विज्ञान लुकेको रहेछ । उपचार विधि रहेछ । भाषा जीवन र जगत्को गहन तत्व लुकेको वाङ्मय रचनाको माध्यम हो । अतः यो मान्छेको अपूर्व सक्षमताको उपज हो ।  

नेपाली भाषालाई स्तरीय तथा मानक बनाउन बेलाबेलामा विविध भाषिक आन्दोलनहरू भए जसरी नै अब बहुसङ्ख्यक नेपालीहरू (४४.६४ %) को मातृभाषा तथा माध्यम भाषा नै नेपाली भाषा भएकाले बौद्धिक र प्राज्ञिक जमातले शुद्धीकरणको अभियानमुखी जागरणमा चासो देखाउनुपर्छ । विगतमा हलन्त बहिष्कार आन्दोलन (१९६५), झर्रोवादी आन्दोलन (२०१३), वर्णविन्यास सुधार आन्दोलन (२०३४) जस्ता भाषासम्बन्धी आन्दोलनहरू भएका हुन् । यतिखेर भाषा शुद्धीकरण तथा मातृभाषा बचाऊ आन्दोलनको खाँचो छ । यो समाजलाई बदल्ने हो भने स्थानीय सम्भाव्यता केलाएर होमस्टे सञ्चालनसम्मको सोचमा भाषिक विकासको खाँचो छ । हामीले मरिमेटी अङ्ग्रेजी घोक्ने मात्र होइन, हाम्रा भाषा पनि सिक्ने र सिकाउने वातावरणतर्फ पनि सोचौं । पाश्चात्य समाजलाई हाम्रा कुरा पनि त सिकाउनेतिर सोचौं । अर्थतन्त्रको जगलाई बलियो बनाउन स्थानीय सरकारले त्यहाँका भाषा र संस्कृतिको समेत जगेर्ना गर्नतिर ध्यान देऊन् । नेपालका भाषाको रक्षा गरियोस् ।

हिजो हलन्त बहिष्कार आन्दोलनका अग्रणी व्यक्ति राममणि आ.दी.ले वि.सं. १९६५ मा ‘माधवी’ पत्रिकामार्फत् हलन्त बहिष्कार आन्दोलनलाई चर्काए जसरी आजको सञ्चार माध्यमले यो पुनित कार्यमा कदम बढाऊन् । कथ्य भाषाको अनुशासनमा मूलतः सञ्चार माध्यममा नियम बनाइयोस् । भाषा परिवर्तनशील त हुन्छ नै तर लेख्य भाषाको शुद्धीकरणका लागि हरेक कार्यालयमा संघ तथा प्रदेशको भाषाको लेखाइमा शुद्धता अनिवार्य शर्त होओस् । यसलाई नियन्त्रित शैली र बोझिलो भनेर कसैले मान्छ मात्रै भने भोलिको भाषिक अपक्षयको जिम्मेवार त्यो समूह वा व्यक्ति हुन्छ । भाषिक मृत्युको जोखिम न्यूनीकरण गर्दै भाषागत अस्तित्व रक्षा गर्न भाषिक न्यायसम्मत भाषानीति तथा योजनालाई भाषा आयोग मार्पmत् कार्यक्रम तय गरियोस् । सवारी साधनदेखि पसलका विज्ञापन, सूचना बोर्डमा कमसेकम नेपाली भाषा अनिवार्य प्रयोग गर्नुपर्ने, अङ्ग्रेजीमा लेख्नुपर्छ भने कोष्ठकमा नेपालीको तल्तिर लेख्नुपर्ने तथा स्थानीय क्षेत्रमा प्रादेशिक भाषा, नेपाली भाषा र अङ्ग्रेजी चाहिए तेस्रो स्थानमा लेख्ने विज्ञापन बोर्डको परिकल्पना गर्नुपर्ला कि भन्ने सुझाव पेश गर्न सकिएला ।

खुशी हुने या दुःखी– नेपाली भाषाको पहिलो व्याकरण लेखक जे.ए. एटन हुन् । उनले ई. १८२० मा ‘ग्रामर अफ नेपाली ल्याङ्ग्वेज’ भनेर लेखिदिए । हामी आफ्ना कुरामा ध्यान दिँदैनौं, विदेशीले लेखिदिनु पर्‍यो, जगाइदिनु पर्‍यो । हामीलाई लाज हुनुपर्छ । नेपालमा संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ गते बल्ल भाषा आयोगको आवश्यकतालाई बोध गरिएको अवस्था हो । हाल भाषा आयोगले कमसेकम भाषिक उन्नयनमा कोसिस गरिरहेको छ तर राज्यले भाषा कुन चराको नाम हो, सोच्ने फुर्सद पाएको देखिँदैन । अन्ततः नेपाली भाषाको मानकीकरणमा झर्रोवादी आन्दोलनदेखि नेपाली भाषाको निजत्वका विषयमा आवाज उठाई मानकीकरणमा योगदान पुर्‍याएका सन्दर्भको स्मरण गर्दै अब भाषाको विशेष अध्ययन, अनुसन्धान तथा नीति र योजनाको आवश्यकता छ । नेपालमा लुप्तप्रायः भइसकेका भाषालाई चलनचल्तीमा ल्याएर स्तरीकृत र मानकीकृत गर्ने, लेखन पद्धतिमा सरलीकरण र नियमगत सुस्पष्टता प्रदान गर्नेदेखि भाषाविद्सँगको रायअनुसार देशले भाषिक जागरणमा ध्यान देओस्

bhattarairamesh353@gmail.com

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC