पूर्व सोवियत नागरिकका नाताले म भन्नसक्छु - कलाकारहरूले कुनै राजनीतिक पद्धतिविरुद्ध बोल्न थाल्नु शुभ लक्षण होइन । तिनका अभिव्यक्तिले मर्ममै चोट लाग्नुको अर्थ त्यो प्रणाली बिरामी भएको हुनसक्छ भन्ने नै हो ।
लोकतन्त्रमा कलाको सजिलै बेवास्ता गर्न सकिन्छ । पक्कै पनि संस्कृतिको कदर गर्न सकिन्छ तर यो पनि रोजाइ हो अनिवार्यता होइन । जसको स्वतन्त्रता सुरक्षित हुन्छ उनीहरूले मात्र कलाप्रति निःस्पृह हुने विलास गर्न सक्छन् । जब तिनै स्वतन्त्रता संकटमा पर्छन् अनि कला प्रतिरक्षाको पर्खाल बन्न थाल्छ । संयुक्त राज्य अमेरिका अहिले यही पाठ सिकिरहेको छ ।
एकै महिनाभित्र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिको नियम बदलिदिएका छन् तर त्यो राम्रो बाटामा छैन । कुनै तथ्य उनको प्रशासनिक धारणाविपरीत हुनेबित्तिकै उदाहरणका लागि कसैले ट्रम्प लोकप्रिय छैन भनेर लेख्यो वा भन्यो भने त्यस्तो समाचार सम्प्रेषण गर्ने पत्रकारलाई उनले ‘झुटको भण्डार’ वा अमेरिकी ‘जनताका शत्रु’ भन्दै निन्दा गर्छन् ।
ट्रम्पको बर्बराहटपूर्ण आक्रमणबाट न्यायपालिका र गुप्तचर निकाय पनि उम्कन पाएका छैनन् । मुस्लिमहरूमाथि लगाइएको प्रतिबन्धविरुद्धको अदालतको आदेश वा उनका पूर्व सुरक्षा सल्लाहकारको रुसी राजदूतसँगको साँठगाँठजस्ता उनका गलत आदेश वा निर्णयको विरोध वा खुलासा हुनेबित्तिकै ट्रम्पले तत्काल निन्दा गरिहाल्छन् ।
अमेरिकी लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण हुन थालेपछि कलाकारहरू अगाडि सरेका हुन् । ट्रम्पले औपचारिकरूपमा पदभार ग्रहण नगर्दै अमेरिकी लेखकहरूको संगठन 'पेन'ले न्यु योर्क पब्लिक लाइब्रेरीका सिँढीमा ‘सँगसँगै सशक्त प्रतिवाद’ कार्यक्रम आयोजना गरेर ट्रम्प प्रशासनलाई ‘उसले प्रेस तथा अन्य स्वतन्त्र अभिव्यक्तिका मान्यताविरुद्ध नग्न आक्रमण’ गरेको सन्देश पठाए ।
नवनिर्वाचित उपराष्ट्रपति माइक पेन्स ब्रोडवेमा 'ह्यामिल्टन' नाटक हेर्न गएका बेला कलाकारहरूले उनलाई अमेरिकी मूल्य मान्यताको रक्षा गर्न र अमेरिकी जनताका हितमा काम गर्न आग्रह गरे । (ट्रम्पले ट्विटरबाट त्यसको चर्को विरोध गरेका थिए ।)
नजिकै अर्को सडकमा प्रदर्शित ब्ल्याक प्यान्थर र योङ लर्डस पार्टीको परम्परा पनि बोकेको ‘पार्टी पिपुल’ले ट्रम्पको विजयलाई देखाउने गरी पटकथामा समायोजन गरेर अझ स्पष्टसँग विरोधको सन्देश दिएको छ ।
ट्रम्पले मुसलमान बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नेबित्तिकै म्युजियम अफ मोडर्न आर्टमा ती मुलुकका कलाकारका कला प्रदर्शन गरिएको थियो ।
कलाको विवरण पत्रमा ट्रम्पको आदेशको स्पष्टसँग उल्लेख गरिएको थियो र अमेरिकाका लागि महत्त्वपूर्ण ’स्वतन्त्रता र स्वागतको अमेरिकी आदर्शको पुष्टि’ गरिएको थियो ।
म्युजियम अफ मोडर्न आर्टले यात्रा प्रतिबन्धमा परेका निर्देशकहरूका फिल्म प्रदर्शनको चारवटा कार्यक्रम तय गरेको छ । ट्रम्प प्रशासनको ‘वैकल्पिक सत्य’प्रति व्यंग्यस्वरूप अप्रिलमा अमेरिका र क्यानाडाका गरी करिब एक सयवटा सिनेमा भवनहरूमा जर्ज अर्वेलको ‘नाइन्टिन एट्टीफोर’को निःशुल्क प्रदर्शन गरिनेछ ।
हलिउडका अभिनेताहरूले यस वर्षको पुस्कार समारोहलाई आफ्नो राजनीतिक अभिव्यक्ति प्रकट गर्ने अवसर बनाए । गोल्डेन ग्लोब एवार्डका अवसरमा मन्तव्य प्रकट गर्दै विख्यात अभिनेत्री मेरिल स्ट्रिपले ट्रम्पले अपांगता भएका रिपोर्टरलाई गरेको उपहासप्रति कटाक्ष गर्दै प्रेस स्वतन्त्रताको रक्षाको महत्त्वमा प्रकाश पारेर ट्रम्पलाई क्रुद्ध बनाइन् ।
स्क्रिन एक्टर्स गिल्ड पुरस्कार ग्रहण गर्दै डेविढ हार्परले घोषणा गरे
महान् अभिनय त्यो हो जस्ले 'कालाकारलाई अझ गम्भीररूपमा डर, आत्मकेन्द्री, आत्मरतिपूर्ण संस्कृतिविरुद्ध संघर्ष गर्ने आह्वान हो ।'
फेसनको दुनियाका केही प्रमुख डिजाइनरले प्रथम महिला मेलिना ट्रम्पका लागि कहिल्यै पोसाक नबनाउने घोषणा गरेका छन् । हालै न्यु योर्क फेसन सप्ताहमा डिजाइनर मारा हफम्यानदेखि प्रबल गुरङसम्मले मञ्चलाई राजनीतिक मन्तव्य व्यक्त गर्ने मौका बनाए । फेसनका दुनियाका केही विख्यात हस्तीहरूले डब्लु म्यागेजिनको भिडियोमा निर्धक्कसँग भने 'म आप्रवासी हुँ।'
ट्रम्पका समर्थकहरू यस्ता मन्तव्यहरूलाई हेपेर कलाकार र अभिनेताहरूलाई 'आआफ्ना काममा लाग्न' भन्न रुचाउन सक्छन् । तर सत्य के हो भने यस्ता व्यक्तित्वहरूले जे भन्छन् त्यसको प्रभाव ट्रम्पमाथि मात्र हैन हलिउडमा दर्शकमाथि लामो समयसम्म पर्छ ।
रुसका अधिनायकवादी नेताहरू कलाकारहरू बाँधेर राख्न सधैँ प्रयासरत हुन्छन् ।
जब कलाकारहरू शक्तिका सामु झुक्छन् राज्यले नयाँ स्तरको अधिकार र वैधता प्राप्त हुन्छ । त्यसैले त जोसेफ स्टालिनलाई पनि क्रेमलिन विरोधी विख्यात कवि ओसिप मन्डेलस्टमबाट स्तुति लेखाउनु परेको थियो ।
मन्डेलस्टम मर्न तयार भए तर दबाबका सामु झुकेनन् । उनले क्रेमलिनको निन्दा कायमै राखे । उनको विरोधको सबैभन्दा विख्यात उदाहरण 'हामी आफ्ना खुट्टा जमिनमा भएको थाहै नपाई बाँचेका छौँ' शीर्षकको कविता हो ।
उनको त कुख्यात गुलाग नियन्त्रत श्रम शिविरमा अन्त्य भयो तर उनका विद्रोही कविता र अरू निडर कविहरूका रचनाले शासनको अन्त्य गर्न योगदान गरेको थियो । कम्युनिज्मको भ्रमजाल तोड्न अलेक्जेन्डर सोल्झेनित्सिनको सन् १९७० को दशकको कम्युनिस्ट विरोधी श्रेष्ठ कृति 'दी गुलाग अर्किपेलेगो'ले ह्रासोन्मुख सोवियत अर्थतन्त्रले जत्तिकै हात थियो ।
उमेरसँगै बढी राष्ट्रवादी हुँदैगएका नोबेल पुरस्कार विजेता सोल्झेनित्सिनले समर्थन गर्दा पुटिनलाई निकै खुसी लागेको हुनुपर्छ । कलाको शक्तिलाई मान्यता दिँदै पुटिनले सुरुमा आफूलाई रुसी संस्कृतिका प्रशंसकका रूपमा आफूलाई स्थापित गरे । उनले फ्रान्सेली सिनेमाका प्रतिमूर्ति ब्रिगिट बार्डट र गेराल्ड डेपार्डु र हलिउडका स्टेवेन सिगलसम्मका विदेशीलाई स्वागत गरे ।
साथसाथै, पुटिनले उनलाई मन नपर्ने सन्देश प्रवाह गर्नेहरूलाई सिध्याउन पनि बेर लगाएनन् ।
सन् १९९० को दशकको व्यंग्य टेलिभिजन प्रदर्शक 'पपेट' राष्ट्रपतिको चरित्रलाई कुरूप दुष्ट पुड्केका रूपमा चित्रण गरिएको भन्दै पुटिन क्रेमलिनमा प्रवेश गर्नेबित्तिकै बन्द गरिएको थियो ।
नयाँ नयाँ तानाशाहका लागि आलोचकलाई चुप लगाउने प्रयास जब ढंगहीन सिद्ध भएपछि बढीमा ट्रम्पले आफ्ना रुसी आदर्शको अनुकरण गर्ने प्रयास गर्नेछन् ।
तर, ट्रम्पले उनको आलोचना गर्ने सबै सांस्कृतिक कार्य र संस्थालाई ध्वस्त पार्नसक्ने पर्याप्त शक्ति हस्तगत गरिसकेका छैनन् । त्यसो भएको भए ट्रम्पले सधैँ आलोचन गर्ने व्यंग्य कार्यक्रम 'सटर्डे नाइट लाइभ'लाई बन्दै भइसकेको हुन्थ्यो होला ।
दमनकारी नेतृत्वको त्रासद विसंगतिको उजागर प्रायः गम्भीर वा व्यंग्य कलाले नै गर्छ । ट्रम्पले जति नराम्रो व्यवहार गर्छन् उनको विरोध गर्ने कलाकारको महत्त्व उति बढ्नेछ । सटर्डे नाइट लाइभको दर्शक संख्या छ वर्षमा अहिले सबैभन्दा माथि पुगेको छ ।
(वर्ल्ड पोलिसी इन्स्टिच्युटकी सिनियर फेलो)
Copyright: Project Syndicate, 2017